१ श्रावण २०७७ बिहीबार
ब्लग

आत्मबलले हराऔं भाइरसलाई

लकडाउन जिन्दगी

उषा थपलिया

छ महिनाअघि चीनबाट कोरोना शुरू हुँदा मानवताको नाताले जागेको समवेदना त थियो नै, तर आफूतिर सोझिएको चिन्ता थिएन । चीनमा हायलकायल जारी राख्दै र अन्य छिटफुट देशमा आफ्नो शक्ति देखाउँदै कोरोना एकाएक युरोप, अमेरिका हानियो । उच्चस्तरीय स्वास्थ्य सुविधासहित विकास र समृद्धिको चरम स्वाद चाखिरहेका युरोपेलीको जनजीवनसमेत तहसनहस पार्न उसलाई धेरै समय लागेन । तीव्र रूपमा फैलिएको संक्रमणसंगै ज्यान गुमाउनेको सख्या बढिरह्यो । उच्च गतिको संक्रमण र सोही अनुपातको मृत्युश्रृङ्खला हृदयविदारक बन्यो । अन्त्येष्टिका लागि ठाउँ अभावका खबरसहित यत्रतत्र छरिएका शवका थुप्राले विश्वलाई नै भयभित बनायो ।  

छिमेकी मुलुक भारतमा यसको प्रहार शुरूभएपछि सशंकित मनोविज्ञान झनै चुलियो । कोरोना उत्पत्ति हुने चीन पनि छिमेकी मुलुक । तर बन्द सिमानाका कारण खासै चिन्ता जागेको थिएन । चीनबाट बाहिरिएसँगै धेरै ध्वंस मच्चाइसकेको भाइरस खुला सिमानाको अर्को छिमेकी देश छिरेपछि डर बढ्नु स्वभाविकै थियो । सरकारले भारतलगत्तै नेपालमा पनि लकडाउन घोषणा ग¥यो । पश्चिमी मुलुकमा जारी कोरोना बबण्डरले सजगताको पाठ यथेष्ट सिकाइसकेको थियो । मुलुकभित्र लकडाउन शुरू भएपछि सजगतामा केही भय पनि मिसियो । जिन्दगीमा पहिलो पटक खेपिदै थियो लकडाउन, त्यो पनि विश्वलाई आक्रान्त पारिरहेको भाइरसबाट बच्न ।  

चीनले शुरू गरेको लकडाउन र यसबाट मिलेको सफलता अन्य मुलुकले पनि अनुसरण गरिरहेकै थिए । यसर्थ, लकडाउन नौलो र अविश्वसनीय त थिएन । तर आफ्नै मुलुकमा लकडाउन जारी भएपछि यसप्रति विश्वास र अविश्वासको तरंग अलि बाक्लै चलिरह्यो । त्यस्तो शक्तिशाली र विध्वंसकारी अदृश्य भाइरसबाट मुलुकलाई के लकडाउनले साँच्चै सुरक्षा दिन सक्ला त ?  

परिवारकासाथ खानेपिउने लगायतका सोख व्यक्तिको स्वतन्त्रता र हैसियतअनुसार फरकफरक होला तर, देशभित्रैका निमुखाले झेलिरहेको कष्टलाई बेवास्ता गर्दै तामझाम र उत्सवजन्य गतिविधि सामाजिक संजालमा फिँजाउन अब त सबैलाई संकोच लाग्नै पर्छ !  

दैनिक प्रातकालीन हिँडाइ आफ्नो नित्यकर्म । जाडो, गर्मी, झरी, बादल केहीले पनि नछेकेको । अघिल्लो दिन घोषित लकडाउनले त्यो कर्म रोकिने निश्चित भयो । लकडाउनको पहिलो बिहान बाहिरको अवस्था कस्तो हुँदो हो ? मैजस्तो आदतका अरू मान्छेको सडकमा उपस्थिति के कसो रहेछ ? हुटहुटी एकाएक बढ्यो र मास्क लड्काएर पाइला सडकतर्फ सोझिए । अनौठो केही भएन । बिहान हिँड्नेहरू सधैंझैं सडकमा पैताला बजारिरहेका भेटिए । अधिकांशले मास्कको जरुरत पनि नदेखेका । लकडाउन शुरू हुने ६ बजे अगावै गृहप्रवेश गरिएकाले उल्लंघनको ग्लानि त थिएन तर भोलिदेखि बाहिर ननिस्कने प्रण यात्राकै दौरान गरियो । आफू एक जना त हो नि भन्दै सबै बाहिर निस्किए लकडाउनको के अर्थ ?  

