आज शतवीज छर्ने दिन। हजारौंले शिवालय मन्दिर परिसरमा बसेर दिप बाले र उज्यालो भएपछि शतवीज छरे। दीप बाल्दा र शतवीज छर्दा दिवंगत आत्माले मुक्ति पाओस्, पितृलोक झलमल्ल होस्, पितृहरूको उद्धार होस् र कहिल्यै भोको बस्नु नपरोस् भन्ने गरिन्छ। यही विश्वासका साथ रातभर दीप बाली बिहान घरनजिकैको त्रिवेणीघाटस्थित शिवालयमा शतबीज छर्दै आमाको सम्झनामा यी शब्द समर्पण गरें।
यति निष्ठुरी खबर नआउनुपर्ने थियो, आयो। आएरै छाड्यो। नआओस् भन्ने लागिरहन्थ्यो। केही घन्टा होइन, केही दिन होइन, केही हप्ता पनि होइन, महिनौंदेखि नै यस्तो खबर नआओस् भन्ने पक्षमै थिएँ।
यसअघि दुईपटक यस्तो खबर आएको थियो– आमालाई ठाउँ सारिएको छ, घर आउँदा हुन्छ। यसपटक आमालाई गाह्रो भएको र ठाउँ सारिएको खबर आएन। १८ असोज २०८० को राति ९ः३० बजे अन्तिमपटक एउटै खबर आयो, जुन कहिल्यै नआएको र अब पनि नआउने त्यो खबर भतिज नमराजले फोनबाट सुनायो–अंकल, ९ः२४ मा हजुरआमाले देह छाड्नुभयो।
एक्कासि आएको यो दुःखद् खबरले म असंयमित भएँ। केही बेरपछि सम्हालिएर आँखा बन्द गरें र दुवै हात छातीमा राखेर मनमनै भनें– आमा, अल बिदा ! तपाईंको वैकुण्ठ वास होस् !
‘दाइ, खबर राम्रो छैन। अब घर जाने तरखर गर्नुपर्छ। केमा जाने ?’, माधव भाइ (काकाको छोरा) को फोन आयो। ऊ पनि केही दिनअघि काठमाडौं आएको रहेछ।
‘सम्भव भए त मोटरसाइकलमा जाँदा छिटो होला कि ?’, मैले यति मात्र भन्न सकें।
कुराकानी भएको २० मिनेटपछि सुजन भान्जा बाइक लिएर आइपुगे। भतिज सन्तोषसहित हामी काठमाडौंबाट हिँड्यौं। सडकमा पातलै सवारी साधन गुडिरहेका थिए। वातावरण त्यति चिसिएको थिएन। यात्राभर मौनजस्तै रहन पुगें म। मनमा कुनै विचार थिएन। केही सोच्न पनि सकिएन। होसमै छु तर केही थाहा नभएजस्तो हुन पुगेको थिएँ।
घर पुग्दा रातको एक बजेको थियो। आमाको शवलाई तुलसीको मठनजिकै सुताइएको रहेछ। छोपिएको कपडा हटाएर आमाको मुहार हेरें–हँसिलो र उज्यालो थियो। उनको ओठ बन्द थियो। आँखा बन्द थिए। लाग्थ्यो, आमा मस्त निदाइरहेकी छन्।
मिर्मिरे धरणीतलमा ओर्लियो। गोरे काकाले बोलाए– भतिज, अब कपाल खौरिनुपर्छ, धारामा कपाल भिजाएर आइज। कपाल खौरिएपछि नुहाएँ। लगाउने कपडा भनेर सेतो लगौटी र कछाड दिए। उता घर पुग्दा आमाको शवलाई घारमाथि राखेर बाँधिरहेका थिए मलामी।
बा, दिदी र दुवै भाउजूले धूपबत्ती लिएर शववरिपरि तीनपटक परिक्रमा गरे। पुरेतको निर्देशनअनुसार शवमुनि र शव राखिएको खाली ठाउँमा गोबरले पोतें। कुस, तिल र जौ एकपटक र अर्कोपटक चामल र दूध अर्पण गरेपछि शवयात्रा सुरु भयो।
बीच बाटोमा पुगेपछि ठुल्दाइले आमाको शव बोके। माइल्दाइ कार्यस्थल म्याग्दीको बेनीबाट हिँडे पनि घर आइपुगेका थिएनन्। मैले पनि आमाको शव बोकें। हरे ! जुन आमाले जन्म दिइन् र हुर्काइन्, आज उनैको शव बोक्नुपर्यो !
