८ वैशाख २०८१ शनिबार
ब्लग

एनआरएनएमा विभाजन ल्याएर के चाहन्छ नेपाली कांग्रेस?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं महाधिवेशनमा नेतृत्वको लागि प्रत्यासी थिए वर्तमान अध्यक्ष कुमार पन्त र तात्कालिन उपाध्यक्ष कुल आचार्य। व्यवसायीक साझेदारसमेत रहेका पन्त र आचार्य मिल्ने साथी पनि थिए। आचार्यले पन्तविरुद्ध उम्मेदवारी दिन्छन् भन्नेमा कतिपयले विश्वासै गरेका थिएनन्। आचार्यले संघको ८ औं महाधिवेशनमा कुमार पन्त र डा. बद्री केसीको कांध चढेर जमुना गुरुङविरुद्ध चुनाव लडेर उपाध्यक्ष पद हात पारेका थिए।    

तत्कालीन अध्यक्ष शेष घलेकी श्रीमती लोकतान्त्रिक पक्षको तर्फबाट चुनावी मैदानमा रहेका आचार्यले पन्त र केसीको टिममा रहेर लोकतान्त्रिक खेमाका सोनाम लामा र नेपाली जनसम्पर्क समिति अमेरिकका संस्थापक अध्यक्ष खगेन्द्र जिसीलाई हराएका थिए। संघको ९ औं महाधिवेशनसम्म आइपुग्दा आचार्यले कित्ता फेरे। आफ्नै सहयात्री कुमार पन्तविरुद्ध उम्मेदवारी दिए। र, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछानेविरुद्ध चुनावी मैदानमा उत्रिए।

पन्तलाई संस्थापकहरुको सहयोग हुने देखेपछि आचार्य नेपाली कांग्रेस र शेष घलेको शरण लिन पुगे। कांग्रेसका नेता रामचन्द्र पौडेलमार्फत् पार्टीलाई परिचालन गर्दै उनले एनआरएनएमा आधिकारिक उम्मेदवारको रुपमा आफूलाई स्थापित गरे। र, गैरआवासीय नेपालीहरुमा औपचारिक रुपमा राजनीतिक ध्रुवीकरणको शुरुआत गरे। तत्कालीन अवस्थामा नेपाली कांग्रेस स्थानीय र संसदीय चुनावमा नराम्रोसंग पराजित भएको थियो। सत्तामा सम्हालेका थिए एमाले नेता केपी ओलीले।

कांग्रेसले सबै क्षेत्रमा पराजित भए पनि एनआरएनएमा नेतृत्व लिने झिनो विश्वासका साथ आचार्यलाई उम्मेदवार बनाएर जितलाई प्रतिष्ठाको विषय बनायो। सबै शक्ति परिचालन गरेको कांग्रेस निरीह बन्यो, अर्थात् आचार्य पन्तसंग पराजित भए। आचार्यले विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेताहरुले सहयोग नगर्दा चुनाव हारेको भन्दै उल्टै कांग्रेसलाई दोस लगाए। कयौं स्थानमा धाँधली गरिएको दाबी गरे। अध्यक्षमा निर्वाचित पन्तले नेतृत्व सम्हालेपछि आचार्य संघकै अभियानविरुद्ध लागे। पन्तले सल्लाहकार बनाए पनि उनीले त्यति रुची देखाएनन्। संघलाई जतिसक्दो कमजोर बनाउने र राजनीतिक मैदान बनाउन सक्रिय भए।  

संघको १० औं महाधिवेशन नजिकै गर्दा उनले पुरानै बाटो समातेर नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार बन्ने कोशिसमा छन्। उनी एनआरएनएको चुनावमा नेपाली कांग्रेसको रुख चिन्ह लिएर चुनाव लड्ने ध्याउन्नमा काठमाण्डौमा नेताहरुको ढोकाढोका पुगेका छन्। तर एक जनालाई पार्टीले पटकपटक अवसर दिन नहुदै भन्दै एनआरएनए उपाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति अमेरिकाकी संस्थापक नेता रविना थापाले आचार्यविरुद्ध उम्मेदवारी घोषणा गरेकी छन्।  

