क्रान्तिकालीन चीनका लेखक लु सुन जौडे जोदाहा थिए। विचार र संस्कृतिका मोर्चाको भीषण विमर्शमा तिनले थुप्रै पुरातनपन्थी र रुढिमार्गीहरूलाई हाबाकाबा खेलाए। परचक्रीहरू अग्निमय तर्कवितर्कको शास्त्रार्थमा जब धुलो चाट्थे, ती निस्तेज र निरुपाय भई लु सुनको नितान्त निजी जीवनमाथि अतिक्रमण गर्थे। लु सुनका दाँत पहेँला थिए। दाँत ताकेर हरूवाहरूले तिनलाई 'पहेँल्दाँते'को फत्तुर लगाए। उमेर निकै पाको भइसकेर पनि लु सुनका सन्तान थिएनन्। सन्तानहीन अवस्थालाई तारो बनाएर दुर्मति मनुवाहरूले उनलाई 'निसन्तान बूढो' भनी गिल्ला गरे। लामो पर्खाइपछि जब सन्तान पैदा भयो, लु सुन आफ्ना परपीडक विपक्षीहरूलाई सम्भि्कँदै दंग परे। र, निसन्तानरूपी आरोपको प्रत्युत्तरमा तिनले जमाएर जवाफ दिए - ल हेर, अब भने मेरो पनि छोरो भयो!
बाबु बन्न जोकोहीलाई लु सुनलाई झैं गाह्रो पर्दैन। बाबु बन्न न प्रतिभा र लगन चाहिन्छ, न शुभमुहूर्तको प्रतिक्षा गर्नुपर्छ, न त प्रशिक्षण र सीपकै खाँचो पर्छ। नररूपी दोपाया भालेले पोथीलाई रितुदान गरे पुग्यो, पोथीको गर्भाशयमा प्रकृतिले आफै छोरो बनाइदिइहाल्छ। गाह्रो त गतिलो बाबु हुन पो छ। बाबुको रूपमा आफ्नो भूमिकाको स्मरण गर्दा लाग्छ, छोरीको हकमा म ठिकठिकैको बाबु भएँछु, छोराको हकमा भने त्यस्तै-उस्तै बाबु।
लोकका नजरमा गिरिएला कि भन्ने डरले आडम्बरको आवरणभित्र लुकिबसेको आफ्नो अन्तर्य उजागर हुने यस्तो अनुभव हम्मेसी भनिँदैन। तर, छोराले सायद बिर्सिसकेको र बाबुलाई लोकलाई सुनाउन खसखस लागेको यो नितान्त कथा म यहाँ कहन्छु।
छोरोभन्दा पाँच वर्षपहिले जन्मेकी थिई हाम्री छोरी। त्यो बेला म किन्चित फुर्सदिलो थिएँ। त्यसैले म छोरीको शारीरिक र मानसिक विकासका मिहिन र रोमाञ्चक खुट्किलाहरूको अन्तरंग साक्षी र सहारा दुवै बनेँ। हाम्री छोरी आफ्नी छोरीको आफूखुसी अन्तर्जातीय बिहाबाट बेखुस भएका आमातिरका बाजे-बज्यै तरेर आउने ममताको मुहुनीमय पुल बनिदिई। त्यो सुलहकारी पुलले छोरीको मान-भाउ ह्वात्तै बढायो। मैले छोरीलाई फूलको थुँगोझैं पाखुरामा बोकेर खेलाएँ। थै-थै गरेँ। काँधमा राखेर घुमाएँ। उसको कौतुकमय बामेसराइको पहिलो चाल, झिना हात उठाएर लुला खुट्टा कमाउँदै उभिदाको उसको पहिलो विजयी मुस्कान, ऊ झोल्लिँदै हिँड्दाको पहिलो मनोरम पाइलो, कोमल हात समातेर उसलाई टुकुटुकु हिँडाउँदाको रोमान्चक अनुभूति, उसले 'बा' भन्दाको पहिलो सम्मोहक ध्वनि - म त्यो सबको पनि साक्षी र सेवक दुवै बनेँ। उसो त कलिलो मस्तिष्कमा कल्पनाका पखेटा लगाइदिन मैले छोरीलाई अनेक कथा-किस्सा पनि सुनाएँ। पछि कपुरी 'क'देखिको उसको सामाजीकरण र ज्ञान आर्जनको यात्रामा पनि म राम्रै सहजकर्ता र साथी बनेँ भन्ने लाग्छ।
जनमतसंग्रहको हुरी मत्थर भएपछिको कुरा हो। चितवनमा जब हाम्रो छोरो जन्म्यो, त्यो बेला म अनेक झ्याउ-झमेलाका पल्टनहरूले घेरिएको थिएँ। शिक्षक आन्दोलनको म एक अभियन्ता, बजारभाउ राम्रो भएको म एक अथक ट्युसनबाज, राजनीतिमा हल्का लसपस भएको म वाम खेलाडी। यस्तोमा चैनको मुद्रामा चिचिला छोरालाई दिने समय र शान्त मनोभाव नै म दुखियासँग कहाँ थियो र?
