coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

मेहन्दीभन्दा मेहनती हात प्यारो

  साउन लागेसँगै धेरैजसो महिला हरियो पोते, हरियो चुरा अनि रातो  सारीमा  सजिन्छन्। राजधानीका सपिङ मलदेखि गाउँघरका मठमन्दिरमा  मेहन्दी लाउने र लगाउनेको भिड लाग्छ। स–सना केटाकेटीदेखि अधवैंशे महिलासम्म हरिया चुराको छनछन र मेहन्दीको गाढा रङमा रमाउँदै छन्। मेहन्दीलाई मायाको प्रतीक मान्दै रङ गाढा रहेमा माया पनि गाढा रहने कतिपयको विश्वास छ। विभिन्न डिजाइनका मेहन्दी लगाएर सहरबजार गर्ने गरेका युवायुवतीको संख्या बढ्दो छ।

साउनका  थुप्रै समाचार लेखियो । मेहन्दी लगाएका थुप्र्र्र्रै हातका बुट्टेदार तस्बीर खिचियो । तर भक्तकुमारीको हातमा पोतिएको साउनको हिलो अहिलेसम्म देखेको मेहन्दी हातभन्दा उत्कृष्ट लागेको छ ।

त्यसैले हरेक वर्ष जस्तो साउनलागेपछि चुरा र मेहन्दीको  समाचार लेख्दै आए । लामोसमयसम्म मेहन्दी हात खिच्दै आएको मलाई पाँच बर्ष अगाडी खिचेको मेहनती हातको तस्बीर अझैपनि निकै प्यारो लाग्छ । साउनमा धानबाली गोड्दै गरेका उनलाई मेहन्दी लगाउने फुर्सद थिएन । रामेछाप ओख्रेनीकी भक्तकुमारी मगर राजधानीमा आएको १२ वर्ष भएको थियो र तर  उनलाई साउनले कहिल्यै छोएन बरु ’कामको असार’ सधैं उस्तै  थियो । ’  

मलाई त सधैं मध्य असार,’ मनोहरा फाँटमा धान गोड्दै गरेकी उनले हरिया झार र हिलो लागेको हात देखाउँदै भनेकी थिइन्, ’यही हो मेरो मेहन्दी र यस्तै छ मेरो हरियो काम!’

हरियो चुरा र मेहन्दीमा सजिन नपाएपनि धानको हरियाली फाँटमा काम गर्दे गरेकी भक्तकुमारीको हात नियाल्दा  त्यसमा अझै पनि आम नेपाली महिलाको  सिंगो साउन झल्कन्छ। 

१० वर्षअगाडि श्रीमान्ले कान्छी ल्याएर छुट्टै बस्न थालेपछि भक्तकुमारी आफ्नै पाखुराको बलले जिन्दगीको गाडी गुडाइरहेकी सुनाउथिन्। उनको दुई पाखुरी एक दिन चलेनन् भने बेलुकीको भाँडो तताउन गाह्रो हुन्छ। उनी त व्यस्तताले आफू बिरामी भएर बस्नसमेत नपाएको सुनाउथिन्। ’ज्वरो आए, सिटामोल खान्छु,’ उनले  भनेकी थिइन् , ’तर आराम गरेर बस्न सकिन्न।’ उनको एक्लो कमाइले सन्तानको पढाइ खर्च, कोठा भाडा र बिहान–बेलुकाको छाक टार्नुपर्ने बाध्यता थियो।  

थाहाँ छैन मिहेनतको त्यो हातले उनको जीवनमा नयाँ  रंग ल्यायो–ल्याएन। तर दिमागमा  गढेको त्यो तस्बीरको छाप अझै हटेको छैन। त्यसपछि  पनि साउनका थुप्रै समाचार लेखियो।  विदेशी महिलाले मेहन्दी लगाएका  तस्बीरपनि  खिचियो। तर भक्तकुमारीको हातमा पोतिएको साउनको हिलो अहिलेसम्म देखेको मेहन्दी हातभन्दा उत्कृष्ट लागेको छ।  

हरियो चुरा र मेहन्दीमा सजिन नपाएपनि धानको हरियाली फाँटमा काम गर्दे गरेकी भक्तकुमारीको हात नियाल्दा त्यसमा अझै पनि आम नेपाली महिलाको सिंगो साउन झल्कन्छ। 

प्रकाशित: ५ श्रावण २०७८ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App