१६ चैत्र २०८० शुक्रबार
ब्लग

यसरी बाहिरियो दोलखाका सिडिओ रिजालको घुस काण्ड

दाेलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल।

दोलखा - २०७६ मंसिर १९ गते। सिन्धुपाल्चोकको मुडेबाट चरिकोट फर्कने तयारी थियो। टोलीमा अधिकांश पत्रकार साथीहरु थिए।  केही पत्रकारहरुको मोबाइलको घण्टी बज्यो। ‘सिडिओले मुद्धाका प्रतिवादीबाट सवा लाख घुस लिएछन्, तपाइहरु कता हुनुहुन्छ, तुरुन्त पीडितहरुको सम्पर्कमा जानुस्’। फोनमा स्रोतले भन्यो।

फोन कटेपछि हामीबीच कुरा भयो। ‘प्रशासनका सुब्बा वा खरदार स्तरका कर्मचारीहरुले खाए होलान्, कसैले नबुझेरै सिडिओको नाम लियो। शुरुमा त सूचनालाई हल्कारुपमा लियौं।’ तर सूचना आएपछि त्यसलाई पुष्टि गरेर प्रकाशमा ल्याउने पत्रकारको धर्म हो। हामी पनि सूचना पुष्टि गर्नतिर लाग्यौं।

प्रतिवादीका परिवारबाट लिएको पैसाको रसिद नदिएपछि पीडितले घटना सार्वजनिक गर्ने धम्की दिएका रहेछन्। त्यसपछि सिडिओले प्रतिवादीलाई आफ्नै सरकारी निवासमा बोलाएर रकम फिर्ता गरेकोसम्म सूचना संकलन गरियो।  
हामीले पीडितलाई सम्पर्क गरेर हामी छिटोछिटो चरिकोटका लागि हिँड्यौं।

चरिकोट पुग्दा उनिहरु जिल्ला समन्वय समिति छेउमा रहेको भीमेश्वर नगरपालिकाको ३ नम्बर वडा कार्यालय अगाडि बसेका रहेछन्। घटनाको विवरण लियौं। घटना अनुसार जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० वर्षिय कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिय ईन्द्र पाख्रिन र उनका ५१ वर्षिय बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षाविरुद्धको मुद्धाको थुनछेक बहस बुधबार रहेछ। लामा र पाख्रिनका बाबु छोरा दुवैलाई मंगलबार नै प्रशासन पेश गरिएपछि बयान नभ्याइएको भन्दै बुधबार मात्र थुनछेक आदेश भएको रहेछ।

दायर मुद्धामा मेलुङ ४ भेड्पुका लामाले छिमेकी जितबहादुर भण्डारीलाई गाली गलौज गरेको र कालिञ्चोक १ का पाख्रिन बाबु छोराले छिमेकीलाई हातपात र दुव्र्यवहार गरेको अभियोग थियो। बुधबार थुनछेक आदेशका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले लामालाई १० हजार रुपैंया धरौटी र पाख्रिनका बाबु छोरालाई ७/७ हजारका दरले १४ हजार रुपैंया धरौटी लिएर छाड्ने आदेश गरेका थिए।

आदेश लेखे लगतै सिडिओ रिजालले सबैभन्दा पहिला अभद्र व्यवहार मुद्धाका प्रतिवादी लामाकी श्रीमती रिनुलाई कार्यकक्षमा बोलाए। ‘ल तिम्रो श्रीमानलाई जेल जानबाट जोगाइदिएको छु, एक लाख रुपैंया बोकेर धरौटी जम्मा गर्न आउनू’ सिडिओको निर्देशन सुनेपछि रिनु तनावमा परिन्। सामन्य परिवार, एक लाख रकम ठूलै थियो। पैसा कसरी जम्मा पार्नु भन्ने तनावले पिरोल्यो। अर्को मनले फेरि सोचिन् ‘बिचारा सिडिओले हाम्रो मुख हेरेर जेल जानबाट जोगाइदिएको छु भनेका छन्, श्रीमानलाई ऋणै गरेर भएनि निकाल्नुप-यो’। चरिकोटमा रहेका आफन्तसंग ऋण गरेर एक लाख रुपैंया बोकेर उनी सिडिओको कार्यकक्षमा पुगिन्।