सधैंझैं बिहान साँढे तीन बजे ओछ्यान छोड्ने परम्परा लकडाउनले पनि तोडेन । ४५ मिनेट जतिको नियमित प्राणायाम सकियो । त्यसपछि शुरू हुने ४०–४५ मिनेटको कसिलो हिँडाइलाई केले प्रतिस्थापन गर्ने ? समस्या त्यही थियो । एकोहोरो हिँडाइ सबैभन्दा सजिलो व्यायाम । यसको तुलनामा धेरै अगाडीेदेखि बन्द भएको शारीरिक कसरत पुनः थाल्न शरीर त्यति उत्सुक थिएन तर छतको चिसो हावामा निस्किएर गर्नुपर्ने एकएक कर्म दिमागद्वारा निर्र्देिशत भएपछि सोहीअनुसार शरीर नचलेर भो र ? ३५ मिनेट शिरदेखि पाउसम्मका सबै कसरत सकीनसकी सकायो शरीरले ।  

दिमागको आदेश बमोजिम कडा व्यायाम पूरा गरेको व्यग्रतासँगै  त्राण खोज्दै थियो शरीर । तर दिमागको असन्तुष्टि यथावत ! उस्तै आयतनका तल्लो र माथ्लो छत फन्को मार्दै यी दुईलाई जोड्ने १५ खुट्किले भ¥याङ एक सासमा चढ्ने र ओर्लने अर्को आदेश फर्मान भैहाल्यो दिमागबाट । त्यो पनि लगातार १५ साइकल पूरा गर्नैपर्ने । दिमागको अगाडि शरीरको केही जोर चलेन । चूपचाप पूरा ग¥यो विचरो शरीरले, कठोर हाकिमको आदेश निरीह कामदारले पालना गरे सरह ।  

अरू दिन बिहानी हिँडाइसँगै दूग्धजन्य पदार्थ घर भित्रन्थ्यो । हिँडाइको कर्म घरमै पुर्ताल भए पनि तिनै चीजका लागि पसल नगई भएन । हुनेसम्मको कोरोना सजगता अपनाउँदै लागियो त्यतातिर । कान्ति र टिचिङ अस्पतालको बीचबाट चक्रपथ जोड्ने बाटो । झर्दा ओरालो, चढ्दा ठाडो उकालो । बानी नपरेकालाई यो उकालोले हुरुक्कै बनाउँछ । पहिलो पटक सवारी साधन चलाउनेका पसिनै छुट्छन् । तर, त्यहीँ बाटोसँगको नाता प्रगाढ भएकाले आफूलाई भने उकालो, ओरालो दुवै अति प्रिय । तुफान हिँडाइमा पनि आफ्नो कारोवारको पसल पुगेर फर्किन १२—१५ मिनेट लागिहाल्ने । यही हिँडाइ बिहानी व्यायामको अन्तिम अंश बनेर टुंगिएपछि थाकेको शरीर २० मिनेटको ध्यानमुद्रामा लिन हुने गरेको छ । अभ्यस्तका सुझावअनुसार लकडाउनपछि थपिएको उपक्रम हो यो । एकाग्रता नपुगेरै होला, ध्यानबाट चरम आनन्द मिल्न सकेको छैन तर सुमधुर धुनसहित २० मिनेटको चकमन्न मुद्रामा थाकेको शरीरले राम्रै आराम महसुस गर्छ ।  

एक भरियाले भोककै कारण केही दिनअघि कीर्तिपुरमा आफ्नै जीवनको भारी बिसाए । घरमा चुलो नबलेको चार दिनपछि खानाको खोजीमा भौतारिँदाभौतारिँदै अघिल्लो हप्ता कञ्चनरुपका मलर सदाको प्राण गयो । कुनै नागरिक भोकले मर्छ भने लोकतान्त्रिक राज्यक लागि त्यो भन्दा लज्जाजनक अवस्था अरू केही हुँदैन ।  

त्यसपछिको लगभग ३५ मिनेटको समय सांगीतिक रियाजका लागि । हारमोनियमको प्रत्यक्ष धुन अनि अपलोडेड तानपुराको सुरसँगै रियाजमा डुब्दा ध्यानबाट मिल्न नसकेको आनन्द तुरुन्तै मिलिहाल्ने । यस्तो लाग्छ पूरा दिन यसैगरी बिताउन पाए ! संगीत अनन्त गहिराइको महासागर हो । जति डुब्ने कोसिस ग¥यो, त्यति तैरिएको मात्र आभास हुने । सतहमै त यति आनन्द, गहिराइ नै भेटे कस्तो होला ? बोली फुट्दादेखि जिन्दगीको अन्तिमसम्म संगीत साधनामा लीन हुने महान् उस्तादले मात्र चाख्ने त्यो स्वाद, सोखले उचालेर आधा घण्टे अभ्यासमा सीमित हुने म जस्ताले कल्पना गर्ने कुरै होइन । तैपनि जे जति हासिल छ, जिन्दगीको सर्वप्रिय पाटो त्यही लाग्छ । साढे ६ देखि साढे ७ बीचको एक घण्टे चियानास्ता प्रबन्धका लागि भान्सामा बित्ने गर्छ ।