म बिहान भुकुभुके उज्यालोमा उठेर ट्युसनगृह, सोद्देश्य मित्रमिलन वा कतै मिसनमार्गी दोडाहामा जब निस्कन्थेँ, छोरो उसकी मातेको समीपमा निदाइरहेको हुन्थ्यो। उसो त म बेलुका अबेर फर्किआउँदा पनि ऊ उसैगरी मस्तसँग निदाएकै हुन्थ्यो। छोरो शिशुवयमै लर्दु टाइपको थियो, फ्यातुल्लो र बोझिलो। आफ्नै बोझले थिचिएर उठ्दै-नउठीकन ओछ्यानमै खिएर शेष हुने पो हो कि जस्तो। छोराका नियतिको अल्पकालीन बागडोर हातमा लिएको म बाबुको मनमा कताकता चस्कोका तरंगहरू सल्बलाउँथे। छोरीको शारीरिक र मानसिक विकासक्रमका सुक्ष्म र चरणबद्ध खुट्किलाहरूको चित्र मेरो स्मृतिपटमा टड्कारै टाँगिएको थियो। हो, त्यही मानकको तराजुमा मैले छोराको विकासक्रमलाई अति सरलीकृत काइदाले हुबहु देख्न मन गरेँ। तर, छोराको जे पनि ढिलो भयो। उसको व्यास फराकिलो थियो, जाँतोजस्तो। यो जाँते ज्यान बामे नसर्ने पो हो कि भनेर मलाई चिन्ता लाग्यो। तर मेरो चिन्ता मोचन गर्दै भुतुमुने जाँते मनुवा ढिलै भए पनि बामे सर्यो। र, मेरो चित्तमा थप फिक्री सञ्चार गर्दै ऊ ढिलो उभियो र ढिलै हिँड्यो। हेर्छु, उसलाई हतार केहीको छैन, आतुरी केहीको छैन। मानौं उसलाई जीवनमा कतै पुग्नु नै छैन। हैन, यो लोसे यात्री बोल्ला के? अर्को पिरोलोले मलाई पोल्यो। बोल्ने बेला गुजि्रसक्यो, अलमस्त मनुवा बोल्ने छाँटछन्दै झिक्दैन। गाँठ्ठे, यो आफ्ना लागि पनि र अरूका लागि पनि आजीवन दुःखको मुहानै हुने त होइन? मेरा आँखासामु सुन्यमा हरपल त्यो अप्रिय प्रश्न तुन्द्रुंग झुन्डियो। धेरै ढिलो गरी छोरो बोल्यो। तर, उसको बोलीले हामी प्रतिक्षारत आमा-बाका मन-मानसमा खुसियालीको कुनै लहर ल्याएन। उसको आरम्भिक बोलाइ श्री शेरबहादुर देउवाको अचेलको बोलाइ जस्तो थियो - संवेदनशील कर्नपटमा ध्वनिले स्पर्श गर्ने, भनेको कुरा खुट्याउन चाइने हम्मेहम्मे पर्ने। तर, बिस्तारै-बिस्तारै उसको बोली नेताश्री देउवाजीको भन्दा कता हो कता टाठो, चोट्टिलो र श्रुतिमधुर भयो। मेरो पीडादायी प्रश्न पराजित भयो र छोराले बिलम्ब गरेरै भए पनि बोलीको कलामा शानदार विजय प्राप्त गर्यो।
अब सुरु भयो आंगिक वामकोणको कष्टकर प्रकरण। छोरो दिदीको हात समातेर ठम्ठम् हिँड्दै इस्कुल जाने भयो। एक दिन गोरा-गोरीहरूलाई नेपाली भाषा दान गरेर फर्कँदा मैले देखें - चिन्तातुर माते छोराको दाहिने हात समातेर उसलाई जबर्जस्ती लेख्न सिकाइरहेकी थिइन्। छोराको अनुहारमा दिक्दारी र लाचारीको वेचैन भाव थियो। र, उसले मलाई पुलुक्क हेरेर तुरुक्क आँसु झार्न थाल्यो।
'के गरेको यो?'
