७ वैशाख २०८१ शुक्रबार
ब्लग

कस्को लागि नकाव पहिरिएकी छौ बहिनी?

कपिलवस्तुको तौलिहवा बजारदेखि करिव १० किलोमिटर पूर्वतर्फ एउटा बस्ती छ, पकडी । जुन भारतीय खुल्ला सीमाबाट ५ किलोमिटर नजिक पर्छ । सञ्जोगवस् १५ दिन त्यहिँ पकडी बस्तीमै बस्ने मौका मिल्यो। म पहाडमा हुर्किएकी मान्छे, सानो छँदा गाउँका अलि हुनेखानेहरु तराईमा घर जग्गा किनियो अब बसाइँसराइ गर्न लागेको भन्थे, मलाई लाग्थ्यो तराई भनेपछि सबथोक पाईन्छ । सब कुराले सम्पन्न होला, विकसित होला । त्यहाँका मान्छेहरु खुसी र सम्पन्नशाली होलान् तर बिडम्वना वास्तविकता सोचेभन्दा धरै फरक रहेछ।

तराई आएको बेला एउटा घरमा भोज खाने निम्तो थियो । छोराको विवाहको भोज खान एक स्थानीयले डाकेका थिए । त्यो भोजमा गयौं । जसको भोजको निम्तो गरेका थिए उनीहरुको ३५/४० जनाको परिवार रहेछ । त्यति ठूलो परिवारका सदस्यको भोजमा सहभागी हुन पाउदा खुसीसँगै अनौठो पनि लाग्यो । त्यति ठूलो परिवारबारे जान्न मन लाग्यो । त्यो परिवारमा धेरै भाई छोरा रहेछन् ।परिवारकै एक सदस्यले परिवारको परिचय दिए । त्यही क्रममा उनले भने, ‘मेरो भाई यो पदमा कार्यरत छ, छोराले यो बिजनेस गर्छ, सबै छोरा र दाईभाइले राम्रै गरेका छन् ।’ तर उनले छोरी बुहारीको त नामै लिएनन् । त्यति ठूलो परिवारमा छोरी बुहारी पनि धेरै थिए होला । तर उनीहरुको बारेमा ती घरका पाका सदस्यले किन मुख खोलेनन् ? हामीलाई त्यहाँ पानी समेत स–साना भाइहरुले पिउन दिएका थिए । त्यस्तो देखेरमलाई झल्यास्स घरको सम्झना आयो । जहाँ बाहिरबाट कोही पाहुना आउनासाथ मेरी आमाले सन्चोविसन्चो र हालखबर सोध्नुहुन्छ । आफ्नै किसिमको सत्कार गर्नुहुन्छ । चिया, पानी सोध्नुहुन्छ । मलाई मेरो घरको त्यो चलन निकै मनपर्छ । भोज खाने घरमा पुग्दा मलाई लागेको थियाे, यहाँ पनि मेरो आमा जस्तै आमा आएर पानीसोध्नुहुन्छ,म जस्तै नयाँ बेहुली आएर आफ्नो नयाँ बैबाहिक जीवनको अनुभव बताउछिन्। एकअर्कामा चिनजाने हुनेछ । तर बिडम्बना त्यहाँ महिलाको नाममा म मात्र थिएँ । सोचेँ, पक्कै व्यस्तताले होला यहाँ महिलाहरु नदेखिएको । भित्र केही पकाउँदै वा काम गर्दै होलान् ।करिब १ घन्टा गफ गरेर बस्दा अहँ छोरीमान्छे कोही देखिनँ । प्लेटमा  खाना तयार थियो, त्यो खान लोग्ने मान्छे मात्रै तम्तयार थिए । हामीलाई जसले भोजको निम्तो दिएका थिए उनी एक क्याम्पसका शिक्षक थिए । जसले आफ्ना विद्यार्थीलाई छोरा र छोरी समान हुन्, एउटा महिला शिक्षित हुँदा पूरा परिवार शिक्षित हुन्छ भनेर उपदेश दिन्छन् । उनी जस्तो शिक्षित मान्छेको परिवारमा यस्तो देखेपछि मैले अन्य अशिक्षित र परम्पराले जकडिएको समुदायको हालत के होला भनेर कल्पना मात्रै गर्न सकेँ ।  

