पुजा कार्की
विजय को रंग रातो, उर्जा र प्रेम को रंग पनि रातो । चाडपर्व, पुजा होस् या विवाह नभै नहुने रंग हो रातो । हामी नेपालीको जीवनमा रातो रंग को विशेष स्थान छ । अरु चाडपर्व जस्तै भर्खरै मनाईएको हरितालिका पर्व अर्थात तीज मा पनि यो रंग खास छ । अझ भनौ त झनै बढी महत्व छ रातो रंगको तीजमा । सम्झने बित्तिकै रातो रंगको झल्को आउने भएकोले तीजलाई रातो रंगको पर्व भन्दा पनि अत्युक्ति नहोला ।
यो पल्ट को तीजको लोकप्रिय 'सोचे झैँ जिन्दगी रैनछ' भन्ने गीतको रमझम जति थियो त्यति रमझम समुदायमा अरुबेला सोचेजस्तो चै साँच्चै भएन । गाउँ टोल सहर बजार भन्दा बढी रंगिन त सामाजिक संजाल नै थियो । बिहानै बाट रातो, पहेलो, हरियो भएका फेसबुक र इन्स्टाग्राम का भित्ता बेलुका सम्म पनि रंगिदै थिए । नहोस पनि त किन बल्ल बल्ल एकवर्षमा एकपटक आउने पर्व हो तीज । हाम्रो समाजमा नारीहरुलाई अरु बेला नाच्ने गाउने छुट नभएपनि यो दिन मज्जाले छमछम गाउदै नाच्दै हिड्न पाइने दिन हो । त्यो पनि कोभिड-१९ ले गर्दा त्यही फेसबुक र इन्स्टाग्राम का भित्ताहरुमा मात्रै सिमित भएको थियो ।
तिनै फोटोहरु हेरेर ह्याप्पी तीज को शुभकामना दिदै म पनि सधैँ भन्दा अलिक बढी नै ब्यस्त थिए । जति हेरे पनि नसकिएको फोटो हरुले सुत्ने समय पनि ढिला भइसकेको थियो । त्यतिबेला झट्ट एउटा पोस्ट मा मेरो आखाँ गयो । फेसबुक को एउटा ग्रुप मा एक जनाले (दिदी या बहिनी ठ्याक्कै भन्न त सकिन ) उहाँको स्टोरी मा आएको रिप्लाइको एउटा स्क्रिनशट पोस्ट गर्नु भाको थियो । स्टोरी मा आफ्नो र उहाँको मम्मी को फोटो हाल्नु भएको रहेछ । र रिप्लाई आएको थियो 'हजुरको बुवा हुनुहुन्न हैन ?' जवाफ मा उहाँले 'हो, बितिसक्नुभयो ।' लेख्नुभाको रहेछ ।उताबाट फेरि 'तर हजुरको मम्मी ले त रातो लुगा लगाउनु भाको छ त ?'
यत्तिनै थियो त्यो स्क्रिनशटमा । कुनै नराम्रो शब्द पनि प्रयोग भएको थिएन । भाषा पनि सम्मान साथ आदरार्थी प्रयोग गरिएको थियो । स्टोरी खोलेर हेरे उहाँको मम्मी ले रातो लुगा लगाउनु भएको पनि हो । तर रिप्लाई गर्नेले प्रयोग गर्नु भएको 'तर' शब्द र उठाउनु भएको प्रश्नले मलाई यती असजिलो महसुस भयो र मनमा अनेक थरि प्रश्न आए त्यसैले यो नलेखी बस्नै सकिन । समाज को ज्येष्ठ पिढी मा यस्तो सोच हुनु नौलो कुरो हैन । उहाँहरुको सोच परिवर्तन नहुनु पनि त्यति ठुलो समस्या हैन । उहाँहरुले जीवन भरि नै त्यही सिक्नुभयो । सिक्ने सिकाउने धेरै माध्यम पनि थिएनन् । अहिले जीवन को उतार्ध मा आएर उहाँहरुको सपुर्ण सोच परिवर्तन गर्न सजिलो छैन । उहाँहरुलाई सम्झाउदा पनि नमाने केही एड्जस्टमेन्ट हामीले नै गर्न पर्छ । सबै भन्दा असजिलो त अहिले को युवा वर्ग मा पनि यस्तो सोच भएको मा लाग्यो ।
रंगै त हो ..धुँदा खुइलिएर , घाममा सुकाउँदा उडेर पनि जाने नै थियो होला ।तर जसले दिएको हो उ नरहे पछि त त्यो रंग पनि खोसिदो रहेछ । चिटिक्क सुहाउने त्यो रातो रंग लगाउँदा बिभिन्न प्रश्नहरूको सामना गर्नुपर्ने रहेछ । पहिला पनि त लगाएकै रंग हो नि रातो त । रातो पहिरन, दसैं को रातो टिका जन्मे देखि नै लगाएको नै हो । नभएको चिज दिएको पनि त हैन । बरु उल्टै दिएको जस्तो गरेर खोसियो आफै संग भएको रातो रंग र जीवन भरिको को लागि रंगहीन बनाइयो । भर्खरै विभिन्न रंग ले पोतेको क्यानभास लाई सेतो रंगले खालि पाना बनाए जसरी । कसैको जीवन को रंग मा टिका टिप्पणी गर्ने हामीसंग अधिकार छ र ? कसैले रंगीचंगी रंगले पोतेको क्यानभास लाई शुन्य बनाउने हसियत हामी राख्छौ र ? एकजना को नाम मा खोसिएको रातो रंग अर्को कसैले ल्याएर फेरि दिनैपर्छ र ? आफु संग भएको पनि खोसेर लाने सिमित आयु लिएर आएको त्यस्तो रंग को के काम ?
सदैव आफैसंग जुन रातो रंग थियो, न कसैले खोसेर खोसिने रंग, न त कसैले दिएर दिइने । हो ,त्यही रातो रंग जुन रगत को नसा मा दौडिरहेको छ । हाम्रो लागि त त्यही रंग नै काफी छ; आफ्नो जीवन रंगाउन को लागि । कसैको आगमन ले पनि त्यो नथपियोस र कसैले खोसेर लान पनि नसकोस ।
समाज ले शुन्य बनाईसकेपछि पनि अनेक बाधा र लान्छना पन्छाउदै फेरी रंगिन हुन खोजेको त्यो रातो पहिरनको रंग त विजय को रातो रंग हो, साहस को रातो रंग हो । त्यो रंग त हर्षोल्लासले स्वागत गरिनुपर्ने रंग हो । हरेक नारीहरु कसैले दिएको रंग मा नभई साहस, विजय र उर्जाको रंग ले तीजमा रंगियुन । ढिलै भएपनि रातो पहिरन लगाएका र नलगाएका सम्पूर्ण नारीहरुलाई हरितालिका तिज को शुभकामना ।
प्रकाशित: ६ भाद्र २०७७ ०९:३८ शनिबार