६ जेष्ठ २०७९ शुक्रबार
ब्लग

नेपालमा गाँजाबाट समृद्धि सम्भव छ

हामी नेपालीहरूको सनातन धर्मअनुसार तीनवटा देवता ब्रह्मा, विष्णु र महेशको विशेष महत्त्व रहेको बुझिन्छ। महेश्वर भनेका शिव र उनले मन पराउने वस्तु गाँजा हो भने उनको क्रीडास्थल हिमालय पर्वत हो। अतः गाँजाको उद्गमस्थल सेन्ट्रल एसिया र विशेषतः हिमालयको वरपर मानिन्छ। गाँजा भगवान् शिवले सेवन गर्ने भएकाले वैदिक सनातन संस्कृतिमा यसको विशेष महत्व छ र यसले सनातन धर्मावलम्बी जनमानसमा जरो गाडेको छ। महाशिवरात्रिमा विश्वभरका साधुजोगीहरू पशुपतिनाथको दर्शन तथा गाँजा सेवन गर्न नेपाल आउने गर्छन् र नेपाली घरघरमा अद्यापि भगवान् शिवका नाममा गाँजाबाट निर्मित विशेष प्रकारको भाङ सेवन गर्ने चलन छ। त्यसैले गाँजाको उपयोग गर्ने क्षेत्र पनि विशेषतःहिमाली क्षेत्र र त्यसको सेरोफेरो मात्र हुनसक्छ। अनि गाँजाले यहाँका संस्कृतिको झल्को दिन्छ।

परिचयः

क्यानाविनेसी वानस्पतिक परिवारमा पर्ने झार वर्गको वनस्पति हो गाँजा। यसको वानस्पतिक नाम क्यानाविनस सटिभा हो। क्यानाविनस यसको जेनेटिक नाम र सटिभा यसको स्पेसिज नाम हो। क्यानाविनेस वर्गभित्र खासमा कति प्रजाति छन् भन्ने कुरामा वनस्पतिविद्हरू बीच नै मतैक्य छैन। यसबारे दुई प्रकारको मत देखिन्छ। पहिलो मत अनुसार एक मात्र प्रजाति (स्पेसिज) र यस अन्तर्गत ३ उपप्रजाति क्रमशः सटिभा, इन्डिका र रुड्रेलिस हुन् भनिएको छ। अर्काे मत अनुसार यिनीहरू उपप्रजाति नभई तीनवटा प्रजाति क्यानविनेस इन्डिका, क्यान्विनस सटिभा र क्यानविनस रुड्रेलिस हुन् भनिएको छ। यसलाई भाले र पोथी भनेर छुट्ट्याइएको छ। त्यसकारण यसलाई वानस्पतिक भाषामा डिओसिस् वनस्पति भनिन्छ। गाँजाका पात, फल, फूल, सबै औषधिका रूपमा प्रयोग गरिन्छ भने डाँठबाट निकालिने रेसा(पाट) बाट डोरी र कपडासमेत बनाइन्छ।

गाँजाको ऐतिहासिक महत्व

नेपालमा गाँजा परापूर्वकालदेखि नै दुई रूपमा प्रयोग हुँदै आएको छ। औषधीय प्रयोगबाहेक गाँजाको पात र फूल समेतको झुप्पा सुकेपछि चिलिममा भरेर धूमपानका रूपमा पिउने चलन थियो भने आधुनिक कपडाको विकास हुनुभन्दा पहिले कपासबाहेक यसका रेसाबाट बनेका कपडा पनि लगाउने गरिन्थ्यो। विशेषतः शिवरात्रिमा गाँजाको प्रयोग गर्ने चलन शिवकालदेखि नै चल्दै आएको मानिन्छ।

