१० आश्विन २०७७ शनिबार
ब्लग

'लाेकल रक्सी ब्याण्ड कि ब्राण्ड?'

फाइल तस्वीरः कास्कीमा घरेलु मदिरा नियम्त्रणमा लिई नष्ट गर्दै प्रहरी।

पछिल्लो समय घरेलु मदिरालाई ब्यान(बन्द) होइन ब्राण्ड बनाउनुपर्छ भन्ने चर्चा निकै चल्यो। यस विषयमा सडकदेखि सदनसम्मै बहस भयो। विदेशी मदिरालाई कानुनी मान्यता दिने तर स्थानीय रुपमा उत्पादित नेपाली ‘तीन पाने’लाई किन मान्यता नदिने? प्रश्न उठेको छ। 

गत वर्षको तथ्यांक हेर्ने हो भने करिब पौने दुई अर्बको विदेशी मदिरा नेपालमा आयात भएको देखिन्छ। भन्सार विभागकाअनुसार गत वर्ष एक अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ। १ करोड २३ लाख लिटर बराबरको विदेशी मदिरा मुलुकमा भित्रिएको हो।  

सम्झना पाैडेल

स्वदेशमै केही मदिरा उत्पादन भए पनि विदेशी मदिराको माग नघटेको तथ्यांकले देखाउँछ। मदिरा मात्रै होइन यसका लागि चाहिने कच्चा पदार्थ मात्रै ३९ करोड २७ लाख बराबरको भित्रिएको छ। कच्चा पदार्थ र मदिरा गरी कूल २ अर्ब २० करोड रुपैयाँ बढीको मदिराजन्य बस्तु आयात भएको देखिन्छ।  

 

यो पनि पढ्नुहोस्

लोकल रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ गराउन माग

 

नेपालमा मदिरा उत्पादन गर्न कच्चा पदार्थ भारतसहित तेस्रो मुलुकबाट समेत आयात गरिन्छ। सबैभन्दा बढी मदिरा बेलायतबाट आयात हुन्छ।  

नेपालीहरुले घरमै बनाउने कोदोको तीन पाने विश्वमै राम्रो मानिन्छ। तर अर्बौको विदेशी रक्सी आयात भए पनि कोदोको तीन पाने भने नष्ट गरिन्छ।  

सीएनएनले ‘वोल्र्डस् फिफ्टी मोस्ट डेलिसियस ड्रिंक्स‘ शिर्षकमा ८ मे २०१८ मा संसारका ५० मिठो पेयपदार्थको सूची निकालेको थियो। प्रकाशित उक्त ट्राभल जोर्नलमा भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ।  

हप्तौं मेहनत गरेर बनाएको लोकल रक्सी प्रहरी लगाएर नष्ट गरिन्छ। आम मानिसको हप्तौंको मेहनत र श्रममा पनि लात हानिन्छ। एक छाक खानाको जोहो गर्न बनाइने तीन पानेलाई नष्ट गरेर बर्सेनि अर्बौको विदेशी रक्सी आयात गरिन्छ। यो विडम्बना हो।  

मदिरा ऐन २०३१ होस् या मदिरा विक्री वितरण नियमन निर्देशिका २०६५  वा राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३। लागू औषध अपराध निषेध एवं मदिरा नियन्त्रण तथा नियमन अभियान, २०७५ यी यस्ता बाध्यात्मक नियमहरु कार्यन्वयनमा ल्याएर सरकार घरेलु मदिरामा प्रतिबन्ध लगाउँदै आएको छ। यस्तो किन भइरहको छ ? यदि हाम्रो रक्सी गुणस्तरहिन छ भने सुधार्न के पहल भए त ?

भनिन्छ रक्सी नखाए मरिन्न अन्न खान नपाय मरिन्छ। यो कुरा सत्य हो। तर यो नेपाली रक्सीमा मात्र लागु हुन्छ त? मर्चा बनाउने प्रविधि पनि गाउँ गाउँमा छन् र मर्चा बनाउनलाई चाहिने जडिबुटी पनि हाम्रो  नेपालका तराइ पहाड र हिमालमा प्रसस्त पाइन्छ। तर किन विदेशबाट सामान आइरहेका छन्? सोचनीय बिषय बनेको छ। रक्सीले कसैलाई फाइदा गर्दैन। त्यो विदेशी रक्सीमा पनि लागू हुन्छ। स्वदेशमै उत्पादित मदिराले बजार पाउँदा देशकै अर्थतन्त्रमा फाइदा हुने हो।

