६ वैशाख २०८१ बिहीबार
ब्लग

संकटका समय संवेदनशीलताको कथा

कथा #१

हिजो, पुराना -- बास्मति चामल जस्ता -- अझै प्रागढ सम्वन्धको मगमगीमा रहेका म नाट्यावतरमा भएको बेलाका मित्र, नेपाली चलचित्रका भावूक नायक, सरोज खनालले एकाबिहानै भावबिह्वल बनाई दिए। एउटी मास्क, टोपी, ज्याकेट लगाएकी महिलाको तस्वीर हालेर 'कसैले यीन्लाई चिन्छ कि चिन्दैन' सोद्धै।

फोटो त मैले पनि एकैनजरमा ठम्याउन सकिन। पछि सरोजको विवरण पढ्दै जाँदा आँसू नै रोक्न सकिन।

यी त रूपमतीका रूपमा नेपालीहरुको मन र घरमा राम्रै डेरा जमाएर बसेकी नामूद कलाकार सुवर्ण पोखरेल क्षेत्री पो रहिछन्। अमेरिकामा, म र मेरो परिवारको निकट मित्र!

अझै नपत्याए जस्तो थिए म। किनभने केही दिन अगाडि मात्रै सुवर्णसंग मेरो काठमाडौंमै कुरो भएको थियो। राजल्य, छोरोको बिहेमा किन नआएको भनेर मसँग प्रश्न गर्दैथीइन ऊनी। 'आमाको आश्वजमा भएकोले  बिहेमा आइन। छोरा-बुहारीलाई आशिर्वाद दिन घरै आउँछु,' भनेर मैले उन्लाई थामथुम पारेर चुप लगाएको थिएं।

सुवर्ण र हाम्रो परिवार, न्यू योर्क शहरको पाँचमध्ये एउटा जिल्ला, क्वीन्सको, एल्म्हर्स्ट भन्ने ठाउँमा सडक वारीपारी बस्थ्यौं। हामी दुबैको झण्डै  बीच जस्तोमा एल्म्हर्स्ट अस्पातल थियो, जहाँ मेरी छोरी, प्राप्ती जन्मेकी हो। राजल्य, राहुल, अनि मेरो छोरो प्रशान्त, र तिनवटैको पछि लुखुरलुखुर गरेर प्राप्तीले यो क्षेत्रमा कम्तिको उधुम मच्चाएका छैनन्।              

एल्म्हर्स्ट अस्पातल अहिले अमेरिका मै कोविड-१९, कोरोना भाईरस संक्रमणको केन्द्रविन्दूमा छ। यहीं हो, पहिलो नेपालीले यो महामारिमा परेर ज्यान गुमाएका। र, अरु कैयौं मृत्यसंग संघर्ष गारिरहेका छन्। चिकित्सक र चिकित्साकर्मीहरुको अहोरात्रको अथक मिहिनेत र दत्तचित्तताका कारण, ऊनिहरु आफ्नो घर, परिवारमा जान नपाएको हप्तौं भैसक्यो।                     

सुवर्ण दिदी, यीनै चिकित्सक र चिकित्साकर्मीहरुको घरमा गएर उनिहरुको बाल-बच्चा हेरचाह गर्न जाँदै गर्दा, फोटो कसैले खिचेको रहेछ। सुवर्णले यसो गरिदिनाले, भगवानकै दूतसरिका डाक्टर,  चिकित्साकर्मीहरुले अस्पतालमै बसेर संक्रमीत बिरामीको ज्यान बचाउन सकिरहेका छन्। 

"हाम्रालागि ऊनिहरुले यत्रो गरेका छन्, ऊनिहरुकालागी मैले यत्ती पनि नगर्नु त, बा?" सुवर्ण दिदी घुंक्क गरिन्। मैले यो अवतारको रूपमतिमा, विश्वव्यापी करुणा र मानवताकै रूप देखें। "तिमी नाम होइन, कर्मले सुवर्ण हौ... सलाम।"        

सरोज खनाल भन्छन्: "कोरोना महामारिका डरले सुनसान भएको बाटोमा एक्लो हिडेर चिकित्साकर्मीहरुको सेवामा लागेकी वरिष्ठ कलाकार सुबर्ण पोखरेल क्षेत्री तपाइको यो साहासी कदमप्रती सत-सत प्रणाम।"

(तस्वीर सौजन्य: सरोज खनाल)

 कथा #२

लक्डाउनको समय  कटाउँदै र संगै काम गर्दै जाने क्रममा, आज बिहानको अर्को समाचारले मन नरुवाइ रहेन। ईन्डियाको ए बि पि टेलिभिजनले दिल्लीको कुनै ठाउँमा एक समूह नेपालीहरु पैदलै नेपाल आउने प्रयसमा रहेको रिपोर्ट देखायो।