'यो लठुवा देब्रे हात चलाउँदो रहेछ', मातेले भनिन््। 'त्यसैले यसलाई बेलैमा दाहिने हातले लेख्न सिका'को।'
'धत्! देब्रे हातले लेखे के बिग्रन्छ र?'
'अलच्छिन लाग्छ क्या अलच्छिन, थाहा छैन? मान्छेले हेलाँ गर्छन्।'
मैले प्रकृतिको कार्यविधिको कुरो उठाएँ। माते हजुर! देब्रे हात बढी क्रियाशील हुनु लच्छिन-अलच्छिनको कुरै होइन। यो त केवल मस्तिष्कको कमाण्ड कन्ट्रोल टावरको अवस्थितिको कुरा पो हो। त्यसैले प्रकृतिलाई जबर्जस्ती बशमा राख्न खोज्दा हात लाग्ने कुरा हो, फगत मूर्खता र निराशा। पुत्रको भविष्यको चिन्तामा डुबेकी माते किन मान्थिन्? एकोहोरो जिद्दीमा उनी अडिग रहिन्। आफ्नो तर्कको आगो हम्किँदै उनले थपिन् - 'यो देब्रेले पछि केटी पनि पाउँदैन।'
'पाउँछ,' मैले विनोदी भाकामा जिरह गरेँ, 'दाहिने केटी नपाए यसले काइदाकी देब्रे केटी पट्याउँछ।'
माते भान्साको धन्दामा लागिन्।
'क लेख्् त बाबु', मातेको चिन्तातुर यत्नको फल जाँचिहेर्ने मनसुवाले मैले भनेँ। छोराले देब्रे हातले हत्तपत्त काइदाको क लेख्यो। म त्यसैत्यसै दंग परेँ। प्रकृति र संस्कृतिको तानातानीमा शाश्वत प्रकृतिले जित्यो, कृत्रिम संस्कृति परास्त भयो। साता दिनपछिको कुरा हो। मध्ये वर्षा याम थियो त्यो। मूल हाँडीगाउँको नारकीय बजारबीचबाट नरबिष्टाका थाप्रा र गज्गज् हिलो छल्दै म भत्केको पुलतिर ओरालो झरेँ। म गोरा-गोरीहरूलाई उही भाषा दान गरेर थकित मुद्रामा फर्किँदै थिएँ। छोरो बायाँतिर झ्यास-झाडीबीचको टिनका ट्याप्रा हालेको बाल इस्कुलको मूलद्वारबाट तुफानी वेगमा कुद्दै मतिर आयो। कुद्दाकुद्दै भक्कानो फुटेर उसको आहत कण्ठबाट त चित्कारको रन्को पो पोखिन थाल्यो। स्तव्ध हुँदै हेरेँ, बालकका गालामा आँसुका लेग्रा बसेका छन्, नाकमा सिँगानको लत्को झुन्डिएको छ, व्यथित आँखा राता भएका छन्।
'के भो, बाबु?' गाला मुसार्दै सोधेँ।
प्रत्युत्तरमा मेरा तिघ्रामा छाँद हालेर ऊ झनै चर्को स्वरमा रोयो। हात समातेर डोर्याउँदै नजिकको डेरामा पुर्याएँ। छोरो अझै रोएको रोएइ थियो। शान्त्वनाकारी प्राथमिक उपचारका रूपमा उसलाई एक गिलास दूध टक््रयाएँ। अनि सोधेँ - 'के भो, बाबु?'
'बा, मलाई देब्रे गोज्याङरो भने।'
'कल्ले? उपध्य्राहा केटाहेर्ले?'
'सप्पैले।' छोराको दमित स्वरमा अथाह पीडा प्रवाहित भयो। 'अनि मिसले पनि। अनि मलाई हेरेर सप्पै कस्तरी हाँसे!'