गाँजासम्बन्धी अनुसन्धाकर्ताहरूले करीब १२ हजार वर्ष पहिलेदेखि गाँजाको प्रयोग विविध रूपमा हुँदै आएको प्रमाण फेला पारेका छन्। वैज्ञानिक तथ्य अनुसार सर्वप्रथम १२ हजार वर्षपहिले मध्य एसिया अहिलेको पूर्वी चाइनामा गाँजालाई पहिलो पटक घरेलु प्रयोग गरिएको थियो। त्यहाँबाट ईपू २ हजारतिर पश्चिमी चीनतर्फ लगियो। त्यहाँबाट पनि तीनवटा बाटा भएर अन्य देशहरूमा विस्तार हुँदै गयो। एउटा बाटाबाट पूर्वी हिमाली क्षेत्र, दक्षिण पूर्व एसियातिर भयो भने अर्काे बाटाबाट युरोप र तेस्रो बाटाबाट अफ्रिका महादेशमा विस्तार भयो। सन् सत्रौं, अठारौं शताब्दीमा अफ्रिकाबाट दक्षिण अमेरिका पुग्यो र सन् १९२० पछि मात्रै क्यानाडामा पुगेको मानिन्छ।

उपर्युक्त तथ्यका आधारमा दक्षिणपूर्व एसियामा ईशा पूर्व २ हजार वर्षपहिले आइपुगेको देखिन्छ। सायद भगवान् शिवले सर्वप्रथम प्रयोग गरेकाले र उनको प्रिय भएकाले यसलाई शिवबुटी पनि भनिन्छ। तसर्थ गाँजा यस दक्षिण एसियाको हिमाली क्षेत्रमा उत्पत्ति भएको मान्नुपर्ने हुन्छ भनी एक जना वायो पत्रकारको भनाइ छ। तसर्थ यस क्षेत्रमा पाइने गाँजाको विविधता पहिचान र संकलन गरी त्यसको डिएनए सिक्वन्सिङ गरेर वैज्ञानिक आधार तयार गरी गाँजाको उत्पत्तिस्थल नेपाल नै रहेको तथ्य पेस गर्न सके नेपाली गाँजा संसारभरका लागि आकर्षणको विषय हुन्थ्यो। त्यसका लागि यहाँ एउटा गाँजा अनुसन्धान निकाय तयार गर्नुपर्छ।

नेपालमा सन् १९७० को दशकसम्म गाँजाको खेती गर्न, औषधि र आनन्दप्रदका रूपमा सेवन गर्न र ओसारपसार गर्न कानुनी बन्देज थिएन। त्यसैले ६० को दशकमा गाँजाबाट आनन्द लिन पश्चिमेली युवकहरू, इन्डियन जोगीहरू नेपाल आउने गर्थे। त्यसबेला नेपाली गाँजाका लागि विश्वप्रसिद्ध थियो। त्यसैले त्यसबेला पर्यटन पनि समृद्ध थियो। अहिलेका झोंछे र वसन्तपुर पर्यटकका लागि विशेष आकर्षणका केन्द्र थिए। त्यहाँका होटेल र रेस्टुराँहरूमा गाँजाका परिकारहरूको मेन्यु देख्न पाइन्थ्यो। त्यसबेला गाँजाको विक्री वितरणबाट नै राजस्वमा लाखौं डलर रकम जम्मा हुन्थ्यो। नेपालको गाँजा अब्बल दर्जाको मानिन्थ्यो र नेपालबाट विदेशतिर निर्यात पनि हुन्थ्यो। नेपालबाट निकासी हुने गाँजा इन्डिया, युरोप र अमेरिकासम्म पुग्थ्यो।

