८ वैशाख २०८१ शनिबार
ब्लग

राजनीतिमा ‘होल्डिङ जोन’

बढ्दो कोरोना संक्रमणसँगै माक्स नलगाई हिँड्नेलाई  प्रहरीले होल्डिङ जोन (अल्पकालीन छेकथुन)मा राख्न थालेको छ। अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई ‘प्लेकार्ड’ देखाएर चेतना प्रवाह गरिन थालेको छ।  

कोरोनाको बढ्दो चापसँगै नेपाली राजनीतिमा पनि अचानक ‘संक्रमण’ बढेको छ। दल–दलबीच मात्र हैन दलभित्रै अनुशासन तोडिने डरले आफ्ना सांसदहरू होटलमा ‘होल्ड’गरिन थालेका छन्। अविश्वासको प्रस्तावमाथि छलफल गर्न भन्दै गण्डकी प्रदेशका विपक्षी तीन दलका सांसद  सोमबारबाटै रिसोर्टमा रहेको खबर आएको छ। उनीहरूले अनुशासन तोडेको भन्दा पनि तोड्लान् भन्ने  डरले होटल ‘होल्डिङ जोन’ मा राखेको प्रष्ट देखिन्छ।  

दलहरूबीच हुने अविश्वासभन्दा आफ्नै दलभित्र हुने अविश्वास कोरोनाभन्दा पनि डरलाग्दो हुन्छ। अस्वस्थ्य ढंगबाट हुने अनुशासन उल्लंघन देशका लागि घातक हुने उदाहरण विगतमा पनि देखिएकै हो। जब जनप्रतिनिधि स्वार्थका लागि बिक्छन् तब मूल्य अमुक पार्टीले हैन मुलुकले चुकाएको इतिहास हाम्रोसामु ताजै छ।

सरकारविरुद्ध ल्याइने अविश्वासप्रस्तावमाथि छलफल गर्ने उद्देश्यले मुलुकको राजनीति निकै तातेको छ। मंगलबार मात्रै जनता समाजवादी पार्टीले आफ्नो बैठक सुरु गरेको छ भने सोही दिन  नेकपा माओवादी केन्द्रले समेत स्थायी कमिटीको बैठक बोलायो। निकास निस्किएको छैन। बैठकहरू जारी छन्।

पार्टीका बैठक सामान्य हुन्। तर, कोरोनाको महामारीमा रोगसँग कसरी लड्नेभन्दा पनि सरकार कसरी ढाल्ने र  जोगाउनेमा  पूरै राजनीति केन्द्रित  भएको छ। कोरोनाको कहरमा भ्याक्सिनको भन्दा धेरै विवेकको अभाव देखिएको छ। बिहीबारबाट सुरु हुने लकडाउन मात्र हैन महिनौदेखि राजनीतिको  लकडाउन कहिल्यै खुल्ने यकिन छैन।

कोरोनाबाट जोगिन भन्दै सर्वसाधरण उपत्यकाबाट बाहिरिँदै छन्। यता सरकार जोगाउन र ढाल्न भन्दै नेताहरू उपत्यका आउने क्रम बढ्दो छ।जसरी  कोरोनाको मापदण्ड मिचेकालाई  प्रहरीले ‘होल्डिङ जोन’ मा राखेर  कोरोनाविरुद्ध सुरक्षित रहने चेतना प्रवाह गरेको छ । त्यसरी नै राजनीतिमा मूल्य मान्यता मिच्नेलाई  होल्डिङ जोनमा राखेर कसले विवेक प्रवाह गरिदिने?

प्रकाशित: १५ वैशाख २०७८ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App