२२ असार २०७७ सोमबार
ब्लग

आत्मनिर्वासन

विभाजित मान्छेको शोकगीत र जीवनगीत

‘समाजको दुःखको अन्त न कागजमा कोर्दैमा हुँदो रहेछ न बोल्दैमा मात्र। यसका लागि त समाजको जरादेखि नै परिवर्तन गर्नुपर्छ। खोइ फ्रान्सको त्यो उच्च आदर्श, खोई  अमेरिकनहरूको स्वाधीनताको सङ्ग्राम। एक हुरी आयो, सतह सतहमा गोलमाल मच्चियो, फेरि उस्ताको उस्तै, फेरि बाटैमा तिनीहरू  अलमलिए। हब्सीहरू कालाका कालै। गरिबहरू  भोकाका भोकै। हिन्दूस्तानमा अछुत अछुतै, स्वार्थ जस्ताको तस्तै। समानता, भ्रातृत्व, स्वाधीनता शब्दको शब्द।’

२००४ सालको त्यो जटिल राजनीतिक परिवेशमा ‘बौलाहाकाजीको सपना’ नाटक लेखेर २००५ सालको कठोर परिस्थितिमै मञ्चन गराइसकेका विजय मल्लले रोगसँग भोकको सम्बन्धका विषयमा उहिल्यै परिचय गराइसकेका थिए। शिक्षा र सपनाको सम्बन्धले निर्विकल्प उडान भर्ने सम्भाव्यताका बीच सपना र भोकको सम्बन्ध भने अहिले पनि केही बदलिएको छैन। इतिहासबाट प्राप्त अनुभव पूर्वज्ञानका रूपमा आत्मसात गर्न नसक्ने हाम्रो खोक्रो मानसिकता सधैँ इतिहासतिरै फर्किन्छ। हामी भविष्यको अन्त्यबाट वर्तमानको यात्रा आरम्भ गरिरहन्छौँ। यही विडम्बनाका बीचैबीच कैयौँ सपनाहरू जुर्मुराए, कैयौँका पूरा पनि भए, तर राज्य र जनताका सपनाबीच जुनसुकै व्यवस्था आए पनि कहिल्यै तालमेल मिल्दै मिलेन। तानाशाहका सपनाहरू घातक हुन्छन् ! राजाको एकलौटी सपना चुँडालेर राज्यका निम्ति सपना बोकिल्याउने शक्तिशाली जनताहरू अहिले आफूले काँधमा बोकेर ल्याएको सरकारलाई भुइँबाट आकाशतिर अपरिचितलाई झैँ चियाइचियाई हेरिरहेछन्। राज्यसँगको रातो र तातो नाताले सरकार मान्न बाध्य भएका जनताहरू तिनलाई आफ्नो नेता मान्न तयार देखिँदैनन्।  

अहिले हामी कोभिड–१९ सँग जुध्दै छौँ। यसबीचमा फैलिँदो महामारीले थुप्रै मानिसले ज्यान गुमाए, गुमाइरहेछन्। कैयौँ मानिस संक्रमित भए र भइरहेछन्। संसारका शक्तिशाली होऊन् वा विकासोन्मुख, सबै देशका शासकको केही लागेको छैन, आँखाले नदेखिने भाइरससँग एक प्रकारले हारेको छ मानव सभ्यता। मानिसको अहं अझै उक्लिने दाउ खोजिरहन्छ। यो रोगले विश्वमा विद्यमान अनेक विभेद, भोक र गरिबीलाई पनि थप रूपमा बाहिर ल्याएको छ– विजय मल्लले आजभन्दा ७२ वर्षपहिले लेखेकोे विषय आज पनि पुरानो भएको छैन। अमेरिकाका काला जातिमा पर्ने जर्ज फ्लोयड, नेपालका दलित समुदायमा पर्ने नवराज विक र उनका सहृदयी साथीहरू, हामीकहाँ क्वारेन्टिनमा मर्नेहरूमा हाम्रो समाजको अन्धविश्वास, भोक, शोषणको यथार्थ र हाम्रा अक्षमताका पराकाष्ठाहरू प्रतिबिम्वित भइरहेछन्।    