'पख्', मैले भनेँ, 'भोलि त्यो गोज्याङ्री मिसको म चिन्ता गर्छु।'
भोलिपल्ट अनेक जुक्तिले फकाइ-फुल्याईकन छोरालाई लिएर म इस्कुल पुगेँ। र, गोज्याङ्री मिस र छोराको रोहबरमा शिक्षक-शिक्षिकाहरूलाई मस्तिष्कको कमाण्ड कन्ट्रोल टावरको अवस्थिति र कार्यविधिबारे मैले एक लेक्चर पिलाएँ। अनि आखिरमा रमरम ध्वाँस ध्वनित भएको लबजमा भनेँ, 'यति नाथे कुरा पनि नजान्ने केको शिक्षक, केको शिक्षिका?' प्रधानाध्यापिका समझदार रहिछन्। तिनले लज्जाबोध गर्दै त्रुटि सच्याउने बाचा गरिन्। नभन्दै कालक्रममा त्रुटि सच्चियो पनि। र, मेरो निर्दोष छोरो 'देब्रे गोज्याङ्रो'को फत्तुरबाट मुक्त भयो।
छोराको देब्रे हातको स्फुर्तिले अर्को समस्या निम्त्यायो। एक बिहान उदेक मान्दै छोरीले उजुरी गरी - 'बा, हाम्रो मित्रेले भात खाने हातले दिसा धोयो।' धत् देब्रे मानव, परेन कि फसाद! दुई हातको हैसियतअनुसारको कामबारे मायालु वचनमा छोरालाई म प्रवचन दिन थालेँ। भनेँ - हेर् बाबु, देब्रे हातको काम भात खाने र लेख्ने हो। दाहिने नाथेको काम हो दिसा धुने। यताको उता भयो कि कुरो चौपट भो। छोरो दीर्घ शङ्का गर्न बस्दा आफ्नो नीति वचनको नतिजा नियाल्न म नाक अँठ्याएर चर्पीबाहिर उसको द्वारपाले बन्न विवश भएँ। मेरो चियोले काम गर्यो। छोरो चर्पीकर्ममा खरो उत्र्यो। र, यसरी दीर्घ शंकाको झ्याउलो पनि बाई-बाई भयो।
छोरो मलाई बाबु हुनुको बोझ र मोज चखाउँदै, मन्द गतिमा पढ्दै र दू्रत गतिमा बढ्दै थियो। त्यो बेला ऊ पानीपोखरीको भानुभक्त इस्कुलमा पढ्दै थियो, कक्षा तीनमा। एक दिन म भित्र कोठामा भुटिँदै गर्दाका मुरली मकै पड्केझैं औंला चालेर टाइपराइपर पड्काउँदै थिएँ। बाहिर छोरी कितित्त हाँसी। छोराको उत्ताउलो हाँसो दिदी चाइनेको हाँसोमा खप्टिन पुग्यो। 'बाउ', चकित हाँसोमा घोलिएको स्वरमा छोरी कराई, 'मित्रेले इस्कुलाँ कट्टु फुकालेछ!'
'के भो रे?' फुत्त बाकिर निस्केर सोधेँ।
छोरीले भाइको कट्टुको कथा सुनाई। मैले कथा त्यसको निहितार्थमा सुनेँ। इस्कुलमा गुरु भनिने एउटा गोरुगोरु टाइपको हरिप जीवात् रहेछ। उसको दण्डनीति रहेछ, गृहकार्य नगर्ने केटालाई कट्टु फुकाल्न लगाउनु। सहस्र भाले र पोथी सहपाठीका अगाडि कट्टु फुकाल्नु पर्दा पहिले त छोरो लज्जाएछ, 'नाइँ' भन्दै लिएर रोएछ। तर, चड्कनच्युराबाट जोखिन आखिरमा उसले कट्टु फुकालेछ। कट्टु फुकाल्दै जाँदा ऊ थेत्तरो हुँदै गएछ। अनि, बिस्तारै-बिस्तारै कट्टु उजागर गर्ने कार्य त उसका लागि दिल बहलाउजस्तो पो हुन पुगेछ। गृहकार्यको विकल्प कट्टु फुकाल्नु! भोलिपल्ट कट्टुकाण्डबारे प्रधानाध्यापकछेउ उजुरी गर्न म झोँक्की मनोदशामा पानीपोखरी पुगेँ। प्रधानाध्यापक विद्यालय प्रशासनको आसनमा रहेनछन्। मैले स्यानो चिठ्ठी लेखेँ। चिठ्ठीमा कट्टु पर्वको छोटो खुलासा गरेँ। र, अन्त्यमा भनेँ - प्रधानाध्यापकज्यू † मलाई हजुरको कट्टु दर्शनार्थी शिक्षकको अनुहार हेर्न मन छ। बस्।
