आज अनलाइन हुँदा उसले यस्तो एउटा अप्रत्याशित प्रश्न तेर्साइ।
मैले उसलाई तत्काल जवाफ लेख्न सकिनँ। टाउकामा गह्रौं घनले हिर्काएजस्तो महसूस भयो।
इन्टरनेटको साँघुरो गल्लीमा रुमल्लिने क्रममा अचानक ऊसँग भेट भएको थियो। त्यो अपरिचित भेटबाट बनेको नाता नै आज जिन्दगीको सर्वोपरी लक्ष्य बनेको छ मेरा लागि। सायद उसका लागि पनि।
माया भन्ने चिज पनि साह्रै चमत्कारिक र अचम्मको हुँदो रहेछ। देख्नु न जान्नुकोसँग पनि बिजुली चम्केजस्तो निमेषभरमै अलौकीक सम्बन्ध कायम हुने। ऊ यति ठूलो पृथ्वीको एक कुनामा छ म अर्को कुनामा। उसको संसार मेरो भन्दा कयौं बसन्त अगाडि छ। संस्कार सोचाइ र जीवनशैली पनि मेरोभन्दा धेरै पृथक र परिष्कृत छ। तर पनि ऊ र मबीच जतिसुकै असमानता भएपनि एउटा समानताले हामीलाई एक आत्मा बनाएको अरे।
मायालाई तिमी शरीरभन्दा माथि राखेर हेर्छौ-उसले धेरैपल्ट मलाई भनेकी छ- मेरो नजरमा पनि माया शरीरभन्दा माथि छ। हो, त्यही समानताले हुनसक्छ विपरीत भूगोलमा हुँदाहुँदै पनि हामीबीच आजको युगले पत्याउन नसक्ने नाता जोडिएको। उसको बुझाइमा शरीर गौण हो र माया मूल्यवान र बलशाली। ‘मेरो शरीरको भोग सायद जसले पनि गर्न सक्ला'-ऊ भन्छे, ‘तर मेरो मायाको भोग कदापी गर्न सक्ने छैन। किनभने म तिमीलाई मात्र माया गर्न सक्छु। मायालाई शरीरसँग जोडेर हेर्न मिल्दैन। यदि शरीरमा जोडेर हेर्यो भने त्यो फगत आकर्षण मात्र हुनेछ। मायाले भौतिक शरीरलाई हेर्दैन। यसले केवल आत्मालाई अनुभूत गर्छ। यदि हामी आमुन्ने-सामुन्ने हुँदो हौं त निश्चय नै हाम्रो प्रेमले अहिलेको जस्तो महत्व पाउँदैन।‘
माया कसैको सामिप्यमा रहँदा भावनाबाट जन्मन्छ भन्ने थाहा थियो तर भौतिक शरीरले कहिले नदेखेकोसँग पनि हुन्छ भन्ने थाहा थिएन। दिनदिनै जसो अनलाइन भेट हुन्थ्यो। ‘मेरो हृदयभन्दा पनि मूल्यवान प्रेमी तिमी गोलार्द्धको उपल्लो छेउमा भए पनि सँधै मेरो समिप बसिरहेका छौ जस्तो आभाष हुन्छ', उसले च्याटमा भन्थी. ‘कल्पनाका पानाहरुमा सुन्दर आकृति बनेर मलाई सुम्सुम्याइरहेको मीठो अनुभूति हुन्छ।'
झन्डै दुई वर्षदेखि अनवरत चल्दै आएको प्रेम-यात्रा यस्तै भलाकुसारी र प्रेम अभिव्यक्तिमा सीमित थियो। ‘कहिलेकाँही तिमी मेरो निदरीलाई साह्रै नमिठो गरी चिमट्छौ। म झस्केर जाग्दछु, अनि बिहान अबेरसम्म पनि तिम्रो कल्पनामा सुक्सुकाइ रहन्छु', ऊ भन्छे, ‘न हामीले एकअर्कालाई देखेका छौं, न भेटेका नै। तर पनि हामी बीच प्रेमको सम्बन्ध स्थापित छ। परमेश्वर जिसस क्राइष्टले मानव खुसीका लागि भनेर जन्माएको प्रेमले मलाई कहिलेकाँही भने नमिठो अनुभूति दिन्छ।' उसका अभिव्यक्तिले मलाई एक किसिमको मीठो तर अनौठो पीडा दिन्छ।
मसँग उसको सान्त्वनाका लागि दिने जवाफ सँधै एउटै हुने गर्थ्यो- ‘हुनसक्छ त्यसबेलासम्म शरीर हाम्रो साथमा नरहला तर पृथ्वीमाथि कुनै अदृश्य शक्ति छ भने अथवा तिम्रो क्राइष्टले मानव खुशीकालागि नै ‘प्रेम' जन्माएको हो भने हाम्रो मायारुपी सपनाको विरोधी कोही पनि हुने छैन।'
उसलाई मेरा कुरा काँडासरी बिझेर हो या मसँग जस्तै आँसु सिवाय जवाफका लागि केही नभएर हो उसले आफूलाई ‘साइन आउट' गर्थी।
दुई वर्षको प्रेमयात्रामा हामीबीच धेरैपल्ट मायाको बारेमा विचार मन्थन भएको छ। ऊ मलाई पाश्चात्य प्रेमको बारेमा बताउँछे म पूर्वेली। ‘साँचो पाश्चात्य प्रेम आदर्शमा टिकेको हुन्छ'-उसले कुनै प्रसङ्गमा भनेकी थिई, ‘तर समर्पण र त्यागलाई मनपराउने आदर्श प्रेम अचेल कहाँ छ र !'
