१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

लकडाउनका दृश्य र दुःख

बुवालाई घिउ लिएर जानुछ

संगीता आदिवासी

म पेसाले शिक्षक हुँ । कोरोना भाइरसको संक्रमण बढेसँगै र लकडाउन सुरु भएसँगै म सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकास्थित घरमा छु । विद्यालय बन्द भएकाले म घरायसी काम र खेतीपातीमा व्यस्त छु ।

संगीता आदिवासी

लकडाउन सुरुपछि काठमाडौंमा लामो समय काम नगरी बस्न–खान नसक्नेहरू धमाधम गाउँ फर्कन लागे । लकडाउन भएको दुई–तीन हप्तादेखि मेरो गाउँको बाटो हुँदै थुप्रै मानिस हिँडेरै आएका देखिन्थे । बाटोछेउमै घर भएकाले कसैकसैसँग सोध्दा ‘दिउँसो हिँड्न दिँदैन, राति नै सहर छिचोलेपछि जसोतसो हिँडेर आउन सकिन्छ । हामी रातभरि हिँडेर आएका हौँ’ भन्थे । कोही त हिँडेरै चुरे कटेर तराईसम्म पुग्नुपर्ने पनि बताउँथे । कोरोना भाइरसको त्रासले हो, या त भोकै परिएला भनेर हो, उनीहरू आत्तिएर हिँड्थे । अहिले यो क्रम अलि कम भएको छ, तर मानिसहरू आ–आफ्ना काम दुःखले हिँडिरहेको देख्छु ।  

अहिले म यस्तै दृश्य नियाल्दै गाउँमा घरायसी कर्ममा रमाइरहेकी छु । घ्याङलेख–२ भैँसेस्थित श्री शारदा निम्न माध्यमिक विद्यालय, जहाँ मैले चार वर्षदेखि निरन्तर अध्यापन गराउँदै आइरहेकी छु । म जहिले पनि विद्यालयको वार्षिक परीक्षा सकिएपछि बाआमालाई भेट्न  बर्दिवास (माइती) जान्थेँ । यसपटक पनि जाने निश्चित थियो । कोरोना भाइरसलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार हामीले पनि २०७६ सालको वार्षिक परीक्षा फागुनको २८ गतेदेखि सञ्चालन गरी चैत ५ मा सकायौँ । हामीले आ–आफ्नो विषयको कपी परीक्षा भएकै दिन जाँची सक्थ्यौँ । विद्यार्थी संख्या कम भएकाले छिटो भयो, परीक्षासँगै नतिजा तयार पार्न । टाढाका शिक्षक साथीहरू पनि हतारमै हुनुहुन्थ्यो, घर जानका लागि । उसो त मलाई पनि माइती जान एकदमै हतार लागेको थियो । नलागोस् पनि कसरी, झन् यस्तो बढ्दो कोरोनाको त्रासमा ? बुबाआमासँग भेटघाट मात्रै गर्नुपर्ने नभएर मेरो भने उता बर्दिवासमा रहेको जनता बहुमुखी क्याम्पसमा भर्ना पनि गर्नु थियो । २०७६ माघ १८ गते क्याम्पसले एमएडको नयाँ भर्नाका लागि लिइएको इन्ट्रान्स पास गरेकी थिएँ । अब यसपटकको विद्यालय छुट्टीमा भर्ना गर्ने र आवश्यक कोर्सका पुस्तक लिने योजना थियो । योजना योजना मात्रै बनिदियो ।

मेरो बुबा पहिल्यैदेखि रोगी हुनुहुन्छ । म प्रायजसो माइती जाँदा बुबाका लागि घिउ लागेर जान्थेँ । यसपटक पनि बुबाका लागि भनेर विद्यालय छुट्टी हुनुभन्दा लगभग एक महिना अगाडिदेखि नै एक मानो घिउ जोहो गरेर राखेकी थिएँ ।  

घरकी बुहारी मान्छे, साथमा सानी छोरी पनि, त्यसैले सोचेँझैँ विद्यालय छुट्टी हुनसाथ माइती जान सकिनँ । फेरि यस्तो रोग फैलिरहेको बेला बाहिर लामो यात्रामा निस्कनु राम्रो हुँदैन भनेर पटकपटक मलाई श्रीमानले पनि विदेशदेखि भनिरहनुहुन्थ्यो, हरेकपटकको कुराकानीमा । मेरो मनमा भने बिरामी बुबालाई घिउ पु¥याइदिन मात्रै पाए नि हुने भन्ने लागिरह्यो ।

 

