६ मंसिर २०८१ बिहीबार
image/svg+xml
ब्लग

चटक कि चुनाव?

तराई क्षेत्रमा बसेर पत्रकारिता गर्दा साना नानीहरूले आफ्नो गुजारा चलाउन देखाउने गरेको चटक खुबै हेरिन्थ्यो। गोडामा गोलो पाङग्रो लिएर डोरीमा हिँड्ने उनीहरू दर्शकलाई मनोरञ्जन दिलाउँदै सिंगो परिवारको गुजारा चलाउँथे।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चटकको सम्झना ताजा भएको छ। चटकका साना नानीहरूको खेलौनाजस्तो भएर काममा सहभागी हुन्थे। हल्लिने डोरीमा हिँड्दा पनि उनीहरू लड्दैनथे। उनीहरू लडे साँझमा परिवार भोकै हुन्थ्यो। बाध्यताले उनीहरूलाई डोरीमा अड्याउँथ्यो।

अहिले दलका कार्यकर्ताको हालत त्यही चटकको बालकजस्तो लाग्न थालेको छ। जो मन लागे पनि नलागे पनि गठबन्धनले टांगेको बाध्यताको डोरीमा विवशताको पाङग्रो बोकेर काम्दै हिँड्दै छन्। उनीहरूलाई पनि लड्ने छुट छैन। उनीहरू लडे गठबन्धनको खिचडी पाक्दैन।

मन लागे पनि नलागे पनि मध्यान्हको घाममा बिर्कै टोपी लगाएर टाउको हल्लाउनु। आकाशमा टांगेको डोरीमा दिनभर झुन्डिरहनु चटकका बालकको दिनचर्या हुन्थ्यो। रुँदैरुँदै भुईमा घुकुत्ती खेल्नु बालबालिकाको बाध्यताजस्तै। कतिसम्म भने चटक देखाउने क्रममा सानी दिदीले सानो भाइको कट्टू तान्दा दर्शकहरू हाँस्थे तर बालक चिच्याएर रुन्थे।  

तिनै बालकजस्ता लाग्न थालेका छन् गठबन्धन दलका कार्यकर्ता। धेरैलाई गठबन्धन मन परेको छैन। तर, मान्नुपर्ने बाध्यता छ। उनीहरू निराशाको आँसु बगाउँदै छन्। तर, अराएको काम गरिरहेका छन्। उनीहरू हाँस्न सक्दैनन्। बरु उनीहरू हाँसोको पात्र बन्न बाध्य छन्।

कतिपय अवस्थामा चटकका बालकले काम नगर्ने जिद्धी गर्छन् र पर कुनामा गएर एक्लै बस्छन्, अहिले दलका कार्यकर्ताले छुट्टै उम्मेदवारी दिएजस्तै। एकैछिनमा अभिभावकले सम्झाएर काममा लगाउँछन्, जसरी नेताहरूले फकाउँदै छन्।

समग्रमा चटकमा बच्चाको मन विपरीत सबै काम गराइथ्यो। जसरी अहिले कार्यकर्तालाई गराइन थालेको छ। चटकेहरू अरूलाई हँसाउन आफ्ना सन्तानको अनुहार विचित्रले रंगाउँथे। अहिले दलका कार्यकर्ताको अनुहार रंगिएजस्तै। सिद्धान्त र मन नमिले पनि मुस्कुराउनुपर्ने बाध्यता अनुहारले बोकेको छ।

चटकेलाई सन्तान देखाएर परिवार पाल्नु छ। यता नेताहरूलाई कार्यकर्ता देखाएर पालिनु छ। चटकेहरू आफ्नो खुबीभन्दा पनि बालकहरूको मासुमताको व्यापार गर्न माहिर हुन्छन्। नेताहरूले सोझा कार्यकर्तालाई प्रयोग गरेजस्तै। बेलुका ललिपप किनिदिने लालचले बच्चा रुँदै काम गर्छ। भोलि पद पाइने आशमा कायकर्ताहरू चूपचाप काम गर्छन्।  

अन्त्यमा, चुनाव चटक हैन। यो त लोकतन्त्रको आत्मा हो। यसमा हिँड्न बाध्यताको डोरी टांगिनु हुन्न। बरु स्वतन्त्रताको राजमार्ग बन्न दिनुपर्छ।

प्रकाशित: १५ वैशाख २०७९ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App