नेपालमा घुम्नलायकका धेरै ठाउँ छन् । कति ठाउँ त यस्ता छन् जुन कल्पना गर्दा नै मन प्रफुल्ल बन्छ तर जानका लागि आँटै गर्नुपर्छ । अथवा त्यहाँ जान सबै चाँजोपाँजो मिलाउनुपर्छ । चितवन यस्तो ठाउँ हो जुन नेपालका अधिकांश शहरमा बसेकाहरूले तुरुन्त निर्णय गरेर तुरुन्तै आउन सक्नु हुन्छ । यहाँ आइपुग्न सार्वजनिक सवारी साधन, हवाई यातायातको सुविधा छ । चितवन प्रवेश गरिसकेपछि आवास र खानाका लागि होटल, रेष्टुराँ आदिको पर्याप्त सुविधा छ । त्यसैले आन्तरिक र बाह्य पर्यटकको रोजाइमा चितवन परेको हो ।
गएको फागुन अन्तिमसम्म चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या लगभग एक लाख ७४ हजार नाघेको थियो । कोभिडको प्रभाव नपरेको भए अहिलेसम्मकै उच्च पर्यटकको विन्दुमा चितवन यो वर्ष पुग्ने थियो । चैत ११ मा बन्दाबन्दी सुरु भएपछि आजसम्म चितवनमा पर्यटक संख्या शून्य छ ।
विकसित राष्ट्रले व्यवसायीलाई राहतको प्याकेज ल्याइसकेका छन् । हामी पनि राज्यबाट केही सान्त्वना लिन चाहन्छौं । व्यवसायीलाई परेको संकटमा सरकार बोल्नै पर्छ । सरकारले बैंकको किस्ता र ब्याजलाई केही पछि धकेलिदिन्छ कि भन्ने आशा छ धेरैलाई । त्यसो भएन भने धेरै होटल व्यवसायी यो क्षेत्रबाट पलायन हुनेछन् ।
चितवनको पर्यटकीय केन्द्र सौराहा पनि पूर्ण रूपमा बन्द छ । होटल तथा रेष्टुराँका मूलगेट बन्द छन् । दोकानहरूका सटर उघ्रिएका छैनन् । रिसेप्सनमा फोन छ तर फोन उठाउने मान्छे छैन । रेष्टुराँमा सेटिङ गरिएर राखिएको खाली टेबल छ, खाने ग्राहक छैनन् । मेनु छ, मेनु दिने कर्मचारी छैनन् ।
होटलमा चुल्हो बलेको छैन । न पर्यटक छन् न कामदार नै । कतैकतै एक दुई जना छन्, होटलको सुरक्षार्थ राखिएका । गाडी पार्किंङमा थन्किएका छन् । बगैंचामा फूलेका फूल हेर्ने कोही नभएर आफैं फुल्दै, झर्दै छन् । स्विमिङ पुलको पानी हरियो भएको छ मानौ कि अब यिनमा माछा पाल्न गरे हुन्छ । कोठाहरू विनाश्रृंगारका नारी जस्तै भएका छन् । तन्ना झिकिएको, सिरानी एकातिर चाङ लगाएर राखिएको । समग्रमा सौराहाको मात्र नभई नेपालभरका अधिकांश होटलको दृश्य यस्तै छ ।
यतिखेर धेरैको मनमा कोरोनापछिको पर्यटन कहाँबाट र कहिले सुरु होला भन्ने छ । व्यावसायीका मनमा आफ्नो व्यवसायको भन्दा पनि यो संक्रमणबाट कसरी बच्ने भन्ने छ । धेरैको एउटै आवाज छ, ‘पहिला बाँचौ, व्यवसाय भनेको बाँचेपछि देखा जायगा ! हो पनि यो समय व्यवसाय भन्दा पनि आफू र परिवारलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर सोच्ने समय हो ।
यति भन्दाभन्दै पनि फुर्सदमा हामीले हाम्रो पर्यटनका बारेमा सोच्ने बेला पनि यही हो । लकडाउन खोल्नेबित्तिकै हामी अन्य काममा व्यस्त रहन्छौं । र यही लकडाउन उपयोग गरियो भने नेपालकै पर्यटन र विशेष गरी चितवनको पर्यटनलाई कसरी उकास्न सकिन्छ भनेर गन्थन गर्न सक्छौं ।
नेपालका धेरै गन्तव्यहरूले आन्तरिक पर्यटनमा जोड दिनुपर्छ । अब गन्तव्यहरूबीच प्रतिस्पर्धा हुनेछ । कुन गन्तव्यले कस्तो अफर ल्याउँछन् भन्ने पर्खाइमा बस्नेछन् आन्तरिक पर्यटक ।
