९ मंसिर २०८१ आइतबार
image/svg+xml
ब्लग

गतिशील पुल बन्न कठिन छैन

२३ वर्ष अघि तत्कालिन चिनियाँ राष्ट्रपति च्याङ जमिन नेपाल आए। त्यस पछि नेपाल भ्रमणमा आउने उच्च चिनियाँ नेता सी चिनफिङ हुन्। यो बिचमा नेपाल र चीनमा धेरै उतारचढाव आइसकेको छ। यहाँको शासन व्यवस्थामा नै परिवर्तन आयो भने चीन महाशक्तिको दौडमा छ त्यो पनि सी कै नेतृत्वमा।

चीनमा मात्र नभएर विश्वमा नै सी विचारधारको चर्चा छ। नेपालमा पनि यसको छलफल तिब्र छ। चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र सत्तारुढ नेकपाको विदेश विभागको सहकार्यमा नेकपा नेताहरुले सी विचारधाराबारे सी भ्रमणको पूर्वसन्ध्यामा छलफल चलाए।

दोस्रो विश्वयुद्ध पछि विश्वमा वित्तिय पुँजीले आफ्नो प्रभाव जमाइ रहेको छ। वित्तिय पूँजी परिचालनमा छिमेकी चीनको लगाव छ। हामीले चीनबाट फाइदा लिनै पर्छ। आफ्रिकासम्म पुगेको चीनले सीमानामा उभिएका पहाड छिचोल्न नसक्ने भन्ने हुँदैन। विकासप्रतिको हाम्रो इमान्दारीता र लगावले त्यसलाई निर्धारण गर्नेछ।

सीको भ्रमणको समय नेपाल-चीनबीच महत्वपूर्ण २० वटा समझदारी भए। सहमतिको ७ नम्बर बुँदामा नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच     चीन नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धी विषय समेटिएको छ। जुन आफैमा महत्वपूर्ण छ। सीको सम्मानमा आयोजना भएको रात्री भोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नेपाली जनता केरुङ काठमाडौं हुँदै लुम्बिनी रेलमार्गमा जोडिएको हेर्न चाहेको बताएकी थिइन्। यसको अर्थ सरकारले देखाएको रेल सपनाको प्रतिविम्वन हो।

रेल र पानीजहाज कनेक्टिभिटी प्रति नागरिकमा निकै चासो छ। सीको भ्रमणको क्रममा पनि जनताले रेल परियोजनाबारे ठोस निर्णयको अपेक्षा गरेका थिए। रेलको अर्थ यात्रा मात्र होइन व्यापार पनि हो। निश्चय नै आफ्नो व्यापारको लागि चीनले त्यो कनेक्टिभिटी नेपालसँग मात्र नभएर भारतसँग पनि खोज्ने छ।

सीको भ्रमणपछि दुई देशको संयुक्त वक्तव्यमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा उल्लेख गरिएको छ। वक्तव्यमा बिआरआईको कार्यान्वयनमा समेत जोड दिनुले त्यो अव हाम्रो मात्र चासोको विषय रहेन। हालसम्म नेपाल र चीनले वृहत्तर साझेदारीको कुरा गर्दै आए पनि यस भ्रमणका क्रममा द्विपक्षीय सम्वन्धलाई स्तरोन्नती गर्दै रणनीतिक साझेदारीमा रुपान्तरण गरेका छन्। यो आफैँमा नेपाल चीन सम्वन्धमा आएको 'सिफ्ट' हो।

सीले रात्रीभोजको समयमा गरेको सम्वोधनमा महत्वपूर्ण विषयको उठान गरे। जुन हाम्रो लागि सबैभन्दा लाभदायक हुने छ। सीले नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश हुन सघाउने प्रतिवद्धता जनाए जुन हाम्रो लागि महत्वपूर्ण छ। यसलाई कार्वान्वयन गर्दै उत्तरी र दक्षिणी छिमेकीबाट 'गतिशिल पुल' बन्दै फाइदा उठाउन जरुरी छ। एसिया युरोप देखि अफ्रिकासम्म आफ्नो व्यापार विस्तार गरेको चीनको लागि आफ्नो छिमेकी महत्वपूर्ण हुन्छ नै त्यसको फाइदा हामीले कसरी उठाउने भन्ने हाम्रै परिपक्वता र चीनको तदारुकताले धेरैकुराको निर्धारण गर्ने छ। अव नेपाली नेतृत्वको काम त्यो दिशातर्फ उन्मुख हुन जरुरी छ। नेपाल र चीन हजार वर्ष भन्दा पहिलेदेखि व्यापार कै कारणले जोडिएका थिए। व्यापारको बाटोका लागि अहिले पनि हामी त्यो भन्दा फरक छैनौं मात्र हामीलाई आधुनिकता चाहिएको छ। कूटनीतिक सवलता आवश्यक छ। हाम्रो लागि चीन र भारतको बीचमा बसेर गतिशिल पुल बन्न कुनै सकस छैन।