भोक र विभेदको यति कठिन परिभाषा यसअघिको जीवनले, कमसेकम यो भूगोलले बनाएको रहेनछ। सडकमा भोक र मृत्युको डरलाग्दो खिचातानी देखिँदैछ। यो दुःखान्तले नयाँ सिद्धान्तको प्रतिपादन खोजिरहेछ। यो महामारी प्रकृतिको कोखबाट सिर्जित हो। हामीले प्रकृतिसँग व्यवहार गर्न जानेनौ कि ? प्रकृति र मानिसबीचको यतिविघ्न नृशंस संघटनामा अनेक मनोवैज्ञिानिक द्वन्द्व मिसिएका छन्। यसको समाधान कसरी निकाल्ने ? यसको उद्दीपक मानिस हो कि प्रकृति ? यदि प्रकृतिलाई दोषी भन्छौँ भने भेरीमा तैरिएका लासहरूको कारक भेरी हो कि मानिस ? भेरी त पानी नै बगाइरहेछ निर्वच्छिन्न, मानिस किन रगतको भेरी खोजिरहन्छ ? मानिस किन रारामा सूर्य पसेको हेरेर मख्ख परिरहन्छ ? मानिसभित्र पसेर हरदिन सूर्यले जब मानिसका अभिमानबाट उसलाई बाहिर निकाल्छ, सायद प्रकृति र मानिसका बीचको सामञ्जस्य यहीँबाट मात्र आरम्भ हुनसक्नेछ। आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक होलान् ! यही क्रमको निरन्तरतामा त भँगालाहरू सुकेर बिस्तारै नदीको अस्तित्व पनि समाप्त नहोला भन्न सकिन्न। फेरि पनि इतिहास साक्षी छ ! हामी जीवन नबाँचीकन जीवनका लागि मरिमेट्छौं !

कवि सुमन पोखरेलका शब्दमा भन्ने हो भने यतिबेला मात्र ‘जीवनको लत’ नछुटोस्, आम नागरिकको सपना यत्ति नै भएको छ–

जीवन देख्दै नदेखी
जीवनको भ्रममा रिक्तता बाँचिरहेझैँ
कहीँ नपुग्न तँछाडमछाड गरिरहेको काठमाडौंलाई छोएपछि
जीवन साँच्चै रिक्तताभन्दा ज्यादा रित्तो लाग्छ।  
(जीवनको छेउबाट, २०६६)

जीवनको छेउबाट काठमाडौं ओर्लेपछि यसरी चियाएथे कवि पोखरेलले जीवनलाई। जीवनप्रतिको उनको यो रिक्तता आज उनले चियाएको दशकपछि झन् रित्तो र झन् भ्रमपूर्ण लागिरहेछ। कविले कर्पोरेट काठमाडौंको प्रतीकमा पूरै विश्वको प्रतिरूप उभ्याए ! हामी पनि भनिरहेछौँ– त्यो सम्हालिनसक्नुको तँछाडमछाड केका निम्ति गरिरहेका थियौँ हामी ? कविताले भनेझैँ जीवन अनुभूत नगरीकनै जीवन बाँच्दै आएका छौँ हामी। हाम्रो मनुष्यत्व राजनीति र जीवनको परिधिमा स्थिर भएको छ, हामी यहीँ रिक्तता बाँचिरहेका रहेछौँ।

आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक होलान् !

