१० असार २०७८ बिहीबार
ब्लग

सहकारी अभियानमा सहिष्णुता र भातृत्व भाव

नेपालको सहकारी अभियान ६५ वर्षको परिपक्व उमेर पुगेको छ। एउटा कुनै पनि निकायको लागि यो अविच्छिन्न र अनवरत यात्रा सहित स्थायित्वको परिचायक हो। ‘सफलता बक्र रेखामा हिड्छ’ भनेझैं हाम्रो देशको सहकारी अभियान पनि विभिन्न ‘चक्र’ तथा बांगाटिंगा बाटाहरु पार गर्दै आजको अवस्थामा आइपुगेको हो।

१९ वटा विषयगत सहकारीका केन्द्रीय निकायहरु आफ्ना प्रादेशिक, जिल्ला र प्रारम्भिक संघ संस्थाहरुको संरक्षण, सम्बद्र्धन र प्रगतिका खातिर अहोरात्र खटिएका छन्। सहकारी अभियानबाट मुलुकले असाध्यै आश गरेको छ। समुदायले सहकारी संस्थाहरुबाट साथ र सदस्यहरुले साख खोजेका छन्। संविधानले खोजेको समाजवादको ‘सफर’ मा सरकार सहकारीलाई सारथी बनाउन खोज्दैछ। यस्तो अवस्थामा सबै सहकारीहरुको अभिभावक ‘अभियान’ले सरकार र सदस्यहरुको मन जित्दै विश्वलाई अब्बल सहकारी उदाहरण पेश गर्नुपर्ने दायित्व छ। यसका लागि समग्र अभियानकर्मीहरुबीच ‘बसुधैव कुटुम्बकम्’को खाँचो ट्ड्कारो देखिएको छ।

नेफ्स्कूनको अग्रसरता

पक्कै पनि मुलुकको सहकारी अभियानको ‘संवाहक’ नेफ्स्कून नभएर केवल सहयात्री हो। बचत ऋण सहकारीहरुको मात्र नभई समग्र सहकारी अभियानको अहम् हिस्सेदार नेफ्स्कून हो। सहकारी अभियानका गम्भिर मुद्दाहरुमा बहस पैरवी र वकालत गर्दै सदस्य र समुदायको हितका खातिर वैधानिक निर्णय गर्ने अनि गराउने काम नेफ्स्कूनले गर्दै आएको छ। “सहकारी ऐन २०७४ एवम् नियमावली २०७५ सँगै विभिन्न कानुन तथा नीति निर्माणका काममा नेफ्स्कूनले खेलेको भूमिका कसैबाट लुकेको छैन। तर, यसको जिम्मेवारी केबल बचत ऋण सहकारी संघ संस्थाहरु मात्र होइनन्, समग्र सहकारी अभियान नै हो। 

त्यसो त मुलककै जेठो विषयगत केन्द्रीय सहकारी संघ नेफ्स्कून कारोबार र पुँजीका हिसाबले मात्र नभई जिम्मेबारी, दायित्वबोध र योगदानका हिसाबले पनि अग्रणी केन्द्रीय निकाय हो। यो आलेखको उद्देश्य अभियानका अन्योन्याश्रित अंगहरुबीच सहिष्णुता र भातृत्व भाव विकसित गर्न प्रेरित गर्नु हो। निम्न उल्लेखित विषय र मुद्दाहरुमा अभियानबीच छलफल, अन्तरक्रिया, सहकार्यसहितको साझा कार्ययोजना बन्नसक्दा मुलुककै सहकारी क्षेत्र यसबाट लाभान्वित हुने देखिन्छ।

सहकारी ऐन संशोधनमा सहकार्य

सहकारी अभियानले खोजेको जस्तो सतप्रतिशत सहकारी ऐन २०७४ र नियमावली २०७५ आएन। तर ‘पाक्य दोषो नदियते’ भनेझैँ २०४८ सालको सहकारी ऐन भन्दा केही अग्रगामी रुपमा उपलब्धिहरु प्राप्त भएका छन्। यसलाई संस्थागत गर्दै कमजोरीहरुलाई संयुक्त छलफलका आधारमा सुधार गर्दै अघि बढ्ने निर्विकल्प उपाय हो। प्रतिकुलतालाई अनूकुलतामा बदल्न कुनै निकाय वा पदासीन व्यक्तिलाई दुत्कार, निषेध र वर्जित होइन सत्कार, समावेश र सहभागी गराउँदै अघि बढ्नुपर्ने समयको माग हो।