अहिले नेपालमा कम्युनिष्ट सरकार छ। त्यो पनि दुई तिहाई वहुमत प्राप्त। त्यो हिसावमा दुई सरकारबीचको बैचारिक समानता छ। तर हामी लोकतान्त्रिक समाजवाद उन्मुख हौं जुन संविधानमै लिपिवद्ध छ। सीले नेकपा नेताहरुसँगको भेटमा भनेको एक सन्दर्भ दुई तिहाईको सरकारले मनन गर्न जरुरी छ। उनले भनेका थिए, 'हामी जवर्जस्ती सत्तामा आएका होइनौं  जनताको मन जितेर शासन गरिरहेका छौं।' नेकपा नेतृत्वको सरकारले पनि जनताको मन जित्न जरुरी छ। दुई तिहाई प्राप्त गर्दा जनताका जुन उत्साह थियो त्यो अहिले घट्दो अवस्थामा छ। सीको भ्रमणले सरकारलाई केही मलमपट्टी त लगाएको छ अवका दिनमा भने जनजनको मन जित्ने गरि काम गर्ने चुनौति र अवसर दुवै छ। फुर्किने वा दम्भ देखाउन भन्दा काम गर्न जरुरी हुन्छ भन्ने सीको भनाईबाटै मनन गर्न सकिन्छ।

अहिलेको विश्वमा व्यापारको शक्ति कति छ भन्ने पछिल्लो उदाहरण हुवावे मोवाइल प्रकरणलाई लिन सकिन्छ। आजका शक्तिशाली देशहरु आफ्नो व्यापारलाई कुनै हालतमा खस्कन दिँदैनन्। एसियामा भारत चीनको लागि राम्रो व्यापारको केन्द्र हो त्यसलाई गुमाउन कसले पो चाहन्छ र? सी सिधै नेपाल आएनन् भारतको महावलीपुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक वार्ता पछि उनी नेपाल आए। यसको आफ्नै कुटनीतिक अर्थ होला। यति हुँदाहुँदै चीनले आफ्नो सानो छिमेकी देशलाई दिएको महत्व भने कम छैन। सानो होस् वा ठूलो छिमेकी छिमिकी नै हुन्छ त्यसलाई परिवर्तन गर्न सकिँदैन।

चाहे माओ हुन् चाहे सी। दुवैले नेपाललाई आफ्नो नजरमा राखे नै। चिनियाँ क्रान्तिपछि प्रधानमन्त्री चाउ एनलाई नेपाल आए। प्रधानमन्त्री बनेपछि बीपी कोइराला चीन पुगे। चीन पुगेका कोइरालाले त्यहाँ भर्खर सुरु भएका कम्यून र घरेलु उद्योगहरु अवलोकन गरे। चिनियाँहरुले आफ्नै प्रयासमा गर्न सकिने उद्योगहरु गर्न बीपीलाई सुझाए। आज त्यसकै जगमा चीन महाशक्तिको दौडमा छ।

चीनबाट व्यापार मात्र होइन उसले गरिबी र भ्रष्टाचार हटाउन गरेका प्रयत्नहरुबाट हामीले सिक्न जरुरी छ। गरिबी हटाउन चीनले गरेका प्रयत्नलाई विश्व बैंक, अन्तराष्ट्रिय मुद्राकोष जस्ता दोस्रो विश्वयुद्ध पछि अस्तित्वमा आएका संस्थाहरुले समेत स्वीकार गरिसकेका छन्।

आजको हाम्रो आवश्यकता आर्थिक समृद्धि र विकास नै हो। छिमेकीबाट त्यसको फाइदा उठाउँदै हामीले परनिर्भर होइन अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्न जरुरी छ। दोस्रो विश्वयुद्ध पछि विश्वमा वित्तिय पुँजीले आफ्नो प्रभाव जमाइ रहेको छ। वित्तिय पूँजी परिचालनमा छिमेकी चीनको लगाव छ। हामीले चीनबाट फाइदा लिनै पर्छ। आफ्रिकासम्म पुगेको चीनले सीमानामा उभिएका पहाड छिचोल्न नसक्ने भन्ने हुँदैन। विकासप्रतिको हाम्रो इमान्दारीता र लगावले त्यसलाई निर्धारण गर्नेछ।

 

 

प्रकाशित: २७ आश्विन २०७६ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App