पुन समुदायका कुल देवता हुन्–करबाकेली बाबा। तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा(२,३३२ मिटर)मा बनाइएको छ। थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन तथा कुलचनका पूर्ण कदका मूर्ति छन्।
करबाकेली थान बनेदेखि नै नेपालीमाझ काफलडाँडाको चर्चा चुलिएको हो। अझ यसलाई केन्द्रमा राखेर ‘करबाकेली इको टे«क’ एक्सप्लोर गरेसँगै करबाकेली बाबा र काफलडाँडा विदेशीहरूका माझ पनि चिनिँदैछन्।
पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै म्याग्दीको सदरमुकाम बेनी बजारलाई जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्राण्डिङ गरिएको छ। विसं २०७५ वैशाखमा यो पदमार्ग एक्सप्लोर गरिएको।
पदमार्गको विकास तथा थान निर्माणमा धेरैको तन, मन र धन खर्च भएको छ। यी कामको अगुवाइ चाहिँ बेलायती सेनाका एकजना रिटायर्ड लाहुरे चामबहादुर पुनले गरेका छन्।
बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले करबाकेली क्षेत्रको सामाजिक विकासमा गरेको योगदान अनुकरणीय छ। ढल्कँदो उमेरमा पनि तन्नेरी जोस बोकेर उनी म्याग्दीको काफलडाँडामा क्रियाशील छन्।
पुन समुदायको कला, संस्कार र संस्कृति जर्गेना गर्ने अभियानमा होमिएका चामबहादुर ६४ वर्षमा हिँड्दै छन्। कोभिड–१९ का कारण सुरु लकडाउन र त्यसपछिको समयमा पनि उनी करबाकेली क्षेत्रमै क्रियाशील छन्। यतिबेला उनी पुन सामुदायिक संग्रहालय निर्माणमा जुटेका छन्। कोरोनामुक्त वातावरण बनेमा आउँदो मंसिरमा संग्रहालय उद्घाटन हुनेछ।
धेरै किसिमका अनुभव सँगालेका पुनले जीवनको पछिल्लो कालखण्डलाई सृजनात्मक बनाए। काठमाडौंमा ‘करबाकेली अनुसन्धान समिति’ गठन, काफलडाँडामा करबाकेली थान तथा सामुदायिक लज निर्माण, करबाकेली इको ट्रेक एक्सप्लोर र पुन सामुदायिक संग्रहालय निर्माणका काममा लाग्दा उनले धेरैको स्याबासी पाएका छन्।
विसं २०६९ मा उद्घाटन गरिएको करबाकेली थान बनाउन ७४ लाख रुपैयाँ खर्च भएको थियो। अहिले पुन सामुदायिक संग्रहालय निर्माणमा ४५ लाख खर्च भैसकेको छ। अझै १५ लाख रुपैयाँ लाग्ने उनको अनुमान छ।
‘करबाकेली इको ट्रेक’ ब्राण्डिङमा पनि मनग्गे खर्च भएको छ। पदमार्गको पहिचान, बुकलेट, ब्रोसर, भिडियो र पोस्टर लगायतका प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरिएको छ।
स्वदेश तथा विदेशमा रहेका मनकारीहरूको सहयोगमा माथिका सबै काम संभव भएको हो।
यसरी सत्कर्म गर्दा उनको अनुहारमा संतोषका रेखा सल्बलाउँछन्। मनमा सामाजिक भावना बोकेर निस्वार्थ रूपमा सक्रिय मनुवा हुन् चामबहादुर। उनलाई नपुग्दो केही छैन, उनको सिंगो परिवार बेलायतमा बस्छ। उनीचाहिँ वर्षका ६ महिना नेपाल र बाँकी ६ महिना बेलायतमा बस्छन्। रिटायर्ड लाइफलाई सृजनात्मक बनाउँदैछन्।
जब बेलायत सरकारले पूर्व गोर्खा सैनिकलाई आफ्नो देशमा आवासीय रूपमा बस्ने सुविधा दियो तब उनीहरू बेलायतमा बस्न थाले। त्यही सिलसिलामा सन् २००६ देखि उनको परिवार पनि बेलायतमै बसाइँ स-यो।
जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा खर्च गरेका थिए उनले। विसं २०३० मा भर्ती भएर २०४४ सालमा रिटायर्ड भए। लाहुरे बन्दा आर्थिक रुपमा सबल त भए तर गाउँको गरिबी कसरी मेटाउन सकिएला भन्ने कुरा पल्टनमै हुँदा पनि मनमा खेलिरहन्थ्यो। त्यसैले जागिरबाट फुर्सद मिलेसँगै उनी गाउँलाई समृद्ध बनाउने अभियानमा सक्रिय छन्।
जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा खर्च गरेका थिए उनले। लाहुरे बन्दा आर्थिक रुपमा सबल त भए तर गाउँको गरिबी कसरी मेटाउन सकिएला भन्ने कुरा पल्टनमै हुँदा पनि मनमा खेलिरहन्थ्यो।
उनकी जीवनसाथी राधा पनि संस्कृतिकर्मी हुन्। उनी सामाजिक काममा पनि हुुरुक्कै हुन्छिन्। उनका दुई छोरा शमशेर र ध्रुव अनि एक छोरी सविना छन्। जेठो छोरा हङकङमा बस्छन् भने परिवारका बाँकी सदस्य बेलायतमा।
‘परिवारको सहयोगले गर्दा नै मैले सामाजिक काम गर्न सकेको हुँँ’, उनी भन्छन्,‘स्वदेश तथा विदेशमा रहनु हुने करबाकेलीका भक्तहरूको पनि राम्रो साथ पाएको छु।’
उनको मन स्वदेशकै करबाकेलीतिर अल्झेको छ। यतै हाँसेको छ। यतै नाचेको छ। उनी २०५७ सालदेखि सामाजिक काममा लागेका। के कुराले उनलाई सामाजिक काममा लाग्न प्रेरित ग-यो त?