‘पैसा ल्यायौ’ सिडियोले सोधे– ‘हजुर ल्याए’ रिनुले सिडिओको हातमा एक लाख रुपैंया थमाइदिइन्। सिडिओ रिजालले एक लाखको बन्डलबाट १० हजार रुपैंया निकालेर रिनुलाई दिए। ‘जाउ, यो तल मुद्धा फाटमा गएर रसिद काट’ – १० हजार बोकेर तल झरिन रिनु।

फाँटका कर्मचारीले मुद्धाको मिसिलमा लेखिएको आदेशमा तोकिएको धरौटी वापतको १० हजार रुपैंयाको रसिद काटेर दिए। उनी छुटे। तर रिनुको मनमा चिसो पस्यो। ‘एक लाख रुपैंया लिएर सिडिओले मलाई किन १० हजारको मात्र रसिद दिए?’ अनेक अड्कल काटिन – ‘ए हैन होला सिडिओ जस्तो मान्छेले ९० हजारमा रुपैंयामा त्यसो के गर्लान र?’

रिनुका श्रीमान श्रीमती प्रशासनबाट निस्किए लगतै अर्को एक टोली त्यस्तै गाइगुई गर्दै प्रशासनबाट बाहिरियो। ‘५० हजार लिएर आइज भने, माथि लगेर पैसा दिएको, ३५ हजार राखेर १४ हजारको तल रसिद काट्नु भनेर पठाए, रसिदमा त १४ हजार मात्र लेखिएको छ त, बाँही पैसा कहाँ गयो। त्यो टोलीको कुराकानी सुनेपछि रिनुले आफ्नो घटना सुनाइन। दुवै पक्षसंग सिडिओले घुस असुलेको थाहा पाए।

बजार फर्किए लगतै गाउँका टाठाबाठालाई फोन गरेर घटना सुनाए। कसैले सिडिओलाई यस्तो नचाहिने आरोप नलाओ, फसाइदिन्छन् भने त कसैले बुझौंला भनेर टारिदिए। आआफ्नो गाउँका दलका नेतालाई फोन गरेपछि ति नेताले घटना पर्दाफास गर्नुपर्ने सुझाव दिए।

भोलीपल्ट बिहान केही आफन्तले सिडिओसंग निहु नखोज्नू, पुलिस प्रशासन उनकै हातमा छ, फसाइदिन्छन् भनेपछि उनी घटना सार्वजनिक नगर्ने निर्णयमा पुगिछन्। तर उनको मनमा प्रतिशोध आइरह्यो। घटना सार्वजनिक नगरेपनि बाख्रा बेचेर र ऋण काढेर ल्याएको त्यत्रो पैसा काहाँ खान दिन्छु र फिर्ता माग्छु भनेर उनी पाख्रिनकी दिदीलाई समेत बोकेर बिहिबार बिहान सिडिओ कार्यकक्षमा छिरिन्।

‘एक लाख रुपैंया लिएर १० हजारको मात्र रसिद दिनुभयो, हाम्रो बाँकी पैसा फिर्ता दिनुहुन्छ की घटना सार्वजनिक गरौं’ उनले आँट कसेर बोलिन्। प्रजिअ रिजाल हच्किए। कुर्सीबाट उठेर उनको हात समाते। उनले हात छोड्न भनिन्। आफ्नो बडी गार्डलाई आदेश दिए ड्राईभरलाई गाडी निकाल्नु भन। ‘तपाईको पैसा फिर्ता आउछ मसंग क्वार्टर हिड्नुस’ सिडिओले भनेपछि रिनु र पाख्रिनकी दिदी गाडीमा बसेर क्वार्टर तिर लागे।

गाडी भित्र सिडिओ रिजालले दुवैलाई फोन अफ गर्न लगाए। पाख्रिनकी दिदिको ३५ हजार र रिनुको ९० हजार पत्रिकामा पोको पारेर दिए, यो प्रकरणमा अब धेरै हल्ला गर्न खोजे रिनुका श्रीमानलाई ७ वर्ष र पाख्रिनका बाबु छोरालाई ५ वर्ष जेल हालिदिने धम्की दिएर दुवैलाई सिडिओ कार्यालय अगाडि सडकमा झारिदिए र कार्यकक्षमा पुगेर नियमित काममा लागे।

