सिस्नेखोलाको सुरुङमार्गतर्फ गाडी मोडिँदा मन एकाएक अचम्मको अनुभूति बोकेर पुलकित भएको थियो। यो बाटो, जसले वर्षौंदेखि हामीलाई नागढुंगा पार गर्दा अनेक पीडा सहन बाध्य बनाएको थियो। यही बाटो आज नयाँ आकारमा, नयाँ सुरुङमार्गमा परिणत भएको देख्दा आँखा रसाएझैं लाग्यो। सुरुङको त्यो साँघुरो मुखबाट गाडी छिर्दा मनभित्र विगतका ती सबै यादहरू ताजा भएर आए।

कहिल्यै नबिर्सिने नागढुंगाको त्यो जाम!
ती बिहान ६ देखि बेलुका ४ बजेसम्म लस्करै उभिएका ट्रकहरू। ट्राफिक प्रहरीको निराश अनुहार। थाकेर बसेका यात्रुहरू। कतिले त जाममै बिरामी भई अस्पताल नपुग्दै ज्यान गुमाएका घटनाहरू। मनमा ती कुराहरू घुम्न थाले। ती हरेक घण्टाको पीडा, पेटमा तातिएको भोक, बालकको रोइरहेको स्वर, बुढाबूढीको अप्ठ्यारो अनुहार सबै सम्झँदा लाग्यो हो आज हामीले एउटा युग पार गरेका छौँ।
जब सुरुङमार्गको प्रवेशद्वारबाट सवारीसाधन भित्रिन्छन् तब मलाई लाग्छ हामी केवल बाटो होइन भविष्यको दिशातिर अघि बढिरहेका छौँ।
सुरुङभित्र झिलिमिली बत्तीहरू टल्किरहेका छन्। सिसिटिभी, टेलिफोन बुथ, रेस्क्यु टनेलजस्ता व्यवस्था देख्दा मलाई लाग्छ, अब यो सडक मात्र होइन सुरक्षा र मानवीय संवेदनाको मार्ग पनि हो।

गाडी अघि बढिरहँदा विगतको थकाइ बिस्तारै बग्दै गएको महसुस भयो। अघिल्लो वर्षको दशैंमा एक जनाले सिस्ने खोलामा ८ घण्टा बसेर जाम सहनु परेको कथा सम्झिएँ। त्यो दिन उनको बच्चा अस्वस्थ थियो। अनि उनी आफैँ धैर्य गुमाएर रुन थालेका थिए। अनि त्यही सिस्ने खोलाबाट आज १० मिनेटमै पार हुँदा लाग्यो सपनाले साँचै बाटो पाउँदो रहेछ।
फ्लाइओभर, ओभरपास, अन्डरपास र तीनवटा नयाँ पुलहरूसँगै यो सुरुङमार्ग अब केवल यात्रा नभइ अनुभूतिको पुल बनेको छ।
आज लाग्छ १६ अर्बको ऋण र ९ अर्बको सरकारको लगानीले केवल संरचना बनाएन जनताको जीन्दगीमा आशाको ढोका समेत खोलिदिएको छ।
अहिले सडक विभाग टेन्डरमार्फत निजी कम्पनीलाई सञ्चालन जिम्मा दिने तयारीमा छ, केही शुल्क त लाग्ला तर त्यो शुल्क त्यो जाममा गुमाएका घण्टासँग तुलना गर्दा केही पनि होइन।

अब केटाकेटीहरू स्कूलमा ढिला हुने छैनन्। बिरामी अस्पताल पुग्न नसकेर बाटोमै ज्यान गुमाउने छैनन्। मजदुरहरू काममा ढिलो पुगेर तलब काटिने पीडाबाट मुक्त हुने छन्।
सुरुङ पार गरेपछि जुन क्षण खुला आकास देखियो, त्यो क्षण मेरो मनभित्र उज्यालो फाटेको महसुस भयो।
अँध्यारो सुरुङबाट निस्कँदै गर्दा केवल गाडी बाहिर निस्किएन हामी सबैले विगतका पीडाहरू छाडेर उज्यालो भविष्यतर्फ पाइला राख्यौँ। यही हो विकासको अर्थ। जहाँ बाटाहरू खुल्छन्, त्यहीं आशा पलाउँछन्। यही सुरुङ अब नेपालका धेरै सपनाहरूको प्रवेशद्वार हो।
अब ‘नो जाम’ को युग सुरु भएको छ।
प्रकाशित: १५ असार २०८२ ११:२८ आइतबार