१९ श्रावण २०७७ सोमबार
ब्लग

डोटीको गौरव रानढुङ्गा

सुन्दर सुदूरपश्चिम

डोटीको रानढुङ्गा

डोटी पहाडैपहाडले भरिएको जिल्ला। यसै जिल्लाको मध्य भागबाट प्रवाह भैरहेकी सेती नदीको नामबाट सेती अञ्चलको नामाकरण गरिएको थियो। यस क्षेत्रमा दिपायल, बाण्डुग्रीसैन, तलारा, नारीदाङ्ग जस्ता उपत्यका छन्। यसै जिल्लामा पर्ने भेलछडा भन्ने ठाउँमा ठूलो झरना छ। साइल गाउँपालिकामा पर्ने झरनाको राम्रो प्रचार हुन सकेको छैन।  

समुद्री सतहबाट ६ सय मिटरदेखि ४ सय मिटरसम्म उचाइ रहेको डोटीको क्षेत्रफल २०२५ वर्ग किमि छ। डोटी आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ। यस जिल्लामा धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेका थुप्रै सम्पदा छन्। डोटी जिल्लाको पूर्वी भागमा रानढुङ्गा सयलिङ नामक सम्पदा छ। 

ढुङ्गामा सहस्रलिङ्ग कुँदिएको छ। यिनको दर्शनले मनमा चिताएको कुरा पूरा हुने जनविश्वास छ। त्यसैले जनैपूर्णिमाको अघिल्लो दिन यहाँ ठूलो मेला लाग्छ। प्राकृतिक हिसाबले समेत मनोरम रहेको यस क्षेत्रमा कुडीगडा ताल पनि छ।   

डोटीको सदरमुकाम सिलगढीबाट कुँडीगडासम्म करीब १ सय ५ किमि दूरी छ। कँुडिगडा मनोरम क्षेत्रका रूपमा प्रख्यात छ जहाँ सहस्रलिङ्ग (रानढुङ्गा) छ। रानढुंगा (२,८०० मिटर)को पूर्वमा अछामको बूढीगंगा र पश्चिममा सेती नदी छन्। रानढुङ्गा विगतको गाँजरी गाविस र हालको पूर्वीचौकी गाउँपालिकामा पर्दछ। यसको पूर्वतिर पोखरी, पश्चिमतिर गाँजरी उत्तरतिर काँडामाडौं र दक्षिणतिर पोखरी छन्। 

दीर्घ बोगटी

रानढुङ्गा क्षेत्रबाट टाढाटाढासम्म मनमोहक दृश्य देखिन्छ। जहाँबाट बाजुराको बडिमालिका, बैतडी, डडेलधुरा, डोटी, अछाम र खप्तडका मनोरम दृश्य सजिलै देख्न सकिन्छ। यस्ता रमणीय क्षेत्र भएर होला परापूर्वकालमा देवीदेवताको वासस्थानमा रहेको उत्तरी क्षेत्र भनिएर चिनिएझैं नेपालको सीमाना कुमाउ, गढवालसम्म भएको समयमा देवीदेवताको वासस्थान र देवीदेवताले सयर गर्ने स्थानका रूपमा यो क्षेत्र चिनिएको छ।  

वर्षौसम्म वा दुईतीन वर्षसम्म बाँझो रहेको जमीनमा उम्रिएको झार फाँड्नुलाई स्थानीय भाषामा ‘रान फाँड्नु’ भनिन्छ। यसरी रान फाँड्ने क्रममा फेला पारिएको वा देखिएको ढुङ्गालाई रानढुङ्गा भनिएको हुनुपर्छ। यसको शिलामा शिवजी विराजमान भएको किंवदन्ती छ। स्थानीयले रानढुङ्गा माई पनि भन्ने गरेको सुनिन्छ। खासमा यो क्षेत्र माइको नभएर शिवको हो। यहाँ शिवका सहस्रलिङ्ग ढुङ्गामा कुँदिएका देखिन्छन्। सलकट्याल माई बडिमालिकाबाट दिदी भेटेर आउने क्रममा एकबास  

