८ मंसिर २०८१ शनिबार
image/svg+xml
ब्लग

म कुन व्यवस्थामा छु, ‘गणतन्त्र या राजतन्त्र’

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेरा लागि चासोको विषय थियो । यसपालि पहिलाको जस्तो स्थिति छैन । पानी जहाज ल्याउँछौ, रेल कुदाउँछौ जस्ता ललिप देख्नु थिएन । पहिला यस्ता ललिप खाए हुने फाइदाका बारेमा धेरै सुनियो तर यसको स्वाद चाक्न पाइएन ।

त्यसैले यस्ता ललिप गुलिया हुन्छन् की अमिला हुन्छन् थाहानै छैन । यसपालि खाली देख्नु थियो, ‘कोरोना भाइरसका कारण लकडाउनमा परेका खास मजदुर, किसान, गरिब तथा अन्य नागरिकका विषयमा सरकारले कस्ता कार्यक्रम ल्याउँछ । थिलोथिलो परेको अर्थतन्त्र उकास्न कस्ता महत्वपूर्ण विषय समेटिन्छन् ।’  

गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले भाषणमा ‘मेरो सरकार’ भनेर सम्बोधन गरेकी थिइन् । त्यतिबेला पक्ष र विपक्षमा धेरै टिकाटिप्पणी भए । खास त्यो ठीक थियो या बेठीक थियो त्यो पत्ता लगाउन पनि मेरा लागि अर्काे चाख लाग्दो विषय थियो । उनले यसपालि ‘मेरो सरकार’ भनेर सम्बोधन गरेनिन् ‘हाम्रो सरकार’ भनिन् । 

उनले गत वर्ष प्रयोग गरेको ‘मेरो सरकार’ शब्द गतल रहेछ भन्न प्रमाणित भयो । उनको त्यो सम्बोधन ठीक थियो वा बेठीक थाहा पाउन एक वर्ष नै लाग्यो । कारण, ‘गत वर्षको गल्ती सच्याउँदै यस वर्ष ‘हाम्रो सरकार’ भनिन् । मेरो आशा, विश्वास र प्रर्थाना छ अर्काे वर्ष ‘तिम्रो सरकार’ भनेर सम्बोधन गर्ने स्थिति पैदा नहोस् ।

तेस्रो चासोको विषय उनी संसद् भवनमा कसरी आउँछिन् भन्ने थियो । गणतन्त्रमा राजा सवार जसरी या गणतन्त्रमा कम्युनिस्ट शैलीमा संसद् भवन छिर्छिन् भन्ने थियो । उनी संसद्मा छिर्दा स्वयम् उपस्थिति भएर हेर्ने स्थिति त थिएन, तर पनि त्यहाँ सहभागी जसरी भिडियो र तस्विरहरू सामाजिक सञ्जालभरि छताछुल्ल थिए । ती तस्विर हेरे । अनि राजा सवारी कसरी हुन्थ्यो गुगल गरेर त्यो पनि हेरे । तर लागेन म गणतन्त्रमा छुँ । राजा भनेका राजा हुन ।

राष्ट्रपति भन्या राष्ट्रपति । एउटा साधारण जनताको छोरा छोरी राष्ट्रप्रमुखअर्थात् राष्ट्रपति । त्यो सबैलाई कहाँ अवसर प्राप्त हुन्छ । सजिलै कहाँ पाइन्छ । धेरै कठिन मोठहरू पार गरेर मात्र प्राप्त हुन सक्छ । त्यसैले भनिन्छ, ‘गणतन्त्रका राष्ट्रपति राजा जस्ता हुँदैनन् ।’ राजा हुन पनि कहाँ सजिलो छ र । राजसंस्था सञ्चालन गरेका जेष्ठ सदस्य राजा हुने हो । जेठो सदस्य भएर जन्मन पनि कहाँ सजिलो छ ।

काठमाडौंका सहर अहिले त्यसै पनि खाली । त्यसमै राष्ट्रपतिको सवारीले सुनसान थिए । सडक वरिपरि प्रहरीहरू तैनाथ भएका तस्विर तथा भिडियो प्राप्त भए । उनका अगाडि पछाडि कुदेका सवारी साधन देख्दा लाग्यो राष्ट्रपतिको नै सवार भयो होला र ? पत्याएन । किनकी गणतन्त्र नेपालका कम्युनिस्ट राष्ट्रपति राजाजस्तो हुँदैनन् । उनीहरू जनता र देशप्रति चिन्तित हुन्छन् । तर लाग्यो यहाँ जनता र देशभन्दा आफैँप्रति चिन्तित भएजस्तो ।