दुवै परिवारले घटना सार्वजनिक नगरेर घर फर्किने भनेका रहेछन्। तर हाम्रो तारान्तारको फोनले उनिहरु हामीलाई कुरेर भने बसेका थिए।  विवरण सुनेपछि घटना पुष्टी गर्ने उपाय खोज्यौं। प्रजिअ रिजाल आफैंमा हक्की स्वभावका थिए। सार्वजनिक कार्यक्रममा सुशासनको गतिलो पाठ पढाउने र कर्मचारी र सेवाग्राहीलाई धेरै पटक थर्काएको हामीले देखेका थियौं।

पीडितहरुलाई लिएर सिडिओ कार्यकक्षमा जाँदा हक्की स्वभावका उनले विना प्रमाण मेरो बेइजेत गर्ने भन्दै मानहानीमा उनिहरुलाई थुनिदिन्छन् कि भन्ने जोखिम थियो। पत्रकारहरु मात्रै छिर्दा उनले विना प्रमाणको हो कुरा कन्भिन्स गराएर फर्काउन सक्छन भन्ने डर!

सबैले निर्णय ग-यौं, – ‘जस्तो आइलाग्छ ‘फेस’ गर्ने तर पीडित परिवारलाई लिएरै सिडिओ कार्यकक्षमा जाने’। सिडिओ रिजालले रन्किएर केही बोलिहाले सामूहिक फेस गर्ने निधोसहित हामी १० जना पत्रकार पीडितहरुलाई लिएर सिडियो कार्यालय पुग्यौं। दिउँसोको करिब ३ बजे उनको कार्यकक्ष छि-यौं। एउटा बैठक भर्खरै सकिएको थियो।

पत्रकार महासंघका जिल्ला अध्यक्ष जिवन लामा, म(पंतिकार),  नेपाल समाचारपत्र दैनिकका चिरञ्जीवी मास्के, द हिमालयन टाइम्सका गोकर्ण भण्डारी, स्थानीय दिक्षण दैनिकका सिर्जन घिमिरे, सौर्य दैनिकका सुजन काफ्ले सिडिओको कुर्सी संगैको एउटा लहरमा बस्यौं। गोरखापत्र दैनिकका कैलाश लामा पीडितहरुसंगै पश्चिम तर्फको सोफामा बसे।  नयाँ पत्रिका दैनिकका श्याम खतिवडा, अन्नपूर्ण पोष्ट दैनिकका रविन्द्र गौतम र आर्थिक दैनिकका सुवास बस्नेत दक्षिणी लहरको सोफामा बसे। हामी छिरे लगत्तै उनको हाउभाउ अस्वभाविक खालको हुन थाल्यो, अनुहार रातो पिरो देखियो।

लगतै कर्मचारीको अर्को एउटा सानो टोली कार्यकक्ष भित्र छि-यो। ‘युवा स्वरोजगारको सानो बैठक सक्नुछ सिडिओ साप, ५ मिनेट जति लाग्छ होला’ ति कर्मचारीको आग्रहमा सिडिओले ल चाडो सक्नुस भने। त्यो ५ मिनेटको बैठकमा सिडिओको ध्यान बैठक तिर थिएन खाली घुस कान्डका पीप्डित बनेका परिवारतिर मात्र प्याल्याकपुलुक हेर्थे। प्रतिवादीहरुलाई किन फेरि फर्केर तिमिहरु बाहिर निस्किऊ भनेर घोक्रे ठ्याक लगाउछन् की भन्ने डर पनि हामीमा थियो।

 युवा स्वरोजगारको बैठक सकियो। बैठकमा सहभागी हुन आएकाहरु निस्किए। ‘तपाईहरु किन आउनु भएको मैले बुझिसके’ लरबराएको शैलीमा धमाधम जवाफ दिन थाले– ‘उहाँहरुको समस्या केही हैन मैले अघि नै उहाँहरुलाई प्रष्ट पारिसकेको छु त’। उनको कुरा सकिन नपाउदै मैले सोधे – ‘जब एउटा नागरिकले म प्रमुख जिल्ला अधिकारीबाटै पीडित भए भन्छ भने हामीले तपाईसंग किन कुरा नगर्ने सिडिओ साप, उहाँहरुको कुरा के हो तपाईले जवाफ दिनुपर्छ’।
 सिडिओ रिजालले जवाफ दिन थाले – ‘ हेर्नुस, मुद्धा हेर्ने अधिकारीलाई कहिलेकाँही यस्तो अफ्ठ्यारो पर्दो रहेछ, त्यसैले जोखिम मोलेर त्यो पैसा पीडित पक्षका लागी लिइदिएको हुँ’।