सहकारी ऐनमा भएका कमजोरीहरु सच्याउन ऐन संशोधनको विषयमा नेफ्स्कूनसँगै राष्ट्रिय सहकारी महासंघ र अन्य विषयगत केन्द्रीय संघले अग्रसरता लिएका छन्। नेफ्स्कूनले विभागीय मन्त्रालयमा सहकारी ऐन संशोधनको मस्यौदा सचिवमार्फत बुझाउने काम गरेको छ। सन्दर्भ ब्याजदर निर्धारण कार्यमा सन्तुलित भूमिका खेलेको छ। नेफ्स्कूनले सहकारी ऐनमा भएका ६ वटा कार्यविधिहरुको मस्यौदा समेत सहकारी मन्त्रालयमा बुझाएको थियो। यसमा न्यूनतम आवश्यक समझदारी कायम गरी अघि बढ्दा मात्र उपलब्धि हुने देखिन्छ। 

समग्र सहकारी अभियानको विश्वसनीयता र स्थायित्वसँग जोडिएका कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण स्थापनाका लागि संयुक्त पहल सहकारीकर्मीले खोजेको विषय हो। त्यसैगरी, दोहोरो सदस्यताका विषयमा पनि अभियानकर्मीबीच कुनै मतभेद छैन। यद्यपि, यसका लागि आवश्यक तयारीहरुमा केही उल्झन देखिएका छन्। नियामक निकाय र अभियानको आशय पुनित छ, तर त्यसका लागि एकीकृत प्रणाली तथा सेवाको विकास पूर्वसर्त हो। कोपोमिसको प्रभावकारी कार्यान्वयनमा सरकारको तदारुकता र त्यसमा अभियानको हातेमालोले साझा गन्तव्यको दूरी छोट्याउँछ। यस विषयमा नेफ्स्कूनले स्पष्ट धारणासहित सहकारी विभागसँगको सहकार्यमा कोपोमिस अभिमुखीकरण र तालिम कार्यक्रम सञ्चालन पनि गरिरहेको छ।

शुद्धीकरणका लागि शिक्षा

हेनरी फर्डको “मसँग भएका जनशक्ति छोडेर मेरो सबै सम्पत्ति, मसिन र भौतिक वस्तुहरु लगे पनि फेरी म हेनरी फर्ड बन्न सक्छु” भन्ने भनाइले कुनै पनि संस्थामा जनशक्तिको महत्वलाई चरितार्थ गर्छ। शिक्षा, तालिम र अभिमुखीकरण मार्फत सहकारीका त्रिमूर्तिहरुः सञ्चालक, कर्मचारी र सदस्यहरुलाई सुशासित गर्न प्रेरित गर्न सकिन्छ। सोही कारण सबैले आफ्ना ठाउँबाट स्रोत र साधनको अधिकतम उपयोग गरी सहकारी शिक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। यद्यपि, सबैका प्रयासहरुलाई पुनर्विचार गरी आवश्यकता, बोध, विशेषज्ञता र व्यावहारिकताको उचित संयोजनमा तालिम शिक्षालाई अघि बढाँउदा प्रतिफल हासिल गर्न सकिन्छ। पटक पटक एउटै बाटो हिडेर नयाँ गन्तव्यमा पुगिन्न। यसका लागि पनि सहकार्य र समन्वय गर्न नेफ्स्कून पछि पर्दैन। यसमा ऐक्यभावको अभाव किञ्चित् नहुन दिन नेफ्स्कून तत्पर रहँदै आएको छ।

सहकारीमा औपाचरिक शिक्षाका माध्यमबाट दक्ष जनशक्ति तयार पार्ने कामलाई प्राथमिकीकरण गरेको नेफ्स्कूनले यसै वर्षदेखि प्राविधिक शिक्षा तथा व्यावसायिकत तालिम केन्द्र (सिटिइभिटी) सँगको सम्बन्धनमा छोटो अवधिको सहकारी व्यवस्थापक कोर्स पनि सञ्चालन गरेको छ। यसबाट उत्पादित जनशक्ति केवल बचत तथा ऋण सहकारीहरुका लागि मात्र नभई सम्पूर्ण सहकारी अभियानमा उपयोग हुनेछ। निकट भविष्यमै सहकारीसम्बन्धी अन्य विषयहरुका लागि पनि कक्षा सञ्चालन गर्ने तयारीका लागि सम्बन्धन समेत प्राप्त गरेको नेफ्स्कूनको यस अभियानले सहकारी क्षेत्रका लागि ‘जब बैंक’ को भूमिका निर्वाह गर्नेछ।