हिजोआज देखासिकीबाट उत्प्रेरित सस्तो प्रेम शरीरबाट शुरु भई यौनमा अन्त्य हुने गरेको छ। सस्तो प्रेम आत्माको ठीक विपरीत मार्गतर्फ लम्किरहेको हुन्छ। कस्तोसम्म छ भने अचेलको प्रेम यौनलाई लक्ष्य बनाएर सम्वन्धको लहरो पक्रने गर्छ। अर्थात् यौनबाट शुरु भई यौन मै अन्त्य हुन्छ। म पनि आफूले थाहा पाएसम्म पूर्वेली प्रेम प्रसङ्ग उसलाई सुनाउँछु। ‘यता र उता प्रेमको शैली उस्तै रहेछ'-ऊ तुलना गरेर लेख्छे, ‘साँच्चै अहिले संसारभरी नै प्रेममा विकृति बढेर गइरहेको छ।‘
दिनहरु सेकेन्ड मिनेट गर्दै बितिरहेका थिए। हाम्रो प्रेम-यात्रा पनि समयसँगै लम्बिँदै गइरहेको थियो।
यत्तिकैमा एक दिन अनलाइन हुँदा उसले त्यो अप्रत्याशित प्रश्न तेर्साएकी थिइन्- यदि मैले अरु कोहीसँग शारीरिक सम्वन्ध वा विवाह गरे भनेँ तिमी स्वीकार्छौ ?
मैले उसलाई तत्काल जवाफ लेख्न सकिनँ। टाउकामा गह्रौं घनले हिर्काएजस्तो महसूस भयो। निकै बेरको मौनता भङ्ग गर्दै लेखेँ, ‘कतै मेरो प्रेमको अग्नीपरीक्षा त लिएकी होइनौं ?
'होइन'-उसले भनी, ‘बरु चाँडो भन।‘
'यदि मैले तिम्रो शरीर प्राप्तिको लागि प्रेम गरेको रहेछु भने हाम्रो प्रेम-यात्रा तिम्रो निर्णयपछि टुङ्गिने छ'-मैले लेखेँ,
‘हो, त्यहीँनेर हाम्रो प्रेमको असली परीक्षा पनि हुनेछ। हो प्रिय म विवाह गर्न लाग्दैछु। तर यो शरीर जोसँग जोडिए पनि म तिमीलाई मात्र माया गरिरहेको हुनेछु‘, उसले लेखी।
कम्प्युटरको स्क्रिनमा ती शब्दहरु देख्नेबित्तिकै मेरो टाउको फनफनी घुम्यो। आँखामा पीडाको बादलले टम्म घेरेर जताततै अँध्यारो भएजस्तो लाग्यो। अघिसम्म हृदयमा मुस्कुराएका सयपत्रीहरु निमेष भर मै ओइलाउन थालेको अनुभूति हुनथाल्यो।
तर पनि उसलाई जवाफ त दिनु नै थियो। लेखेँ म तिम्रो निर्णयलाई ह्रदयदेखि नै स्वागत गर्छु।
'मेरो पागलप्रेमी तिमी साँच्चै पागल रहेछौ। हुन त तिमीले मेरो शरीरलाई होइन आत्मालाई खोजेका हौ। फलस्वरुप मेरो निर्णयको स्वागत गर्यौ। तर भौतिक शरीर पनि माया प्रस्फुटनकालागि एक हुन जरुरी छ भन्ने कुरा म विस्तारै बुझ्न थालेकी छु।
‘माफ गर प्रिय'-मैले उसको कुरा काटेँ, ‘मायाको आनन्द पाउनुमा मात्रै छैन।‘
'तिम्रो भावनालाई म कदर गर्छु। भौतिक शरीर एक नहुन्जेलसम्म समर्पण र त्यागका कुरा मात्र कोरा आदर्श हुन्छ।‘
'जे होस् तिमीलाई विवाहको शुभकामना।‘
'विवाहको कुरा काल्पनिक हो। तर तिमीलाई भन्न गइरहेको कुरा भने सत्य हो।‘
‘त्यसो भए चाँडो भन न त।‘
'तिमी सुन्न त सक्छौं'
‘के तिमीले मलाई चुनौति दिएको ? मैले लेखेँ तिम्रो विवाहको कुरालाई त सहजै स्वीकारेँ भने अरु त गौण हुन्।‘
‘त्योभन्दा ठूलो कुरा हो'-उसले उत्तर पठाई।
उसका अभिव्यक्तिले मलाई विचलित बनाएजस्तो महशुस भयो। कतै उसले सदाका लागि माया मार्न लागेकी होइन ? अहिलेसम्मको प्रेम-यात्रा उसले ठट्टा भेर पखाली दिने त होइन ?
मैले शङ्कालाई निराकरण गर्न खोजेँ-‘त्यसो भए भनन त।‘
'साँच्चै तिमी सुन्न सक्छौ ?'
‘किन नसक्नु।‘
‘त्यसो भए सुन म तिमीलाई............तिमीलाई.........तिमीलाई सदाका लागि प्राप्त गर्न नेपाल आउँदैछु-मेरो बेस्सरी धड्केको मुटुलाई शान्त पार्दै उसले भनी, ‘प्रेम जस्तोसुकै स्वरुपमा भए पनि मिलन भौतिक शरीरमा मात्रै सम्भव छ।‘
sudarshan@nagariknews.com
प्रकाशित: १४ वैशाख २०६६ ०५:४७ सोमबार





