१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

ग्रोबेन तौजले

ग्लुकोज, फास्टिङ, ५४०।
डाक्टरले थमाएको रिपोर्ट हेरेर उनी टाउकोदेखि पैतालासम्मै थरर्र काँपे।
तीन दिन भएको थियो, अलि सन्चो नभएको। शरीर कमजोर भएको थियो। छटपटी बढेको थियो। मुख सुकेजस्तो हुन्थ्यो। दिनदिनैको चटारो र सधैं साँझको खानपिनले असजिलो भएको होला भन्ने ठानेका थिए।

ज्यानै ठूलो भएर होला, उनलाई धेरै खानुपर्छ। छोयला, कचिला, सेकुवा, अरूथरि मासु, ड्रिंक्स। बिहानबेलुका खाना, दिउँसो खाजा, बेलाबेला अरू खानेकुरा त छँदैछ। भुँडी भ्यात्त लागेको छ। कुनै लुगा शरीरमा सुहाउँदैन। अस्ति तौल लिँदा १ सय ५ किलो देखाएको थियो।

डाक्टरकहाँ जान फुर्सदै निस्केको थिएन। व्यापारी मान्छे, बिहानदेखि बेलुकासम्मै पसलमा बस्नुपर्छ। कारोबार बढेको छ। आखिर समाजमा इज्जत बढेको, दुईचार जना मान्छे वरिपरि लागेको, भद्रभलाद्मीले गन्न थालेको अलिअलि पैसा कमाएरै त हो!

हिजो राति असजिलोले सुत्नै नसकेर रात छर्लङ्गै भएपछि आज उनी जँचाउन निस्केका थिए। चिनेकै डाक्टर थिए।

'तपाईंलाई त सुगर भएजस्तो छ, एकचोटि टेस्ट गराउनुपर्ला,' डाक्टरले भने। उनलाई झट्का लाग्यो, 'सुगरै देखिएछ भने साँझको रमाइलो, खानपिन सबै छुट्ने भयो त!'
जे भए पनि जाँच त गराउनैपर्‍यो!

डाक्टर आफैंले उनको पाखुरामा निडल घुसारेर पाँच एमएल रगत निकाले। निडलले सुरुरुरु रगत तानेर सिरिन्ज भरिँदा उनको मुटु ढक्क भयो। तै आफैंलाई थम्थम्याए- सुगरै बढे पनि कति नै पुग्यो होला र यो ३० वर्षे उमेरमा!

जाँचपछि थाहा भयो- प्याङ्क्रियाजले कामै गर्न छोडेछ। शरीरमा इन्सुलिन बन्ने क्रिया बन्दै भएछ।

डाक्टरले भने, 'सुगर धेरै बढेको छ, इन्सुलिन इन्जेक्सन नै दिनुपर्छ।'
उनको ओठतालु सुक्यो। मन भित्रैसम्म चिसो भयो।
हे भगवान्, के मेरो जिन्दगी अब धेरै बाँकी छैन?
******

म पाँच वर्ष छँदा बुबा दुर्घटनामा बित्नुभएको थियो। आमाले म र दुई दिदीलाई हुर्काउन कत्ति मेहनत र दुःख गर्नुपर्‍यो! अलिअलि पुर्ख्यौली सम्पत्ति थियो। एसएलसीपछि पढ्न पुना गएँ। आइएस्सी गरेँ। ब्याच्लर पढ्नुभन्दा पुर्ख्यौली व्यापारै धान्नुपर्‍यो भनेर फर्किएँ र दिनरात नभनी मेहनत गर्न थालेँ।

बिहे गरेर अमेरिका गइसकेका दिदीहरू मलाई पनि उतै बोलाउँथे। तर, एक्ली आमालाई छोडेर कसरी जानु! मेरो सबै ध्यान व्यापारमै थियो। बुबाले थालेको कपडा व्यापार उँभो लगाउनैपर्छ भन्ने लागेको थियो।

सोचेँ- जिन्दगीमा सबथोक पैसै हो, पैसा कमाएपछि सबै मेरो पछि लाग्छन्। समाजमा मान हुन्छ। इज्जत बढ्छ।

२२/२३ वर्षकै उमेरमा बिहा गरेको थिएँ। दुईजना नानी भइसकेका थिए- ठूली छोरी, सानो छोरा। दिनभरि कपडापसलमा बसेर थाक्थेँ र सधैंजसो साँझ रमाइलो गर्थें। लाग्थ्यो- पैसा कमाएको यही रमाइलो गर्न त हो! दुईचार जना साथीभाइ हरदम साथै हुन्थे।
रमाइलो सधैं रमाइलो रहिरहेन। एकैचोटि सुगर ५ सय ४० देखियो। अब के गर्ने होला? खानपिन त छुट्यो नै, जिन्दगी पनि छुट्न के बेर!