मेरो चिठ्ठी पर्नुपर्नेका हातमा पर्यो-परेन मलाई थाहा भएन। उसो त सोध्नलाई धाएर म जान पनि गइनँ। बरु मैले 'आफ्नो घर आफैं सम्हाल्, कान्छा'को स्वावलम्बी कार्यनीति अपनाएँ। म कसैगरी समय निकालेर, एकाग्र भएर छोरालाई गृहकार्य गराउने धन्दामा लिप्त भएँ। इस्कुलका निधारमा 'इङ्लिस बोर्डिङ'को प्रलोभनकारी छाप ठोकेको थियो। पाठ्यपुस्तकहरू बालकको मानसिक स्तरभन्दा एक बित्तामथिका थिए । तर गतिलो गरी सिकाएको केही थिएन। बालकका थाप्लामा दिनानुदिन गृहाकर्यको चाङ यति ठूलो थियो, त्यसको चापले आतंकित भएर बाल-मस्तिष्क टाक्सिने डर थियो। छोरो जर्ज बुसको शैलीमा देब्रे हातको कुइनो नब्बे डिग्रीको कोण पर्ने गरी दोब्य्राएर र हत्केलो छातीतिर मोडेर अर्द्धवृत्ताकार पोजमा म दाहिने जीवलाई एकदमै अप्ठेरो लाग्ने गरी लेख्थ्यो। पहिले अक्षर लेख्थ्यो र तलबाट मास्तिर डिक दिन्थ्यो। उसका लामा अक्षर विलक्षण र कलात्मक थिए, तर लेखाइको गति भने अचाक्ली ढिलो थियो । त्यो गतिमा एक दिनको गृहकार्य गरिसक्न उसलाई कम्तीमा पनि एक साता लाथ्यो। झेलको खेल गर्नुसिवाय उपाय के थियो? छोराले नभ्याएको गृहकार्य कनिकुथी उसका अक्षरको नक्कल गर्दै हामी बाबु-छोरी गरिदिन्थ्यौं । सामूहिक गृहकार्य अभियान जब गणितमा पुग्थ्यो, छोराले उपध्रो मच्चाउँथ्यो। 'यसरी होइन', रुन खोज्दै ऊ अत्तो थाप्थ्यो। 'यसरी नभए कसरी हो त, केटा?' म सोध्थें। 'मलाई थाहा छैन', ऊ भन्थ्यो र र पिल्पिल् गर्थ्यो। आखिरमा केही सीप नलागेर मैले गणित शिक्षकलाई एउटा कटाक्षकारी पत्र लेखिपठाएँ - हे ज्ञानी र गुणी गुरुजी! छोरालाई कि जान्ने गरी गणित सिकाइपाऊँ, कि हजुरको आतङ्ककारी गृहकार्य नै त्याग गरिपाऊँ।
त्यही समयमा छोराको चित्तवृत्तिको अर्को चक्र आरम्भ भयो। उसको जिज्ञासु चित्तले 'नयाँको खोजी वा आविष्कार'को चरणमा प्रवेश गर्यो। एक दिन घाम डुल्ने बेलामा म घर आइपुग्दा ऊ पिँडीमा एक्लै बसेको थियो, गुत्थ फुलर। अगाडि भुइँमा ताल्चाका दुई फप्लेँटा थिए। माथि टेबुलमा पेचकस थियो। सोधेँ - 'यो उपध्रो के हो?' ऊ गुत्थको गुत्थै थियो। दाहिने हातका चोर औँला र बुढी औंलाका टुप्पा नीला भएका थिए । देब्रे हत्केलापछाडि खोस्सिएर रगत रसाइहाल्ला कि जस्तो चोट थियो।
'ताल्चा त बिगारिएछ नि, मिस्टर!' ठट्टाको भावमा मैले भने ।
'आफैँ बिग्य्रो।' उपध्य्राइँबाट जोगिन बालककालमा मैले प्रयोग गर्ने गरेको उही बालसुलभ बासी उत्तर उसले थपक्क दोहोर्यायो। म भित्रभित्रै हाँस्छु। पुत्ररत्नको नयाँको खोजी गर्ने विनाश कार्य अविराम जारी थियो। एउटा सस्तो भारतीय रेडियो थियो। बजाउँदा पछाडिको कभरमा त्यसलाई घरिघरि झापट हान्नु पर्थ्यो। त्यै कबाडी पनि आविष्कारमार्गी छोराले भत्काएको रहेछ।
'अर्को पराक्रम गरिएछ, हैन?'
छोरो बोलेन। भत्किएको रेडियोझैं उसको अनुहारको भाव पनि नराम्ररी भत्किएको थियो।
'नाथे, यो किन भत्का'को?'