दिल्लीबाट उत्तर प्रदेश, बिहारतिर पलायन गर्दैगरेका हजारौ मान्छेहरुको जत्थाको अघिल्ला समाचार-चित्रहरु देख्दा 'हे हरी, यो के बिजोग हो' सम्म भएको थियो। तर यो समाचार अली बेग्लै थियो।

समचारमा रिपोर्टरसँग बोल्दैगरेका एक नेपालीका अनुसार ऊनिहरु, मुम्बईबाट रेल चढेर दिल्ली आउन्जेलसम्ममा ईन्डियामा लक्डाउनको घोषणा भईसकेकोले 'हामीलाई दिल्लीमै ओर्लन वाध्य पारियो।'

ऊनिहरुले बल्लबल्ल रानीबागको एउटा होटलमा बास पाए। तर त्यहाबाट पनि निकालिएपछि र कुनै पनि सहायता वा साधन नपाएका कारण भोकभोकै नेपालतर्फ पैदल कूच गर्नुको विकल्प रहेन।

गूगलका अनुसार, दिल्ली-काठमाडौंको पैदल यात्राको दूरी ९६८ किलोमिटर छ र १९५ घण्टाको समय लाग्छ। अर्को अर्थमा, बिना आराम, खाना र सुताइका लागि नरोकिकन हिड्दा पनि आठ दिनभन्दा बढि लाग्नेरहेछ।         

कथाको सबैभन्दा हृदयविदारक द्रिष्यमा यो हुलकी एउटी महिलाको काखमा उन्को दूधमुखे बच्चा च्या-च्या गर्दै थियो। रिपोर्टरले बच्चा कती उमेरको र किन रोएको भनेर सोध्दा उन्ले जे भनिन्, त्यसको सार यस्तो थियो, 'यो डेढ महिनाको नानी हो। म आँफैले कतिदिनले खान नपाएकोले मेरो दूधै आउन छाड्यो। भोकले मर्नैलागेको छ।'

मेरो आँखामा क्यालिफोर्नियाको लक्डाउनमा मामाताको काखमा रहेका प्रशान्त र प्राप्ती टिल्पिल गरेर उर्लिए।

सर्वप्रथम, नागरिक र रिपब्लिकाको भाईवर समूहमा ए बि पिको भिडियो क्लिप हालेर साथीहरुलाई घण्टी बजाए। अनी, क्यानाडामा नेपालका राजदूतको सफल कार्यकल पूरा गरेर फर्केका मेरा अर्का निकटका पारिवारिक मित्र -- कमला बैनीको श्रीमानको हैसियतले  ज्वाँई नै भन्नु पर्ने -- काली प्रसाद पोखरेललाई सम्झें र रुग्धकन्ठले ती महिलाको कथा एक सासमै भन्न भ्याएं।

हाल परराष्ट्रमा चीन डेस्क हेर्दैगरेका पोखरेलजीले अड्डा जाने हतारका बीच दिल्लीको नेपाली दूतावासमा कार्यरत अर्का मित्र भरत रेग्मीको नम्बर दिए। पोखरेल, रेग्मी र मेरो पुरानो सम्वन्धको जरो अहिले कोरोनाले आक्रान्त न्यू योर्कमा पनि छ।

अब के गर्ने? मन अझै बेचैन थियो। रेग्मिजीलाई कल गरेको उठेन तर मसँग नम्बर त भयो। ए बि पिलाई संपर्क गरेर, नेपालीहरुको त्यो समूह दिल्लीको कुन ईलाकामा छ भनेर सोधें र आफूसँग दिल्लीको नेपाली दूताबासको संपर्क रहेकोले "कृपया संपर्क गर्नुहोला" भनें।

थप खोजमा थाहा भयो, रेग्मिजीसँग मित्र सन्तोष घिमिरेको पनि संपर्क रहेछ। हाम्रो टीम बन्यो। सन्तोषजी पनि आफ्नो तरिकाले यो काममा लागे।

केहीबेर पछि भाईवरको घन्टी किर्लिङ्ग बज्यो। अर्का मित्र कोशराज कोइरालाको रहेछ। 'उनिहरुको समस्या समाधान भैसक्यो,' उन्ले लेखेको देखेपछि बल्ल मन शान्त भयो।

समाचार रिपोर्टहरुका अनुसार, कोरोनाको कहरका कारण ज्यानकै बाजी लगाएर मुम्बईबाट नेपाल, घर, फर्कन हिंडेका नेपालीहरुको यो समूह दिल्लीभन्दा २६५ किलोमिटर टाढा उत्तराखण्ड राज्यको रुद्रपुर पुगिसकेको रहेछ। यो यात्रा उनिहरुले कसरी तय गरे भनेर सोच्नुभन्दा पनि अहिले उनिहरु सुरक्षित स्थानमा मानव सभ्यताका बीच छन् थाहा पाएरै मन प्रसन्न भएको अवस्था छ। 

 

प्रकाशित: २१ चैत्र २०७६ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App