यी क्षणमा मन कतै अदृश्यमा पुगिरहन्छ। आफैँसँग नबस्ने आफूलाई दृश्यहरू पर्दामा उत्रिएर लाचार बनाइरहन्छन्। म फेरि पनि भेरी–भेरी भएकी छु। राज्यले यिनलाई आतंककारी पो सम्झिरहेछ कि कसो ? उसबेला जसरी राज्यले आफ्ना नागरिकलाई घर जाने राजमार्गमा ओरालेर घन्टौँ हिँडाउँथ्यो, जाँच गर्ने बहानामा अनेक यातना दिन्थ्यो, भूमिगत सपनाका पक्षमा नागरिक ती सबै सहेर, कहिले प्रतिरोध र कहिले प्रतिकार गरेर पनि तत्कालीन राज्यशक्तिले ठानेको आतंककारीका पक्षमा भोलिको विश्वासले उभिन्थे, उचालिन्थे। अहिले नेपालमा ती दुवैथरीको दोस्रो पुस्ता चलिरहेछ। ती सत्तामा पुगेपछि जनताहरू आफ्नो अधिकार होइन, प्राणको भिक्षा मागिरहेछन्। यहाँ अहिले वर्गीयताको नयाँ चरण सुरु भएको छ। अराजनीतिक कारण राजनीतिक शोषणमा परेका नागरिकले आज पाइरहेको विभेद विगतका राजनीतिक पृष्ठमा विकसित सत्ता–मानसिकताको परिणति नै हो। यस्ता कैयन् परिणति नियाल्न नसकेर म यसरी नै निर्विकल्प अल्झिरहन्छु।  
०००
‘म समयको त्यस बिन्दुमा छु, जहाँ मुर्दा शान्तिभित्र छ असह्य कोलाहल, त्रसित मुखाकृति अनि विदीर्ण भूगोल।’

१५ चैत २०७६ को साँझ कथाकार पुनम अधिकारीले फेसबुकमार्फत यी भाव व्यक्त गरिन्। पहिले–पहिले हो भने उनको यस्तो विचार पढेपछि व्यक्तिगत पीडाको अभिव्यक्ति भन्ने लाग्थ्यो होला, उनमा यस्तो संवेदना आउनुका व्यक्ति–मनोवैज्ञानिक कारण पनि खोजिन्थ्यो होला र आत्मीयताका कसीमा उनका दुःखका अवसाद उठाएर उनीभित्रको कोलाहल शान्त पार्न कसैगरी कुनै उपाय पनि निकालिन्थ्यो होला, जो आपसमा भइआएकै थियो। तर, त्यस दिनयता यसरी नै कोलाहल झन्झन् बढ्दै छन्। उनले यो भाव सार्वजनिक गरिरहेका बेला सडकमा भोकका गीत पैतालाले लेख्दै थिए, सञ्चारमाध्यमले वियोगान्तका अनुरागमा करुण संगीतको प्राथमिक रस भर्दै थियो र कतिपय कविहरू भित्ताहरूमा कविताविहीन कविता प्रदर्शन गरिरहेथे।  

अनेक सपनाहरूको गुँड रित्तिएर, कतै भत्किएर, किचिएर बाँच्नु मात्र एउटा ध्येय बनिरहेका बेला आफ्नै घरको बाटो पहिल्याउनु कति कष्टकर, कत्ति दुसाध्य भइरहेथ्यो ! राजधानी सहरको जंगल छिचोल्न निस्केका ती साहसी साना–ठूला, कोमल–कडा पैतालाहरू राज्यको शक्ति केन्द्रमा इतिहासमै नभोगेको मृत्यु भोगिरहेको दृश्यभित्र उल्लिखित असह्य कोलाहल व्याप्त भएको थियो ! आधा काटेको बाटोमा आधा जिन्दगी मरिसकेको आफ्नै लास बोकेर पैतालाहरू भोकको गुफामा प्रवेश गर्दै थिए, दन्त्यकथाका केही उत्तर चरित्रहरूका हातमा रिभल्भरहरू थिए, हृदय रित्तो थियो, केही थिएन। राज्य नामको एउटा ट्रेनिङसेन्टर तमासा हेरिरहेको थियो। पुनम अधिकारीका आहत शब्दमा कोरिएका भूगोलसँग सम्बद्ध पात्रहरू कहिले तिर्खा त कहिले भोक भएर मभित्र करुण आतंक मच्चाइरहेछन्।  