चितवनमा पर्यटन सुरु भएको पाँच दशक नाघिसक्यो । धार्मिक रूपमा किन नहोस् पछिल्लो समय निकुञ्जकै कारणले चितवन प्रख्यात छ । सम्भवत चितवनमा पर्यटन सुरु भएपछि शून्यको अवस्थामा आएको यो पहिलो पटक हो । त्यसो त साठीको दशकसम्म मनसुनको समय जेठ, असार र साउनमा यहाँका पर्यटकस्तरका होटल पूर्ण रुपमा बन्द हुन्थे । पछि आन्तरिक पर्यटकको हिसा बढ्दै गएपछि होटल वर्षैभर खुल्न थाले । यो हाम्रो गर्वको विषय पनि बनेको थियो ।
होटल मात्र यस्तो व्यवसाय हो जुन लकडाउनअघि बन्दको शिकार हुन प¥यो । र लकडाउन खुलेपछि पनि सन्चालनमा आउन केही समय कुर्नुपर्छ । यस्तो अवस्थामा होटललाई कसरी पुनर्जीवन दिने, होटल व्यवसायीलाई थाहा छैन । थाहा छैन अब के हुन्छ । पहिलो चिन्ता भनेको कोरोनाको महामारीबाट बच्ने हो । अनि बल्ल बैंकको ब्याज, कर अनि पार्टी भुक्तानी गर्ने ।
सरकारले बैंकको किस्ता र ब्याजलाई केहीपछि धकेलिदिन्छ कि भन्ने आशा छ धेरैलाई । त्यही आशमा सास फेरिरहेका छन् । त्यसो भएन भने धेरै होटल व्यवसायी यो क्षेत्रबाट पलायन हुनेछन् ।
सरकारले ल्याएको नयाँ बजेट स्वागतयोग्य भए पनि उत्साहजनक छैन । कोभिड–१९ का कारण धरासायी बनेको पर्यटनलाई उकास्न ल्याइएका बजेटका शीर्षक आकर्षक देखिए पनि कार्यान्वयन पक्ष निकै कठिन हुने देखिन्छ । पुनर्कर्जाका कुरा बजेटमा आउँदा एक किसिमको हौसला थपिएको छ । तथापि पुर्नकर्जाको कार्यविधि कस्तो बन्ने हो यकिन छैन । धेरैको चिन्ता, त्यो पुर्नकर्जा ठूल्ठूला व्यावसायीले मात्र पाउने र साना व्यवसायी हेरेको हे¥यै हुने हुन् कि भन्ने पनि छ । चैतबाट पूर्ण रूपमा बन्द भएको पर्यटन क्षेत्रले अरबौं रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।
पर्यटन क्षेत्र आर्थिक हिसाबले संकटमा परेको छ, त्योभन्दा बढी चिन्ता कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने छ । अहिलेको समय व्यवसायीले आफूखुसी होटल बन्द गरेका होइनन् । बन्द गर्न लगाइएको हो । यसर्थ पनि सरकार यो विषयमा मौन रहन मिल्दैन । विकसित राष्ट्रले व्यवसायीलाई राहतको प्याकेज ल्याइसकेका छन् । त्यस्तै नभए पनि हामी पनि राज्यबाट केही सान्त्वना लिन चाहन्छौं ।
अहिलेको बजेटले होटल क्षेत्रलाई सुरक्षित राख्न योजना ल्याएको छैन । व्यवसायीलाई परेको संकटमा सरकार बोल्नै पर्छ । पर्यटन क्षेत्रमा जसरी बजेट विनियोजन हुनुपर्ने हो त्यो हुन सकेको छैन । हामीले पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकताका साथ बजेट छुट्टयाउने र कार्य योजनामा ल्याउने हो भने आर्थिक रूपमा ठूलो छलाङ मार्न सक्थ्यौं । वास्तवमा हामीले पर्यटन क्षेत्रलाई दुहुने गाईका रूपमा बुझ्नै सकेका छैनौं ।
नेतादेखि सारा जनताको मुखमा पर्यटन मात्र झुण्डिएको छ तर वास्तविक र व्यवसायिक पर्यटन प्रवद्र्धनका लागि कसैले ध्यान दिएका छैनन् । भरतपुर विमानस्थल साँघुरो भयो भनेर कराएको धेरै वर्ष भयो । अहिलेको बजेटमा राखिएअनुरूप यसलाई प्रादेशिक विमानास्थल बनाउने घोषणा स्वागतयोग्य छ । यसको अधिकतम प्रयोग चितवनले मात्र नभई आसपासका नागरिकले पनि गर्न पाउने छन् ।