थापाको उम्मेदवारीले आचार्य मात्र होइन् सिंग्गो नेपाली कांग्रेसभित्र विभाजन देखिएको छ। नेपाली कांग्रेसका युवा नेताहरुसंघ विशुद्ध सामाजिक संस्था भएको भन्दै निर्वाचनमा पार्टी सहभागी हुन नहुने तर्क गरिरहेका छन्। तर कांग्रेस संस्थापन खेमाले आचार्यले जित्ने ग्यारेन्टी दिए उनैलाई टिकट दिन सकिने बताएको छ।  

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, पार्टी सभापति पत्नी आरजु देउवाले एनआरएनएमा कांग्रेसले जसरी पनि जित्नु पर्ने तर्क गर्दै आचार्यकै पक्षमा उभिएका छन्। युवा नेताहरु गगन थापा, प्रदिप पौडेल, सुरेन्द्र पाण्डेलगायतले संघको निर्वाचनमा पार्टी पृथक रहनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसभित्र पारिवारिक विरासतसमेत भएकी म्याग्दीकी रविना थापाले कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल, विरबहादुर बलायर, कृष्ण सिटौलालगायतको मन जितेकी छन्।  

कांग्रेसले किन रोक्यो एनआरएनए निर्वाचन ?

संघको अक्टोवर महिनाको तेस्रो साता हुने तय भएको चुनाव नेपाली कांग्रेसको ठाडो हस्तक्षेपका कारण स्थागित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको परराष्ट्र मन्त्रालयमार्फत् नेपाली कांग्रेसले चुनाव रोकेको हो। संघका ६४ देशमा चुनाव सम्पन्न भएर प्रतिनिधिहरुको प्रराम्भिक नामावली प्रकाशन भएसंगै संघभित्र कांग्रेसको आडमा प्रत्यासी बनेका अधिकांश पराजित हुने अवस्था देखिएपछि पार्टी नेतृसमेत रहेकी आरजु देउवाको घुर्कीमा प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयलाई दबाब परेको थियो। संघको नेतृत्वमा रविना थापालेसमेत दावी गरे पछि नेपाली कांग्रेस नेतृत्वमा तनाव उत्पन्न भएको छ। कांग्रेस नेताहरु पार्टीको १४ औं महाधिवेशनमा केन्द्रित हुने र महाधिवेशनमा हुने गुटगट विभाजनको बाछिटा एनआरएनएमा पर्ने निश्चित भएपछि कांग्रेसले जसरी हुन्छ संघको निर्वाचनलाई पार्टी महाधिवेशनपछि धकल्ने प्रयास गरेको हो। नेपाली कांग्रेसको टिकटबाट निर्वाचनमा जाने तयारी गरेका कुल आचार्य समूह कांग्रेस नेता रामचन्द्र पौडेलनिकट छ। 

आचार्यको टिममा महासचिव डा. केशव पौडेल, उपाध्यक्ष जानकी गुरुङलगायत अधिकांस पदाधिकारीहरु पौडेल समूहकै भएपछि देउवा समूहमा रहेका विदेशस्थित जनसम्पर्क सम्पर्क समितिका अधिकांस सभापतिहरुले आचार्य समूहभन्दा थापालाई सहयोग गर्ने चेतावनी पार्टीलाई दिएका छन्। आफ्नै गुट र विभाजनबाट बाहिर निस्कन नसकेको कांग्रेसले ६० लाख नेपालीहरुको साझा संस्थाभित्र राजनैतिक विभाजन ल्याएर आफ्नो छवि धमिल्याउन खोजेको र त्यसले कालान्तरमा एनआरएनएलाई मात्र होइन कांग्रेसलाई नै असर गर्ने कतिपयको ठम्याई छ।

प्रकाशित: ३१ भाद्र २०७८ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App