आखिर शिक्षा भन्नू आदर्शका कुरा मात्र गर्नु हो त? भद्र भलाद्मी बनेर समाजमा हिड्नु, आदर्शका भषण  गर्नु मात्र शिक्षा हो? तर व्यवहारिकता छैन भने भित्तामा टाँसिएको सर्टिफिकेट्को के अर्थ । आफूले लिएको शिक्षा आफूमै लागू गराउन सकिएन भने अज्ञानी/अशिक्षित समाजलाईशिक्षाको उज्यालोतर्फ धकेल्न कसरी सकिएला ? मेरो बुझाईमा नकारात्मक सोचलाई परिवर्तन गरी सकारात्मक बाटोतर्क हिँड्नु नै शिक्षाको सार हो । तर कुरो प्रथा परम्परा र संस्कृतिमा अड्कीएको छ ।यही युग जुन युगका मानिसहरु चन्द्रमा र मंगल ग्रहमा पाइला टेक्दै छन्, बास बस्ने सपना बुन्दै छन् । तर तराईको एउटा गाउँमा भने सोच्नै नसकिने समस्याका पोकाहरु छन् । अहिले पनि ४० डिग्रीको गर्मीमा  महिलाहरु घरभित्र नै घुम्टो ओडेर बसेका छन् । यो कस्तो परिवर्तन ?अलिक आधुनिक बनेर संस्कार परम्परा माने हुदैन र ? के आधुनिकताले संस्कार परम्परा तोडिने होर? आफूलाई नै उकुसमुकुस गराउने परम्परा र संस्कार किन चाहियो फेरि ? पराई मान्छेको अगाडि देखिनु नै नहुने यो कहाँसम्मको न्याय हो? कहिले चढ्ने त स्वतन्त्रताको सिँढी ?आखिर कहिलेसम्म बन्दकोठाका कैदी बनाउने महिलालाई ? पहिचानको नाममा नकाव पहिर्याएर ईट्टाको पर्खालभित्र कतिन्जेल राख्ने?हिन्दु होस वा मुस्लिम यहाँ दुवैले आफ्ना दिदीबहिनी श्रीमती, छोरी चेलीहरुलाई बन्दक जस्तो बनाएर बाहिर माईकमा भाषण फलाकीरहेछन्।

ती तिनै मान्छे हुन्, जसले साँझ रक्सीको नसामा गएर दाइजोको नाममा आफ्नी श्रीमती जलाउछन्,छोराको कुकर्ममा साथ दिने हिजोकी बुहारी आजकी तिनै सामन्ती सासू हुन्छिन्। एउटा महिला भएर महिलाकै पिडा बुझ्दिनन् भने आखिर तिमी कस्को लागि त्यो नकाव पहिरिन्छाैं बहिनी? तिमीभन्दा प्यारो त यहाँ तिमिले ल्याएको दाइजो रहेछ  ।बहुराज्यको भाषण गर्ने हाम्रा नेताहरुले आफ्ना घरका श्रीमती, छोरी–बुहारीलाई कहिले माथी उठाउने आवाज सुनिएन । त्यो  घुम्टो फालेर स्वतन्त्र भएर हिँडन सक्ने बनाउँछु भनेको कहिल्यै सुनिएन । दाइजो प्रथा खारेज गर्छु भनेर कहिले भनेको सुनिएन । खालि बंशज नागरिकता दिलाउनुपर्छ भन्ने बहुराज्यको भाषण मात्रै सुनियो । ती नेतालाई दलालको संज्ञा नदिएर के दिने? तराईबासीहरुलाई नागरिकताको अभाव हैन उनिहरुसँग नेपाली नागरिकता छ । नागरिकता केवल चाहिएको हो भारतवासीहरुलाई । तराईबासीहरु आफूलाई पूर्ण रुपमा नेपाली सम्झिन्छन् । बहुराज्य त केवल भारतबासीहरुलाई चाहिएको हो । भारतीय दलालहरु बहुराज्यको नाममा यहाँ देश टुक्र्याउन चाहन्न्छन्,तराईलाई बेच्न चाहन्छन् ।

सिंहदरबारमा बसेर बहुराज्यको कुरा गर्नेहरुलाई थाहा छैन यहाँका जनता चप्पल नपाएर खालि खुट्टा हिडेको । बस्तिको बिचबाट ११ हजार भोल्टेजले लाइन हाल्दिनाले ११ वर्षको वच्चा खेल्दा खेल्दै करेन्ट लागेर मर्न बाध्य छ तराईवासी । बस्ने छत नभएर माथीबाट पानी चुहिने तलबाट डुब्ने टहरामा बस्न बाध्य छन् । केटाकेटीहरु कुपोषणको शिकार छन् । आखिर तिम्रो विकास र समृद्धि यहि हो? तिमिले कोल्टे फेरिसक्यौ तिम्रा तीन पुस्ता सुरक्षित भैसके । तिम्रा जनता अझै २०औँ वर्ष पछाडी छन् । उनीहरुलाई आफ्नै जिविका नै धान्न गाह्रो छ, पुस्ताको त कुरै छाडौ ।

