coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
ब्लग

दशैं कस्तो भो?

दशैं सकिएसँगै नियमित रुपमा कार्यालय खुल्यो। १०/१२ दिनका लागि टाढा भएका साथी र सहपाठीहरुसँग भेट्ने बित्तिक्कै प्रश्न ओइरियो, ‘कस्तो भो दशैं?’

मैले जवाफ दिएँ, ‘दशैं सामान्य नै भयो।’ मैले पनि सोधेँ, ‘ आफ्नो चाहिँ कस्तो भो त?’, ‘मेरो त सामान्य भएन, असामान्य पो भो?’ उसले जवाफ फर्काए।

कोजाग्रत पूर्णिमासँगै २०७८ सालको विजया दशमीले औपचारिक रुपमा बिदा लिएको पर्व थोरैलाई सामान्य र धेरैलाई ससामान्य बनेको छ। अझ कतिलाई त अनपेक्षित नै पनि हुनसक्छ, हामीले भर्खरै मात्र विदाइ दिएको दशैं। हुन त दशैंमा आआफ्नै दुःख र कष्ट सहेरै भए पनि घर गएकाहरु नियमित काममा फर्किसकेका छन्।

पुरानै लयमा फर्किसकेकाहरु ‘दशैं कस्तो भो?’ भनेर प्रश्न गर्दै आफूसँगै आफ्ना साथी, सहपाठीहरुले मनाएको दशैंको बारेमा अनुभव साटासाट गरिरहेका छन्। साँच्चै, गएको वर्षको भन्दा यो वर्षको दशैं कस्तो भयो? भन्ने जिज्ञासा एकअर्कोमा हुनु स्वभाविक पनि हो। कारण प्रष्ट छ, यो पालिको दशैको परिस्थिति। यो पालिको दशैं धेरैले धेरै तरिकाबाट अनुभव गरेर मनाए। कोहीले सम्पन्नताका बीचमा पनि अभावको दशैं मनाएका छन्, कोहीले सुखका बीचमा पनि दुःखको अनुभूति गर्दै मनाए, सुविधाका बाबजुद् पनि सकसमा मनाए। कसैले योजना विना पनि दशैं मनाए,  कसैले योजना तुहाएरै पनि मनाए। कसैले आफ्नो रहरलाई बीचैमा छाडेर दशैं मनाए। नेपालीहरुको महान् र ठूलो चाडका रुपमा रहेको दशैं सबैले आआफ्नै गच्छे, सुविधा र प्रचलनअनुसार नै मनाएभन्दा अत्युक्ति नहोला।

तर यो पालिको दशैंको रौनक अन्य  वर्षहरुमा भन्दा तुलनात्मक रुपले फिक्का नै रह्यो। यो पालिको मालश्री धूनले पनि गिज्याएको हो कि जस्तो धेरैले अनुभव गरेका छन्। चारैतिर धानका सुनौला बालाहरुले वातावरणलाई सुनौलो बनाए पनि मन अमिलिएको थियो। उत्तरतिर हिमाल हाँस्न सुरु गरेको भए पनि विद्यमान कोरोना भाइरसको बढ्दो संक्रमणको ग्राफले भित्रैबाट मन हाँस्न नमानिरहेको अवस्थामा हामीले दशैंलाई बिदाइ गरिसकेका छौं।  

बास्तवमै यो पालिको दशैंमा लगाइएको टीकाको रङ्ग त्यति गाढा हुन सकेन, शिरमा सिउरेको जमराको सुवास र सौन्दर्य त्यति खुल्न सकेन। मनहरु चङ्गाजस्तै गरी आकाशमा विचरण गर्न पाएनन, एकैछिनलाई भए पनि जीउलाई हल्का बनाउन खेलेको पिङले पनि मन हलुङ्गो बनाउन सकेन।

कुनै बेला दशैंमा झरी पर्‍यो भने ‘हिले दशैं’ भनेर न्वारन गरिदिएजस्तै गरी यो पालिको दशैंलाई सकसको दशैंभन्दा पनि फरक नपर्ला। यो पालि दशैंमा धेरै जना आफन्तहरु आफ्नो जन्म घर जान पाएनन, मान्यजनबाट टीका र आर्शिवाद् थाप्न पाएनन्। गएकाहरु पनि बसमा निक्कै कठिन र ज्यानै हत्केलामा राखेर गए। लामो बाटो हिँडे। थकित शरिर र मन लिएर मान्यजन, आफन्त र नातागोतासम्म पुगे। समग्रमा निक्कै सकस बेहोरे यो पालि नेपालीहरुले।

धार्मिक मात्र नभएर सांस्कृतिक कोणले पनि महत्व छ दशैंको। वर्षौंसम्म भेटघाट हुन नसकेका आफन्तजनहरुसँग भेटघाट हुने अवसर दशैंले नै जुराइदिने गर्छ। दुःख, सुख साटासाट गर्ने, आफन्त चिन्ने मौकाको रुपमा आउने दशैं यो पालि भने पीडादायी पर्वको रुपमा देखाप¥यो। आफ्ना आफन्तसँगै भएर पनि नभएकोजस्तो खल्लो महसुस गर्न बाध्य भए धेरै नेपालीहरु। दशैंको संघारमै भएका डरलाग्दा सडक दुर्घटनाको विभत्स र दारुण कथाले दशैंलाई दशामा परिणत गरिदिएको छ।

अझ दशैंको उतरार्धमा परेको अप्रत्यासित निरन्तरको झरीले किसानले लगाएका धानबाली सखाप भएका छन्, धानसँगै किसानको भविष्य, सपना डुबेका छन्, लगानी स्वाहा भएका छन्। जलवायु परिवर्तनको प्रभावको सिकारमा परेको वातावरण शारदीय बन्न पाएन। यसैले कसरी दिने जवाफ ः दशैं कस्तो भो को जवाफ?

प्रकाशित: ४ कार्तिक २०७८ ११:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App