कोभिड–१९ ले विश्वलाई एक तमासा बनाइरहेका बेला देशभित्र यस्ता अनेक रमिता थपिँदै गएका छन्। पुनमका शब्दहरू, शब्द मात्र थिएनन्– ‘असह्य कोलाहल, विदीर्ण भूगोल !’अहिले पनि लागिरहेछ– ती शब्दको एक्स–रेमा म आफ्नै मनको भूगोल हेरिरहेछु र छामिरहेछु, यो सानो भूगोलका अनेक लाचारीहरू। सोचाइ पनि आइरहन्छ, के साँच्चै कठिन छ, नागरिकलाई नागरिक बनाउने काम ! एउटा पुस्तालाई दिगो हुनेगरी सिस्टमभित्र बसाउन सकेको भए अहिले आफ्नै निम्ति आघात गर्ने अचेतना बोकेर सडकका निम्ति रमिते बन्दैनथे हाम्रा आफ्नाहरू ! राज्यले तिनलाई आफ्नाको अनुभूति दिन किन कन्जुस्याइँ गरिरहन्छ ? बस्तीमाथिको चिन्ताले केही दिनयता एकप्रकारको निस्तब्धतामा छु। यात्राको विलयसँगै एउटा बेग्लै बहाव छ। म यसलाई आत्मनिर्वासन भन्न चाहन्छु र पनि व्याप्त कोलाहलको विस्तृत परिवेशमा निर्वासनबाट उघ्रँदो क्षितिज कतै देखिरहेकी छैन। लकडाउनले कोठा या घरको परिवेशमा सीमित भएका छौँ हामी, तर के हाम्रो सीमा यत्तिकैले यति अप्ठेरो भएको हो ? मानिस भूगोलको साँगुरो सीमाभित्र अझै धेरै विस्तारित हुँदो रहेछ। उसको विस्तारको सापेक्षताभित्र सधैँ एउटै दर्शन मात्र हुँदैन। म विस्तारित छु र यो विस्तारमा यतिखेर भने लगभग सपनाहरूको मृत्यु निश्चित भइरहेछ। हिजो म जति सीमित हुन्थेँ, सपनाहरू त्यति नै उडान भर्थे। स्वतन्त्रताको गीत अनायासै गुनगुनाउँथ्यो ओठ र यसले एउटा मिठो यात्राको अन्तःप्रेरणा दिइसकेको हुन्थ्यो।  

केटाकेटीहरू सबैभन्दा ज्यादा निरीह जीवन बाँचिरहेछन्। भोकको वीभत्स परिघटनाले लाल्टिनमा स्थानीयता र अक्षरमा विश्व हेर्ने सामथ्र्यबाट सपनाहरू वञ्चित छन्। सबैभन्दा विद्रूप यथार्थ रोगी आमाहरू उपचारका नाममा दैत्यहरूको पाशविकतामा पर्छन्। यहाँ पनि आधा आकाश अँध्यारो छ।चौथाइमा ग्रहण लागिसकेको छ र चौथाइमा उज्यालोको निरीहता यथावत छ। कोभिड–१९ को यो आतंकभित्र देशमा अहिले अनेक्–अनेक् भइसकेको छ। यी सबै भएर पनि नभएको चाहिँ धेरै छ। राज्यले नागरिक चेतनालाई उठाउनका निम्ति विगतमा के के गरेको रहेछ ? नागरिकले आफ्नो दायित्व पालना गर्नका निम्ति कति कुरा सिकेको छ, के कस्तो प्रयास गरेको छ र कति अवसर पाएको छ ? यी सबै जवाफ नपाइने प्रश्नले लकडाउनका यी दिन बेवारिसे भएर बितिरहेछन्। यिनै हतप्रभ दिनमा मृत्यु यसरी असफल भएको नियालेर म साहसिक मृत्युको प्रतीक्षा गर्न प्रेरित भइरहेकी छु। साहसको परिभाषा मृत्युमुखी अधिनायकत्वमा रुढ हुँदै जानु गणतन्त्रको अभ्यास गरिरहेको यो राज्यको विद्रूप चेतना हो। जनतालाई भोकले सताएका बेला, गणतन्त्रको गीत आवाजविहीन हुँदै गइरहेको छ। प्रत्येक बस्ती र सुरक्षाका निम्ति बनाइएका लाक्षागृहहरू सिद्धिचरण श्रेष्ठको ‘माग्नेको गीत’ कविताका कोरस बाँचिरहेछन्। आत्मकथाहरू नलेखिने वर्तमानमा आत्महत्याले मौलिक स्वरूप लिएको छ। शोक र शान्तिको निकटतामा केही युवायुवती आफ्नै श्वाससँग वितराग गाउँदै गइरहेका छन्। आत्महत्याका आवेगी समाचारले पनि जीवनप्रति यथोचित संवेदना उमार्न असमर्थ हुनु अर्को चिन्ताको विषय भइरहेछ।  

‘मुर्दाशान्तिभित्र छ, असह्य कोलाहल !’ पुनमका यी तत्क्षणिक अभिव्यक्तिहरू कैयन् चोटहरूले नगल्ने जर्जर युगको कथ्य हुँदै नजाऊन्। केटाकेटीहरूको स्वर नगुन्जिएको यो बस्तीमा समय कंकालजस्तो उभिएको कति मन नपर्दोरहेछ !  