पैसा, पार्टी, पावर र धर्मको आडमा जितिएका चुनावले यहाँ गरिबलाई चिन्दैन र बुझ्दैन रहेछ । पहाडतिर एउटा उखान छ –भाई फुटे गवार लुटे । नेपालको राजनीतिमा यस्तै छ,भैरहन्छ । त्यही राजनीति जसले दिनमा ८/१० जनाको टाउको फुटाएको थियो, अझै पनि गरिब निर्दोषले टाउँको फुटाइरहेका छन् । खाश तिमिले सुरुदेखि नै भाईभाईको सम्बन्ध बनाउनेतर्फ लाग्थ्यौ भने न कुनै आमाको काख रित्तो हुन्थ्यो,न कसैको सिंदुर पुछिन्थ्यो न त  कोहि बालक टुहुरो बनेर बस्नुपर्थ्यो । तिम्रो स्वार्थको लागि सोझा जनता प्रयोग गर्यौं । ती सबै बिर्सिएर सिंहदरवारमा बहुराज्यको भाषण गरिरहेका छौ अहिले ।

तराईमा पुगेको बेला त्यहाँका दिदीबहिनीको अवस्था निकै नाजुक देखेँ । केहीले आफ्नो दुःख सुनाए । ‘पोहोरसाल बुबाले छाडेर गए, अलिकति जमिन थियो । त्यो पनि दाजुले हडप्यो, मेरो नामममा भाग लागेन,’ अभिराव गाउँकी एक दिदीले भनिन्, ‘टहराको बास छ, जमिनदारले कहिलेकाही बाली छोड्दिनाले परिवारको ज्यू ज्यान चलेको थियो,अहिले त्यो पनि छैन ।’ उनले छोरा जन्माउने चाहना हुँदा ५ छोरी जन्मिएको सुनाइन् ।छोरो जन्मिनु अभिशाप जस्तै रहेको उनको भोगाइ छ । सानोमा छाक टार्न मुस्किल रहुर्किएपछि विवाह गरिदिन दाईजो कहाँबाट ल्याउने भन्ने पिरलो छ अहिलेदेखि नै छ ती दिदीलाई । उनका अनुसार विवाह गर्दा दाइजो किन्न यहाँ किड्नीसम्म बेच्ने चलन थियो । कोही दाइजोकै कारण झुण्डिएर मरेका छन् । खानेहरुले सोझासाझा जनतालाई उडुसले चुसे जस्तो चुसिरहेका उनको भनाई छ ।  

त्यो दिदीको कुराले मन भारी भयो । अनि ती नेताहरुलाई सम्झिएँ जसले गरिबका सपना साकार पार्ने अजेण्डामा चुनाव जितेका थिए । नेता ज्यु हामिले तपाईलाई भोट यसकै लागि दिएको हो ? ‘नदिनाला बेच्नुस्,चुरे डाडा हरु बेच्नुस्,देश नै  बेच्नुस्, हाम्रो घाउ दुख्न छडिसक्यो । अब यहि दलदलमा जिन्दगीको अन्तिम घडि कुरेर बसिरहेका छौ,जहाँ बर्सेनि  मिहिनेत गरेर बाली लगाउछौ, जमिनदार आएर सबै लग्दिन्छ, जमिनदार नआउँदा बाढी आएर टहरासंग हामिलाई समेत लग्छ ।हामी गरिवको कोहि नहुने रहेछ,देवता पनि नहुदो रहेछ,’ सोेही गाउँकै अर्की महिलालले सुनाईन् ।

तराईका जनताहरु सोझा रहेछन् नेताहरु चतुर र स्वार्थी । जसलाई कुनै पनि तवरले यो ठाउँलाई बनाउँ भन्ने सोचै छैन । त्यसैले तराई आफैँमा सुन्दर ठाउँ हो, तर जनताको पीडामा नजरअन्दाज गर्न सिकेका नेताहरु र यहाँका कुसंस्कारी पुरुषहरु नै समस्याका पर्खाल हुन् ।

(लेखक अधिवक्ता हुन्)

प्रकाशित: ५ असार २०७८ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App