९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

कमरेड ! यो देश हाम्रो पनि हो

सञ्जीव पौडेल

यो देश तिम्रोजत्तिकै मेरो पनि देश हो,

कवि भूपी शेरचनले यो कविता हाम्रो आवाजको प्रतिनिधित्व गर्दै लेखेका थिए । हो कमरेड, यो देश तिम्रोजत्तिकै हाम्रो पनि हो । तिमी सत्तामा पुग्यौ, तिमी राष्ट्रिय हुने । तिमीलाई सत्तामा पुर्याउन भोट हाल्ने हामी अराष्ट्रिय कसरी हुन्छौँ ?  

हाम्रो जीवनको कायापलट हुन्छ भन्दै अनेक सपना देखायौ । सुन्दर सपना पूरा गर्ने रहरले लाखौँ कहर भोग्यौँ हामीले । थुप्रै वर्ष दुःखका अजङ पहाडैपहाड दौडियौँ । पीडाका हिमनदीमा पौडियौँ । राजनीतिमा तिमीहरूले एकपछि अर्को विकल्प देखाउँदै नयाँनयाँ पार्टी खोल्दै गयौ । नयाँ सपनाको बिजारोपण गर्दै गयौ ।  

सपनाका बिरुवालाई वृक्ष बनाएर त्यसको फल खाने आशमा हामी निरन्तर गोडमेलमा लागिरह्यौँ । सपना हुर्काउन पानी चाहिएका बखत पसिनाको नदी बगाइदियौँ । सपना गोडमेलमा मल चाहिँदा हामी भोकै बसिदियौँ । सपनाको बिरुवा हुर्किँदै गयो । अनेक कष्टका बाबजुद बिरुवा हुर्काउन सकेकामा हामी फुकिँदै गयौँ । सपनाको बिरुवामा बिस्तारै चिचिला लाग्दै गए । हाम्रा आँखामा ती चिचिला स्वादिला फल बनेका दृश्य नाच्न थाले ।  

तिम्रो नजरमा हामी नै अराष्ट्रिय ? हाम्रै पसिनाको रेमिट्यान्सका जगमा उभिएको तिम्रो सरकारको बजेटले हामीलाई हाम्रै देश लैजान किन आनाकानी ? हाम्रै पैसा खर्चेर क्वारेन्टाइन बनाउन केको आपत्ति ? हाम्रै कमाइबाट हाम्रो स्वास्थ्य परीक्षण गरिदिन केको कनकन ?

तर, तिमीले एकएक गर्दै मेरा सहकर्मीहरूलाई बगैँचाबाट निस्कन बाध्य पार्यौ। बगैँचामा फूलको सुगन्ध लिन दिएनौ तिमीले । तिम्रा सपनालाई भोक, निद्रा नभनी थकाइ र प्यास सहेर जतनसाथ हुर्काएको कुरा कति छिट्टै भुलिदियौ तिमीले । तिनको इमानदारी र पसिनालाई कठोरतापूर्वक लत्याइदियौ । रुवाउँदै घोकर्याएर पठाएका थियौ तिमीले । मलगायत केही साथीहरू टुलुटुलु हेरिरहेथ्यौँ ।

फल छिप्पिएर पाक्दै थिए । एक दिन अचानक भण्डारणमा राख्ने भन्दै ध्यानपूर्वक सबै फल टिप्न अह्रायौ तिमीले । हाम्रा दशकौँका सपनाको फल सफलतापूर्वक सकुशल भित्र्याउन सकेकामा आफैँभित्र आल्हादित थियौँ हामी । कमरेड ! भोलिपल्ट तिमीले केही थान लठैतलाई पठाएर हामीलाई पनि हाम्रो प्रिय बगैँचाबाट खेद्यौ । भाग्यौँ हामी । पछि थाहा भयो हाम्रो पसिनाको फल त तिमीले अर्कैलाई पो सुम्पिँदै आएका रहेछौ । 

तिमीले लखेटेपछि जिन्दगी झनै प्यारो लाग्न थाल्यो, हामी भाग्दै समुद्रपारि आइपुग्यौँ । यहाँ आएपछि थाहा भो तिम्रै कारण मेचीदेखि महाकालीका लाखौँ युवा यतै आएका रहेछन्, तिम्रो ज्यादतीबाट बच्न । मजस्तै लाखौँ साथीलाई वर्षौँ काममा जोताएर रित्तो हात लखेट्ने तिमी माफीका पनि लायक छैनौ कमरेड । कतिले आफ्नो दुःखको हिस्सा मागे तिमीसँग । तिनीहरू कतिको अङ्गभङ्ग गरायौ । कतिको प्राणपखेरु नै उडाइदियौ । हिसाबकिताब राखिराख कमरेड !  

