८ आश्विन २०७७ बिहीबार
ब्लग

साइकलमै तारकेश्वर

कोभिड–१९ मा सुरक्षित यात्रा

कोरोना नामको विषाणुले विश्व मानव समुदायलाई तर्साएको ९ महिना जति महिना भइसक्यो। कोरोनाको जोखिम हटाउन नेपाल सरकारले चैत एघार गतेबाट  बन्दाबन्दी घोषणा ग¥यो। बन्दाबन्दीको समयमा सबैभन्दा भरपर्दो सवारी साधन साइकल नै ठहरियो।  

समय, घटनाक्रमअनुसार बन्दाबन्दीमा सरकारले सहजता अपनाउने नीति लियो। जेठ २६ गते पछि सरकारले निजी सवारी साधन चलाउन जोरविजोरको नियम लागु ग-यौं। सुनसान काठमाडौंमा चहलपहल शुरु भयो। बन्दाबन्दी खुकुलो भएसँगै सीमित परिधिभित्र गुम्सिएर बसेका मानिस बाहिरिन थाले। सप्ताहन्तमा नियमित साइकल यात्रा गर्न रुचाउने साइकलप्रेमीहरू पुरानै लयमा फर्कन थाले। विभिन्न पेशाकर्मीलाई काममा जाने चटारो। सार्वजनिक सवारीका साधन नखुलेको परिस्थिति। संक्रमणको उच्च जोखिम। पेशाकर्मीले सबै परिस्थितिमा सहज सवारी साधन साइकल नै ठहर गरे।

देबेन्द्र बस्न्यात

मध्य वर्षाद् संक्रमणको जोखिम भएकाले छोटो दूरीको गन्तव्य लक्षित गरियो। साउनका शनिबार लगातार उपत्यकाको उत्तरपश्चिम तर्फको गन्तव्यमा मात्र केन्द्रित भइयो। यात्रामा दाइ संघर्ष विष्ट, निरञ्जन स्थापित, कृष्णगोपाल श्रेष्ठ र गणेश श्रेष्ठले फरकफरक समयमा साथ दिए। कर्मले विभिन्न पेशाकर्मी भए पनि सबैको साझा शोख भने साइकलमा घुमफिर गर्नु। यही साइकलले हामी सबैलाई जोडिदियो। आउनुहोस् फुर्सद भए एकक्षण तारकेश्वर र टोखा नगरपालिका आसपासका गन्तव्यतर्फ लागौं।

मध्य शहरबाट नजिकैको मुड्खु साइक्लिङ गर्नेहरूको एउटा मुख्य मिलन बिन्दु हो। विहानको समय यहाँ साइकल पारखीहरू भेटिन्छन्। बेलावखत यहाँ बसेर गफिँदा साइक्लिङ गर्ने ठाउँहरू तथा अनुभव आदानप्रदान गर्न सकिन्छ।

मुड्खु भञ्ज्याङ 

ठमेल नेपाल भ्रमणमा आउने पर्यटकका लागि मुख्य केन्द्र नै हो। कोभिड–१९ को महामारी पछि सुनसान छ। पर्यटन व्यवसायीलाई एउटा चिन्ता थपिएको छ,‘कतै यहाँको पर्यटन व्यावसाय पलायन हुने त होइन। सन् साठीसत्तरीको दशकताका हिप्पी बस्ने मूलथलो थियो झोंछे। पछिल्लो समय झोंछेको व्यापार ठमेलतिर स-यो। अहिलेसम्म पनि झोंछे पुनःस्थाापित हुन सकेको छैन। ठमेललाई प्रस्थान विन्दु मानेर यात्राका विविध गन्तव्य चयन गर्न सकिन्छ। ठमेललाई प्रस्थान विन्दु मानेर साइकलयात्रा आरम्भ गर्ने हो भने सोह्रखुट्ट,े बालाजू  चोक, बाइपास हुँदै मुड्खु पुग्दा झन्डै ७ किमि तय हुन्छ। बाइपासबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तरगत नागार्जुन डाँडाको फेदफेदै मुड्खु जाने चल्तीको सजिलो बाटो हो।  मध्य शहरबाट नजिकैको मुड्खु साइक्लिङ गर्नेहरुको एउटा मुख्य मिलन विन्दु हो। विहानको समय यहाँ साइकल पारखीहरू भेटिन्छन्। बेलाबखत यहाँ बसेर गफिँदा साइक्लिङ गर्ने ठाउँहरू तथा अनुभव आदानप्रदान गर्न सकिन्छ। साइकलप्रेमीहरूलाई विभिन्न गन्तव्य पहिचान गरी यात्रा गर्न उत्प्रेरणा मिल्छ। यहाँबाट साइकल यात्राका विभिन्न गन्तव्य तथा रुट चयन गर्न सकिन्छ। सवारी साधनको चापबाट मुक्त हुन गोलढुंगाको भित्री बाटो प्रयोग गर्दा बेस।