एफएमका समाचार सुन्ने, सामाजिक संजालमा अपडेट हुने, आएका म्यासेजहरूको जवाफ दिने तथा मुख्य न्युजसाइटका हेडिङमा आँखा डुलाउने क्रम सोही अवधिमा हुन्छ । आवश्यक किनमेलमा निस्कन तोकिएको समय बिहानै हो । केही दिनको अन्तरालमा बिहानी नास्तापछिको गन्तव्य बजारतर्फ बनाउनै प¥यो । अरू दिनमा भने आफन्त, साथीभाइ तथा शुभचिन्तकबीच ८ बजेसम्म वार्तालाप लम्ब्याउने ठाउँ रहन्छ । यो महत्वपूर्ण पनि छ यतिबेला । आत्मीय मनबाट आएका शुभेच्छा, माया, सोधीखोजी अनि सदाशयले बिहानैदेखि ऊर्जा भरिएको आभास गराउँछ । लामो लकडाउनमा यिनै आयामले त सम्बन्धलाई जीवित राखिरहेका छन् ।  

केही संजालीय सम्बन्ध यही अवधिमा टुटाउनु पनि परेको छ । विशेष गरी बेतुकको च्याटमा लिन हुन खोज्नेहरू यसबाट प्रभावित भए । सबैको अवस्था उही हो, हरपल नयाँ के हुन्छ र ? निश्चित अन्तरालमा सम्बन्धलाई पुर्नताजगी गर्नु स्वभाविकै हो तर एकै दिनमा धेरै पटक एकैखाले किचकिच वास्तवमै झर्कोलाग्दा हुन्छन् । तर कतिपयलाई अर्काको चाहना वास्ता नगरी त्यसैमा रमाउने बानी नै हुँदोरहेछ ।  

‘लकडाउनमा पनि यति बेफुर्सद ? केके गरिन्छ हौं ? अनलाइन भएर पनि नो रिप्लाई ? के छ नयाँ ? के गर्दै ? इट्स भेरी हार्ड टु पास दि टाइम, प्लिज कम टु दि च्याट सुन् । खाजामा के खाइयो ? मलाई खै त ?’ यस्तैयस्तै पलपलका उही अर्थहीन सोधाइ । तुरुन्तै जवाफ अनि वार्तालापको अपेक्षा । सो पूरा नभए बेला न कुबेला सिधै भिडियो कल, त्यो पनि तारन्तार । सकेसम्मको संयम काम नलागेपछि जजसका निम्ति जे निर्णय गरियो, त्यसप्रति पश्चाताप छैन ।  

‘यति फुर्सदिलो समयमा पनि बेपत्ता भएर कता व्यस्त हो ?’ नजिकका साथी र चिनेजानेकाले समेत यही झटारो फालिरहेकै हुन्छन् । तर आफ्नै मर्जीको क्रियाकलापभित्र रमाउने बानी परेकाले विहान ३:३० बजे शुरू भएको दिन बितेको पत्तो हुँदैन । मेरै लागि दिनमा केही घण्टा अझै थपिए पनि हुने नि, असम्भव लालसा समेत जागृत भैदिन्छ । अनि हरेक आकांक्षीको च्याट र भिडियोमा छाउनु कसरी ?  

लकडाउनले पुरुषको निष्क्रियतालाई झन् बढाएको छ । घरभित्र बस्नु पर्दाकोे उकुसमुकुस पनि पुरुषमै बढी देखिन्छ । अध्ययनमा रुचि नभएका र घरायसी काम महिलातर्फ मात्र हुत्याउन जानेकालाई लकडाउनले सबैभन्दा बढी पिरोलेको प्रष्टै छ । यसले शारीरिक प्रतिकुलता मात्र हैन, मानसिक आघातका लागि पनि बाटो खोल्छ ।  