यसरी नेपालको गाँजाको प्रभाव बाह्य मुलुकसम्म परेको भए पनि त्यतिबेलासम्म गाँजाबारे अहिले जस्तो अनुसन्धान भइसकेको थिएन। त्यसैले भारतीय दबाबमा यसलाई लागू पदार्थका रूपमा मात्र लिन थालियो। त्यसैले इन्डिया र पश्चिमेली देशहरूका दबाबमा विसं २०३३ अर्थात् सन् १९७६ मा नेपालले लागू औषध नियन्त्रण ऐन पास गरेर गाँजाको सबै प्रकारको प्रयोग, निर्यात तथा खेतीमा समेत प्रतिबन्ध लगाइयो। गाँजाको उत्पादन र व्यापारको खुला परिवेश अन्त्य गरियो। गाँजाका कारण कृषि र पर्यटनबाट जनस्तरमा हुने आम्दानी समाप्त भयो।

गाँजा वास्तवमा लागू पदार्थ हैन

वर्तमान समयमा गाँजा चमत्कारी विशिष्ट गुणले भरिपूर्णं वनस्पति प्रमाणित भइसकेको छ। अतः गाँजा लागू पदार्थ मात्र सीमित रहेन बरु औषधि सावित भइसकेको छ। यसबाट थुप्रै रोग निको हुने कुरा प्रमाणित भइसकेको छ। गाँजाको प्रयोग र यसमा हुने रसायनबाट निको हुने प्रमुख रोगहरू– मस्तिष्क रोग, क्यान्सर, जिउ दुख्ने, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी रोग, टाउकाको समस्या, विषाक्तता र अन्य औषधिबाट हुने नकारात्मक प्रतिक्रिया (साइड इफक्ट) कम गर्नु आदि हुन्।

गाँजामा ४ सयभन्दा बढी रासायनिक क्यानाविनोबाइड तत्व पाइन्छन्। तीमध्ये झण्डै ६० वटा तत्व क्यानाविनोबाइड नै हुन्। मानव जातिले गाँजाको ईपू १२०० वर्षदेखि खेती गर्दै र सेवन गर्दै आएको भए पनि आधुनिक युगमा फर्मास्युटिकल्सगत महत्वबारे वैज्ञानिक रूपमा उन्नाइसौं शताब्दीका अन्त्यपछि मात्र प्रमाणित भएको छ।

गाँजाको रसायन सम्बन्धी अनुसन्धानका लागि १८९९ मा उड नामक रसायनशास्त्रीले क्यानाविनोल नामक नशा दिने रसायन तत्त्व पत्ता लगाएपछि गाँजाले वैज्ञानिकहरूको ध्यान आकर्षित गरेको थियो। त्यसपछि सन् १९६५ मा इजरायलको हिब्रु विश्वविद्यालयका वैज्ञानिक मेकोअलम र इजरायलकै इज्म्यान इस्टिच्यूटका वैज्ञानिक चिचेल गाउनीले संयुक्त रूपमा यसमा टेट्राहाइड्रा.क्यानाविनोल नामक नशा दिने पदार्थ (मादक तत्त्व) पत्ता लगाएपछि झन् ठुलो तहल्का मच्चिएको थियो।

यिनै दुई रसायनको अस्तित्वका कारण नै गाँजा औषधि निर्माण र अन्य खाद्यपदार्थका रूपमा प्रयोग हुन थाल्यो।यी दुई रसायन गाँजामा मात्रै सीमित नभई मानव शरीरभित्रै पनि उत्पन्न हुने कुरा पत्ता लागेको छ।

मानव शरीरको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, प्रजनन प्रणाली, मांसपेसी, हड्डी र छालामा समेत यस्तो रसायन उत्पादन गर्ने प्रणालीलाई इन्डोक्यानाविनाइड प्रणाली भनिन्छ र यो यस्तो आणविक प्रणाली हो जसमा शरीरभित्र थुप्रै प्रक्रिया हुन्छन्, जस्तै–रोगसँग लड्ने क्षमता, कोशहरू बीचको सञ्चार भोक, मेटाबोलिक प्रक्रिया र मेमोरी आदिलाई सन्तुलित राख्नु। मानव शरीर स्वस्थ रहन यो इन्डोक्यानाविनाइड प्रणाली स्वस्थ र सन्तुलित हुनुपर्छ।