'भित्र बोल्ने मान्छे हेर्न।'
'देखियो त?'
मेरो स्वरको पारो चढ्दै गएको भेउ पाएर होला, चर्मरक्षा अभियानमा छोरो बेत्तोडले बाहिरतिर हान्नियो।
छोरी किताबको कीरोजस्तै थिइ। जहिले हेर्यो, पढेको पर्ढ्यै। छोरालाई भने पढाइको एकरत्ती पर्वाह थिएन। प्रायः घरमा उसको दर्शन पाउनै गाह्रो। सानो छँदा उसको दुर्दान्त रुचि गुच्चा र लाबरको गोलमा थियो। अलि ठूलो भएपछि उसको रुचि बढुवा भएर क्रित्रे्कट नाउँको मुङग्रे क्रिडामा सर्यो। कठोर व्यङ्ग्य मुद्रामा क्रित्रे्कटलाई कुरिकुरी गर्दै बर्नाड श भन्थे - केही मूर्खहरू क्रिडा प्रदर्शन गर्छन् र सहस्र मूर्खहरू दर्शक भएर मूर्खताको नशामा झुल्छन्। आफू परेँ उनै बर्नाड शको चेलो र अनुगामी। छोरालाई लठ्याउने मुङ्ग्रे क्रिडा यदायदा हेर्थर्ें, त्यसमा चालको विविधता, निशानाको सूक्ष्मता र कलाकौशल कतै केही देख्दिनँथें। सबै कुरा तीघ्रा र पौँजाको स्थूल अभिनयजस्तो लाग्थ्यो। टोपधारी एउटा जुम्सो बूढो रेफ्री भएर उभिन्थ्यो छ र बेलाबेला दुई चोर औंला हल्लाउँथ्यो। टाउकामा फलामे टोपी, अनुहारमा पिन्जडा र पिँडुलामा नेल भिरेको मुङ्ग्रे आतंकित मुद्रामा निहुरिएर मुङ्ग्रो ठकठक पार्दै बल आउने दिशातिर एक टकले हेर्थ्यों। बल नितम्बमा रगेड्दै एउटा जीवन बेतोडले कुदेर मुङ्ग्रेको नाक उडाउन खोज्दै धरतीमा बल बजार्थ्यो। क्रिडाभूमिभरि छरिएर उभिएका जवानहरू बल समात्न मरिहत्ते गर्थे। बस्, बाह्रै घन्टा खेल, नयाँ केही हुन्थेन न। अझै दाल-भात-डुकुको उल्झनको सेरोफेरोमा रुमल्लिएको मेरो देशमा यो रसहीन मुङ्ग्राले छोराको पेट भर्ने त कुरै थिएन। तर के लाग्छ, उसको चटपटे संसारमा मुङ्ग्रोजति मूल्यवान् चीज अरु केही थिएन।
छोरालाई 'पढ्, पढ्' भन्दै म दाबिरहन्न्थें । ऊ टेरपुच्छर लाउँदैन। अनि ज्ञानी बाबाको आसनमा बसेर म उसलाई अर्जाप्न खोज्थें - 'हेर, अल्छे यो संसारमा मान्छे दुईथरीका हुन्छन्। शिर उठाएर गरिखाने र शिर निहुराएर मागी खाने। तँ मागी खाने निहुरमुन्टी न हुने भइस्।' कुरा सुनेर ऊ कि ठुस्स पर्थ्यो कि ङिच्च हाँस्थ्यो। वचनले प्रतिवाद वा प्रतिक्रिया केही गर्दैनथ्यो।
तर, अल्पभाषी, अन्तर्मुखी र अटेरी छोराको पढाइको रहस्य गजप छ! परीक्षाफल जब आउँछ, छोरो सधैँ गजपसँग पास हुन्थ्यो। ऊ मखलेल मुद्रामा मलाई आफ्नो लव्धांकपत्र देखाउँथ्यो। त्यो क्षणमा उसको गर्वोन्नत अनुहारले मानौँ मलाई गिज्याइरहेको हुन्थ्यो - 'बाउ, मलाई नहेप! मलाई चिन! मलाई बुझ! सोचाइ, गराइ र कार्यसिद्धिको कलामा मानिसहरू फरक-फरक हुन्छन्। नपत्याए उल्लु बूढा, मैलाई हेर!'
प्रकाशित: ८ मंसिर २०६६ २३:१८ सोमबार





