१७ फाल्गुन २०८० बिहीबार
ब्लग

आँखा अगाडी लोभलाग्दा 'हिमाल'

मेरो नाम तायामा राई हो। म दश वर्षकी भए। म ओएसिस इंग्लिस स्कुलमा कक्षा पाँचमा पढ्दै छु। यसपाली दसैँ मैले फरक तरिकाले मनाए। यो पटक म विदामा गाउँ गइन्। छेमा (सानिमा) र मामासँग मार्दि ट्रेक गए।  

गत चैत्रमा म मामाघर जाँदा छेमा अन्नपूर्ण बेस क्याम्पको ट्रेक सकाएर घर आउनुभएको थियो। त्यसबेला छेमाले एबिसी ट्रेकको कुरा सुनाउँदै गर्दा हिउँको कुरा पनि गर्नुभयो, त्यसपछि मलाई पनि ट्रेक जान असाध्यै मन लाग्यो। र, मैले छेमालाई आफू पनि ट्रेक जाने मन छ भने। त्यसपछि छेमाले दसैँको छुट्टीमा जाने भनेकोले यस पटकको दसैँमा गाउँ नगई म, छेमा र मामा मार्दि ट्रेक गयौँ।  

हामि कात्तिक २ गते साँझ काठमाडौँबाट टुरिष्ट बसमा पोखरा गयौँ। पोखराको पृथ्वी चोकमा बिहान ४ बजेतिर पुगेका थियौँ। त्यसपछि फेरि लोकल बसमा चढेर काँढे भन्ने ठाउँ पुग्यौँ। साढे ६ बजेतिर हामी काँढे पुगिसकेका थियौँ। त्यसपछि काँढेमा फ्रेस भएर खाजा खायौँ। काँढेबाट चाही सबै यात्रा हिँडनु पर्ने रहेछ। छेमालाई ट्रेकको बाटो थाहाँ थियो तर म र मामालाई भने थाहा थिएन। काँढेमा खाजा खाइओरी ८ बजे तिर गन्तव्यतर्फ हिँड्यौ।

काँढेबाट अष्ट्रेलियन बेस क्याक्प हिड्नु पर्ने रहेछ। अष्ट्रेलियन बेस क्याम्पसम्म पुरै सिढी भएको उकालो थियो। उकालो चढ्दा खुट्टा धेरै गल्यो, घाम पनि चर्को लागेको थियो।  सुरुमै उकालो चढ्नु पर्दा नआएको भए पनि हुने जस्तो लाग्न थाल्यो। तर मैले हार मानिन्, सरासर हिँडे र क्याम्पसम्म पुगे। म जस्तै मामा पनि गल्नुभयो। तर छेमाचाही मजाले हिँडिरहनु भएको थियो।

अष्ट्रेलियन बेस क्याम्प पुगेपछि हामीले एकछिन थकाई मार्‍यौँ। त्यही बेला फोटो र भिडियो पनि खिच्यौँ। त्यहाँबाट अलिअलि हिमाल पनि देखिने रहेछ। मलाई हिमाल देखेर साह्रै रमाइलो लाग्यो। त्यहाँ फूलहरू फुलेका थिए। सानो र चिटिक्क परेका राम्रा घरहरू थिए। दसैँको बेला भएर होला होटलमा पिङ पनि थियो। एकछिन त्यहाँ थकाई मारेर हामी त्यहाँबाट अघि बढ्यौँ।

अष्ट्रेलियन बेस क्याम्प पछि हामी पोथान भन्ने ठाउँ पुग्यौँ। पोथानको इन्ट्री पोइन्ट पुग्न हामीलाई १०/१५ मिनेट मात्र लाग्यो। त्यसपछि भने हामी अन्नपूर्ण कन्र्जभेसन एरियाको चेक पोइन्टमा पुग्यौँ। अष्ट्रेलियन बेस क्याम्पदेखि पोथानसम्मको बाटो सजिलो थियो। उकालो र ओरालो त्यति धेरै थिएन।