यदि यसमा असन्तुलन भयो भने टाउको दुख्ने, वाथ, स्ट्रोक, मोटोपन, अल्जाइमर, क्यान्सर, आँखाको मोतियाविन्दु जस्ता घातक रोग लाग्दछन्। तसर्थ आज पश्चिमेली देशहरू गाँजाबाट प्राप्त हुने सिबिडी र टिएस्सी जस्ता रसायनहरूलाई विभिन्न अनुपातमा मिसाएर औषधि र अन्य पेय पदार्थ बनाइरहेका छन्। यस्तो फर्मास्युटिकल र औद्योगिक पदार्थ बनाउने कार्यका लागि क्यानाडा अग्रपंक्तिमा रहेको छ। गाँजा उत्पादन गर्ने र गाँजाबाट विभिन्न फर्मास्युटिकल र औद्योगिक पदार्थ बनाउन क्यानाडामा दर्जनौं कम्पनी स्थापित भएका छन् र अरबौं डलर लगानी भएको छ।

यसरी गाँजाका प्रयोगबाट संसारका कैयौं मुलुक समृद्धि प्राप्त गर्ने अभियानमा छन्। अतः गाँजा अब लागू पदार्थ नभई औषधि सावित भइसकेको छ।  संयुक्त राष्ट्र संघको महत्वपूर्ण अङ्ग विश्व स्वास्थ्य सङ्गठनले गाँजालाई लागू पदार्थको सूचीबाट २ डिसेम्बर २०२० मा हटाएर औषधिका सूचीमा राखेपछि यसले विश्वमै तरङ्ग नै पैदा गरेको छ। गाँजाको उपयोगबाट देशमा समृद्धिको नयाँ आयाम थपिने निश्चित छ।

परापूर्व कालदेखि नै गाँजाको सेवन नेपाली संस्कृतिको अभिन्न अङ्ग रहेको छ। गाँजाबाट एक प्रकारको नसा प्राप्त हुने भए पनि त्यसले रक्सी वा अन्य लागू पदार्थले जस्तै गम्भीर अवस्थामा पुर्‍याउँदैन। यसका डाँठबाट निकालिने रेसा कपडा बनाउन पनि प्रयोग गरिन्छ। तसर्थ पात, फल, तेल र रेसा यसबाट प्राप्त हुने महत्वपूर्ण भौतिक तत्व हुन्। गाँजाबाट प्राप्त हुने रसायनबाट प्राणघातक रोगहरू जस्तै– क्यान्सर, डिप्रेसन, डायबिटीज, अनिद्रा, अल्जाइमर र छारे रोगहरूका लागि औषधि बनाउन सकिन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ।

वैधानिकताको विश्वव्यापी अभियान

जति बेला नेपालमा गाँजा सेवनको एक प्रकारको संस्कृति नै स्थापित भइसकेको थियो त्यसबेला कसैलाई यसका महत्वपूर्ण गुणको खासै जानकारी नै थिएन। क्रमशः यसमाथि पश्चिमेली राष्ट्रहरूमा अनुसन्धान भयो र महत्त्व पनि बढ्दै गयो। 

उनीहरूले गाँजा सम्बन्धी पाठ्यक्रम नै तयार गरेर कलेजहरूमा पढाउन थाले र त्यहाँका विश्वविद्यालयले डिग्री नै दिन थालेका छन्। जसरी सन् १९६०–७० का दशकमा गाँजा सेवन र ओसारपसारमा प्रतिबन्ध लगाउने अभियान चलेको थियो त्यसरी नै अहिले त्यसका ठिक विपरीत प्रतिबन्ध फुकुवा गर्दै औषधिका रूपमा मान्यता दिने अभियान चलेको छ।

