२० श्रावण २०७७ मंगलबार
ब्लग

किन लुम्बिनी क्षेत्रमा बस्न रूचाउँछन् सारस ?

क्याप्शन

शान्ति र प्रेमको प्रतीक मानिने पन्छी सारससँग भगवान् गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । बुद्धका दाइ देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिएको बताइन्छ ।      

वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेकोभन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरुबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुवैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो । शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो ।    

गौतम बुद्धको जीवनमा भएको यो निकै महत्त्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । बालक सिद्धार्थका पालादेखिको त्यहीँ पन्छी सारस बुद्ध जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु आसपासमा पाइन्छन् । संसारका अरु क्षेत्रको तुलनामा यस क्षेत्रमा सारसको संख्या बढी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कअनुसार नेपालमा सारसको संख्या ७ सय छ । सबैभन्दा बढी लुम्बिनीमा तीन सयभन्दा बढी सारस रहेको लुम्बिनी विकास कोषले जनाएको छ । गत वर्ष लुम्बिनीमा एकदिनमै गरिएको गणनामा १ सय १४ वटा सारस भेटिएको विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी) ले जानकारी दिए । सिमसार क्षेत्रको संरक्षणका कारण पछिल्लो समय सारसको संख्या लुम्बिनीमा अझै बढ्दै गइरहेको उनको भनाइ छ ।      

लुम्बिनी र कपिलवस्तु क्षेत्रमा सारसकै अध्ययन र रहनसहन हेर्न कैयौँ पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ श्रेणीको चरा मानिने सारसको संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र स्थानीय युवाहरु सक्रियताका साथ लागेका छन् । लुम्बिनीको भियतनाम मन्दिर, कोरिया मन्दिर, कोषका कर्मचारी आवास क्षेत्र परिसर तथा नगरपालिकाको जोगडा, आमालगायतका क्षेत्रमा सारस देख्न पाइन्छ ।      

नगरपालिकाले सारसलाई लुम्बिनीको नगर पन्छी घोषणा गरेर संरक्षणको काम गरिरहेको छ । सारस संरक्षणका लागि लुम्बिनीमा सारस पार्क निर्माणको तयारी समेत गरिएको छ । यस्तै, विकास कोषले सिमसार क्षेत्रको संरक्षण र विकास गरिरहेको छ । गत वर्ष विश्व वन्यजन्तु कोष र अन्तर्राष्ट्रिय क्रेन फाउन्डेसनसँगको सहयोगमा चारवटा सिमसार क्षेत्र निर्माण गरिएको र थप एक सिमसार क्षेत्र निर्माणको क्रममा रहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए । उनका अनुसार गत वर्ष खनिएका सिमसार क्षेत्रमा अहिले ६ जोडी सारस बसिरहेका छन् ।      

विकास कोषभित्र सारसका लागि उपयुक्त स्थान छुट्याइएको छ । विश्व शान्ति स्तूपा रहेको उत्तरतर्फको भागलाई सारस संरक्षण क्षेत्र तोकिएको हो । यहाँ कैयौँ जोडी सारस भेटिन्छन् । सारसको संरक्षण गरी पर्यटनसँग जोड्ने प्रयास भइरहेको कोषले जनाएको छ ।  

‘पर्यटकको बसाइ अवधि लम्ब्याउन सारस क्षेत्र शान्ति स्तुपा परिसरमा दुई किलोमिटर पैदलमार्ग र अध्ययन गर्न चाहनेहरुलाई वातावरणीय सिकाइ केन्द्र निर्माण गर्ने योजना बनाएका छौं । जहाँ सारसको महत्त्व र संरक्षणबारे जानकारी गराइनेछ,’ उपाध्यक्ष मेत्तेयले भने ।