अहिले अध्ययनमननको उपयुक्त समय हो । पढ्न नभ्याएर थाती रहेका पुस्तकको  सामिप्यले अर्कै दुनियाँमा पु¥याइदिन्छन् । पढ्न अभिप्रेरित गर्ने तथा त्यसमा इँटा थप्न आफूसँग भएका पिडिएफ भर्सन इमेलमार्फत पठाइदिने सबैप्रति आभार नहुने कुरै भएन । लेखन भने अचेल उस्तो जम्न सकेको छैन । कारण वर्तमान परिवेश नै हो । लकडाउनले पत्रिका, म्यागेजिन सबै प्रकाशित छैनन् । अखबारका पाना पातलिएका छन् । जति छापिन्छन्, तिनमा वरिष्ठहरूकै रस्साकस्सी छ । ठूला ठानिनेहरू सबैले लेखनमै भएभरको बल लगाइरहेका छन् । औंलामा गन्न सकिने वरिष्ठहरू पालैपालो जुनसुकै माध्यममा घुमीफिरी छाइरहनु त्यसैको उपज हो । उनीहरूको ओजमा सानातिनाले चुनौती दिनसक्ने कुरा आएन न, त प्रकाशकहरूकै मानसिकता सबैलाई समेट्ने खालको देखिन्छ । यति भएर पनि आफ्नो मनमौजी लेखन केले रोकिन्थ्यो र ? चलिरहेकै छ बेलाबेला । आखिर सिर्जना कहिल्यै बेकम्मा पनि त हुँदैन ।

जुनसुकै विधाको ज्ञानसीप लिन खोज्नेलाई गजवको अवसर छ अहिले । युट्यूव÷गुगलमा सर्च गर्दा नपाइने कुनै विषय छैन । लकडाउनको अवसर पारेर यसमा अझै व्यापकता आएको छ । सुरुवातदेखि नै कुनै विषयमा लगाव राखेको व्यक्तिले उक्त विषयमा सिंगोपांगो ज्ञानसीप हासिल गर्ने बेला भैसक्यो । रुचिअनुसार ज्ञान बटुल्न मेरा लागि पनि युट्युव÷गुगल सहायकसिद्ध छन् यतिबेला । संस्कृतका मन्त्र तथा श्लोकहरू विशेषतः प्रिय लागिरहेका छन् । सिक्ने चाहना दिन प्रतिदिन बढ्दो छ । सुरुका कठिन उच्चारण बिस्तारै सहज अनि छुट्टै  आनन्ददायक लाग्ने रहेछ । पाश्चात्य दर्शनभित्र समेत निरन्तर पकड बढाउँदै गइरहेको संस्कृत,हामी पूर्वीय दर्शनधारीका लागि त गौरवकै विषय हो । इच्छा जागेका अन्य धेरै विषय छन् तर जेका लागि पनि आवश्यकता आखिर समयकै । घरभित्रका सरसफाइ, उचित व्यवस्थापन, समयसमयका खानपान लगायतले पनि समय खोसिरहेको हुन्छ । यसरी सबैतिरबाट तानातान हुने समय, लकडाउन भन्दैमा बढी कहाँ भएको छ र ?    

बिहान फलफूल र झोलिलो पदार्थ मात्र । १२ बजे ग्रीन सलाद सहितको खाना । ४ बजेको हाराहारीमा हल्का नास्ता अनि बेलुका सातको वरिपरि ग्रीन सलाद सहित लाइट डिनर । लकडाउने खानपान र समय तालिका यही हो । जीवन रहेसम्म साथ दिने बाचाका साथ ८ वर्षदेखि मधुमेह अनन्य मित्र बनिरहेको छ । उसैले खानपानमा यति सजग हुन सिकाएको ।  

लकडाउन शुरूभएपछि युट्युवे परिकारले सामाजिक संजालका भित्ता खूबै भरिए । आफन्तहरूकै संजालभित्र पनि बनेका चिजविज सचित्र आदानप्रदान भइरहन्छन् । हैसियतवालाले यसलाई नयाँ परिकार सिक्ने उचित अवसरकै रूपमा व्याख्या गरेका छन्, कुरा सही हो पनि । सवैतिरको यो माहोलले विशेषतः सन्तानलाई प्रत्यक्ष असर पारिहाल्ने । तिनकै इच्छा र केही नयाँ सिक्ने आफ्नै लालसाले युट्युवे परिकार बनाउनेतर्फ पनि बेलाबेलामा मन गइरहेकै हुन्छ । तर स्वास्थ्य अनुकूल र घरेलु चिजविजकै प्रयोगको मापदण्ड भने उल्लंघन गरिएको छैन । बजारका अस्वस्थकर परिकार उही स्वाद र स्वस्थ किसिमले कम खर्चमा घरैमा तयार हुने रहेछन् । तर अपशोच यसमा छ कि यति जान्न पनि लकडाउन नै कुरेर बसिएछ !  