आन्तरिक भ्रमण कार्यक्रमलाई अझ व्यापक बनाउन निजामती कर्मचारीलाई घुम्ने खर्च दिने कार्यक्रमले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन केही मद्दत गर्नेछ । तर यो कार्यक्रम बिल पेश गरेका भरमा मात्र नहोस् । मेरो सुभाव–कर्मचारी त्यसरी घुम्न निस्केपछि जहाँ पुग्छन् त्यहाँको स्थानीय वडा कार्यालयमा गएर क्लेम फर्ममा आधिकारिक व्यक्तिको सही र छाप लगाउनै पर्ने बाध्यकारी नियम ल्याउन सकियो भने मात्र वास्तविक घुमफिर हुनेछ । अन्यथा काठमाडौंमा बसेर रारातालका होटल बिल र बस टिकट हाम्रो ढोकामा आइपुग्ने नेपालमा त्यो कागजी घुमाई मात्र हुनेछ ।
नेपालले केही समय बाह्य पर्यटकको आशा नराख्दा पनि हुन्छ । यसको मतलब विदेशी पर्यटक ल्याउन पहल नगर्ने भनेको होइन । हाम्रो प्रयासअनुरूप विदेशी नेपाल आउँदैनन् भन्ने मेरो बुभाइ हो । त्यही भएर अब नेपालका धेरै गन्तव्यहरू अनि चितवनले पनि आन्तरिक पर्यटनमा जोड दिनुपर्छ । अब गन्तव्यहरूबीच अत्यधिक प्रतिस्पर्धा हुनेछ । कुन गन्तव्यले कस्तो अफर ल्याउँछन् भन्ने पर्खाइमा बस्नेछन् आन्तरिक पर्यटक ।
होटल क्वारेन्टिनमा प्रयोग भए पनि त्यो पुनप्र्रयोग गर्न मिल्ने, किटाणुरहित बनाउने हामी सबैको प्रण हुने छ । सरकारले त्यसको अनुगमन गर्ने छ । त्यसैले क्वारेन्टिन र आइसोलेसनलाई एकै नजरले नहेरौं ।
नेपाल सरकार विदेशमा रहेका नेपालीलाई नेपाल ल्याउने तयारीमा छ । उनीहरू स्वदेश फर्केपछि अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ । उताबाट फर्कने नेपालीलाई दुई विकल्प छन् । पहिलो सरकारले दिने निःशुल्क क्वारेन्टिनमा बस्ने वा पैसा तिरेर सामान्यदेखि तारे होटलमा । अनि अर्को महत्वपूर्ण कुरा नेपाल आउन अनिवार्य आरडिटी वा पिसिआर गरेको हुनपर्छ जसमा रिजल्ट नेगेटिभ हुनुपर्छ ।
हामीले बुझ्न र बुझाउन जरुरी के छ भने हाम्रा होटल क्वारेन्टिनका लागि दिन लागिएको हो, आइसोलेसनका लागि होइन । क्वारेन्टिनमा दिँदा कोरोना सरिहाल्दैन । रोग फैलिन नदिन यसले सहयोग गर्छ । क्वारेन्टिनमा राख्न होटलको निश्चित मापदण्ड तयार हुन्छ र त्यहाँ बस्नेले पनि तोकिएकै मापदण्ड पालना गर्नुपर्छ । जस्तै १४ दिन क्वारेन्टिनमा बस्ने मान्छे कुनै पनि दिन कोठा बाहिर निस्कन पाउँदैन । उसलाई निश्चित समयमा खानेकुरा कोठामै सर्भ गरिनेछ आदि । यो कुरा होटल क्षेत्रका स्थानीयले पनि बुझ्नु जरुरी छ । नबुझे हामीले बुझाउनुपर्छ ।
हामी अहिले पनि यताउता डुलेकै छौं । भीड भएका ठाउँमा किनमेल गर्न गएकै छौं । साथीहरूसँग बसेर गफ गरेकै छौं । होटल क्वारेन्टिनमा प्रयोग भए पनि त्यो पुन: प्रयोग गर्न मिल्ने, किटाणुरहित बनाउने हामी सबैको प्रण हुने छ । सरकारले त्यसको अनुगमन पक्कै गर्ने छ । त्यसैले मेरो अनुरोध क्वारेन्टिन र आइसोलेसनलाई एकै नजरले नहेरौं । परेका खण्डमा हाम्रा होटललाई क्वारेन्टिन बनाऔं ।
प्रकाशित: २२ जेष्ठ २०७७ ०४:५६ बिहीबार