पहिले तराई क्षेत्रमा प्रशस्त पाइने काला नमक धान सारसलाई मन पर्ने खेती हो । अहिले यो खेती हुन छाडेको छ । यो खेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले विकास कोषले योजना बनाइरहेको जनाएको छ । विकास कोष बाहिर सारसको संरक्षणका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले वडा २ को भुजहिया स्थित १६ बिघा क्षेत्रमा फैलिएको नौखनिया ताललाई सिमसार क्षेत्र बनाउने तयारी गरेको छ । जसका लागि बजेटको व्यवस्था समेत गरिएको नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।

लुम्बिनी विकास कोषको परिसरभित्र र बाहिर खेतमा सारसले अन्डा पार्ने र कोरल्ने गर्छ । त्यसैकारण लुम्बिनी सारसका लागि महत्त्वपूर्ण क्षेत्र मानिएको उनको भनाइ छ ।  

‘नगर पन्छी घोषणा गरिएपछि यहाँका किसानले पनि सारस संरक्षण गर्नुपर्छ भन्ने बुझेका छन्,’ प्रमुख चौधरीले भने ।

सारसको संरक्षणका लागि स्थानीय युवाहरु पनि सक्रिय भएर लागेका छन् । अन्तक्रिया, गोष्ठी तथा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी स्थानीयलाई वातावरण संरक्षणका लागि सचेत बनाउने काम गरिरहेको ग्रीन युथ क्लब लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मी बताउँछन् । वातावरण तथा सारसको संरक्षणका लागि समुदाय स्तरमा चेतना जगाउन ग्रिन युथ क्लबले लुम्बिनी क्षेत्रमा ३० वटा क्लब गठन गरेको छ । क्लबका युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिका र विकास कोषसँग समन्वय गरेर वातावरणको संरक्षण, स्वास्थ्य सरसफाइ, सारसको महत्त्वबारे तालिम दिएर समुदायमा परिचालन गरिएको अध्यक्ष कुर्मीले बताए । ग्रिन युथ क्लबले विश्व वन्यजन्तु कोषसँगको सहयोगमा लुम्बिनी क्षेत्रमा पर्यावरण संरक्षणको काम गर्दै आएको छ । पर्यावरको संरक्षणले गर्दा लुम्बिनी क्षेत्रमा चराचुरुङ्गीको संख्या निकै बढेको छ ।      

चराविद्का अनुसार विश्वमा पाइने १५ प्रजातिका सारसहरूमध्ये नेपालमा चार प्रजातीका छन् । यहाँ क¥याङ–कुरुङ सारस, लक्ष्मण सारस, कालो टाउके सारस र सारस पाइन्छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील प्रजातिमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी पनि मानिन्छन् । सारस नेपालको पश्चिम तराईमा वर्षभरि पाइने रैथाने पन्छी हो भने कालो टाउके सारस नेपालको अन्य क्षेत्रमा आक्कल झुक्कल मात्र देखिने तर हुम्लाको लिमी उपत्यकामा प्रजनन् अभिलेख गरिएको पन्छी हो ।      

चराविद् एवं विश्व वन्य जन्तु कोषका उपनिर्देशक राजेन्द्र सुवालकाअनुसार प्रजनन समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा दुई वटा अन्डा पार्ने गर्दछन् । वर्षा ऋतुको समयमा करिब ३० देखि ३२ दिनको ओथारो बसाइपछि सारसले चल्ला कोरल्ने चराविद् सुवालले बताए । चल्ला पाँचदेखि छ महिनासम्म माउसँग नै बस्छन् भने त्यसपश्चात् अन्य सारसको झुन्डमा सहभागी भई आजीवन जोडी बनाई बस्छन् ।      

यो प्रजाति नेपाललगायत विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ । सारसको अन्डा र मासुको अवैध सिकार हुने गरेको छ । कोलाहल, प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या पनि दिन प्रतिदिन घट्दै गइरहेको छ । लुम्बिनी वरिपरि बढदो औद्योगिक प्रदूषण, कृषिमा विषादीको प्रयोग तथा नाङ्गो बिजुलीको तारका कारण नगरपन्छी सारसको जीवनचक्र संकटमा परेको छ । यसका लागि स्थानीयलाई अझै सचेत गराउन आवश्यक रहेको चराविद् सुवाल बताउँछन् ।