मेरो बुबा पहिल्यैदेखि रोगी हुनुहुन्छ । म प्रायजसो माइती जाँदा बुबाका लागि घिउ लागेर जान्थेँ । यसपटक पनि बुबाका लागि भनेर विद्यालय छुट्टी हुनुभन्दा लगभग एक महिना अगाडिदेखि नै एक मानो घिउ जोहो गरेर राखेकी थिएँ ।

बिरामी बुबा त्रसित स्वास्थ्यकर्मी

लकडाउनले हरेकको अवस्था असहज बनाएकै हो । जो दीर्घरोगी छन्, उनीहरूलाई झन् मर्का पारेको पाएँ । मेरा बा दमको बिरामी । उहाँलाई बेलाबेला हस्पिटल पुगिरहनुपर्ने, डाक्टरको सल्लाह लिइरहनुपर्ने, चेकजाँच गराइरहनुपर्ने । लकडाउन सुरु भएलगत्तै उहाँलाई दमसँगै खोकी पनि बढेको छ भनेर मलाई मेरी माइलीदिदीले फोन गरेर सुनाउनुभएको थियो । म लकडाउनले गर्दा बिरामी बुबालाई भेट्न जान नपाए पनि अरु दिनभन्दा धेरैपटक फोन गरेर बुबाको अवस्था बुझिरहन्थेँ । दुई दिनसम्म नि अलि कम होला जस्तो नलागेपछि बुवालाई बर्दिवास हस्पिटल ल्याइछ । लकडाउनले प्राइभेट हस्पिटल सबै बन्द, त्यसैले सरकारी हस्पिटल लैजानुप¥यो । तर, हस्पिटल जाँदा हस्पिटलभित्र पस्नै दिएनन् । स्वास्थ्य सेवाका कर्मचारीहरू आफैँ त्रसित थिए अरे । उनीहरूले भने, ‘हामीसँग (पिपिई) सुरक्षा सामग्री छैन । त्यसैले कुनै पनि बिरामी भर्ना गर्दैनौँ ।’  

झ्यालबाटै सोधे रे ! ‘ज्वरो छ कि छैन ?’  

कान्छादाइले मलाई पछि फोनमा भन्नुभयो सबै कुरा सुनाउनुभयो, दुःख लाग्यो ।

ज्वरो भएको भए सिधै क्वारेन्टाइनमा पठाइन्थ्यो होला । धन्न ज्वरो भने आएको रहेनछ बुबालाई । झ्यालबाट दुई गोली औषधि दिएर फर्काइदिएछ ।  

बा आत्तिरहनुभएको थियोे । यता म पनि डराएँ, हस्पिटलबाट त्यस्तो व्यवहार गरिन्छ भने बिरामीको उपचार कसरी हुन्छ ? सधैँ चलाइरहेको औषधि लिन पाइएन, औषधि पसल बन्द भएकाले । समयमा सही औषधि नपाए जे पनि हुन्छ, सबैलाई थाहा थियो । उपाय भने खै केही भेटिएन ।

 

फुच्चे झोले डाक्टर  

एउटा झोले डाक्टर, जो झोलामा औषधि बोकेर बर्दिबास सबैतिर पुगिरहन्छन् । घरघरमै पुगेर बिरामीको सेवा गर्छन् । तर गाउँलेहरूले खासै पत्याउँदैनन् उनलाई । सानो कदको डाक्टर भएकाले गाउँलेले उनको नाम नै ‘फुच्चे डक्टर’  राखेका छन् । फुच्चे डाक्टरले आफूसँग भएको केही औषधि चलाई हेर्न सल्लाह दिएछन् । नभन्दै बुबालाई त्यो औषधिले काम पनि गरेछ । नजिकको तीर्थ हेला भनेको सुनेथेँ, हो रहेछ जस्तै लाग्यो मलाई पनि यस्तो खबर सुन्दा ।

बर्दिवास (माइती)को सरकारी हस्पिटलमा भएको घटना मैले थाहा पाए जति यता आफ्नो घरपरिवारलाई पनि सुनाएँ । हस्पिटलका स्वास्थ्यकर्मीले गरेको त्यस्तो खबर सुनेपछि सासुआमा भन्नुहुन्छ, ‘यस्तै भइइरहने हो भने कोरोना भाइरसभन्दा पनि अरु रोग भएका बिरामीहरू मर्नेछन् अकालमै ।’

 