खानपानमा मात्र सजग भएर पुग्दैन सुगर रोगीलाई, क्रियाशील दिनचर्या, सकारात्मक सोच लगायत पनि उत्तिकै आवश्यकता रहन्छ । बाहिर निस्कन नमिल्ने यो समय बोझिलो र निष्क्रिय राख्नै भएन । स्वस्थ मानिसलाई समेत सक्रियताको उत्तिकै जरुरी छ । यसैलाई मध्यनजर गर्दै लकडाउन शुरूभएलगत्तै विश्व स्वास्थ्य संगठनका प्रमुखले एउटा भिडियो सन्देश जारी गरे । लगातारको आधा घण्टे बसाइपछि केही मिनेट चलखेल गर्ने सुझावका साथै शारीरिक र मानसिक स्वस्थताका लागि सक्रियता र खानपानमा विशेष ध्यान दिन उक्त भिडियोमा भनिएको छ । शारीरिक सक्रियता नै चाहिने रोगीलाई यी दुवै कुरा झन् अपरिहार्य भैहाल्यो । घरको सरसफाइ, सबै कुराको प्रणालीबद्ध व्यवस्थापन, किनमेल, भान्साका काम लगायतले निश्चित अन्तरालमा दिनभर पनि शरीर चलायमान बनाइरहेकै हुन्छ । शारीरिक सक्रियता, स्वस्थ आहार, पढाइलेखाइ साथै रुचिको  ज्ञान बढाउने अवसर, सफा र व्यवस्थित परिवेश, मनोरञ्जन, शुभचिन्तकका शुभेक्षा, पारिवारिक ममता यी सप्तरंगी इन्द्रेणीले सवैखाले नकारात्मकताका विरुद्ध रक्षाकवचकै काम गरिरहेको छ । घरभित्रको यति लामो कैदी जीवन बोझिलो नहुनुको रहस्य पनि यही हो ।

समाजमा केही मनकारीहरू पनि नहुँदा हुन् त झन् कति भयावह भैसक्थ्यो होला अहिलेसम्म ? जोरपाटी, सुन्दरटोलका युवा एक नमुना हुन्, जसले आफूहरूबीच खर्च बटुलेर दैनिक ३ सय जना भोकले तड्पिएकाहरूलाई दुई छाक खाना खुवाइरहेका छन् । स्थानीयको मद्दतले उनीहरूको हौसला बढाएको छ ।

लकडाउन शुरूभए यताका बाहिरी दृश्यले भने हरबखत थिचोरिरहेको हुन्छ । समाजमा कायम वर्गबीच असमानताको दूरी अत्यन्तै तन्किएको जहीँतहीँ देखिन्छ । लकडाउनलाई लामो पर्वकै रूपमा ग्रहण गर्न हैसियतवालालाई कुनै अप्ठेरो छैन । उनीहरूका खानपान, मोजमस्ती, मनोरञ्जन लगायत रोमाञ्चक जीवनशैली घरभित्र सीमित हुँदैनन्, सामाजिक संजालमा निसंकोच फिँजिन्छन् । उता, लकडाउनको सुरुवातदेखि नै भोकले तड्पिएका वर्गको आर्तनाद अत्यन्तै कहालीलाग्दो छ । ती परिवारभित्र रोगले थलिएका विरामी र बालबालिकाको स्थिति अझ बढी कारुणिक छ । दैनिक श्रमबाट गुजारा गर्ने वर्ग सबैभन्दा बढी मारमा परेको छ यतिबेला । आम्दानीको बाटो बन्द, निरन्तर लम्मिँदो लकडाउन । हारगुहारपछि एकपटक राहत बाँड्यो सरकारले । सिमित राहतबाट कति दिन गर्जो टर्नु ? सरकार भने वितरित सोही राहतपछि आफ्नो दायित्व सकिएको जस्तै अवस्थामा छ । समाजको अवस्था र सरकारको रवैयाबाट अत्यन्तै दुःखदायी घटना हुन थालिसकेका छन् ।  

भारी बोकेर जीवन धान्दै आएका एक भरियाले भोककै कारण केही दिनअघि कीर्तिपुरमा आफ्नो जीवनको भारी बिसाए । घरमा चुलो नबलेको चार दिनपछि खानाको खोजीमा भौतारिँदाभौतारिँदै अघिल्लो हप्ता सप्तरीका मलर सदाको प्राण गयो । जसरी भए पनि खाना लिएर आउँछु भन्दै पत्नीलाई आश्वासन दिएर हिँडेका सदाको मृत्युपछि उनी आश्रित परिवारको हालत अव के होला ? संचारमा आएका यी घटना केही नमुना मात्र हुन् । समाजभित्रको अरू दर्दनाक स्थिति यसैबाट अनुमान गर्न सकिन्छ । नागरिकको ज्यान नरहनु, अपुरणीय क्षति हो, चाहे त्यो रोगको कारण होस् या भोकको । देशभित्र कोही नागरिक भोकले मर्छ भने लोकतान्त्रिक राज्यका लागि त्योभन्दा लज्जाजनक अवस्था अरू केही हुँदैन ।    