भाषणमा सुन्दर सपना सजाउने तिमी त कालकूट विषको व्यापार पो गर्दा रहेछौ । यस्तो व्यापार जसले देश युवाविहीन बनाइरहेछ । गाउँ उत्पादनहीन खण्डहरमा परिणत भइरहेछ । मेरो देशको मौलिकता नासिँदै गइरहेछ । हाम्रै परिश्रमको बलमा सत्ताको सिँढी चढेर देशै खोक्रो बनाइरहेछौ । देशमाथि गद्दारी गरिरहेछौ । 

युवा लखेटेपछि तिम्रो विषको व्यापार झनै मौलाउँदै गएको छ, कसैको रोकतोक छैन । म जस्तै पचास लाख युवा लखेटेपछि बाँकी केहीलाई अरिङ्गाल सेनामा भर्ती गरेर तिमी नेपाल आमाको छातीमा नाँगो नाच नाचिरहेका छौ । हामीलाई त हाम्रो देश प्रिय छ कमरेड । त्यसैले त समुद्रपारिबाट पनि एकएक नयाँ फूलका बोट पठाइरहेछौँ देशरूपी बगैँचा सिँगार्न । तिमी त हामीले समुद्रपारि रगतपसिनासँग साटेर घर पठाएका सुन्दर फूलमाथि पनि निरन्तर लात्ती नै बर्साइरहेका रहेछौ । तिमीलाई देशै बन्धकी दिन पनि झ्यास लाग्दो रहेनछ ।  

सपनाका नयाँनयाँ संस्करण सिर्जना गर्दै पचासौँ लाख युवालाई प्यारो देशबाट पलायन हुन बाध्य बनाएपछि पनि तिम्रो नाटक बन्द भएको छैन है ?

अस्ति संसदमा अर्को नाटक गरेछौ कमरेड ! देशको गुमेको भूभाग नक्सामा फिर्ता गरेछौ र भनेछौ–‘हामी देश जोगाउँछौँ ।’ तिम्रा सैन्य दलले गड्गडाहट ताली गुन्जाएछन् । सँगसँगै तिमीले भनेछौ–‘देशबाट बाहिरिएकाहरू स्वार्थी हुन् । तिनीहरू अराष्ट्रिय हुन् । तिनलाई फिर्ता ल्याउनुहुन्न । देशले धान्न सक्तैन ।’  

कविता लेख्न त मुटुमा देश चाहिन्छ । छातीमा गरिब जनताको फोटो टाँसिनुपर्छ । यो काम आदरणीय कविहरूको हो । छैन कमरेड, तिमीसँग कुनै हैसियत छैन ।

वाह, कमरेड वाह ! क्या छ तिम्रो राष्ट्रवाद । हिजो पसिनाको मूल्य माग्दा कोर्रा बर्साएर लखेट्ने तिमीबाट हामीले यहाँभन्दा बढी आश पनि गरेका थिएनौँ कमरेड । आज कोरोनाको कहरबाट आक्रान्त छ विश्व । हामी पनि यहाँ आक्रान्त छौँ । तिमीले थपना गरेको नामको मात्र दुतावासले हाम्रा लागि केही गरेको छैन । हाम्रा पुर्खाले सिकाएको सरसापट, ऐँचोपैँचो र सहयोगी भावना सात समुद्रपारि पनि हाम्रा रगतमा मिसिएर आएको छ कमरेड ।  

तिमीले हाम्रो परिश्रम र पसिना सोसेर खाए पनि पुर्खाले दिएको त्यो भावना खोस्न सकेनौ कमरेड । हो तिनै पुर्खाको चिनोका रूपमा हामीले ग्रहण गरेको संस्कृतिले हामी यहाँ बाँचेका छौँ कमरेड । विचल्लीमा परेकालाई आधापेट खुवाएर सास धान्ने बाटो गरेका छौँ ।

कहिलेसम्म तन्किएला र कोरोनाको यो भय ? तिम्रो लकडाउनको रबर एक दिन त अवश्य नै चुँडिनेछ । कहिलेसम्म हामीलाई अराष्ट्रिय भन्दै तिम्रा आज्ञाकारी सांसदका अगाडि हाम्रो हुर्मत लिन सकौला र ? कमरेड तिमीले बोर्डरमा बन्दुक तेस्र्याएर छेक्यौ । हाम्रा केही साथी बन्दुकका नाल छल्दै घर पुगिसकेका छन् । कति महाकाली तरेर बस्ती छिरिसकेका छन् । 

हामीले पसिना बगाएर पठाएको रेमिट्यान्समाथि भ्रष्टाचार गरेर मस्ती लुट्न पल्केका तिम्रा दिनगन्ती सुरु भए कमरेड । देशले हामीलाई धान्न सक्छ कि सक्तैन, हेर्दै जाऊ । बाहिर निकै राष्ट्रवादी देखिँदै भित्रभित्र राष्ट्रघातका अनेक सम्झौता गर्ने तिम्रो असली चरित्र केही दिनपछाडि नै ठूलो पर्दामा राखेर सारा नेपालीमाझ प्रदर्शन गराउनेछौँ कमरेड !  