एसएलसीपछि केही महिना अस्पतालमा स्वयंसेवा गर्दा डायबिटिज लागेर मरेका थुप्रै मान्छे आँखैअघि देखेको थिएँ।

मलाई एकदमै गाह्रो हुन थाल्यो। डिप्रेसन भयो, जहिल्यै सफोकेसनजस्तो हुने। सास थुनिएर अहिल्यै मर्छु कि जस्तो लाग्थ्यो। सधैं तनावमा हुन्थेँ।
इन्सुलिन इन्जेक्सन त सुरु गर्नैपर्‍यो।

सात दिन टिचिङ अस्पतालमै भर्ना भएर इन्सुलिन लिएँ। त्यसपछि घर फर्किएर आफैं इन्सुलिन लगाउन थालेँ।

बाँच्नका लागि खानैपर्‍यो। इन्सुलिन नलगाई केही खानै हुँदैनथ्यो।

बिहान खाना खानुअघि छोराछोरीले देख्लान् कि भनेर ढोका बन्द गरेर तिघ्रामा आफैं इन्सुलिनको सिरिन्ज घोप्थेँ। एकदमै पीडा हुन्थ्यो। मेरो दुःख देखेर आमा रुनुहुन्थ्यो। उहाँ रोएको देखेर मलाई झनै तनाव हुन्थ्यो। मेरो रोगले मभन्दा धेरै आमालाई दुखेको छजस्तो लाग्थ्यो। म उहाँको एक्लो आशा थिएँ।
महिनौंसम्म यसै गरी इन्सुलिन लगाइरहेँ।
एक दिन मनमा झ्वाट्ट आयो- के यो पीडाबाट म कहिल्यै मुक्त हुन सक्दिनँ? तनावै-तनावबीच मृत्यु पर्खिनेबाहेक अरू केही उपाय बाँकी छैन?
मनको अर्को कुनाले भन्यो- सक्छस्, किन सक्दैनस्? दह्रो आत्मविश्वास लिइस् भने तँ यो पीडाबाट मुक्ति पाउन सक्छस्!
इन्जेक्सनको पीडा सम्झिएँ। बुबा खस्दाको पीडाले मन अझै चर्कियो। मेरै लापरवाहीले अहिले आमा, म र परिवारैलाई तनाव भएको हो भन्ने लाग्यो।
बुझ्नुभयो? हरेक चिजको एउटा लिमिट हुँदो रहेछ। मैले मोजमस्तीको लिमिट काटिसकेको रहेछु। शरीरप्रतिको मेरो लापरवाही सम्झिँदा मलाई पश्चाताप हुन्थ्यो।
त्यही दिन मैले संकल्प लिएँ, सुगरको समस्या शरीरबाट हटाएरै छोड्छु। मनैदेखि आत्मशक्ति आयो। शरीरबाट रोग हटाउनैपर्छ भन्ने तीव्र इच्छा जाग्यो।
योगले डायबिटिज ठिक हुन्छ भन्ने सुनेको थिएँ। रामदेवको हल्लीखल्ली भरखर सुरु भएको थियो। सधैं बिहान टिभीमा उनले सयौं मानिसलाई योगका विभिन्न विधि सिकाएको देख्थेँ। म पनि टिभीमा रामदेवले सिकाएको हेर्दै डायबिटिज रोगीका लागि उनले सुझाएका आसन, प्राणायाम र शारीरिक व्यायामका अन्य क्रिया गर्न थालेँ। मर्निङवाक, इभिनिङ वाक जान थालेँ। घरमै अरू एक्सरसाइज पनि गर्न थालेँ।

एकदिन आमाले भन्नुभयो, 'सुनिस्? हाम्रै टोलमा नयाँ गुरु आएका छन् रे, योग सिकाउन। जा तँ पनि सिक्न, फाइदा हुन्छ होला।'