समाजमा केही मनकारीहरू पनि नहुँदा हुन् त झन् कति भयावह भैसक्थ्यो होला अहिलेसम्म ? जोरपाटी, सुन्दरटोलका युवा एक नमुना हुन्, जसले आफूहरूबीच खर्च बटुलेर दैनिक ३ सय जना भोकले तड्पिएकाहरूलाई दैनिक दुई छाक खाना खुवाइरहेका छन् । स्थानीयको मद्दतले उनीहरूको हौसला बढाएको छ । राजधानीमा लकडाउनको प्रहार खेप्न नसकेर टाढाटाढाको थातथलो समेत हिँडेरै हानिनेहरू उस्तै दुःखका भागिदार बने तर ठाउँठाउँमा देखिएका उपकारी मनहरूले उनीहरूका लागि गरेका खानपानको बन्दोबस्त त्यस्तै स्तुत्य कर्म थियो । सोही खाले सुकर्म गर्नेहरू अन्यत्र पनि रहेका दृश्य देखिएका छन् जसले स्थितिलाई विकराल हुनबाट केही हदसम्म जोगाएका छन् । कुनै मिडियाबाजीविना आफ्नो घरटोल छेउछाउका समस्याग्रस्तलाई व्यक्तिगत तवरमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री सहयोग गरिरहेका परोपकारीको प्रयास पनि प्रशंसनीय छ । यी सबैको संयुक्त प्रयासले केही काम पक्कै गरेको छ तर यसको दीर्घकालीन उपायप्रति घोत्लिनुपर्ने सरकारले नै हो । आशा गरौं, सरकारले निकास छिट्टै निकाल्नेछ ।  

ध्यान दिनुपर्ने पक्ष नागरिक तहका पनि धेरै छन् । परिवारका साथ खानेपिउने लगायतका सोख व्यक्तिको स्वतन्त्रता र हैसियतअनुसार फरकफरक होला तर देशभित्रैका निमुखाले झेलिरहेको कष्टलाई बेवास्ता गर्दै तामझाम र उत्सवजन्य गतिविधि सामाजिक संजालमा फिँजाउन अब सबैलाई संकोच लाग्नै पर्छ ।  

अन्यत्र जति छिटो बबण्डर मच्चाए पनि नेपालका लागि सुरक्षित हुने समय प्रशस्तै दिएको हो कोरोनाले । उत्पत्ति मुलुक चीन र संक्रमण दर व्यापक बनेको भारतबीच रहेर पनि लामो समय कोरोना नेपाल पस्न सकेको थिएन । नेपालीको दर्बिलो प्रतिरोधात्मक शक्ति, पशुपतिनाथको कृपा, पूर्वीय संस्कारको करामत लगायत अरूके के हलावा दिँदै व्यापक परीक्षण र सतर्कतामा सरकार चुकेकै हो । जसको परिणाम अहिले बढिरहेको संक्रमितको संख्याले देखाइरहेको छ । यी पंक्ति लेखिरहँदा मुलुकभित्रै ६ जनाले ज्यान गुमाइसकेका छन् ।  

महिलाको तुलनामा पुरुष कोरोनाबाट धेरै गुणा बढी प्रभावित भएको विश्वस्तरमै देखिएको छ तर नेपालमा मृत्युको सुरुवात महिलाबाटै भयो, त्यो पनि सुत्केरी महिला । मृत्युको पहिलो घटना नै सारै पीडादायी । त्यसयता थपिएका मृत्युका घटनाले नेपालको क्वारेन्टिन र उपचार पद्धतिलाई राम्रैसँग उजागर गरेका छन् । संक्रमणको निशानामा विशेषतः युवावर्ग अनि लक्षण नदेखिने संक्रमितको अवस्था कोरोनाले नेपालमा देखाइरहेको पृथक चरित्र हो । अहिलेसम्म बढी युवा नै संक्रमित भएका कारण प्रभावकारी उपचारको सुविधा नहुँदा पनि कोरोनालाई हराउँदै संक्रमितले जितेको प्रष्टै छ, तर यही गतिमा मुलुकका अशक्त र वृद्धवृद्धा संक्रमणमा परे भने अवस्था के होला ? देशभित्रको अकल्पनीय नोक्सानसँगै नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थाप्रति विश्वले कति टिठ मान्ला ? यसप्रतिको चिन्ता बढी जाग्दैछ अचेल ।  

अहिलेसम्म कोभिड—१९ को प्रकोपबाट महिलाको तुलनामा पुरुष ज्यादा प्रभावित भएको देखिएको छ । यसबााहेक जुनसुकै फ्लु या संक्रमणमा महिलाभन्दा पुरुषको अधिक मृत्यु भइरहेको वैज्ञानिक स्वीकार्छन् । उनीहरूका अनुसार महिलामा बढी र पुरुषमा कम रोग प्रतिरोधात्मक शक्ति हुन्छ । मदिरा, चुरोट आदिको बढी सेवनका साथै निष्क्रिय जीवनशैलीले पुरुषको प्रतिरोधात्म«क शक्तिलाई झनै कमी गराउने स्वास्थ्य सम्बद्ध निकायले समेत जनाएको कुरा हो ।  