अहिलेसम्ममा मोरक्को, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजील, कोलम्बिया, डेनमार्क, जर्मनी, इजरायल, इटाली,श्रीलङ्का, बेलायत लगायतका विश्वका ४३ भन्दा बढी मुलुकले गाँजालाई औषधिका रूपमा मान्यता दिइसकेका छन्। संयुक्त राज्य अमेरिकाका ३५ राज्यले पनि सोही मान्यता दिइसकेका छन् र अब सङ्घीय सरकार पनि  त्यसको तयारीमा छ।

उरुग्वेले त सन् २०१३ देखि नै औषधि र मनोरञ्जनको साधनका रूपमा मान्यता दिइसकेको छ। सन् २०१८ मा क्यानाडाले पनि दुवै प्रकारको मान्यता प्रदान गरिसकेको छ। परिणामतः क्यानाडामा अहिले दर्जनौं क्यानाविस (गाँजा) उत्पादन कम्पनी स्थापित भइसकेका छन्। जसले हजारौंलाई रोजगारी दिनाका साथै अरबौं लगानी गर्ने बाटो खोलिदिएको छ।

नेपालले सिक्नुपर्ने कुरा

नेपाल गाँजाको मूलथलो हो। नाश नगर्ने हो भने गाँजा यहाँ सहज रूपमै बनमा आफै हुर्किरहेको हुन्छ र यसको आजभन्दा झण्डै ३ हजार वर्ष पहिलेदेखि आयुर्वैदिक औषधिका रूपमा नेपालमा प्रयोग हुँदै आएको छ। सिंहदरबार वैद्यखानाले पनि प्रतिबन्ध लाग्नुभन्दा पूर्व यसलाई औषधि उत्पादन गर्दै आएको थियो तर २०३३ सालको लागू पदार्थ सम्बन्धी ऐनले प्रयोग, उत्पादन र ओसारपसारमा प्रतिबन्ध लगाएपछि त्यो सबै बन्द भयो।

गाँजाको सबैभन्दा ठूलो बजार उत्तर अमेरिका हो जसले कूल उपभोगको ८८∞ भाग ओगट्छ। त्यसपछि यूरोप र त्यसमा पनि जर्मनी दोस्रो ठूलो बजार मानिन्छ। त्यसपछि आउँछन्– इटाली, अस्ट्रेलिया, इजरायल र ब्राजिल आदि। यस सन्दर्भमा अहिले आएर थाइल्याण्डले सन् २०२० मा गाँजा फेस्टिबल नै मनाइसकेको छ भने नेपाल आफ्नै संस्कृतिको अभिन्न अङ्ग रहँदै आएको गाँजामाथि प्रतिबन्ध हटाउन हिचकिचाइरहेको छ। यो बिडम्बना हो। यहाँको उत्कृष्ट गाँजालाई खुला गरिदिने हो भने पर्यटक आगमनमा पनि व्यापक वृद्धि हुने निश्चित छ।

त्यो कुरा सन् १९६० तिरको पश्चिमेली हिप्पी कल्चरले त्यस कुरालाई प्रमाणित गरिसकेको छ। वास्तवमा जनताको आयस्तरमा वृद्धि गर्ने र रोजगारी सिर्जना गरी देशलाई समृद्धिका बाटातिर डोर्‍याउन चाहने हो भने नेपालले पनि यथाशीघ्र गाँजामाथिको प्रतिबन्ध हटाई औषधि र मनोरञ्जनको साधनका रूपमा यसलाई मान्यता दिन ढिलो गर्नु हुँदैन।

त्यति मात्र हैन खेती र निर्यातको उचित व्यवस्था पनि गरिदिनुपर्छ। अनि क्यानाविस इभेन्टस् जस्ता फेस्टिबलहरूको आयोजना गरी प्रचारप्रसार गर्नुपर्छ। अभागी सुनका असिना बर्सिन्छ रे भन्ने सुनेपछि चोट लाग्छ भन्ने डरले घरभित्र लुक्न जान्छ रे भनेझैं गर्नु नेपालका लागि आत्मघात हो। चेतना भया।

प्रकाशित: २४ पुस २०७८ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App