 हामीले फेरि सोध्यौं ‘क्षतिपूर्तीकै लागि पैसा लिनु भयो, फेरि क्वार्टरमा लगेर किन पैसा फिर्ता दिनुभयो त’ हाम्रो प्रश्न नसकिँदै सिडियोले जवाफ फर्काउ‘उहाँहरुले पैसा फिर्ता दिनुस भन्नुभयो, त्यसैले दिएँ।     सधैं कडा स्वभाव देखाउने रिजाल त्यो दिन यति लत्रयाकलुत्रुक परेका थिए। हतास देखिएका उनी कहिले कुर्सीबाट उठ्दै बस्दै गरेका थिए। दुई पटक ग्लासमा पानी भरेर सिडिओले पिए। ओठ मुख सुकेको थियो।

‘मुद्धा छिन्ने अधिकारीले क्षतिपूर्ती त भराइदिने हो। पीडितका लागि पैसा ले भनेर माग्न पाउने कानुनमा व्यवस्था कहाँ छ सिडिओ साप’ हामीले सोध्यौं। हाम्रो प्रश्न सुनेपछि उनले घण्टी थिचे, गार्डलाई हिजोका दुई ओटा मुद्धा फाइल ल्याउन भने। नानाथरि कुरा सुनाउन थाले। हामीले नोटिस गरेका थियौं, फाइल समाउँदा उनको हात कामिरहेको थियो, ओठ लरबराएको थियो।

रिजालले रकम लिएको स्विकार गरे। उनकै मुखबाट ‘रकम लिएको हुँ, तर पीडितका लागि’ भन्ने दाबी सुनेपछि पैसा लिएको पुष्टी भयो। हामी उठ्यौं। अन्तिममा म सहित ४ जनालाई उनले केही बेर बस्न आग्रह गरे। फोन आएको जस्तो बाहना गरेर म निस्किए। अरु पनि निस्किए।

फर्किएर धेरैलाई सोध्यौं। अस्पतालमा पीडित उपचारार्थ छ भने मुद्धा छिन्ने अधिकारीले उपचार खर्च दिनू भनेर भराइदिन सक्छ तर आफैंले रकम लिन पाउदैन, त्यसरी लिए त्यो घुस हुन्छ भनेर जानकारहरुले समेत बताए। त्यही माथि उनले रकम लिएका दुई मुद्धा मध्ये एउटा सामन्य भनाभन, वादविवाद गालीगलौजको थियो भने अर्कोमा समेत वादी पक्षका पीडित अस्पतालमा थिएनन्।  

समाचार लेख्न बसे लगत्तै प्रजिअको फोनको घण्टी बज्यो। ‘तामाकोसीको सूचना छ, तपाईमार्फत गर्नुस अहिलेलाई त्यो समाचार चाही रोकिदिनुस है’ उनले फोनमा भने – ‘सिडिओ साप बरु, तपाईको आफ्नो प्रष्टीकरण एक शब्द नबिगारी छाप्छु, तर समाचार रोक्न सकिदैन सरी’। म आफैंले फोन राखिदिए। उनले सबै पत्रकारलाई फोन गरेछन्। त्यसपछि समेत रिजालको फोन आएको थियो। मैले उठाइन।

अन्तिममा ३ जनालाई फोन गर्न लगाएका थिए। ‘सिडिओबाटै नागरिक ठगिएको यत्रो ठूलो ईष्युमा भुलेर पनि कन्सिडर गर्न सकिदैन, सरी’ फोन गरेका तिनै जनालाई त्यही जवाफ दिए – ‘बरु तपाइको सिडिओलाई मैले सम्झाए भनेर तपाइको आ–आफ्नो तर्फबाट लोली मिलाउनुछ भने मिलाउनुस तर तपाई र मेरो खास कुरा समाचारमा कन्सिडर हुदैन’।