लकडाउनले पुरुषहरूको निष्क्रियतालाई झन् बढाएको छ । घरभित्र वस्नु पर्दाको उकुसमुकुस पनि पुरुषमै बढी देखिन्छ । अध्ययनमननमा रुचि नभएका र घरायसी काम महिलातर्फ मात्र हुत्याउन जानेकालाई लकडाउनले सवैभन्दा बढी पिरोलेको प्रष्टै छ । यसले शारीरिक प्रतिकूलता मात्र हैन, मानसिक आघातका लागि पनि बाटो खोल्छ ।  

अहिलेसम्म युवा नै बढी संक्रमित भएका कारण प्रभावकारी उपचार सुविधा नहुँदा पनि कोरोनालाई संक्रमितले जितेको प्रष्टै छ, तर यही गतिमा मुलुकका अशक्त र वृद्धवृद्धा संक्रमणमा परे भने अवस्था के होला ? देशभित्रको अकल्पनीय नोक्सानसँगै नेपालको स्वास्थ्य क्षेत्रको अवस्थाप्रति विश्वले कति टिठ मान्ला ?

महिला अहिलेको अवस्थामा बढी पीडित देखिन्छन् । महिलाजनित मानिने घरेलु जिम्मेवारी कैयौं गुना बढेका छन् । संसारमा लकडाउनको सुरुवातसंगै घरेलु हिंसा विश्वव्यापी चिन्ताको विषय भएर उदाएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताउँदै आएका छन् । लकडाउनको प्रसंग जोड्दै महिलाप्रति व्यंगवाणका ट्रोल सामाजिक संजालमा भाइरल बनिरहेका देखिन्छन् । महिलाका यी अवस्था नियाल्दा लाग्छ, लकडाउनले जसको टाउकोमाथि सयौं अभिभारा थोपरेको छ, तिनै हिंसा र तिरस्कारले सताइएका छन् । मनोरञ्जन र उपहासका पात्र बनाइएका छन् । अविकसित देशको त के कुरा, सभ्य र चेतनशील भनिने देशका सरकारलाई समेत कोरोनासँगै लगातार बढेको लैङ्गिक हिंसा सम्बोधन गर्न आच्छुआच्छु परेको छ । विश्वव्यापी तहमा घरेलु हिंसाको भयावह वृद्धिप्रति इंगित गर्दै कोभिड–१९ को विरुद्ध राष्ट्रिय योजना बनाउँदा यसले उब्जाएको घरेलुहिंसा सम्बोधन हुनेतर्फ समेत ध्यान दिन संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रलाई आग्रह गरिसकेको छ । कोरोनाले उघारेको यो अत्यन्तै खेदजनक पाटो हो ।  

कोरोनाको कारण अहिले देशले मात्र हैन विश्वले नै असंख्य प्रतिकूलता झेलिरहेको छ । लकडाउन लम्बिरहेको छ । यो क्रम कति तन्किने हो यकिन छैन । विकसित मुलुकका स्वघोषित शक्ति दम्भ र घमण्डलाई कोरोनाले धुजाधुजा बनाइसक्यो । विकासका लागि संघर्ष गरिरहेका नेपाल लगायत देशमा परेको असर सजिलै पुर्ताल हुने सवालै भएन । सारा देशको उत्पादन प्रणाली खुम्चिएको छ । विश्व अर्थतन्त्रमा नराम्रो धक्का लागेको छ । सवैले समान कष्ट झेलिरहेका छन् । धेरै देशका जनशक्ति कामकाज ठप्प पारेर घरभित्र कैद छन् । करोडौं मानिसले रोजीरोटी गुमाएका छन्, यो क्रम बढ्दो छ ।  

आयात निर्भर हाम्रो जस्तो मुलुकमा यसको असर दशकौं रहला । यसर्थ खाद्य उपभोग लगायत आफ्नो आचरण र व्यवहारमा हामीले सुधार गर्नैपर्छ । मितव्ययी हुनैपर्छ । लकडाउनसँगै समाजभित्र झ्याँगिएको असमानताले धेरै घातक परिणाम निम्त्याइसकेको छ । हुनेखानेको तामझामले नहुनेलाई निराशातर्फ धकेल्छ नै । समाजको अवस्था र आफ्नो यथार्थबीच सन्तुलन राख्न नसकेरै धेरै अप्रिय घटना भएका छन् । लकडाउन शुरू भएको पहिलो दुई हप्ताको अवधिमा देशभरबाट १ सय ९८ वटा आत्महत्याका घटना दर्ता भएको प्रहरीको रेकर्डले बताउँछ । स्रोतअनुसार त्यस यता पनि दैनिक १२ देखि १४ जनाले आमहत्या गरिरहेका छन् । निराशा र मानसिक आघात लगायतले पीडित हुनेको त कुनै तथ्यांककै छैन ।  