सशक्तिकरणका लागि एकीकरण  

सरकारले नै सहकारीहरुबीच एकीकरणलाई नीति र कार्यक्रमभित्र समाहित गरी महत्व दिएको छ। एकीकरण ‘फोस्र्ड’ भनई स्वेच्छिक हुनुपर्छ भन्नेमा अभियानभित्र दुईमत छैन। सबै विषयगत केन्द्रीय संघहरुले एकीकरणलाई सशक्तिकरणको सुत्रका रुपमा लिएर आफ्ना संघ संस्थाहरुलाई उत्प्रेरित गर्नुपर्ने छ। सदस्यका सबै खाले सेवाको स्वाद पस्कन पनि एकीकरण वाञ्छनीय छ। यसले प्रविधिकरणमा पनि सहयोग गर्ने पक्का छ भने समाजमा उपस्थितिलाई पनि गठिलाें बनाउँदछ। प्रतिस्पर्धात्मक वित्तीय बजारमा सहकारी भूमिकालाई सशक्त, प्रविधियुक्त र नवीनता प्रदान गर्न पनि साना सहकारीहरुलाई एकीकरणका लागि टेको दिने काम गर्नुपर्ने छ। एकीकरणलाई प्रोत्साहन गर्ने सुविधासहितको नीति र कार्यक्रम अघि ल्याउन राज्यलाई घच्घच्याउने काममा अभियानबीच हातेमालो जरुरी छ। माउ निकायहरुले सन्ततिहरुको सेवा सुश्रुभालाई स्वाद मान्नुपर्छ र त्यसका लागि सक्दो प्रयास एकीकृत रुपमा गर्दा नतिजा परिणाममुखी अवश्य हुन्छ।  

प्रगतिका लागि प्रविधिकरण

अब सहकारीलाई डिजिटाइज नगर्ने हो भने सदस्यहरु यसबाट बिमुख हुने स्थिति आउन सक्छ। समय र परिस्थितिले पनि त्यही मार्गनिर्देश गरिरहेको छ। सबै प्रकारका सहकारीहरुले क्यू आर कोड, मोबाइल बैंकिङ, एटीएम, एसएसमएस सेवामा जोडिनुपर्ने अवस्था छ भने उपभोक्ताहरुलाई सहकारी उत्पादनहरु उपलब्ध गराउन अनलाइन कोप सप वा मार्ट सुविधा उपलब्ध गराउनुपर्ने छ। यसका लागि सहकारीहरुबीच सहकार्यको जगमा उभिएर प्रविधिकरणमा फड्को मार्न सकिन्छ।  

हालै नेफ्स्कूनका सदस्य साकोसहरुद्धारा जारी भुक्तानी पूर्जा फरफारक तथा अन्तर साकोस सदस्यहरुबीच भुक्तानी सेवामा सहजता हुने गरी अन्तर साकोस विद्युतीय भुक्तानी सेवा समेत प्रारम्भ गरेको छ। यसमा पनि अन्य निकायहरुको साथ र सहयोग वाञ्छनीय छ भने प्रविधिमार्फत सहज सेवा प्रदान गर्ने अन्य विषयगत संघहरुको कदमलाई निसर्त सहयोग गर्न नेफ्स्कून तयार पनि छ।  

सहकारी मूल्यमा एक्यवद्धता

सहकारीका आधा दर्जन आधार मूल्यहरु र ४ नैतिक मूल्यहरु सबैको धरालत अनि समाजवाद साझा गन्तव्य होे। सदस्य र समुदायको समृद्धिको एकसुत्रीय लक्ष्यका खातिर एक्यवद्धता थप कसिलो हुनुपर्छ। सहकारी साख साँघुरिन नदिन सामूहिक प्रणको खाँचो छ। बेलाबखत आइपर्ने मानव वा प्रकृति सिर्जित प्रकोपहरुले  सहकारीका सिद्धान्त, मूल्य, मान्यता र नैतिकता परिक्षण गर्छन्। सहकारीका संघ संस्था र निकायबीचको ‘आवश्यकताको सिद्धान्त’ एकपटक पुनर्जीवित गराएको छ। गर्न धेरै बाँकी छ, यात्रा लामो छ, सदस्यहरुको अपेक्षा अग्ला छन्।