त्रिवेणी घाट पुगेर शवयात्रा टुंगियो। मलामी लास जलाउने ठाउँ बनाउन लागे। उनीहरूले आमाको शवलाई चितामा राखे। मैले दागबत्ती दिएँ। हेर्दाहेर्दै चिताबाट आगोको ज्वाला दन्कियो। जन्म दिने आमालाई जलाएको हेर्नुपर्यो। जलेको ठाउँमा खरानी बाँकी थियो, त्यो पनि पानीले बगाइदिए। आमा शारीरिक रुपमा सदाका निम्ति विलय भइन्।
हामीलाई जन्म दिने आमालाई जसले जन्मायो, हुर्कायो, बढायो र अन्त्यमा बिलय गरायो; जसले बाल, युवा, बूढो र रोगी बनायो; जसले श्वास वा प्राण छुटाएर शरीर छाडिदियो; उसले कसैलाई बाँकी राखेको छैन र छुट दिएको पनि छैन। क्षणक्षण परिवर्तन गरिरहेको छ। सबैले एउटा कुरा थाहा पाइराखौं-हामी उसकै अघिपछि जीवन यात्रा गरिरहेका छौं।
दाह संस्कार सम्पन्न गरी हामी घर फर्कियौं।
हामी घर पुग्दा अरु सबै थिए, तर आमा थिइनन्। आमा फ्रेमभित्र तस्बिरमा देखिइन्। क्यामराले खिचेको त्यस तस्बिरमा आमाको प्राण थिएन। मलाई लाग्यो– जलिजाने शव, फुटिजाने फ्रेम र च्यातिइजाने तस्बिर एकै हुन्। अरुलाई देखाउन र आफूलाई चित्त बुझाउनका लागि मात्र रहेछ फ्रेम र तस्बिर।
त्यही फ्रेम राखिएको थियो हामीलाई राखिएको कोठामा र पुराण वाचनस्थलमा। अघिल्लो दिनसम्म आमा जुन कोठामा सुत्नुभएको थियो, दोस्रो दिनदेखि हामी त्यही कोठामा किरिया कर्म गरिरहेका थियौं। त्यसै दिनदेखि सुरु भएको भेटघाटको क्रम दशौं दिनसम्म जारी रह्यो।
भेटघाटका लागि पूर्वसभामुख अग्निप्रसाद सापकोटा आए, सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद माधव सापकोटा र प्रदेश सांसद सरल सहयात्री आए, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा वडाध्यक्ष पनि आए। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सभापति जीवन श्रेष्ठ र सचिव विदुर आचार्यहरू आए।
यसैगरी सापकोटा कल्याण केन्द्र देवघाटधाम तनहुँका अध्यक्ष डा. कविन्द्रप्रसाद, बागमती प्रदेशका सभापति हरिराम, सिन्धुपाल्चोक जिल्ला सभापति नवराज, चौतारा साँगाचोकगढी नगरपालिका सभापति रुद्रप्रसाद, बाह्रबिसे नगरपालिका सभापति खिकाप्रसाद, मेलम्ची नगरपालिका सभापति ज्ञानचन्द्रहरू आए। श्रद्धाञ्जली कार्यक्रम गरी समवेदना प्रकट गरे।
टाढाको कुरा गर्दा सुनसरीबाट साँहिला हजुरबाका नाति सञ्जीवका दम्पती आए। नजिकका दाजुभाइ, बन्धुबान्धव, छरछिमेक, आफन्त, नाता र इष्टमित्र सबै आए। तेह्रौं दिनसम्म आएर हामीलाई आत्मबल दिए, सान्त्वना दिए र भरोसा दिए।
यतिबेला आत्मबल धेरै खस्किँदो रहेछ। खस्केको मनमा मलम लगाउन भेटघाटको व्यवस्था गरिएको हो भन्ने मेरो बलियो ठम्याइ रह्यो। यसले आत्मबल बढाउन होस्टेमा हैंसे गर्यो। यो सदासयता, यो सान्त्वना र यो सद्भावप्रति हामीले सबै आगन्तुकप्रति हार्दिक आभार प्रकट गर्यौं।