मैले भनेँ, 'आ... आमा, म जान्नँ। कस्ता गुरु हुन्, ठग्ने पो हुन् कि? मलाई यी गुरुहरूमा विश्वासै लाग्दैन।'
'ठगजस्तो लाग्यो भने नजानू नि। एकचोटि बुझेर त आइज।'
आमाले भनेको टार्न नसकेर म ती गुरुकहाँ गएँ। हाम्रै छरछिमेकका सातआठ जनालाई योग सिकाउन थालेका रहेछन्।
मैले भनेँ, 'डायबिटिजले मलाई धेरै दुःख दिएको छ। तपाईंले सिकाएको योगले ठिक हुन्छ?'
उनले भने, 'हेर्नुस् भाइ, मैले भनेजस्तो गर्नुभयो भने म तपाईंको डायबिटिज डेढ महिनामै निको पार्दिन्छु।'
उत्साहित भएँ। गुरुको छाँट हेर्दा निकै जान्ने छन्जस्तो लाग्थ्यो।
उनले सिकाएअनुसार नियमपूर्वक प्राणायाम थालेँ। यौगिक जगिङ सुरु गरेँ। पेट-रोगीका लागि उपयुक्त हुने विभिन्न आसन गर्न थालेँ। दिनै नयाँ-नयाँ विधि सिक्थेँ। सुरुमा अप्ठ्यारो लाग्थ्यो, शरीर लचिलो हुँदै गएपछि सजिलो हुन्थ्यो। नयाँ आसन सिक्दा जोस जाग्थ्यो। दिनकै तीनचार घन्टा विभिन्न अभ्यास गर्न थालेँ। शरीर पसिना-पसिना हुन्थ्यो।

गुरुको सिकाउने तरिका निकै प्रभावकारी लाग्थ्यो। जिउलाई निकै फाइदा भएजस्तो हुन्थ्यो। मेरो शरीरको बोसो प्रत्येक मिनेट एकएक थोपा पग्लिरहेजस्तो लाग्थ्यो।
मासु खान छाडेँ। ड्रिंक्स छाडेँ। खाना कन्ट्रोल गरेँ। कहिल्यै फलफूलमात्र खाएर बस्थेँ। कहिल्यै गहुँको रोटीमात्र खाएर दिन काट्थेँ। मलाई जीवनदेखि मजा आउन थालेको थियो।
एक महिनामा तौल लिएँ- बीस किलो घटेछु।

इन्सुलिन लगाइरहेको थिएँ। सुगर जाँचेँ- फास्टिङमा ६८।
जति नै कडा अभ्यास गरे पनि एक महिनामै सुगर घटेर ६८ होला भन्ने मैले कल्पनै गरेको थिइनँ। सुगर यतिसम्म घटेको बेला पनि इन्सुलिन लगाइरहँदा शरीरलाई बेफाइदा गर्छ भन्ने मलाई थाहा थियो। डाक्टरलाई फोन गरेंँ- 'डाक्साब्, चमत्कार भयो, अब के गर्ने?'

डाक्टरले भने, 'आजैदेखि इन्सुलिन बन्द गर्नुस्।'
मेरो संकल्प पूरा भएको थियो।
त्यसपछि म योगमा लीनै हुन थालेँ। अभ्यास नियमित अघि बढाएँ। थुप्रै विधिमा पारंगत हुन थालेँ।