संघीय संरचना अनुसार विधिवत गठन हुँदै गरेका अभियानका नवप्रवेशी प्रदेश संघहरु र लामो इतिहास बोकेका जिल्ला संघहरु केन्द्रीय संघका तगाराहरु नभई तागत हुन् भन्ने बिर्सन हुन्न। एक अर्काका असल अभ्यासबाट अभिप्रेरित हुनुपर्छ। भूकम्प, बाढीपहिरो लगायत पछिल्लो पटक देखिएको कोभिड १९ जस्ता प्राकृतिक विपत्ति तथा संकटमा वित्तीय लगायतका सहयोग गर्ने मामिलामा समेत अन्य निकायसँगै नेफ्स्कून अग्रणी भूमिमा रहँदै आएको छ। सहकारी सामाजिक उत्तरदायित्वका काममा अभियानको अग्रसरतालाई सहकारिताको माध्यमबाट थप सशक्त बनाउन सकिने विश्वास छ। संस्कृतिसहितको सहकारी, आवाजसहितको प्रजातन्त्र र सह अस्तित्वसहितको स्थायित्वका लागि आधारभूत मूल्यहरुमा कुनै सम्झौता नगरी सामूहिकताका आधारमा अघि बढ्नुपर्छ।

सञ्जाल सहकार्यमा जोड

नेफ्स्कूनले विगतमा मात्र होइन हालै निर्माण गरेको ५ औं रणनीतिक योजना (२०७८–२०८१) मा सञ्जाल सहकार्यलाई निरन्तता दिएको छ। यसलाई ‘सेयर्ड नेटवर्क’ नामाकरण गरिएको छ। यसको अर्थ बचत ऋण सहकारी अभियानलाई प्रविधिकरण गरी एकीकृत सेवा प्रणालीमा जोड्ने मात्र नभई सहकारीका अन्य विषयगत निकायहरुसँगको सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लाने योजना हो। वर्तमानको महाविपत्तिले पनि अभियानको महानताको माग गरेको छ। त्यसका लागि सहकारीको तेर्सो र ठाडो सञ्जाललाई शसक्त बनाउँदै लाने योजना नेफ्स्कूनले अघि बढाएको छ। सञ्जाल दरिलो बनाउँदा फाइदा सबैलाई पुग्ने हुँदा यसमा अन्य निकायहरुले पनि रणनीतिक योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ।

सरकारसँग हार्दिक सम्बन्ध

सरकार र अभियानबीच बेलाबेलामा देखिने मतान्तरको मैलोलाई सहकारिताको साबुनभन्दा अरु के ले माझ्दा सफा होला र ? यसका लागि व्यक्तिगत रुपमा अभियानकर्मीहरु र संस्थागत रुपमा अभियानका विषयगत केन्द्रीय निकायहरुसँगै महासंघ र नियामक निकायसँगको हार्दिकतालाई अझ उचाईमा लाने दिशामा सबैले ‘आज एक कदम पछि हट्दा भोली दुई कदम अघि बढ्ने’ स्थिति सृजना गर्नुपर्ने देखिन्छ।

सञ्चारमाध्यमको भूमिका

आमसञ्चारको प्रभावकारिता दिनानुदिन बढ्दो छ। सहकारीका क्षेत्र प्रवद्र्धन र कमीकमजोरीहरुलाई औल्याउने दिशामा सन्तुलित र खोजमूलक समाचार, विचार र सम्प्रेषण सञ्चारमाध्यमसँग सहकारी र सञ्चारबीच नङ र मासुको जस्तो सम्बन्ध आवश्यक छ। त्यसका लागि सहकारी अभियानबीच सञ्चारमाध्यमलाई हेर्ने साझा अवधारणा विकास गर्नुपर्ने आवश्यकता छ। पत्रकारिताले सहकारी अभियान, नियामक निकाय र सदस्यहरुबीच विषय उजागर गरेर राज्यका निकायसम्म पुर्‍याउन पुलको काम गर्ने भएकाले समयसमयमा छलफल र अन्तरक्रिया गर्दा अभियानको श्रीवृद्धिमा पक्कै सहयोग पुग्दछ। जय सहकारी। (लेखक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रकाशित: २२ वैशाख २०७८ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App