‘काठमाडौंमा बस्दा नेवार, थकाली, तामाङ, गुरुङ, क्षेत्री, बाहुन आदि जातजातिका कार्यक्रममा जान्थें। त्यहाँ उनीहरूले आफ्नो भाषा, संस्कृति र परम्परा संरक्षण गरेको देख्दा’, उनले कारण सुनाए, ‘मलाई हाम्रो पुन समुदायको पनि कला, संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। अनि मनमनै अठोट गरेर काममा जुटें।’
जीवनको बाटो सजिलो छैन। पाइलापाइलामा अप्ठेरासँग जुध्नुपर्छ। अनेकौं घुम्ति काट्नु पर्छ। हिम्मत हार्नेहरू जीवनसँगै हार्छन्। बलियो आत्मविश्वास हुनेहरू सफलताको चुली चुम्छन्। समाजसेवी चामबहादुरको शिरमा करबाकेली बाबाको आशीर्वाद छ। त्यसैले त दुःखलाई पनि सजिलै पचाउँदै गाउँमै श्रम, सीप र विवेक खन्याउँदैछन् उनी।
जन्मेपछि एक दिन त हामीले मर्नै पर्छ। ‘हामी खान मात्र जन्मेका होइनौं, समाजप्रति हाम्रो दायित्व छ’, उनी भन्छन्, ‘आफ्नो परिवार त जनाबरले पनि पालेकै छन्। त्यसैले हामी मानवले समाजका लागि केही न केही गर्नै पर्छ। यसमै आत्मसंतुष्टि मिल्छ।’
काफलडाँडामै जन्मेका उनी धौलागिरि हिमालसँग आँखा जुधाउँदै हुर्के। उनको बाल्यकाल गामबेंसी गर्दै बित्यो। १४ वर्षको उमेरमा एकैपटक कक्षा २ मा भर्ना भएका उनले बार्षिक परीक्षा पनि दिएनन्। माथिल्ला कक्षामा चढ्ने कुरा त टाढाकै विषय बन्यो। तर, जीवनका उकाली र ओरालीहरूमा धेरै परीक्षा दिएर खारिए उनी।
उनी बहुमुखी प्रतिभा हुन्। उनले पुन भाषाका दुइटा चलचित्र बनाएका छन्। तिनमा उनले ‘भिलेन’को भूमिकामा अभिनय गरे। तर, जिन्दगीको रंगमञ्चमा भने ‘हिरो’ बनेका छन् उनी।
उनका बाबा पुण्यबहादुर पनि ब्रिटिश इष्ट इन्डिया कम्पनीका लाहुरे थिए। उनमा पनि बाल्यकालमै लाहुरे बन्ने मोह पलायो। उनका दुई दाइले पनि बाबुकै बाटो पच्छाए, बेलायती र भारतीय सेनामा भर्ती भएर।
जिन्दगीमा ठूलो आत्मसंतुष्टि सामाजिक काममा लाग्दा मिलेको छ। यद्यपि जीवनका सबै सपना पूरा भैसकेका छैनन्।
‘करबाकेली इको पदमार्गमा ग्वार्रग्वार्ती पर्यटकलाई हिँडाउने रहर छ’, उनले बाँकी जीवनका सपना सुनाए, ‘अब गाउँलेलाई कृषिमा आधुनिकीकरण गराउन मद्दत गर्नेछु।’
उनकै पालामा जस्तै काफलडाँडामा आजका तन्नेरीहरू पनि भर्तीकै सपना देख्छन्। उनलाई लाग्छ सधैं विदेशमा नोकरी गरेर हुँदैन। आफ्नै ठाउँमा सुन फलाउनुपर्छ। त्यसकै लागि पर्यटन र कृषिको उज्यालो बीउ छर्दैछन् उनी।
उनी बहुमुखी प्रतिभा हुन्। उनले पुन भाषाका दुइटा चलचित्र बनाएका छन्, एज्यू भाग १ र भाग २। ती चलचित्रमा उनले पनि भिलेनको भूमिकामा अभिनय गरे। तर, जिन्दगीको रंगमञ्चमा चाहिँ उनी सकारात्मक भूमिका निर्वाह गर्ने हिरो बनेका छन्। उनको सुस्वास्थ्य एवं दीर्घायूको शुभकामना!
प्रकाशित: २५ श्रावण २०७७ ०४:१६ आइतबार