ठमेलबाट झन्डै सात किमि यात्रा तय गरेर मुड्खु भञ्ज्याङ पुगेपछि पानी विश्रामका लागि रोकिनु उपयुक्त हुन्छ। बालाजूबाट सुरु हुने अपत्यारिलो उकालोले पसिना छुटाउँछ। त्यसैले केहीबेर विश्राम लिनु उपयुक्त हुन्छ।  

मुड्खु भञ्ज्याङ भ्यूटावर

पानी विश्रामपछि उकालो लाग्न ऊर्जा मिल्छ। भञ्ज्याङबाट गोरेटो पहिल्याउँदै मुड्खु भ्यूटावर पुग्न झन्डै दुई किमि उकालो लाग्नुपर्छ। यहाँबाट उपत्यकाको दृष्य निकै मनमोहक देखिन्छ।  

चैत ११ बाट सुरु बन्दाबन्दी १२० दिन पछि साउन ६ गते मंगलबार राति १२ बजेबाट हटाउने निर्णय ग¥्यो। सुनसान काठमाडौंको चहलपहल एकाएक बढेर गयो। बन्दाबन्दी पछि सवारी आवागमन सहज भए पछिको पहिलो शनिबारको दिन। मोटरसाइकलमा भ्यूटावरतर्फ लाग्नेको जोडी बाक्लै थियो। सरकारले यता बन्दाबन्दी खुकुलो गर्ने निर्णय गर्दै गर्दा देशका विभिन्न जिल्लामा संक्रमण भने भुसको आगोसरि समुदायमा सल्कँदै गइरहेका समाचार आइरहे।  

भ्यूटावरका ढोका बन्द भए पनि जबरजस्ती गएकोमा स्थानीय आपत्ति जनाउँदै थिए। होहल्ला टाढासम्मै सुनिन्थ्यो। पछिल्ला दिनमा संक्रमण बढदो होसियारी निकै  कम देखियो। 

तीनपिप्लेबाट देखिएको दृश्य। 

तीनपिप्ले

मुड्खु भ्यूटावरबाट गोरेटो भएर उत्तर लाग्ने हो भने झन्डै डेढ किमि दूरीमा तीनपिप्ले पुगिन्छ। बालाजू बाइपासबाट तीनपिप्ले जाने विभिन्न रुट मध्ये मुड्खु भञ्ज्याङ हुँदै जाने रुट सजिलो छ। भञ्ज्याङबाट मूलबाटो हुँदै तीनपिप्ले जाने हो भने झन्डै चार किमि बाटो तय गर्नुपर्छ। केही वर्ष यता सडक बिस्तार  कार्य अझै सम्पन्न भइनसकेकाले बर्षा याममा मूल सडक निक्कै हुन्छ। त्यसैले वैकल्पिक बाटो प्रयोग गर्नु राम्रो।  

तीनपिप्ले पुगेपछि विभिन्न गन्तव्य चयन गर्न सकिन्छ। यात्रा छोट्टयाएर नेपालटार हुँदै पुन ठमेल आउन पनि सकिन्छ। ओखरपौवा हुँदै छत्रेदेउरालीतर्फ जान सकिन्छ। मूलबाटो भएर ककनी, रानीपौवा जान सकिन्छ। साङ्गलेखोलाबाट फेदि, झोर,  टोखा, चण्डेश्वरी बुढानिलकण्ठ आदि विभिन्न गन्तव्य छनौट गरेर पुनः यात्राको प्रस्थान विन्दु फर्कन सकिन्छ।

भूवनेश्वरी मन्दिर

तीनपिप्लेको उत्तरतर्फ सिरानमा भूवनेश्वरी मन्दिर पुगिन्छ। करीब पाँचसय सिँढी चढेपछि मन्दिरमा पुग्न सकिन्छ। साइकल यात्रीका लागि भने सिँढी उक्लनु कष्टकर हुन सक्छ। वैकल्पिक मार्ग प्रशस्त छन्। ती मध्ये ककनी जाने मूल सडकबाट करिब तीन किमि अगाडिबाट दायाँ उकालो लागे पछि करीब डेढ किमि दूरीमा भुवनेश्वरी पुगिन्छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनः निर्माणको काम अन्तिम चरणमा छ। मन्दिरको पूर्वतर्फ श्याम बाबाको आकर्षक आश्रम छ। यहाँबाट उपत्यकाको निकै रमणीय दृष्य देख्न पाईन्छ।