‘बालबालिकाले महत्त्व नबुझेका कारण लुम्बिनी क्षेत्रमा सारसका अन्डा चोरी हुने गरेका छन् । यसको नियन्त्रणका लागि जनचेतना आवश्यक छ,’ सुवालले भने ।

चराविद्का अनुसार सारसले जीवनभर एकपटक मात्र जोडा बनाउँछ र जोडा बनाइसकेपछि सारस जोडी जीवनभर सँगै रहन्छन् । दुईमध्ये एकको मृत्यु भएमा यो चराले फेरि अर्को जोडा बनाउँदैन  त्यसैले सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र नै हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पन्छीको सूचीमा राखेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उचाइ ५ फिटसम्म हुन्छ ।      

नेपालको वन्यजन्तु ऐनद्वारा संरक्षित पन्छी सारस विश्वकै सबैभन्दा अग्लो उड्ने चरा हो । रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), दाङ, बाँके, बर्दिया , कैलाली र कञ्चनपुरमा सारसको बसोबास छ । सारसको कुल संख्याको करिब ९५ प्रतिशत प्रदेश ५ मा रहेको चराविद् डा. हेमसागर बरालले बताए । त्यसमध्ये सबैभन्दा धेरै सारस रुपन्देही र कपिलवस्तुमा छन् ।      

प्रदेशमा बुद्धपन्छी सारसको सङ्ख्या अधिक रहेकाले प्रदेश पन्छीका रुपमा घोषण गर्न चराविद् बरालको प्रदेश सरकारलाई सुझाव छ । खेतबारीमा प्रयोग गरिने रसायनिक मल, विषादी, ढल, प्लास्टिक र सिसाजन्य नसड्ने पदार्थहरु सिमसार क्षेत्रमा विसर्जन गर्नाले सारसको वासस्थानलाई असर परेको उनको भनाइ छ ।      

चराविद् बरालले सारसको वासस्थान संरक्षित क्षेत्र बाहिर मुलतः निजी कृषिभूमि, सार्वजनिक वन र सिमसार क्षेत्रमा अवस्थित छन्  । सारस संरक्षणका लागि स्थानीय समुदायको सक्रियता, जनसहभागिता र अपनत्व आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘रुपन्देही विकसित हुँदा सारसले प्रयोग गर्ने स्थल मासिने डर छ तसर्थ यो समस्या आउन नदिन सारसको बासस्थान भएका पालिकासँग समन्वय गरेर सिमसार क्षेत्रको अतिक्रमण गर्नबाट जोगाउन आवश्यक छ ।’      

लुम्बिनीमा सारससँगै कोइली, भद्राई, कालो चिबे, मधुमक्षी, विभिन्न प्रजातिका बकुल्ला, भुँडीफोर, घोगीफोर, लोभिपापी भुँडीफोर, कालोगण्ड, हरिहाँस, बिजुलगैरे, सानो जलेवा, सावरी, कुर्मा, लालसर, बगाले सिं कुखुरा, लामोऔले मरुल, जलअप्सरा, हुटिट्याउँ, टमटमे, आँसीठुडे, पानीचाहा, रातोमुनीया, छिर्केमुनीया, सुनचरी, काजले सुनचरी, माटोकोरे, काफलपाक्यो, कोकले, साइबेरीयन रुबि, रानीचरीलगायतका २ सय २२ प्रजातिका चरा बस्छन् ।      

चराचुरुङ्गीलाई आहार अभाव हुन नदिन कोषले जङ्गल संरक्षणमा ध्यान दिएको जनाएको छ ।      

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख लक्ष्मणप्रसाद पौडेलका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सारसलाई मार्ने वा अन्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई १५ हजारदेखि ३० हजारसम्म जरिमाना वा तीनदेखि नौ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

प्रकाशित: २१ असार २०७७ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App