१९ श्रावण २०७७ सोमबार
ब्लग

यसरी हटाउनुस घरमै तरकारीको विषादी

आजभोली नेपालमा तरकारी र फलफुलमा धेरै कीटनाशक औषधी प्रयोग हुन थालेको छ। सरकारको बलियो अनुगमन प्रणाली नहुनु र किसानहरुलाई राम्रो ज्ञान नहुनु र ज्ञान हुँदा हुँदै पनि हेल्च्याक्राइ हुने गरेकाले पनि यसकाे संवेदनशीलता बढेर गएकाे छ। किसानले अत्याधिक विषादी प्रयोग गर्दा, विषादी प्रयोग गरे पछी बजारमा पठाउनको लागि पर्खनु पर्ने समय नपर्खेर तुरुन्तै पठाउँदा, उपभोक्ताले तरकारी र फलफुलसँगै खतरनाक विषादी खान वाध्य छन।

विषादी ले मानव शरीर र वातावरणमा पार्ने असर धेरै छन्। विषादीकाे उपभाेगले क्यान्सर, मिर्गौला, कलेजोलाई काम नलाग्ने गराउनेदेखी लिएर अरु धेरै रोगहरु लाग्छ। त्यस्तै वातावरणमा जलचर मर्ने, चराहरुको अन्डा दिनसक्ने क्षमतामा ह्रास आउनेलगायतका धेरै नोक्सान हुने गर्छ।

काँक्रो, गाजर, मुला जस्ता सलादजन्य तरकारीहरु तातो पानीमा डुबाएर पखालेर प्रयोग गर्नु राम्रो हुन्छ। अरु तरकारीलाई पनि तातोपानीमा आधा उमालेर पानी फालेर प्रयोग गरेमा विषादीबाट बच्न सकिन्छ।

विषादीबाट कसरी बच्न सबैभन्दा राम्रो उपाय विषादीको प्रयोग नै नगर्नु या न्युनतम प्रयाेग गर्नु हो। अर्को तरिका प्राकृतिक विषादीको प्रयोग गर्ने जस्तै गाइको गहुँत, निम को पातको झोल, पातिको झोल आदी। परम्परागत रुपमा विषादी हटाउन कागतीको रस, नुन पानी, आमिलिको झोल जस्ता कुराहरु प्रयोग गरेको भेटिन्छ।

तरकारी र फलफूलमा धेरै किसिमका विषादीहरु प्रयोग गरिन्छ तिनिहरुमध्ये पारथियोन, मिथायलपाराथियोन, मालाथिन, फेनिट्रोथियोन, फर्मिथियोन, क्लोरोपैरोफोरोस, मीथोमाइल र कर्बाराइल प्रमुख बिषादीमा पर्छन। विषादी हटाउने घरायशी तरिकाहरुमा: शुद्द पानीले पखाल्नु, 0.9 % सोडियम क्लोराइड (खाने नुन) मा ३० मिनेट डुबाएर पखाल्नु, 0.1 % सोडियमबाइकर्बोनेट (बेकिङ सोडा) मा ३० मिनेट डुबाएर अनी पखाल्नु, यस्तै गरी 0.1 % अक्जालिक एशिड, 0.1% म्यालिक एशिड, 0.1 % एसिटिक एषिड (भिनेगर), 0.1 % अस्कोर्बिक एसिड (कागतिको रस), 0.001% पोटासियमपर्म्याग्नेट (पोटास पानी) को प्रयोगगर्ने रहेकाे छ। पोटाश पानीमा अतिनै थोरै प्रयोग गर्नु पर्छ, हल्का गुलाबी रङको पानी हुनु पर्छ। माथि उल्लेखित तरिकाबाहेक अरु तरिकामा ओजोन मिसिएको पानीले धुने, ब्लिचिङ पाउडरको झोल प्रयोग गर्ने गरिन्छ। घरमा प्रयोग गर्दा ओजोन मिसिएको पानीले धुने, ब्लिचिङ पाउडर को झोल त्यती सजिलो हुँदैन, यिनिहरुलाई औद्योगिकस्तरमा प्रयोग गर्नु प्रभावकारी हुन्छ। लप्सिको झोल, अमिलो गुन्द्रुक को झोललाई पनी विषादी हटाउन प्रयोग गर्न सकिन्छ।

शुद्द पानीमा मात्र पखाल्दा तरकारीबाट विभिन्न किसिमको विषादीहरु २०-४३ प्रतिशत सम्म हटेको पाईएको छ, त्यस्तै गरी 0.9 प्रतिशत नुनपानी ले ३५ -९५ प्रतिशत, 0.1 प्रतिशत सोडियमबाइकर्बोनेट ले ३६-८७ प्रतिशत, 0.1 % अक्जालिक एशिड ले ४१-८१ प्रतिशत,0.1% म्यालिक एशिड ले ४६-८२ प्रतिशत, 0.1 % एसिटिक एषिड (भिनेगर) ले ४०-९१ प्रतिशत, 0.1 % अस्कोर्बिक एसिड ले ४२-८३ प्रतिशत, 0.001% पोटासियमपर्म्याग्नेट (पोटास पानी) ले ३८-९२ प्रतिशत, लप्सिको झोल ले ४०-८७ प्रतिशत बिषादी हटेको देखिन्छ। सबै भन्दा प्रभाबकारी तरिका चाँही तातो पानीमा उमाल्नु भेटिएको छ, तातो पानीमा उमालेर पानी फ्याँकेर तरकारीलाई फेरी पकाउँदा ८८-१०० प्रतिशत सम्म विषादी हटेको अनुसन्धानबाट पुष्टि भएको छ।  

काँक्रो, गाजर, मुला जस्ता सलादजन्य तरकारीहरु तातो पानीमा डुबाएर पखालेर प्रयोग गर्नु राम्रो हुन्छ। अरु तरकारीलाई पनि तातोपानीमा आधा उमालेर पानी फालेर प्रयोग गरेमा विषादीबाट बच्न सकिन्छ।

विषादी एउटा ठुलो समस्या भएको हुँदा अनुगमन प्रभावकारी गराउनु जरुरी छ। किसानहरुलाई चाहिने मात्रामा मात्र विषादी प्रयोग गर्न र सुरक्षित भएर प्रयोग गर्न तालिमको आवश्यकता छ। सरकारले धेरै समयसम्म नस्ट नहुने विषादीलाई आयातमा बन्देज लगाएर कम हानिकारक र सजिलै (पानिले) नस्ट हुने विषादीहरु मात्र आयात गर्न अनुमती दिनु पर्ने देखिन्छ छ। विषादीको खुल्ला रुपमा बेचबिखन रोकेर कोटा प्रणाली लागु गर्नु जरुरी छ।

Ref: Satpathy, Gouri, Yogesh Kumar Tyagi, and Rajinder Kumar Gupta. "Removal of organophosphorus (OP) pesticide residues from vegetables using washing solutions and boiling." Journal of Agricultural Science 4, no. 2 (2012): 69-78.       

प्रकाशित: २३ असार २०७६ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App