भूवनेश्वरी मन्दिर

पाँचमाने

भुवनेश्वरीको मन्दिरबाट लगभग एक किमि उत्तरतर्फको दूरीमा पाँचमाने पुगिन्छ। पाँचमाने धार्मिक तथा ऐतिहासिकस्थल हो। केरुङबाट त्रिशूली हुँदै काठमाडौं आउने पुरानो बाटोमा पर्छ। पाँचमानेबाट फेदि मनमैजु, बालाजू निस्कने पुरानो बाटोमा अझै पनि ढुङ्गेधारा, सिंढी र चौताराका भग्नावशेष भेटिन्छन्। पहिले पाँचवटा माने भएकाले पाँचमाने भनिएको हुन सक्छ। हाल पाँच माने मध्ये तीन मात्र बाँकी छन्। पुरानो मानेलाई ढाकेर ठूलो बनाइएको छ। पाँचमानेबाट आफ्नो अनुकूल रुट चयन गरेर फर्कन सकिन्छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर (१,७०० मिटर) शक्ति पिठका रूपमा पूजिन्छ। सतिदेवीको दाहिने तिघ्रा यहीँ स्थानमा पतन भएको थियो। मन्दिरमा शिवरात्रि, साउने सोमबार तथा माघमा भक्तजनको भीड लाग्छ।

तारकेश्वर

तारकेश्वर

शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर (१,७०० मिटर) शक्तिपीठका रुपमा पुजिन्छ। सतिदेवीको दाहिने तिघ्रा यही स्थानमा पतन भएको तारकेश्वर नगरपालिकाका स्थानीय बासिन्दा गोपाल श्रेष्ठ बताउँछन्। शिवरात्रि, साउने सोमबार तथा माघमा भक्तजनको भीड लाग्छ।

निकुञ्जको सदाबहार घना जंगलमा अवस्थित तारकेश्वर जाने विभिन्न रुट छन्। पाँचमानेबाट करीब डेढ किमि पैदल यात्रा गरेर पनि पुग्न सकिन्छ। चराहरूको चिरबिरे गानामा मस्त हुँदै उपत्यकाको सुन्दर दृष्यमा रमाउँदै जाँदा उकालो काटेको पत्तै पाइँदैन।

तारकेश्वरबाट देखिएको दृश्य। 

वौंडेश्वर तथा झोरको झरना

वरुणेश्वरको उच्चाहरण अपभ्रंश भएर वौंडेश्वर भनिएको हो। ठमेलबाट वरुणेश्वरलाई गन्तव्य बनाएर जाने विभिन्न बाटा चयन गर्न सकिन्छ। तीमध्ये  बालाजुचोक, नेपालटार फुटुङ, साङले हँुँदै वरुणेश्वर पुग्न सकिन्छ। यसको दूरी लगभग चौध किमि हुन्छ। वरुणेश्वर महादेवको मन्दिर टोखा नगरपालिकामा पर्छ। स्थानीयका अनुसार यो स्थलमा सतिदेवीको बक्षस्थल पतन भएको प्रसंग स्वस्थानी व्रत कथामा उल्लेख छ। यहाँ करीब २५ मिटर लामो गुफा छ। गुफाभित्र शिवलिंग छन्।  

गुफाका बारेमा रोचक किंवदन्ती पनि छ। भस्मासुरले जसको शिरमा हात राख्यो त्यसको भष्म हुने वरदान भगवान् महादेवबाट प्राप्त गरे। वरदानको परिक्षण स्वयं भगवान महादेवमाथि नै गर्न खोजेपश्चात यही गुफामा लुकेको किंवदन्ती पनि सुनाउँछन्। मन्दिरका पुजारीकाअनुसार साउने सोमबार, माघ महिना तथा शिवरात्रि भक्तजनको घुइँचो लाग्छ।  

यहाँको अर्को आकर्षण भनेको दुई सुन्दर झरना हुन्। बर्षातको मौसममा निकै मनमोहक देखिने झरना गुफाको छेवैमा छ। अर्को झरना यीह झरनाको केही तलपट्टि छ। झरनामा नुहाएर आनन्द लिनेको भीड लाग्छ। वरुणेश्वर वा तारकेश्वर जाँदा वा फर्केर आउँदा पुरानो गुह्येश्वरी दर्शन गर्दा बेस हुन्छ।