नागरिकन्युजमा सिडिओले नै लिए मुद्धाका प्रतिवादीसँग सवा लाख घुस समाचार प्रकाशन भएपछि हल्लाखल्ला भयो। सिडिओ रिजालबाट अरु पनि थुप्रै पीडित भएका रहेछन्। धमाधम फोनका घण्टीहरु बजे। विगुका दुई कर्मचारीबाट ४ लाख असुलेको कुरा गृहमन्त्री रामबहादुर थापाको कानमा समेत पुगेका रहेछ। मुद्धाका प्रतिवादीसंगै कर्मचारी, ठेकेदार, क्रसर सञ्चालक, डोजर साहु र उपभोक्ता समितिका मान्छेहरुले पनि फोन गर्न थाले। अधकांश पीडित रहेछन् रिजालबाट।
    घुस लिएको वा दिएको काण्डमा सबैभन्दा ठूलो प्रमाण त अडियो वा भिडियो रेकर्ड भन्दा पनि पीडितलाई संगै उभ्याइदिनु नै रहेछ भन्ने मेरो बुझाई रह्यो। त्यस दिन हामी १० जना पत्रकारले पीडितहरुलाई सिडिओको अगाडि उभ्याउन नसकेको भए सायद यो कान्ड पनि गुपचुपमै सेलाउथ्यो। पीडित अगाडि उभिएकै कारण रकम लिएको हुँ भनेर स्विकार गरेका सिडिओ रिजाल पीडित नलिई हामी मात्र उनको कार्यकक्षमा गएको भए त्यसरी गलेर कुरा गर्न सक्ने थिएन सायद।
    अथवा मैले लिएको छैन भन्ने दाबी गरेर एउटा सिडिओलाई नचाहिने आरोप लगाउने भन्दै उल्टै पीडितहरुलाई समाएर थुनिदिन सक्थे। त्यसैले १० जनाको त्यो निर्णयले अख्तियारको समेत प्रतिनिधि भएको प्रमुख जिल्ला अधिकारीको कालो रुप बाहिर ल्याउन सघाउ पुगेको पुग्यो। हामी सफल भयौं।  
कहिलेकाही प्रश्न उठ्छ, पत्रकारले समाचार मात्रै लेख्ने कि जनसरोकारका विषयमा समेत बहस चलाउने? यस विषयमा मानिसहरुको दुईथरि धारणा छ।
एकथरिले पत्रकारले समाचार मात्रै लेख्नुपर्ने धारणा राख्छन् भने अर्कोथरिले समाचार मात्रै होइन,जनसरोकारका गम्भीर मुद्धामा आफैं लविङ गर्ने, परेको ठाउँमा आफैं उभिने, आवश्यक तर्क वितर्क गर्ने वा एक्सनमै उत्रिएर दबाव दिनुपर्छ भन्ने मत पनि राख्छन्।
    नागरिकका कतिपय सवालमा पत्रकारले नागरिक अभियानता बनेर काम गर्नु परेका थुप्रै उदाहरण छन्।
    यही क्रममा सधैं लेखेर जनसरोकारका मुद्धा उठाउने दोलखा जिल्लाका पत्रकारले यस पटक जिल्लाको ‘लाइफलाइन’ सडकमा ५ वर्ष देखि जनताले भोगेको सास्तीविरुद्ध अभियान छेडेका थिए।  
    ठेकेदार कम्पनीले दोलखा भित्रिने सबैभन्दा प्रमुख चरिकोट–खाडीचौर सडकमा ५ वर्षदेखि ढिलासुस्ती र लापरवाही गरेर अलपत्र पारेको थियो। ठेकेदारको फोटो टाल्ने, मानवसाङलो, सिठ्ठी जुलुस, शंख जुलुस जस्ता दर्जन बढी दबाबमुलक कार्यक्रम भए।
यसमा जिल्लाका प्राय सबै पत्रकार, व्यवसायी, पेशाकर्मी र सर्वसाधरणले खुलेर साथ दिएका थिए।
यसको प्रभावस्वरुप पुस मसान्त भित्र ग्राभेल सक्ने, जेठ २२ गते भित्र कालोपत्रेको काम सम्पन्न गरिसक्ने र उपकरण तथा स्रोत साधन थपेर एक साता सडकको ग्रेड मिलाउने, खाल्डाखुल्डी पुर्ने लगायतका सहमतिमा ठेकेदार कम्पनी पुगेको छ। सो सडकमा काम समेत सुरु भैसकेको छ।

प्रकाशित: २३ मंसिर २०७६ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App