अहिलेको समस्या कुनै देशको एकल समस्या हैन, न त यसले कुनै निश्चित भूगोलभित्रको नागरिकलाई मात्र गाँजेको छ । एक प्रजातिको भाइरस मार्फत अगाडि आएको सम्पूर्ण विषमतालाई निर्भीकतापूर्वक चिर्न हरेक व्यक्ति आफैं कटिबद्ध हुनुको विकल्प देखिन्न । स्वास्थ्य विशेषज्ञ लगायत संक्रमणलाई परास्त गरेका व्यक्तिले दोहो¥याउँदै आएको एउटै कुरा यो हो कि आत्मबल नगिराए कोरोनाले पछार्न सक्दैन । समस्या सामूहिक भए पनि आइपर्ने परिस्थितिसँग लड्न व्यक्तिगत दृढताकै आवश्यकता छ । कोरोनाले निम्त्याएको लकडाउन र लकडाउनले अघि सारेका सयौं चुनौती हामीसामु उभिएका छन् । तर जबसम्म चिन्ता, भय र दिक्दारीबाट माथि उठ्दैनौ, चुनौतीलाई चिर्ने सामथ्र्य हामीमा कदापि रहन्न । त्यसैले सबैभन्दा पहिला हरेक व्यक्ति संयम, निर्भीक र निश्चिन्त हुन आवश्यक छ ।  

कोरोना र लकडाउनले अघि सारेका सयौं चुनौती हामीसामु उभिएका छन् । तर, जबसम्म चिन्ता, भय र दिक्दारीबाट माथि उठ्दैनौं, चुनौतीलाई चिर्ने सामथ्र्य हामीमा रहन्न । त्यसैले पहिला हरेक व्यक्ति संयम, निर्भीक र निश्चिन्त हुनुपर्छ ।  

आफू जे जसरी खुसी रहन सकिन्छ, त्यही खुसी हासिल पहिलो प्रयत्न हुनुपर्छ । आफ्ना हरेक काम र सोचाइले आफंैलाई प्रफुल्लित बनाएको हुनुपर्छ । समस्या आउनेजाने क्रम जीवन रहेसम्म चलिरहन्छ । विगतका समय पनि हाम्रा लागि सधैं अनुकूल थिएनन् । डटेरै ती पार भए । लकडाउनले बढाएको कैयौं कष्टबीच पनि त्यस्तो विन्दु पहिल्याउने प्रयत्न हुनुपर्छ जसले आफैंलाई ढाडस देओस्, कठिन परिस्थितिलाई चिर्ने सामथ्र्य दिलाओस् । सकारात्मकतातिर लम्कने बाटो देखाओस् ।  आफ्नो जीवनप्रति अथाह श्रद्धा अनि ममता जगाओस् र कठिनताबीच हाँसेर जिउनुको औचित्य सिकाओस् । यति भयो भने कोही पनि आफ्नो जिन्दगीबाट निराश हुनुपर्ने अवस्था आउँदैन ।  

नैराश्य त्यस्तो घातक अवस्था हो, जसले आशाका सबै किरण क्षणभरमै ध्वस्त पारिदिन्छ । सुन्दर र अनुपम जीवन थेग्नै नसक्ने बोझमा रूपान्तरित भैदिन्छ अनि उन्मुक्तिस्वरूप जीवन समाप्तितर्फ पनि मान्छे उद्दत हुन्छ । तसर्थ निराशालाई नजिक पर्नै नदिने उपायको खोजी हरेकको पहिलो दायित्व हो । कोरोना सन्त्रास र यसले ल्याएका प्रतिकूलता पनि हाम्रा स्थायी समस्या भएर सधैं टिक्दैनन् ती एकदिन परास्त भएरै छाड्नेछन् । यो यथार्थसंगै भविष्यमा यसभन्दा विनाशकारी परिस्थिति नआउला भन्न सकिन्न । हामीले नजुधी सुखै छैन ।  

अहिले कोरोना तथा लकडाउनको संकटबाट माथि उठ्न हामी हरेकले आत्मबल आफूमा अभिवृद्धि गर्न सक्नुपर्छ जसले अहिलेको विषम परिस्थितिपछि सुन्दर भविष्यको आशा जगाओस् । अनि भविष्यमा आउनसक्ने अझ जटिल समस्यासँग जुध्न समेत दृढ बनाओस् ।  

प्रकाशित: १६ जेष्ठ २०७७ २२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App