पाँचौं दिनदेखि दशौं दिनसम्म पण्डितबाट पुराण पारायण भयो। एघारौं दिन खोलामा, बाह्रौं दिन घरैमा श्राद्ध कार्य भए। तेह्रौं दिन आँगनमा चारजना पण्डितबाट वेद पारायण भयो। हामीलाई राखिएको कोठामा होम कार्य गरियो। मध्यान्ह ढल्किँदै थियो, तेह्रौं दिनको पुण्यतिथि पनि समापन भयो।
किरिया कर्म पनि सकियो। जनजीवन अघिपछि झैं चल्न थाल्यो। समयको आफ्नै गति छ। रात र दिन उस्तै छन्। सूर्यको बिहान उदाउने र साँझ अस्ताउने क्रम उस्तै छ। मानिसका रहनसहन, आनीबानी, व्यवहार र बोलीवचन उस्तै छ। जीवन जिउने कला उस्तै छ। फरक एउटै थियो– म रन्थनिएको थिएँ मातृ वियोगको झट्काले।
घरमा भैंसी, गाई, बाख्रा, कुखुरा पाल्ने चलन थियो, अहिले पनि छ। भैंसीका पाडा, गाईका बाच्छा र बाख्राका पाठा जन्मिन्थे। हुर्कदै गएका बाच्छा र पाठाका माउलाई बूढा भए भनेर बाले पालैपालो बेचिदिनुहुन्थ्यो। ती बाच्छा र पाठा माउको खोजीमा केही दिन कराइरहन्थे। केही हप्ता म माउ छुटेको तिनै बाच्छा र पाठाजस्तै भएँ।
आमा छुटेको मन धेरै दिनसम्म रोयो, आमाको शवलाई त्रिवेणी घाट लैजान तरखर गर्दा रोयो, शवपछाडि हिँडिरहँदा रोइरह्यो, दागबत्ती दिएपछि रोयो, डाँको छाडेर रोयो र शव जलाएको ठाउँमा हेरेर रोयो। सम्हालिन खोज्दाखोज्दै पनि रोइरह्यो।
सप्तमीमा मासिक तिथि सम्पन्न गरेर अष्टमीका दिन काठमाडौं फर्किएँ। बस गुडिरहेको थियो, बसका यात्री चढ्ने र ओर्लने क्रम चलिरहेको थियो। मातृ वियोगले मेरो मन टोलाइरह्यो, रोइरह्यो र भक्कानिरह्यो।
पछिल्ला वर्षहरूमा आमालाई रोगले च्याप्दै ल्यायो। एक वर्षदेखि आमा ओछ्यानमै बसेर खाना खाँदै आइरहनुभएको थियो। गत वैशाखमा धुलिखेल अस्पतालबाट उपचार गरेर घर गएपछि आमा थला परेजस्तै भइन्। माइली भाउजू ओछ्यानमै बसेर खाना ख्वाइदिन्थिन्। दिसापिसाब गराइदिन्थिन्। आमाको त्यो अवस्था देख्दा पिर र चिन्ता लागिरहन्थ्यो, तर म रन्थनिएको थिइनँ।
आधा शताब्दी उमेर पार गरिसकेपछि सोच्थें– म बाआमाको कान्छो सन्तान। यो उमेरमा पनि बाआमा पाउने कति भाग्यमानी म ! दाजुभाउजू छन्, दिदी छिन्। सबैबाट वात्सल्य पाइरहेजस्तो लाग्थ्यो। असोज १६ गते हरिराम दाइ (सापकोटा कल्याण केन्द्र बागमती प्रदेश सभापति) ले फोन गरेर यो उमेरमा पनि बाआमा पाउने तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ भनेका थिए। दुई दिनपछि नै मेरो त्यो भाग्य नियतिले खोसिदियो।
आमासँगको सम्बन्ध गर्भदेखिकै थियो। जन्मिएपछि हामीलाई उनैले स्याहार–सुसार गरिन् र हुर्काइन्। आमालाई छोराछोरी आफूवरिपरि भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। छोराछोरीलाई पनि आमासँगै रहँदा बढी रमाइलो लाग्थ्यो। आमासँग नजिक हुने र रमाउने जुन बानी छ, त्यो अझै मेटिएको छैन।
आमाका ६ सन्तान थिए। पहिलो सन्तान छोरीको सानैमा निधन भएछ। सबैभन्दा कान्छो सन्तान छोराको दुई वर्षको उमेरमा दादुरा रोगले निधन भएछ। ठुल्दाइ, माइल्दाइ, दिदी र मसहित चारजना छौं। हामी उनलाई बोलाइरहन्थ्यौं, ‘ए आमा !’