साउनको दोस्रो हप्तामा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले साइकल चढेर कार्यालय जाने गरेको समाचार नेपाली साइकलप्रेमीका सामाजिक सञ्जालभरि फैलियो। यो नेपाली साइकल प्रयोगकर्ता समुदायका लागि मात्र नभई आम मानिसका लागि प्रेरणादायक प्रसंग थियो।    

साइकलप्रेमीका लागि प्रेरणा

कतिपय व्यवसाय खुले पनि व्यापार भने ठप्प थियो। तर साइकल पसलमा भने ग्राहकको भीड देखिन्थ्यो। साइकल पसलमा विशेष तीन प्रकारका ग्राहक भेटिए। पहिलो नियमित साइकल प्रयोगकर्ता नियमित साइकल मर्मतका लागि आउने। नियमित साइकल प्रयोग गर्दा समयमै मर्मत गर्न नपाएर समस्यामा परेकाहरू। दोस्रो, साइकल भएको तर लामो समयदेखि प्रयोग नगर्नेहरू जसका साइकल मर्मतका लागि ल्याइएका। तेस्रो, रहर वा बाध्यतावश नयाँ वा पुराना साइकल खरिदका लागि अएकाहरू। तर सबैका साझा मुद्दा भने साइकल प्रयोग नै हो।  

साउनको पहिलो साता सरकारी तथ्याङकले दैनिक संक्रमणको दर घट्दो देखायो। यो सबैका लागि उत्साहप्रद थियो। साउनको दोस्रो हप्तामा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले साइकल चढेर कार्यालय जाने गरेको समाचार नेपाली साइकलप्रेमीका समाजिक सञ्जाल भरि फैलियो। यो नेपाली साइकल प्रयोग कर्ता समुदायको लागि मात्र नभई आम मनिसका लगि प्रेरणादायक प्रसंग थियो।

जति घुमियो, हरेकस्थल कुनै न कुनै कथा, किंवदन्ती, पौराणिक कथा वा रोचक प्रसंगबाट जोडिएको भेटियो। सदियौंदेखिका यस्ता सन्दर्भ लिपिबद्ध गरेर राखिदिए नव आगन्तुकलाई रोचक हुन सक्छ। यसो गरेमा आन्तरिक पर्यटनलाई थोरै भए पनि टेवा पुग्ने थियो कि?  

जे देखियो

दश वर्ष यता बर्षमा न्यूनतम एकपटक भए पनि यस भेकमा साइकल यात्रा जारी छ। हिउँदमा कच्ची बाटोमा सवारी साधन चलाउन जेनतेन हुने नै छ। वर्षादको समयमा भने निकै असहज परिस्थिति सामना गर्नुपर्छ। भौतिक पूर्वाधार विकासको गति निक्कै सुस्त छ। विसं २०७२ सालको भूकम्प पश्चात अधिकांश घर विस्थापित भएका छन्। हरिहया फाँटमा आधुनिक शैलीका भनिने सिमेन्टका महल बाक्लिदो छ। मौलिक संस्कृतिको झलक दिने केहि बचेखुचेका घर संरक्षण गर्ने तर्फ उदासीनता देखिन्छ।  

फेदिको ढुगे धारा। 

झरनाको पानी सफा देखिन्छ। गाउँबस्ती छिचोल्दै तल्तिर आइपुग्दा खोला धमिलिँदो छ। खोला धमिलो हुने मुख्य दुई कारण हुन सक्छन। पहिलो तीव्र भूक्षयीकरण र दोस्रो प्रदूषण। समयमै भूक्षय, ढल तथा फोहर मैला व्यवस्थापन तर्फ उचित ध्यान नपुगेमा निकट भविष्यमा परिस्थिति भयावह हुनसक्छ।  

बन्दाबन्दी खुकुलो भएसँगै शहरदेखि गाउँसम्मै फोहरको मात्रा बढेको देखियो। वातावरण स्वच्छ राख्नु नै रोगव्याधिको रोकथाम हो भन्ने बिर्सदै छौं। यस भेकमा जति घुमियो, हरेकस्थल कुनै न कुनै कथा, किंवदन्ती, पौराणिक कथा वा रोचक प्रसंगबाट जोडिएको भेटियो। सदियौं देखिका यस्ता सन्दर्भ लिपिबद्ध गरेर राखिदिए नव आगन्तुकलाई रोचक हुन सक्छ। यसो गरेमा आन्तरिक पर्यटनलाई थोरै भए पनि टेवा पुग्ने थियो कि?  

(बस्न्यात नेपाल साइक्लिङ संघका सचिव हुन्।)

पुरानो गुहेश्वरी मन्दिर।

प्रकाशित: ३१ श्रावण २०७७ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App