अनलाइन कक्षा

यो लकडाउनका बेला विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै अनलाइन क्लासको कुरा पनि चलेको छ । सहर जहाँ इन्टरनेटको राम्रो सुविधा छ, जसको घरमा कम्प्युटर, ल्यापटप, स्मार्टफोनको व्यवस्था छ, उनीहरूका लागि ठीकै पनि होला । गाउँमा भने एउटै परिवारका चार–पाँचजना विद्यार्थी पनि छन् । सबैलाई आवश्यक स्मार्ट फोनको व्यवस्थापन गर्नुपर्ला, अनलाइन क्लास नै सञ्चालन हुने भएपछि । स्मार्टफोन, ल्यापटप नै जुटाए रे, मेरोजस्तै गाउँमा भएकाहरूलाई अनलाइनमा पढाइ सम्भव नै देखिँदैन । कहिलेकाहीँ आपत पर्दा फोन गर्नलाई त राम्रो नेटवर्क हुँदैन । अनि नेट कसरी चलाउने ? कसरी लिन सक्दा हुन् अनलाइन शिक्षा ? अर्कोतिर कक्षाकोठामा स्वयं शिक्षक अगाडि हुँदा त खासै ध्यान दिइरहेका हुँदैनन् विद्यार्थीले, अनलाइनमै पढ्न मिले पनि कसरी पढ्लान् ? मेरा मनमा अनेक कुरा खेल्छन् । विद्यार्थीको भविष्यको चिन्ता पनि लाग्छ ।

 

राहतमा एक डल्ला साबुन र मास्क

यता लकडाउन सुरु हुनेबित्तिकै स्थानीय तहले राहत वितरणको प्रस्ताव ल्यायो । स्थानीयवासी खुसी भए । लकडाउनको पहिलो हप्ताभित्रै राहत नआएको पनि होइन । कर्मचारीहरू राहतको झोला बोकेर घरघर पुगेर राहत बाँडे । राहतमा थियो, एउटा हात धुने साबुन ।

कमसे कम घरपरिवारको सदस्य संख्या हेरेर जनही एक–एकवटा पर्ने गरी दिए त हुन्थ्यो । परिवारमा जतिसुकै सदस्य होऊन्, कुनै पर्वाह नगरी एक धुरीलाई एउटा साबुन बाँड्दै गए । गाउँका मान्छेहरू सबै एउटै वर्गका छैनन् । कोही भन्थे, ‘हामीले किन्न नसक्ने हो र, जाबो एउटा साबुन ?’

कोही भन्थे, ‘हात धोएकै भरमा सधैँ ६–७ जनाको परिवार स्वस्थ रहन सकिन्छ ? राहत दिनै छ भने कसलाई के आवश्यक छ बुझेर दिइयोस् न । लकडाउन गरेर मात्र के हुने हो र ? जसको घरमा रोटी खान पिठो छैन, त्यस्तालाई साबुन के गर्नु ? यस्तो बेला फेरि गरिबलाई मात्रै हो र समस्या पर्ने ? खल्तीमा पैसा भएकाहरूले पनि खरिद गर्न उपभोग्य वस्तु नपाएपछि भोकै बस्नुपर्ने अवस्था आइहाल्छ ।’ सबैको कुरा ठिकै हो झैँ लाग्यो पनि ।

लकडाउन हटाउने भन्दा पनि झन्झन् म्याद थप हुँदै गयो । चैतको २१ गते फेरि राहत आइपुगेछ गाउँमा । मेरो गाउँमा भने महिला स्वयंसविकाले बाँडे । राहत दश वर्ष उमेर माथिकाले मात्रै पाउने रहेछन् । यसपालि राहतमा मास्क आएको रहेछ । यही गाउँपालिकाको अर्कोगाउँतिर भने उपमेयर स्वयं राहत वितरणमा सहभागी हुनुभएको रहेछ । मैले पनि सामाजिक सञ्जाल फेसबुकमा उहाँकै पोस्ट देखेपछि थाहा पाएँ । गाउँ–गाउँमा गएर गाउँलेलाई आफ्नै हातले मास्क लगाइदिनुभएको रहेछ । केही तस्बिरहरू देखेकी थिएँ ।

रेडियोमा समाचार सुनिन्थ्यो, सहरतिर मास्क किन्न समेत नपाएको भनेर । मास्कमा पनि कालो धन्दा गरे अरे ! कस्तो–कस्तो सोचाइ भएका मानिसहरू बस्दोरहेछ हाम्रो देशमा भन्ने लाग्यो । जबजब कुनै पनि वस्तुको माग ह्वात्तै बढ्छ, तब त्यो वस्तु लुकाइन्छ । भएकाहरूले पनि छैन भन्छन् र त्यसको वास्तविक मूल्यभन्दा महँगोमा मात्रै दिन्छन् । हामीले सुधार्नुपर्ने कुरा धेरै छन् ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App