रानढुङ्गा क्षेत्रमा बसेकी र बिहान कुँडीगडा तालमा नुहाउन गएकी हुँदा केही मानिसले रानढुङ्गा माई समेत भन्ने गरेका हुन्।  

यस क्षेत्रमा शिवलिङ्ग मात्र भेटिनुले पनि सजिलै भन्न सकिन्छ। यो भगवान् शिव विराजमान भएको क्षेत्र हो। सलकट्याल माई (बहिनी), बडिमालिका (दिदी) र रानढुङ्गा तीनै भाइबहिनी भएकाले आपसमा बिहान र बेलुका देखादेख होस् भनेर रानढुङ्गामा शिव विराजमान भएको किंवदन्ती छ। सलकट्याल माई रानढुङ्गाबाट उत्तरतिर नजिकै बसेका छन्।  

गाउँघरतिर परापूर्वकालमा ऋषिमुनि आई सहस्रलिङ्गमा तपस्या गरेको किंंवदन्ती सुनिन्छ। साथै यो रावणले तपस्या गरेको क्षेत्र समेत हो। पूर्वीचौकी गाउँपालिका सबै वडाबासी सयलिङ्ग अर्थात् सहस्रलिङ्गको सहासिद्धीबाट उन्नति र प्रगति भएकोमा विश्वास राख्छन्।  

यहाँ देवदेवी र जीवका आकृति झल्कने विभिन्न प्राकृतिक मूर्ति छन्। जसमा बाघ, भालु, गणेश, स्वस्तिक चिन्ह, लक्ष्मी, माछा, सर्प, मृग, राम, सीता, शिव आदिका मुहार झल्किन्छ।  

अर्को भनाइ अनुसार झन्डै ५ सय वर्षअघि नुवाकोट भन्ने ठाउँमा एकजना ठनू कुँवरले धेरै भैंसी पालेका थिए। मान आएर (एकप्रकारको महामारी) ती भैसी मर्न गएछन्। भैंसी मरिसकेपछि सहस्रलिङ्गका मुनि रहेको जगलटा भन्ने ठाउँमा ती अगाडिका (मरेका) भैंसीबाट बनाएको १५ कण्टर घ्यूका साथै ३ मुरी जौं र ३ मुरी तिलको होमपाठ गर्न लगाएछन्। यो होम पाठपछि रानढुङ्गा खुसी भएर ठनु कुँवरको घरमा सात भैंसी, १ राँगा खप्तडबाट उडेर आएछन्।  

ती भैंसीका घाँटीमा धाँडा बज्दा समेत ठनू कुँवर ड्याङ्ग डयाङ्ग, ठनू कुँवर ड्याङ्गड्याङ्ग भन्ने धुन सुनाउँदै उनको घरमा भैंसी पुगेको किंवदन्ती  सुनिन्छ।  

धार्मिक आस्था  

जनैपूर्णिमाको अघिल्लो दिन ठूलो मेला लाग्छ। रानढुङ्गा एउटा शक्तिपीठ भएकाले मेलामा हजारौं सहभागी हुन्छन्। मनले चित्ताएका कुरा पूरा हुन्छन् भन्ने मान्यताले त्यो बिहान भोको पेटमा पूजा गरिन्छ। विशेषत अछामी र डोट्यालीको भीड लाग्छ।  

वैदिककालमा यज्ञादि गर्दा षट्कोण र स्वस्तिक चिन्ह प्रयोग हुने भएकाले ढुङ्गामा स्वस्तिक चिन्ह भेटिनुले यो वैदिककालमा ऋषिमुनिहरूले यज्ञादि गरेको स्थान हो भन्ने पुष्टि हुन्छ। यहाँ मेला भर्न आउने भक्तजनहरू विद्या प्राप्त गर्नका लागि कापीकलम चढाउँछन्। मनोकांक्षा पूरा होस् भनेर बेसारमा रंगाएको वस्त्र चढाउने प्रचलन छ। फलफूलमा, ओखर, ज्यामिर, सुन्तला, स्याउ, केरा, मकै, अमिलो, कागती, भोगटे, अगरबत्ती, चन्दन, भेटी, फूल चामल आदि चढाइन्छ। अनि त्यहाँका गाँजरी निवासी ब्राम्हणले आँखा चिम्लेर मनोकांक्षा पूरा होस् भनी ती सामान तीर्थालुलाई फिर्ता दिने चलन छ। फिर्ता पाएको सामान घरमा ल्याएर राख्नाले सहसिद्धि हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ। यही रानढुङ्गाको मुनि कुडीगडा ताल पनि छ।  