‘हइ !’, आमा भन्थिन्।
बिहान उठेदेखि सुत्ने बेलासम्म जहिले बोलाउँदा पनि आमा हइ भन्थिन्। असोज ६ गते घर गएको थिएँ। त्यो दिन बोलाउँदा पनि आमाले हइ भनिन्। जब आमा हइ भन्थिन्, त्यो त प्रेम, शीतल र आनन्द बोकेर हामीसम्म आउँदो रहेछ। शरीरका रोमरोममा प्रवेश गर्दो रहेछ। त्यसले नै सन्तति आमाकै वरिपरि झुम्मिँदा रहेछन् र आमाका निम्ति प्यारा र सानै हुँदा रहेछन्।
हामी सानै थियौं। आमा दिउँसो मेलापात र बिहान घाँसदाउरा काट्न खेत, बारी र पाखातिर जान्थिन्। डोकाभरि गाईभैंसीका लागि घाँस र डोकामाथि बाख्राका लागि डाले घाँस हालेर ल्याउँथिन्। वन, पाखा र खेतबारीका कान्लामा मौसमअनुसारका फल फल्थे– अमला, बयर, ऐसेलु, चुत्रो, जामुनु, खनायो, गेडुल्लो आदि। ती फल पोल्टामा हालेर ल्याउँथिन् आमा। हामी बाँडीचुँडी खान्थ्यौं।
एसएलसी (अहिले एसईई) सम्मको पढाइ पूरा गरेपछि क्याम्पस पढ्न काठमाडौं आएँ। केही वर्षपछि पढाइसँगसँगै रोजगारी सुरु गरें। व्यावहारिक जीवन यतै जम्यो, तर म चाडपर्व र अन्य समयमा घर जान छाडिनँ।
जहाँ बा–आमा छन्, त्यही नै मेरो घर हो, त्यही नै जन्मस्थल हो र पवित्र तीर्थस्थल भन्ने भाव साँचिरहें। जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा भन्छन्– आमा तीर्थहरूकी पनि तीर्थ हुन्। स्पष्ट भन्दा आमा र प्रेम पर्यायवाची हुन्।
आमा, बा र जन्मिएको ठाउँ मन पर्नु, त्यहीँ मात्र मन रमाउनु र त्यहाँ पुगेपछि आनन्द लाग्नुको एउटै कारण रहेछ– आमाको वात्सल्य प्रेम। त्यही प्रेमले मानिस टाढा भए पनि मन जन्मिएको ठाउँमा पुगिरहेको हुन्छ, रमाइरहेको हुन्छ। त्यो पनि प्रेमले नै सम्भव भएको हो।
अब्राहम लिंकनले भनेका छन्– जो व्यक्तिसँग भगवान्सरह आमा छिन्, ऊ नै धनी हो। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनले भनेका छन्– मैले जीवनमा जति पनि सफलता हासिल गरें, ती सबैको कारण आमाले दिएको नैतिक, बौद्धिक र शारीरिक शिक्षा हो। राजनीतिज्ञ डा. बाबुराम भट्टराई भन्छन्– जन्म दिने आमाभन्दा ठूलो पहिचान र प्रमाण अरू के हुन सक्छ र ?
