१० कार्तिक २०७७ सोमबार
ब्लग

एसइईपछि अन्योलता : याे महामारीमा कुन विषय र कहाँ पढ्ने ?

कोरोना महामारीका कारण सम्पूर्ण शिक्षालय बन्द छन्। शिक्षा मन्त्रालयदेखि विद्यालय तहसम्मको समन्वयमा भर्खरै मात्र एसइई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसबाट विद्यार्थी एवं अभिभावक खुसी भएका छन्। तर अब अगाडि कुन विषय पढ्ने, शिक्षाको कुन क्षेत्र छनोट गर्ने भन्ने अन्योल पनि बढेको छ। कुन विषय पढ्दा रोजगारी पाइएला, भर्ना पाउने  सम्भावना कति होला, राम्रो पढाइ र सुलभ वातावरण कहाँ होलाजस्ता प्रश्नमा कहाँ कसले उचित सल्लाह देला भन्ने अन्योलता सिर्जना भएको हो। 

स्वाभाविक रूपमा पहिलो छनोटमा पर्ने स्वास्थ्य, कृषि, विज्ञान, इन्जिनियरजस्ता विषयबारे पनि अहिले प्रश्न उठ्न थालिसकेको छ। अहिले जुनसुकै विषय पढे तापनि सबै क्षेत्रमा अन्तरविषयगत ज्ञान अत्यावश्यक नै भएको छ। शिक्षक तथा विद्यार्थी दुवैले कुनै एक विषयमा दक्षता प्राप्त गरे तापनि, त्यो पर्याप्त नहुन सक्छ।

उच्च जिपिए प्राप्त गर्नेदेखि न्यून जिपिए प्राप्त गर्नेसम्म सबै विद्यार्थीकाे चासो र चिन्ता एउटै छ– कुन विषय लिने र कहाँ पढ्ने?  

एसइईको नतिजा विगतका वर्षमा भन्दा तथ्यांकमा अझ सुधारोन्मुख देखिन्छ। कोरोना महामारीका कारण यसपटक आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई अंक प्रदान गरिएको छ। २०७२ सालदेखि २०७६ सम्मको एसइईको नतिजामा क्रमशः २ जना, ४ जना, ७४ जना, १०६ जना र ९ हजार ३१८ जनाले ४.० जिपिए ल्याएको तथ्यांक छन्।  

उच्च जिपिए प्राप्त गर्नेदेखि न्यून जिपिए प्राप्त गर्नेसम्म सबै विद्यार्थीकाे चासो र चिन्ता एउटै छ– कुन विषय लिने र कहाँ पढ्ने?  

कोरोना महामारीका कारण विद्यालयदेखि विश्वविद्यालयसम्म अध्ययन/अध्यापन ठप्प छ। शिक्षा मन्त्रालयले केही वैकल्पिक शिक्षण निर्देशिका बनाएर शिक्षण सिकाइ सञ्चालन गरे तापनि त्यति प्रभावकारी हुन सकेको छैन। एसइईपछि विद्यार्थीलाई विषय, क्याम्पस छनोट गर्न कठिन बनेको परिस्थितिमा पहिलेजस्तो विद्यालय वा विश्वविद्यालयमा आफैं उपस्थित भएर पढ्ने/पढाउने अवस्था अहिले छैन।  

पछिल्लो समय प्रविधि र इन्टरनेटको विकास सँगसँगै शिक्षाको दायरा फराकिलो हुँदै गएको छ। यसले विश्वलाई एउटै गाउँजस्तो बनाइदिएको छ। जसका माध्यमबाट मानिसले घरमै बसीबसी विविध ज्ञान हासिल गर्न सक्छन्।  

कुन विषय र क्याम्पस छनोट गर्ने भन्ने विषयमा निम्न तरिका अपनाई विद्यार्थी एवं अभिभावकलाई मद्दत गर्न सकिन्छ :

सम्बन्धित विद्यालयमा परामर्श एकाइ सञ्चालन

विद्यार्थी तथा अभिभावकहरुलाई उच्च शिक्षा वा माथिल्लो तहमा अध्ययन गर्नको लागि सम्बन्धित विद्यालयमा नै परामर्श इकाईको स्थापना गर्न सकिन्छ। जसले विद्यार्थी र अभिभावकलाई स्पष्ट मार्ग निर्देशन गर्न सकोस। कहाँ पढ्ने, के पढ्ने, अनुमानित खर्च विवरण आदिको बारेमा विद्यालयले नै परामर्श गर्न सक्दछ। यसलाई विद्यालयकै एउटा विभाग वा निकाय बनाएर संचालन गर्न सकिन्छ। विदेशी स्कुल, क्याम्पस साथै नेपालमा पनि केही विद्यालय तथा क्याम्पसले यो विधि अपनाएको पाईन्छ।

