सन् २००६को डिसेम्बरमा १५ औँ एसियाली खेलकुद प्रतियोगिताको समाचार संकलन गर्न हामी कतारको राजधानी दोहा जाँदै थियौं। सँगै सिटमा चेतन पाण्डे थिए भने समानान्तर अर्को सिटमा नारायण उपाध्याय र उनी पछाडी विष्णुहरी घिमिरे। दोहा जाने निश्चित भएदेखि नै मैले खाडी मुलुकबारे सुने/पढेका कुरा सम्झन थालेको थिए। खाडीको कडा कानून र त्यहाँ नेपालीले पाएका दुख मानसपटलमा घुमिरहेका थिए।
इश्लामिक कानुन अनुसार चल्ने राष्ट्रमा अपराधीमाथि कडा कारबाही हुने गरेको र त्यसका कारण त्यहाँ बेला बेलामा मानवअधिकार हनन् भएको पढेको थिएँ। मुसलमान धेरै भएको सहर नेपालगंजमा जन्मे हुर्केकाले मलाई त्यो समुदायको रहन सहन र परम्परा सम्बन्धि केही ज्ञान थियो।
इश्लाम महिलाले परपुरुषको दृष्टिबाट जोगिन सबै शरिर ढाकिने गरी कपडा (बुर्का) लगाउने चलन नेपालगञ्जमै देखेको थिएँ। त्यस्तै चोरको हात काट्ने प्रावधान शरियत (इश्लाम कानुन)मा भएको सुनेको थिए। त्यस्ता सजाय अफगानिस्तानमा तालिवानले चोरलाई दिने गरेको र त्यसका लागि राजधानी काबुलस्थित मुख्य रङ्गशाला प्रयोगमा ल्याइने गरेको टिभिमा हेरेका थिए। त्यस्तै सन् १९९० मा भएको खाडी युद्धमा साउदी अरेबियालाई आफ्नो आधार इलाका बनाएको अमेरिकी सेनाका लागि इश्लामिक चलन बारे जानकारी गराइएको समाचार बिबिसीले प्रसारण गरेको सम्झना ताजै छ।
त्यतिबेला अमेरिकी सेनाका सदस्यलाई महिलासँग बोल्दा आँखामा नहेरी शिष्ट भाषा प्रयोग गर्न सिकाइएको थियो। त्यस्तै सन् २००१ को सेप्टेम्बर अघि अफगानिस्तानमा शासन गरेको तालिवानी प्रशासनले त्यहाँ प्रतियोगितामा सहभागी हुन गएको पाकिस्तानी फुटबल टिमको कपाल खौरी दिएको समाचार आफैले अनुवाद गरेको थिएँ। ति पाकिस्तानी खेलाडीको दोष कट्टु लगाएर मैदानमा आर्लनु थियो। तालिवानका अनुसार त्यसरी सार्वजनिक स्थानमा खेलाडी कट्टु लगाएर आउनु शरियतको उलंल्घन थियो। शरियत अनुसार खेल हेर्दा दर्शकले हो हल्ला गर्न नपाउने तर टिम र खेलाडीको प्रशंसा गर्न मन लागे थपडी बजाउदै ‘अल्लाह महान छन्' भन्न पाउने पढेको थिए।
२०५६ मा काठमाडौंमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा सहभागी पाकिस्तानी महिला गोडा ढाकिने गरी ट्राउजर लगाएर प्रतिस्पर्धामा ओर्लेको देखेको थिए। त्यसपछि साफ खेल आयोजना गरेको पाकिस्तानले महिला तर्फको पौडी स्पर्धा हुदा पुरुष प्रवेसलाई प्रतियोगिता स्थलमा निषेध गरेको समाचार पनि पढेको थिए।
शरियत अनुसार मदिरा सेवन गुनाह (अपराध) मानिन्छ। यस्तो अवस्थामा कतारमा मदिरा पाउनु मेरो विचारमा कठिन मात्र होइन, असम्भव थियो। काठमाडौंबाट विमानले भुई छाड्ने वित्तिकै मेरो मस्तिस्कमा यस्तै कुरा आएका थिए।
खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान यस अघि केही साथीले पाकिस्तान र बंगलादेशमा मदिरा सेवन गरेर चरितार्थ गरेका थिए। पाकिस्तान र बंगलादेशको तुलनामा खाडीमा कानून निकै कडाई साथ लागु गरिने मेरो अनुमान थियो।
दोहा पुगेको अर्को दिन खाडी सम्बन्धी मेरा धेरै अनुमान गलत सावित भए। राजधानी दोहा त झन सुविधायुक्त आधुनिक सहर रहेछ। कुनै कुनै ठाउमा हरियाली देख्दा मलाई निकै रमाइलो लाग्यो। महिलाले वुर्का लगाए पनि अनुहार ढाकेका हुँदैनथे।
अर्को आश्चार्य त्यहाँका केही नियम सुन्दा लाग्यो। प्रहरीले झगडा भएको देखे साधारणतया कसको त्रुटी नभनि दुबैलाई थुनामा राखेर कार्यवाही चलाइँदो रहेछ।
त्यस्तै तेक्वान्दो खलाडी दिपक विष्टले स्पर्धा सकिएको अर्को दिन साथी भेट्न जाँदा मलाई पनि लगेका थिए। त्यति बेला थाहा पाए, यहाँ विदेशीले मदिरा खरिद गर्न पाउदा रहेछन्। त्यो पनि निश्चित अवधीका लागि निश्चित परिमाण सहित कोटा व्यवस्था अनुसार।
हामी सपिङ मलमा पुग्यौँ। त्यहाँ विदेशीको संख्या बढी थियो। उनले एउटा स्कच र वाइनको सिसी लिएर आए। बेलुका मैले पनि दुई ग्लास वाइन पिए।
त्यो दिन हामी चेतनहरूलाई भेट्न जादै थियौँ। मसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठ र राखेप सदस्य लक्ष्मण श्रेष्ठ थिए। उनीहरू दोहाको नजमा टोलस्थित प्रवासी नेपाली संघका एक पदाधिकारीको घर (डेरा)मा बसेका रहेछन्।
त्यहाँ चेतन भान्सामा ‘चिकन ससेज' काट्दै थिए। खाने र पिउने व्यवस्था राम्रै भइ सकेको रहेछ।
तेस्रो पेग ह्विस्की पिएपछि एक जनाले भने-दोहामा पानी पर्दैन र पिउन पाइँदैन भन्ने मान्छेलाई कुटे पनि हुन्छ।
हुन पनि दोहा पुगे देखि नै वर्षाले छाडेको थिएन। त्यतिबेलासम्म राम्रै थाहा भइ सकेको थियो, दोहामा पिउन पनि पाइँदो रहेछ। ‘हैन यसरी पिउदै जाने हो भने कोटा समाप्त होला है' एक जनाले ठट्टा गरे,'हामीले पहिले नै दाजुहरूको छ महिनाको कोटा भ्याइ सके जस्तो छ।' एसियाडमा गएका नेपाली त्यहाँ बस्दै आएका नेपालीको परिचय पत्रबाट मदिरा खरिद गरि रहेका थिए।
‘हामी त १२-१४ दिनमै यहाँका ‘लोकल' जस्तै भइ सक्यौँ।' केही वेरअघि हामीलाई लिन मुल बाटोमा आउँदा स्थानीय जस्तै हाउभाव प्रकट गरि रहेका विष्णुले भने।
जे होस् शरियत कानून भएको दोहामा पनि मदिरा बगेको देख्दा अर्को अनुमान पनि गलत सावित भयो। नेपालीले पाएको दुख चाही हामीले अनुमान गरेभन्दा बढी नै थियो।
प्रकाशित: ५ भाद्र २०६७ ००:२० शनिबार