तिमी कहिले काँग्रेसका नाममा आयौ, कहिले कम्युनिष्टका नाममा आयौ । कहिले राजावादी त कहिले मधेसवादी बनेर आयौ । जोसिला नारा लगाएर सत्ताको लिस्नो उक्लेपछि आफ्नो धरातल बिर्सिहाल्ने तिमीलाई सबक सिकाउनु छ । हामी पचासौँ लाख युवालाई देशबाट लखेटेर मनमौजी गर्ने ? लोकतन्त्रको हवाला दिने अनि विधि र प्रक्रियाको हुर्मत लिने ?  

जनतालाई आन्दोलनमा होमेर हजारौँको इहलीला समाप्त पार्दिने अनि लाखौँलाई घाइते तुल्याएर जीवनभर पराश्रित तुल्याउने तिमी नै हौ । तिनै लासमाथि टेकेर कुर्सी आरोहण गरेपछि घाइते अपांगमाथि थप ज्यादती मच्चाउने । हामी जनताको इमानदारिता र वफादारिताको उपहार भोक, रोग, गरिबी, अपांगता, मृत्यु र देशनिकाला ? सक्नेलाई सिध्यायौ, बाँकीलाई विभिन्न बहाना बनाएर देशनिकाला गर्यौ। 

भोकभोकै मर्न लागेकालाई श्रम–सम्झौता गर्दै समुद्रपारिको भिसा थमाउने तिमी नै होइनौ ? चुनावी घोषणापत्रमा लाखौँ रोजगारीका अवसर सिर्जना गर्ने अनि सरकारमा पुग्न नपाउँदै अनेक देशसँग श्रम–सम्झौता गर्ने कपटी तिमी नै होइनौ ? अनेक पार्टीका नाममा तिमीहरूका यस्तै कपटले आज गाउँ रित्तै छ, देश कुरूप बन्दो छ ।  

तिमी कहिले काँग्रेसका नाममा आयौ, कहिले कम्युनिष्टका नाममा आयौ । कहिले राजावादी त कहिले मधेसवादी बनेर आयौ । जोसिला नारा लगाएर सत्ताको लिस्नो उक्लेपछि आफ्नो धरातल बिर्सिहाल्ने तिमीलाई सबक सिकाउनु छ ।

तिमी र तिमीजस्तै राजनीतिका मठाधीशको अकर्मण्यताका कारण गुमेको हो लिम्पियाधुरा र लिपुलेक । तिमीहरूकै अदूरदर्शिता र लम्पसारवादको नतिजा हो कालापानीमा विदेशी सेना । तिमीहरूकै असावधानीले उखेलिए जंगे पिल्लर । तिमी सिंहदरबार र संसदमा नक्कली गर्जन गरिदिए महान् राष्ट्रवादी बनिहाल्छौ । राजनेता भइहाल्छौ । सीमामा भारतीयको सास्तीविरुद्ध लाठा लिएर रातदिन सिंह झैँ जाइलाग्ने दाजुभाइ दिदीबहिनीलाई अनागरिक घोषणा गर्छौ । नागरिकताको खोस्टो पनि पाउँदैनन् उनीहरू ।  

अनि हामी पचासौँ लाख युवा, जो विदेशमा पसिना बगाएर देशलाई कंगाल हुनबाट जोगाइरहेका छौँ । तिम्रो नग्न शासनको लाज बचाइरहेका छौँ । फेरि पनि तिम्रो नजरमा हामी नै अराष्ट्रिय ? हामी नै अनागरिक ? हाम्रै पसिनाको रेमिट्यान्सका जगमा उभिएको तिम्रो सरकारको बजेटले हामीलाई हाम्रै देश लैजान किन आनाकानी ? हाम्रै पैसा खर्चेर क्वारेन्टाइन बनाउन केको आपत्ति ? हाम्रै कमाइबाट हाम्रो स्वास्थ्य परीक्षण गरिदिन केको कनकन ?