अन्तर-विषयगत ज्ञानमा जोड

अहिले जुनसुकै विषय पढे तापनि सबै क्षेत्रका धेरथोर जानकारी राख्नैपर्ने हुन्छ। अन्तरविषयगत ज्ञान अत्यावश्यक नै भइसकेको छ। शिक्षक तथा विद्यार्थी दुवैले कुनै एक विषयमा दक्षता हासिल गरेर मात्र नपुग्ने भएको छ। एक विषयको चस्माले सबै विषय हेर्नुपर्ने भएको छ। प्रविधिगत, समाजशास्त्रीय, अर्थशास्त्रीय ज्ञान÷सीपका साथै देशको जल्दोबल्दो राजनीतिक अवस्था, संविधान, नीति÷नियम, कानुनबारे अनिवार्य जानकार हुन आवश्यक छ। उदाहरणका लागि कृषि वा पशुपालन पढ्ने विद्यार्थीले आधारभूत तहको बजारको अर्थशास्त्र, औषधीय विज्ञान, प्रविधिगत ज्ञान÷सीपका साथै इन्टरनेटमा उपलब्ध अनन्त सूचना स्रोतलाई बुझेर उपयोगी ज्ञान छान्न सक्ने सीप जान्न अनिवार्य छ।

खुला विद्यालयको अवधारणा  

खुला विश्वविद्यालय सँगसँगै खुला विद्यालयको अवधारणा पनि ल्याउन आवश्य छ। कोरोनाजस्ता महामारी, विद्यार्थी र विद्यालयबीचको दूरी बढी हुनु, विद्यार्थीलाई कामको चाप हुनु, विद्यार्थी सिक्न इच्छुक नभएका बेला पनि पढ्नुपर्ने बाध्यता हुनुजस्ता समस्या सम्बोधन गर्न खुला विद्यालय आवश्यक छ। जसबाट घरमै बसेर अथवा आफूलाई पायक पर्ने स्थानमा बसेर आफ्नो रुचिअनुसार सिक्न सकिन्छ। सिकाइलाई रुचिपूर्ण र अर्थपूर्ण पनि बनाउँछ।  

कण्ठ गर्ने, साभार गर्ने बानीबाट विद्यार्थी मुक्त हुन्छन। रुचिअनुसार नयाँनयाँ कुरा खोजी गर्न पाउँछन्। पढ्ने, गृहकार्य गर्ने, परियोजना आदि काम विद्यार्थीले घरमै बसेर गर्न सक्छन्। बजारमा धेरै स्रोत छन्। खोजेर समस्या समाधान गर्ने आदि।

मौलिक र सिर्जनशीलताको कदर  

विद्यार्थीलाई शिक्षण सिकाइका क्रममा र शिक्षण सिकाइपश्चात् पनि मौलिकता र सिर्जनशीलतामा सहयोग हुने खालका सामग्री उपलब्ध गराउनुपर्छ। विद्यार्थीको मौलिक ज्ञान अनि सिर्जनशीलताको कदर हुने वातावरण सिर्जना गर्नुपर्छ।  

सिकाइपछि आफ्नो जीवन वा दिनचर्यामा के फरक आयो अथवा आफूलाई सिकाइले के सजिलो भयो भन्ने कुरा विद्यार्थीलाई अनुभूति गराउन सक्दा सक्दा, विद्यार्थी सिकाइप्रति थप उत्सुक हुन्छन्?  मौलिकता र सिर्जनशीलताको कदर हुने भएपछि उसले थप अध्ययन र खोज गर्छ, जसले सिकाइ अर्थपूर्ण पनि बनाउँछ।  

शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षाविद् तथा शिक्षाका सरोकारवालाले अब वैकल्पिक र समय सुहाउँदो विधि/तरिका खोजी गर्न आवश्यक देखिन्छ।

कृषि, पशुपालनप्रति सम्मान बढाउने सोच

नेपालको जनसंख्यामध्ये ७२–८० प्रतिशत नागरिक कृषिमा संलग्न रहेको तथ्यांक छ। यति धेरै मानिस कृषि तथा पशुपालनमा संलग्न भई देशको अर्थतन्त्रलाई टेवा पुर्याइरहेका भए पनि उनीहरू (किसान) लाई सम्मानको सट्टा अवहेलनाका दृष्टिले हेर्ने चलन छ। तसर्थ शिक्षाका माध्यमबाट यस्ता पेसाप्रति र पेसाकर्मीप्रति सम्मानको भाव बढाउन आवश्यक देखिन्छ। साथै कृषि, पशुपालनजस्ता पेसामा प्रवेश गराउन सक्ने क्षमता विकास गर्न जरुरी छ।  

अन्त्यमा,

शिक्षा मन्त्रालय, शिक्षा विभाग, शिक्षाविद् तथा शिक्षाका सरोकारवालाले अब वैकल्पिक र समय सुहाउँदो विधि/तरिका खोजी गर्न आवश्यक देखिन्छ। पाठ्यक्रम परिमार्जनलगायत नीतिगत सुधार गरी मार्गनिर्देशन गर्न पनि जरुरी छ।  

प्रकाशित: ४ आश्विन २०७७ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App