अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीहरूले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा, बन्दरगाह पूर्वाधार तथा ऊर्जा सुरक्षासम्बन्धी नयाँ संयुक्त पहल सार्वजनिक गर्दै क्वाड सहकार्यलाई थप सुदृढ बनाउने घोषणा गरेका छन्।
भारतको राजधानी नयाँदिल्लीमा आयोजित उच्चस्तरीय बैठकमा भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्कर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगी तथा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ सहभागी थिए। बैठकपछि चारै देशले क्षेत्रीय स्थिरता, आपूर्ति शृङ्खला र रणनीतिक सहकार्यलाई प्राथमिकतामा राख्दै साझा कार्यक्रम अघि बढाउने सहमति जनाएको जानकारी दिए।
बैठकपछि अमेरिकी विदेशमन्त्री रुबियोले ‘इन्डो–प्यासिफिक समुद्री निगरानी पहल’ घोषणा गर्दै चार देशबीच निगरानी क्षमताको एकीकरण तथा वास्तविक–समय सूचना आदान–प्रदानलाई थप सुदृढ पारिने बताए। साथै, प्रशान्त टापु राष्ट्र फिजीसँग सहकार्य गर्दै बन्दरगाह पूर्वाधार स्तरोन्नतिसम्बन्धी पहिलो संयुक्त क्षेत्रीय परियोजना अघि बढाइने बताए।
ऊर्जा आपूर्ति प्रणालीलाई सुरक्षित र स्थिर बनाउने उद्देश्यसहित ‘इन्डो–प्यासिफिक ऊर्जा सुरक्षा पहल’ समेत सुरु गरिएको छ। अमेरिकी पक्षले यसै वर्ष ‘क्वाड इन्धन सुरक्षा फोरम’ आयोजना गर्ने तयारी गरिरहेको रुबियोले बताए। उनका अनुसार क्वाड साझेदारी अमेरिकी विदेश नीतिको महत्त्वपूर्ण आधार बनेको छ र यसलाई अझ परिणाममुखी बनाउने लक्ष्य राखिएको छ।
क्वाड समूह अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाबीचको रणनीतिक सहकार्य संरचना हो। यसले समुद्री सुरक्षा, आपूर्ति शृङ्खला तथा क्षेत्रीय रणनीतिक सन्तुलनमा सहकार्य गर्दै आएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा चीनले आफ्नो सैन्य तथा आर्थिक प्रभाव विस्तार गरिरहेकै सन्दर्भमा समूहको सक्रियता पछिल्ला वर्षहरूमा बढ्दै गएको विश्लेषण गरिएको छ।
समूहले दक्षिण चीन सागरमा चीनको सैन्य गतिविधि र क्षेत्रीय दाबीप्रति चिन्ता व्यक्त गर्दै आएको छ। तर चीनले भने आफ्ना गतिविधिलाई रक्षात्मक तथा सार्वभौमिक अधिकारको संरक्षणका रूपमा व्याख्या गर्दै क्वाडलाई आफ्नो प्रभाव नियन्त्रण गर्ने प्रयासका रूपमा आलोचना गर्दै आएको छ। यो बैठक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणपछि केही दिनमै भएको हो।
भारतका विदेशमन्त्री जयशङ्करले बैठकलाई ‘उच्च मूल्यको अभ्यास’ को संज्ञा दिँदै क्षेत्रीय समुद्री व्यापार, ऊर्जा, मल आपूर्ति तथा महत्त्वपूर्ण खनिजका विषयमा गहिरो छलफल भएको बताए। बैठकमा इरानसँग सम्बन्धित द्वन्द्व तथा हर्मुज जलघाँटी हुँदै हुने ऊर्जा आपूर्तिमा देखिएको अवरोधबारे समेत छलफल भएको छ।
अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो आर्थिक तथा रणनीतिक दबाबप्रति चिन्ता व्यक्त गर्दै कुनै पनि अवरोध वा शुल्क प्रणालीले क्षेत्रीय ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिए।
उनले क्वाडलाई स्वतन्त्र, खुला र नियम–आधारित इन्डो–प्यासिफिक निर्माण गर्ने साझा प्रतिबद्धता भएको संरचना भन्दै चार राष्ट्रबीच बढ्दो रणनीतिक समन्वयले क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे।
प्रकाशित: १२ जेष्ठ २०८३ १५:४७ मंगलबार