अति भो कमरेड अति भो । अब कुर्सी खाली गर । त्यो कुर्सीमा अब रोगी र भोगीले हैकम जमाउने समय सकियो । कोरोनाले फुकेको शङ्खनाद ध्यान दिएर सुन । पचासौँ लाख युवा लखेटेर शून्य बनेको देशमाथि तिम्रो तमासा हेर्यो दुनियाँले । देख्यो तिम्रो नग्न नृत्य । तिमी नांगिए पनि हामी नेपाल आमालाई नांगिन दिँदैनौँ कमरेड ।

 हामीले चिनेका छौँ विश्व । देखेका छौँ विकासे मोडेल । अब हामी आउँदैछौँ नेपाली मोडेलको विकास लिएर देश बनाउन । नाराले देश समृद्ध बन्दैन कमरेड । यो पाराले नेपाली सुखी हुन सर्वथा असम्भव छ । अर्को देश जाँदैमा हामीलाई अनागरिक देख्ने तिम्रो ऐना पछि पुच्दै गरौला । अहिलेलाई कुर्सी खाली गर ।  

केही युवा साथी नेपालमै राजनीति गर्दै तिमीसँग निरन्तर पौँठाजोरी खेलिरहेका छन् । ती सिर्जनशील युवालाई अल्पमतमा देखेर बहुमतको दम्भ देखाउँदै तिमीले खेलेका दुर्गन्धित खेलले देशै दुर्गन्धित भइसक्यो कमरेड । तिमीले दुर्गन्धित बनाएको देशको राजनीतिमा फिनेल छर्नु छ । तिमीले उजाड पारेको ‘नेपाल बाटिका’मा फेरि सुन्दर फूल फुलाउनु छ । सरुवा रोगको सिकार बनेको सिंहदरबारको कुर्सीको उपचार गर्नु छ ।  

हामी हातमा सीप बोकेका युवा हौँ । मस्तिष्कमा ज्ञान भरिएका दस्ता हौँ । वैज्ञानिक चिन्तनयुक्त नयाँ पुस्ता हौँ । हेर्दै जाऊ कमरेड, हामी कसरी देश चलाउँछौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ कसरी साकार हुन्छ, हेर । तिमीले अनागरिक घोषणा गरेका र सधैँ राज्यको मूल धारबाट लत्याएका हामी हाम्रो देशको मुहार कसरी फेर्छौ, हेर्दै गर कमरेड । 

हाम्रो देशले विदेशिएका पचासौँ लाख नेपाली मात्रै होइन अरू पचासौँ लाख विदेशीलाई पनि कसरी धान्न सक्छ, हेर्दै जाऊ कमरेड । संकटमा गुहार माग्दा उल्टै अपमान भोगेका हामीले चलाएको सरकारले वृद्धावस्थामा तिम्रो उपचार गर्दै कसरी सम्मान गर्छ हेर्दै जाऊ कमरेड । बस् अहिलेलाई हाम्रो बाटोमा भाँजो नहालीकन कुर्सी खाली गर कमरेड । अब नेपाल सरकारको कुर्सीमा युवाको हक छ ।  

हामीले मात्रै जोगाउन सक्छौँ देश । युवाले मात्रै बनाउन सक्छौँ समृद्ध मुलुक । हामीले मात्र फिर्ता ल्याउन सक्छौं तिमीहरूका कारण गुमेको नेपाली भूमि । तिमीले त केबल भाषण गर्न सक्यौ, गर्यौ । त्यहाँभन्दा माथि तिम्रो हैसियत होइन कमरेड । छोड कुर्सी । बालुवाटारमा बसेर बाल कविता लेख्ने होइन कमरेड । कविताका नाममा गफ लेखेर कविताको धज्जी नउडाऊ । 

तिमीले कविता लेख्न सक्तैनौ कमरेड । कविता लेख्न त मुटुमा देश चाहिन्छ । छातीमा गरिब जनताको फोटो टाँसिनुपर्छ । यो काम आदरणीय कविहरूको हो । छैन कमरेड, तिमीसँग कुनै हैसियत छैन । देशलाई थप बरबादीको बाटोबाट बचाउनु छ । कुर्सी खाली गर कमरेड । त्यो कुर्सीमा हामी युवाको हक छ । हाम्रो देश अब हामी चलाउँछौँ । अत्यमा भूपी शेचरनकै कविता अंश :  

यो देश मेरो पनि हो ।  

अंशैबन्डा गर्ने हो भने पनि  

यो देशका एक करोड(करोडौँ)  

टुक्राहरूमध्ये एउटा टुक्रामाथि  

मेरो पनि छाप्रो हुनेछ

र यो देशका असङ्ख्य  

बगरमध्ये एउटा बगरमाथि

मेरो पनि चिता हुनेछ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App