सामाजिक सञ्जालमा आएका ती तस्विर, भिडियो र प्रतिक्रियाहरू हेर्दा म आफैँलाई मुर्ख सम्झेँ । राष्ट्रपतिको सवार हुँदा राजाको सवारको कल्पना गर्ने, म कस्तो । मैले त्यस्तो कल्पना नगर्नु थियो । गरेर गल्ती गरे । किनकी, म राजतन्त्र या गणतन्त्र कुन व्यवस्थामा छुँ अन्योल भए । यदि त्यसो नभएको भए म गणतन्त्रमै छुँ भनेर ढुक्क हुन्थ्ये ।

आजको मेरो हैसियतले हिजोको त्यो हैसियतलाई पनि ज्वलन्त देखाइ रहेछ । ढाकछोप कत्ति गरेको छैन । बरु म सामान्य नागरिक हुँदा त्यो ढाकछोप थियो । जब म राष्ट्रप्रमुख भए, तब ती पनि सँगै आए । त्यसैले मलाई नागरिकका अगाडि त्यसरी लस्कर लाग्नु छैन जसरी राजाले लस्कर लगाएका थिए । 

कोरोना महामारीको समयमा राष्ट्रपतिको आगमन अरुबेलाभन्दा सामान्य नै होला भन्ने मेरो अनुमान थियो । तर त्यो मेरो भ्रममा रहेछ । त्यो सबै देख्दा म फेरि कल्पनामा ढुबेछु । त्यो असभ्व थियो ।  

यस्तो छ कल्पनाः

गणतन्त्र नेपालको कम्युनिस्ट राष्ट्रपति थिए । राष्ट्रप्रमुख भएकाले सुरक्षा चुनौती त थियो नै । त्यसभन्दा पहिला म जनताको छोरा हुँ । त्यसैले जनता र मेरोबीच दुरी कायम गरेको छु र जनताको साथमा छु । जनतादेखि मलाई डर होइन हौसला र आत्मविश्वास पैदा हुन्छ । हिजो सर्वसाधारण नागरिकको छोरा भएकाले जनताबाट म असुरक्षित हुँदैन । अझ सुरक्षित र कर्तव्य बोध हुन्छ । म यो विषयमा सचेत छु की, जनताभन्दा टाढा भए भने जनताको भाव बुझ्न सक्दैन । उनीहरूको साक्षात्कारमा सहभागी भएन भने म आगामी दिनमा सफल हुँदैन ।

त्यसैले पनि जनतासँग दुरी बढाउने होइन कम गर्नेमा छु म । गणतन्त्रमा आइपुग्दा यसरी लामबद्ध भएर सवारी साधन दुरुपयोग गर्दैन । मलाई राजा जसरी अगाडि पछाडि सवारी लगाएर जनताको भोको पेटलाई कुरिकुरी भन्नु छैन । सानमान देखाउनु नै कसलाई छ र । हिजो पानी पर्दा घरभित्रै पानी छिरेको किन नहोस् अनि जुनेली रातका ती जुन भित्रै पसेको मेरा नागरिकले देखेका छन् । 

एक छाक खान नपाएको यो पेटले अहिले पनि कहाँ भुलेको छ र । माथिल्ला अनि तल्लो घरे काकाको घरमा गएर काम गरेको त्यो समाजले अहिलै बिर्सन सकेको छैन । यसरी आएको मेरो हैसियत र सानमान कसरी बिलासी होला । त्यो समाजले पत्याउनु नि पनि त प¥यो । त्यसैले त्यस्ता बिलासीपन म कल्पनासमेत पनि गर्दैन ।

आजको मेरो हैसियतले हिजोको त्यो हैसियतलाई पनि ज्वलन्त देखाइ रहेछ । ढाकछोप कत्ति गरेको छैन । बरु म सामान्य नागरिक हुँदा त्यो ढाकछोप थियो । जब म राष्ट्रप्रमुख भए, तब ती पनि सँगै आए । त्यसैले मलाई नागरिकका अगाडि त्यसरी लस्कर लाग्नु छैन जसरी राजाले लस्कर लगाएका थिए । 