अहिले म अरूलाई योग सिकाउँछु। रामदेवको दैनिक योग प्याकेजका सबै विधि राम्ररी सिकाउन सक्छु। त्योबाहेक गुरुले सिकाएका अन्य विधि पनि सिकाउँछु। उहाँले थुप्रै थेराप्युटिक विधि सिकाउनुभएको छ। आफैं योग गर्ने त छँदैछ।
दैनिक बिहान १० बजेसम्म अरूलाई योग सिकाएर र आफू पनि गरेरै बित्छ। प्राणायाम, आसन र योगका अन्य विधि गर्दागर्दै घाम माथिसम्म पुगेको थाहै हुँदैन। आजकाल ध्यान पनि गर्न थालेको छु।
गुरु र अन्य साथी मिलेर हामीले बनेपामा अरनिको पावनधाम स्थापना गर्‍यौं। योगको विकास र विस्तारमा सघाउन रामदेवको पतञ्जली योगपीठसँग पनि जोडिएका छौं।
कुनै जमानामा २० किलोको पेट लिएर तनावमा बाँच्ने म अहिले बाह्य प्राणायाम, अग्निसार र नौली क्रियाजस्ता अभ्यासमा पनि निपुण भएको छु। यी तीनै क्रिया पेटका रोगबाट मुक्त हुने एकदमै फाइदाकारी विधि हुन्।
तपाईं एक महिनामात्र गर्नुस् न, थाहा भइहाल्छ, मैले भनिरहनै पर्दैन।
अहिले मलाई विगतमा गरेको गल्ती महसुस भएको छ। खानेपिउनेमा जीवनको धेरै समय र कमाएको थुप्रै पैसा सकेछु भन्ने लागेको छ। खानुपिउनु नराम्रो होइन तर मैले यसलाई सीमामा बाँध्न सकिनँ।
मेरो बुबा, पितापुर्खाले सम्पत्ति छाडेर जानुभएको छ। हामीले पनि एक दिन यो सम्पत्ति छाडेर जानैपर्छ। आफैं पनि अलिअलि कमाएकै छु। किन लोभ गर्ने?
खानेपिउनेमा गर्ने पुरानो खर्च त उब्रिएकै छ, त्यसमा अझै थपेर समाजसेवामा लगाउन थालेको छु।
योग गरेर म रोगमुक्त भएँ। मेरो सानो योगदानले समाजको एउटै व्यक्तिमात्र रोगमुक्त हुँदा त्यसमै मलाई सबैभन्दा खुसी लाग्छ।
अहिले जब म डायबिटिज रोगीका लागि सर्वश्रेष्ठ मानिने मन्डुकासन गर्छु, प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गरिरहेजस्तो लाग्छ। कति खाने, के खाने, कुनबेला खाने शरीरले आफैं ठम्याउन थालेको छ। माछामासु र ड्रिंक्स हत्तपत्ति खान्नँ तर छोडेँ पनि भन्दिनँ। व्यापारी मान्छे हुँ, कहिलेकाहीँ अरूको मन राख्दिन पनि ग्लास हातमा लिनुपर्छ।
सात वर्ष भयो, फेरि इन्सुलिन लगाउनुपरेको छैन। सुगर जहिल्यै ८० हुन्छ।
...
नयाँ बानेश्वरको एलिनाज बेकरी क्याफेमा ग्रोबेन तौजले, ३७, ले आफ्नो कथा सुनाइसक्दा उनका गुरु ललितशंकर योगी मुस्काउँदै थिए। घाम अलि माथि चढेको थियो। दक्षिणतिर पाटन बिहानभन्दा अझ खुलेको थियो।
दुवैले खाना खाइसकेका थिए। कानमा ब्लुटुथ घुसारेका ग्रोबेनका अर्का साथी बिहानी-खानाको अन्तिम गाँस चपाउँदै थिए। मैले लस्सी अघि नै पिइसकेको थिएँ।
'ग्लुकोज, फास्टिङ, ५४०' को सात वर्षपछि ग्रोबेन हिरो देखिएका थिए। छ फिट उचाइ र ८०-८२ किलो तौलमा उनी सञ्जय दत्तको यङ्गर भर्सनजस्ता लाग्थे। हल्का निलो स्टाइलिस सर्ट, आकाशे रङको जिन्स र खैरो चुच्चो छालाको जुत्तामा उनको व्यक्तित्व फक्रिएको थियो। क्याफेको टिन तातेको बार्दलीमा बसेर भरखरै खाना खाएकाले हुनुपर्छ, उनको चम्किलो अनुहारमा पसिना टल्पलाएको थियो।
अलिकति पानी पिएपछि ग्रोबेनले योगीतिर हेर्दै भने, 'सधैं गुरुले सुनाउने यो गीत मलाई एकदमै मन पर्छ, दुई लाइन तपाईंका लागि है।'
मनको शान्ति पाइँदैन धनले
बुझ्नुपर्छ यो कुरा सबैले
यो समाज अघि बढाऊँ
सेवा गरेर दिन बिताऊँ
उनले भाका मिलाएर जोससँग सुनाउँदा यी सामान्य शब्द पनि स्वादिला लागे। मैले नोटबुकमा यी हरफ टिप्दै गर्दा ग्रोबेनले हाँस्दै थपे, 'बु‰नुभयो? सेवामात्र गर्‍यो भने पनि डायबिटिज, प्रेसरजस्ता रोग घट्छन्जस्तो लाग्छ आजकाल मलाई। त्यत्ति आनन्द हुँदोरहेछ सेवामा।'

उमेर ४९ भए पनि ३५ भन्दा बढीका नदेखिने गुरु बोले, 'हामीले प्रत्येक क्षण सेवाभाव बोकेर हिँड्नुपर्छ। अलिकति भए पनि समाज र राष्ट्रलाई योगदान दिनैपर्छ। त्यो काम आजै, अहिल्यै सुरु गर्नुपर्छ। एभ्री मोमेन्ट इज द लास्ट मोमेन्ट अफ द लाइफ।'
मलाई लाग्यो- स्टोरी योभन्दा तन्कायो भने पाठकलाई बोर लाग्नसक्छ।

नोटबुक बन्द गरेँ र भनेँ, 'यत्तिमै टुंग्याऊँ होला। तपाईंहरूले बनेपामा गरेको योगको विकास र विस्तार हेर्न म अर्कोपटक उहीँ आउँछु नि!'

प्रकाशित: २१ भाद्र २०६७ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App