लकडाउनको आरम्भसँगै सूचना प्रवाहका निम्ति जारी गरिएको सामाजिक धुन आजभोलि मृत्युगीतजस्तो लागिरहन्छ। बिर्सन खोजेको कोभिड आतंक नसम्झिनुको कुनै विकल्प पनि छैन !  देश कहाँनिर रहेछ र हाम्रो अभिमानभित्रको स्वाभिमानको जरा कति फैलिएको छ भन्ने अन्तज्र्ञान यो एकान्तवासमा सायद भोकको सीमा नकाटेकाहरूले मनन गरिरहेका हौँला। भोकको सीमा बन्धन हो कि मुक्ति? आज यस्तो सीमा र मुक्तिका, बन्धन र स्वतन्त्रताका मान्यताहरू बदलिएका छन्। सीमित समयका असीमित घटना छन्, भएर पनि ती घटनाबीच कुनै आकर्षण छैन। सपनाहरू शिथिल भएका छन्। जीवनको गहिराइ यति छिट्टै भेटिन्छ भनेर नसोचीकनै पौडिनुमा आनन्द लिइरहेको म, अनायासै जीवनको पिँधमा ठोक्किन पुगेकी छु। यस ठोक्काइको सम्बन्ध मेरो एउटा जीवनसँग नभएर कैयौँ जीवनको समुद्रसँग छ।  

मुत्यु यति निरीह हुन्छ, पहिले कहिल्यै लागेको थिएन। बिझाएजस्तो लाग्ने अनेक सम्बन्ध कोमल लाग्नु वा कोमल भनिएका सम्बन्धभित्र काँडाको तीखो पलाउनुले पनि उस्तो असर हुन्नरहेछ। यो एकैसाथ, एउटै दुःखका अनगिन्ती भेल भोग्नु वा अनुभूत गर्नुमा कति विस्तारित सीमितता छ। मृत्युको यो निरीहताभित्र मान्छेका मर्ने कारण पनि उत्तिकै कमजोर लागिरहेछन् !

शंकर लामिछानेका निबन्धहरू दोहो¥याउँदै छु। उनले लेखेका छन्,‘मलाई सम्झना आइरहेछ, कसरी म प्रेमपत्रहरू १५–२० पेजको लेख्थेँ। न हात थाक्दथ्यो, न मन। र, त्यति लेखिसक्दा पनि लाग्दथ्यो अझ भन्ने कुरा व्यक्त भएको छैन !

र आज ?

व्यक्तगर्ने कुरा नै पाउँदिन !”

लामिछानेले भनेझैँ व्यक्त गर्ने कुरालाई सायद हृदयको ओसले छोपिदिएको छ। म सोच्छु, रित्याउन पाए हुने यादहरू, मानौँ मसँग कुनै स्मृति नै बाँकी छैन। अथवा बाँकीको कुरै नगरौँ। मसँग स्मृति नै छैन। यो अनियमित मृत्युको खबरले हल्लिरहेको मुटुको घाउ, यसलाई घाउ नै रहन दिएर म आफैँबाट बाहिर निस्कन खोजिरहेछु। कति गीतहरू फुकाउन खोजेँ, गीतहरू ओठसम्म पनि ओर्लन मानिदिएनन्। भावविहीन हुनुजस्तो केही भएको छ भित्रभित्रै। संवेदनालाई नछुने कति चिसो भएर गएको यो मृत्यु। म कुन मृत्युको चिन्ताले यसरी हारिरहेकी छु...?

भेरी किनारमा जस्तो मृत्युको विद्रूपता सायदै देखिएला यो शताब्दीमा !

प्रकाशित: १३ असार २०७७ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App