राष्ट्रप्रमुख भएर जताततै हिँडेर जान सम्भव पनि छैन र थिएन । मोटरसाइकल वा साइकल पनि त्यति उपयुक्त हुँदैन । महँगो नभए पनि मध्यमखालको गाडी छ । अगाडि पछाडि अरु कुन गाडी हुँदैन । मात्र तीन वा त्योभन्दा कम सुरक्षा गार्ड हुन्छन् । कही जाँदा धेरै तामझाम पनि हुँदैन । जनता जाममा परे म पनि जाममै हुन्छु । कुदे कुद्छु । दम्भ देखाएर हिँड्डुल गर्न सक्दैन्थ्ये र सक्दैन ।

मेरा ती असम्भव कल्पना सकिए । शुक्रबार नै चीनका राष्ट्रपतिका तस्विरहरू पनि सामाजिक सञ्जालमा छताछुल्ल थिए । दाङका पत्रकार नरेन्द्र केसीको स्टाटस सापटी लिए । ‘चीनलाई गरे नपुग्ने के छ र ? तर, त्यहाँका राष्ट्रपति झुपडीदेखि सडक र अस्पतालसम्म गएर यसरी अनौपचारिक कुरा गर्न भ्याउँछन् । हामी भर्खर गणतन्त्रको अभ्यास सिक्दै गरेकाले चीन, अमेरिकाजस्ता गणतन्त्र मुलुकको सिको गरे हुन्न र ? पुराना राजाकै सिको गरेर राष्ट्रप्रमुखलाई किन जनताबीच आउन दिँदैनौं ।

जनताका छोराछोरी नाकामा रोइरहेको र सडकमा निस्कन नपाइरहेको बेला राष्ट्रपतिलाई दर्जनौं गाडीघोडामा स्कर्टीङ र रातो कार्पेट ओछ्याउने राजतन्त्रकालीन ह्याङबाट कहिले मुक्त हुने हामी ? गणतन्त्र व्यवस्था मात्र हो र ? यो त संस्कार र संस्कृति पनि हो नि । जीन्दगीभरि कम्युनिस्ट संस्कार यस्तै सरल हुनुपर्छ भनेर पढियो, खोइ यहाँ त के हो के हो ?’

राजाले गर्न हुने राष्ट्रपति गर्न नहुने । राजाले मेरो भन्न मिल्ने राष्ट्रपतिले नमिल्ने । राजाले दम्भ देखाउन मिल्ने राष्ट्रपतिले नमिल्ने । यस्तो पनि कही हुन्छ भन्दै मन शान्त पारे । यदी मैले त्यसको विरोध गरे भने जेल जानु पर्छ र अरिंगालहरू आइलाग्छन् भन्ने मलाई राम्रोसँग थाहा जानकारी छ त्यसैले पनि भए म यो कुरा सोच्न बाध्य भए । यति मात्र कहाँ हो र संघीय सरकारदेखि वडा सरकारसम्म यस्तै राजतन्त्रकै झल्को आउँछ । राजाका आसेपासेले जस्तै सरकार प्रमुखका नजिकका मान्छेले सरकारी साधन स्रोतप्रति र्याल कार्छन् र प्रयोग गर्छन् । त्यतिबेला आसेपासे भन्थ्ये भने त्यतिबेला एउटा थिए भने अहिले धेरै छन् ।

म गाउँ हुँदा त्यहीँ साँघुरो कच्ची गोरेटो बाटोमा हिँड्थ्ये । सहर छिरेपछि कालोपत्रेवाला र केही फराकिलो बाटोमा हिँड्छु । म गाउँबाट सहर आएको मान्छे उही र उस्तै छु । म फेरिएको छैन । तर म हिँड्ने बाटा र बस्ने ठाउँ मात्र फेरिएका हुन् । त्यसैले म धेरै धनदौलत कमाउने र मोजमस्तीमा हिँड्ने कल्पना गर्दैन् । मैले यत्ति लेखे । रिसानी माफ पाउ । मैले माथि पनि लेखेको छु । उसले गर्न पाउने मैले गर्न नमिल्ने । यो भनाइ तपाईंको समर्थनमा छ । मलाई पुकार गरिदिनुहोला । पक्राउका लागि आदेश नदिनुहोला । धन्यवाद ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App