नेपालमा मदिराको प्रयोग बढ्दो छ। चाड पर्वमा त झन यसको बढी नै प्रयोग हुन्छ।  कतिपय मतवाली समुदायमा पुजाआजामा समेत संस्कार र संस्कृतिको रुपमा पनि यसको प्रयोग हुन्छ। कतिपय समुदायमा खुसीयाली, अतिथि सत्कार र मृत्यु संस्कारमा समेत यसको प्रयोग गर्ने परमपरा छ। हिमालमा रहनेहरु चिसोबाट जोगिन तथा पहाडमा हिउँको सेप लाग्ने हुँदा जाडो भगाउन पनि रक्सी पिउँछन्।  

 

यो पनि पढ्नुहोस्

घरेलु रक्सीलाई ब्राण्ड बनाउन सांसद राईको माग

 

गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ। तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दो गरी बढिरहेको छ भन्ने संकेत गर्छ।

स्थानीय रुपमै उपलब्ध स्रोत साधनको सही उपयोग, उत्पादन, बजार व्यवस्थापनामा ध्यान पुर्याउँदा नै हाम्रो जस्तो विकासोन्मुख देशको अर्थतन्त्रमा टेवा पुग्छ। जो पसिना बगाउँछ। जो एक छाक भोकै बस्छ। उसैको पेटका पटकपटक लात बजार्नुले सरकारले विदेशी रक्सी व्यापारीलाई काखी च्यापेको भान हुन्छ।  

प्रहरी लगाएर घरेलु मदिरा नष्ट गर्न लगाउने सरकारले आम मानिसको हप्तौंको मेहनत र श्रममा पनि लात हानेको छ।  एक छाक खानाको जोहो गर्नकै लागि बनाइएको लोकल रक्सीलाई प्रहरीले पोखिदिन्छ। त्यसैले अब घरेलु उत्पादनलाई दरुत्साहन होइन प्रोत्साहन गर्नु जरुरी छ।  

पहिलो कुरा हामीले कोदो खेतीमा जोड दिनुपर्छ। आज कोदोको माग नै नेपालले पुरा गर्न सकेको छैन। राज्यले कृषि नीतिमा सुधार गर्नुपर्छ। स्थानीय मदिरा, गाजा  र पर्यटन नेपालको आम्दानीको प्रमुख माध्यम बनाउन सक्नुपर्छ। कोदो सहज तरिकाले कसरी उत्पादन गर्ने भन्ने कुरामा पनि बहस  गर्न जरुरी छ। अब देश विकासको लागि पराम्परागत र मौलिक उत्पादनलाई उद्योगको रुपमा विकास गर्नुपर्छ। नेपाली रक्सीलाई सही तरिकाले निगरानी गरी ब्राण्ड बनाउनु पर्छ। खाडीको चर्को घामको गर्मी त्यागेर स्वदेशमै यो पुर्खेउली भूमिमा कोदोको ब्यापारमा लगाउने हो भने पनि लाखौं युवा विदेशीनु पर्दैन।

मदिरा सेवन रोक्न के गर्ने ?  

विदेशी मुद्रा आर्जन गर्ने स्रोत कमजोर हुने र विदेशीलाई पैसा तिरेर किन्ने वस्तुको मात्रा बढ्ने क्रम गत आर्थिक वर्षमा पनि निरन्तर रह्यो। मदिराको प्रयोग र यसको असरका बारेमा बाल्यकालबाट नै जानकारी दिन आवश्यक छ। स्थानीय विद्यालयको पाठ्यक्रममा मदिरा न्यूनीकरण सम्बन्धी विषयलाई समावेश गरी कार्यन्वयन गर्नुपर्छ।  

मदिराको हानिकारक प्रयोगका सम्बन्धमा विद्यालय र समुदायमा रहेका समूह तथा समिति लगायतको सहकार्यमा पालिका स्तरमा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, क्रियाशील राजनीतिक पार्टी तथा तीनका भातृ संगठनहरू, सहकारी, वन उपभोक्ता समिति, आमा समूह, बालक्लबहरू, किशोरकिशोरी समूहहरू, धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गठित समितिहरू जस्ता सरोकारवालाहरूको पहिचान गरी उनीहरूलाई मदिरा प्रयोगका कारणबाट हुने सामाजिक आर्थिक जनजीवनमा पर्ने नकारात्मक प्रभाव नियन्त्रणमा सहकार्य गर्ने।

सार्वजनिक कार्यक्रममा मदिराको प्रयोग पूर्ण निषेध गर्नुपर्छ। यस्ता कार्यमा परम्परागत रुपमा मदिराको प्रयोग गर्ने समुदायका मान्छेहरुले नेतृत्व लिनुपर्छ।

लेखक पौडेल प्रेस काउन्सिल नेपालमा कार्यरत छिन्।

प्रकाशित: ३० श्रावण २०७७ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App