पूरातात्विक महत्व 

वैदिककालको सेरोफेरोको अध्ययन गर्दा यहाँ यज्ञादि गरिएको सहजै अनुमान गर्न सकिन्छ। यस क्षेत्रमा देवदेवी र जनावरका आकृति झल्कने विभिन्न मूर्ति छन्। बाघ, भालु, गणेश, स्वस्तिक चिन्ह, लक्ष्मी, माछा, सर्प, मृग भगवान् राम आदिका जस्ता लाग्ने सयौं मूर्तिहरू छन्। तिनको संरक्षण जरुरी छ किनभने पूरातात्विक दृष्टिकोणबाट यी चीजको महत्त्व हुँदाहुँदै पनि बढ्दो जनसंख्याका कारणले घर बनाउने क्रममा यी ढुङ्गाको प्रयोग भएर नष्ट हुन सक्ने खतरा देखिन्छ। यी चीज पूर्वी चौकी गाउँपालिकाको गरिमा हुन्।  

परापूर्वकालमा ऋषिमुनि आई सहस्रलिङ्गमा तपस्या गरेका थिए। साथै यो रावणले तपस्या गरेको क्षेत्रका रूपमा समेत चिनिन्छ।

पर्यावरणीय महत्व  

रानढुङ्गा मन्दिर वरिपरि घना जंगल छ। जंगलमा बाझ–गुराँस, उत्तिस, कटुस, पाङ्गर, ड्यार आदि पाइन्छ। साथै जडीबुटीमा पाखनवेद, शिलाजित, सुनभाणी, कुरिलो, चुत्रा, जटामसी, सुनगाभा, कचुर, कुकुरडाइनो, हरो, बर्रो, तितेपाती, टिमुर, पाङगुर आदि पाइन्छ। जंगली जनावरमा चितुवा, मृग, स्याल, बाँदर, ढेडुबाँदर, बँदेल, खरायो, हुँडार र ब्वाँसो आदि पाइन्छ। पंक्षीहरूमा कालिज, कोइली, तित्रा, ढुकुर, डाँफे, होलेसो, सुगा, जुरेली काठफोर, आदि छन्। यो क्षेत्र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ त्यति नै लोभलाग्दो वातावरण पनि छ। वसन्त ऋतुमा जंगलमा लालीगुराँस फूलेर मन्दिर क्षेत्र रंगीन बन्छ। साथै वसन्त ऋतुमा वनमा पलाउने पालुवाले मनलाई आनन्दित र प्रफुलित पार्छ। चैतवैशाखमा जंगलमा काफल पाक्छ।

अर्को कुरा, अग्लो स्थानमा रहकोले यहाँबाट विभिन्न ठाउँको दृश्यावलोकन समेत गर्न सकिन्छ। बडिमालिका, खप्तड क्षेत्र, बुढीगंगा, गन्डीगाड, डडेलधुरा,  बैतडी आदिको दृश्य देखिन्छ।  

धार्मिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले यसको विकास गर्न सकेमा रानढुंगा आकर्षक पर्यटनधाम बन्नेमा शंका छैन। यस काममा हामी समर्पित छौं। यसको विकासले समग्र राज्यलाई नै फाइदा पुग्नेछ।  

(बोगटी पूवीचौकी गाउँपालिका डोटीका अध्यक्ष हुन्।)

रानढुङ्गा क्षेत्रको मालिका मन्दिर  

प्रकाशित: ३१ असार २०७७ १७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App