रूसी लेखक म्याक्सिम गोर्कीले आमा उपन्यास लेखेका छन्। कृष्णप्रसाद भट्टराईले आमा कविता लेखे। ‘कुनै स्वर्ग चाहिँदैन आमा सँगै भएपछि...’, ‘आमाभन्दा राम्री कोही छैन संसारमा...’ गीत लेखेका छन्। यसरी आमालाई सयौंले लेखेका छन्, हजारौंले गाएका छन् र करोडौंले बोलेका छन्, त्यो एउटै कारण प्रेमले हो।
योगीहरूले भनेका छन्- ईश्वरले परोक्ष रुपमा सारा जगत्लाई प्रेम गरिरहेको हुन्छ तर आमा प्रत्यक्ष रुपमा प्रेम गर्छिन्। आमा ईश्वरका विशेष दूत हुन्, प्रतिनिधि हुन् र पर्याय हुन्। आमासमान अर्को देवता नै छैन।
प्रत्येक प्राणीलाई प्रेम गर्न सिकाउनका लागि ईश्वरले आमाका रुपमा जन्म लिएका छन्। सन्ततिका जन्मकर्ता र पालनकर्ता आमा ब्रह्मा हुन् र विष्णु पनि हुन्। छोराछोरी आमाका अंश हुन्। बाँचुञ्जेल आमाबाट पाइरहने प्रेम नै रहेछ।
यो संसारमा छोराछोरीलाई अगाध प्रेम गर्ने आमा हुन्। यसैले आमा प्रेम गंगा हुन्। त्यही गंगाले छोराछोरीलाई नुहाइदिन्छिन् र धोइदिन्छिन्। प्रेमले न्यानो पारी सुताइदिन्छिन्। प्रेमले खुवाइदिन्छिन्। प्रेमले बोलाउँछिन् र बोल्न सिकाउँछिन्। प्रेमले फकाउँछिन्। प्रेमले हँसाउँछिन्। प्रेमले सुमसम्याउँछिन्। प्रेमले तेते लगाइदिन्छिन्। यस आधारमा सन्तति आमाका अंग हुन्। आमाको अंश हो प्रेम। आमाको अंग हो प्रेम। आमा प्रेमकी पुञ्ज हुन्।
आमा प्रेमले नै छोराछोरीलाई धरतीमा पाइला टेक्न सिकाइदिन्छिन्। प्रेमले यो जगत् चिनाइदिन्छिन्। ठूलालाई आदर गर्न सानालाई माया गर्न पनि आमाबाटै सिकेका हुन्छन् छोराछोरीले। हामीले जेजति सिक्यौं, ती सबै आमाबाटै सिकेका हौं। प्रेम गर्न पनि आमाबाटै सिकेका हौं। यसर्थ आमा गुरु हुन् र छोराछोरी उनका शिष्य हुन्।
प्रेम कसलाई मन पर्दैन र ? सबैलाई मन पर्छ। आफू, घरपरिवार, छिमेक, इष्टमित्र, समाज, देश र विश्व ब्रह्माण्डलाई जोड्ने पनि प्रेम हो। कतिपय परिवार असाध्यै मिलेको देखिनुमा प्रेमको ठूलो भूमिका हुन्छ।
जो कोही मानिसमा मिलनसार, शालीन, भद्र, शिष्ट, सभ्य, दयालु, सहृदयी, सेवाभाव, करुणाभाव छ भने त्यो प्रेमबाट मात्रै प्राप्त हुन्छ। आमाका बारेमा पूर्वसभामुख सापकोटा भन्छन्-भाउजू शालीन, संयमी र भद्र हुनुहुन्थ्यो। आमासँग रहेका यी गुण प्रेमबाटै प्राीत भएका हुन्।
जीवन विकास विशेषज्ञ रमेश नेपाल भन्छन्– प्रेमले कहिल्यै अहित गर्दैन।’ त्यही अगाध प्रेमका कारण हरेक आमाले छोराछोरीको अहित चिताउने काम कहिल्यै गरेनन्। योगीहरूले सबै प्राणीप्रति दया, करुणा र सेवाभाव राख्नुमा प्रेम नै एउटै कारण हो। उनीहरू भन्छन्– मेरो परिचय मलामीले बोकेको लाससँगै सकिनु हुँदैन, मर्नुअगाडि नै ध्यान साधनाद्वारा जीवनलाई झलमल्ल पार्नुपर्छ। आफूलाई चिनेर मात्र मर्नुपर्छ।
जीवन विकास विशेषज्ञ शर्मा लेख्छन्, ‘आमा प्रेमको पहिलो गुरु हुन्। ईश्वरले आमामार्फत सबैलाई प्रेमको तालिम दिइरहेको छ। मैले आमाका रुपमा परमात्माको ठूलो आशिष पाएको छु। मैले जेजति जानें या सिकें, ती सबै आमाबाटै पाएको हुँ। आमा शब्दको वरिपरि मेरो जीवन बनेको छ। हिमालय झैं अटल, समुद्र झैं गहिरो र अमृत झैं मधुर आमाका ममता, स्नेह र मायाको सागरमा चुर्लुम्म डुब्न पाउनु ठूलो भाग्य के होला र ?’
बालयोगी आदित्य दाहाल लेख्छन्-सुन्दर स्वर्गको अनुभूति मृत्युपश्चात् होइन, जन्मनेबित्तिकै जननीको ममतामयी कोमल काखमा नै अनुभव गर्न सकिन्छ। त्यसैले आफ्नो स्वर्गको सम्मान गरौं। उनीबाटै प्राप्त जीवनको उनकै खुसीमा समर्पण गरौं।
प्रकाशित: २५ मंसिर २०८० ०२:२२ सोमबार