चेक पोइन्टमा नाम इन्ट्री गर्नु पर्ने रैछ। मामाले हामी सबैको नाम दिनुभयो। त्यस ठाँउमा एक्यापले सबै ट्रेक जानेको नाम इन्ट्री गर्ने रहेछ। मैले यो पहिलो पटक थाहा पाए की कुनै पनि ट्रेक जाँदा नाम इन्ट्री गर्नु पर्ने रहेछ। यसले हामी कहाँ पुग्यौ भनेर थाहा पाउने र ट्रेक गर्दा कोही मान्छे हराएमा पनि थाहाँ पाउन सजिलो हुने रहेछ।  

पोथानदेखि अलि माथि गएर हामि बिसायौँ। दिउँसोको १२ बज्न लागेको थियो। भोक पनि लागेको थियो। त्यहाँ हामीले खाजा खायौँ। खाजामा कफि, विस्कुट, काजु र लाखामरी खायौँ। सबै खानेकुरा हामी आफैँले लगेका थियौँ। आफैँ लगेर खाँदा झनै मिठो लाग्यो। त्यसमाथि जति बेला भोक लाग्थ्यो त्यति बेला खान पाइन्थ्यो। खानेकुरा खाई एकछिन बिसाएर हामी हिँड्यौ।  

पेट अघाएर होला हिँड्दा पनि मज्जाले हिँड्यौँ। बाटो पनि सजिलो नै थियो। पोथान पछि पित्ताम देउराली आउने रहेछ। पित्ताम देउरालीबाट हामी एक घण्टा जस्तो हिँड्यौँ। सानो – सानो उकालो हिँडनु पर्ने रहेछ। त्यती गाह्रोे थिएन्। मैले त्यहाँ एउटा कुरा नोटिस गरे। हिँड्ने बाटो र रुखमा सेतो र निलो रंग र रुखमा रिबन पनि बाँधेको थियो। त्यो चाही एक्यापले ट्रेकमा आएका मानिसलाई बाटो चिन्न सजिलो होस भनेर राखेको चिन्ह रहेछ। यो कुरा मैले छेमाबाट थाहा पाए। दुई वटा बाटो आउँदा मानिसलाई दोधार नहुने रहेछ। मान्छेले त्यो चिन्हले ट्रेकको बाटो सजिलै चिन्ने रहेछ।  

पित्ताम देउराली, पोखरी हुँदै हामि फरेस्ट क्याम्प पुग्यौ। फरेष्ट क्याम्प पुग्न हामीलाई २/३ घण्टाभन्दा बढी लाग्यो। त्यसैबीचमा चाइनिज र नेपालीहरूको समूह भेट्यौँ। चाइनिजहरूले मलाई मुन केक पनी दिए। म सानो भएकोले मलाई बाटोमा भेट्ने सबैजनाले माया गर्नुभयो। अनि प्रशंसा पनि गर्नुभयो। पोखारी भन्ने ठाउँमा त मलाई एक जना होटलको दाईले मकै पनि दिनुभयो। 

फरेष्ट क्याम्पमा आइपुग्दा ४ बजिसकेको थियो। त्यसपछि १ घण्टा जति हिँडेर रेष्ट क्याम्प पुग्यौ र पहिलो रात त्यही बास बस्यौँ।  

ट्रेकको दोस्रो दिन हामी बिहान खाजा खाएर ८ बजेतिर हिँड्यौँ। उकालो हिँडनु पर्नेथियो। तर, हिँडनु रमाइलो नै थियो। जंगलको बाटो भएर त्यती गर्मी थिएन र धेरै उकालो पनि थिएन्। रेष्ट क्याम्पबाट एक घण्टामै हामी लो क्याम्प पुग्यौँ। मलाई लो क्यम्प एकदमै मन पर्‍यो। त्यहाँबाट माछापुछ्रे हिमाल राम्रो देखिएको थियो। मैले त्यहाँ डेनमार्कबाट आएको एकजना विदेशीसँग पनि कुरा गरे। उहाँले म ट्रेक आएको देखेर छक्क पर्दै मेरो नाम सोध्नुभयो। उहाँले पनि म ट्रेक आएकोमा प्रशंसा गर्नुभयो। अनी उहाँलाई त्यहाँबाट देखिएको दृश्य एकदम मन प¥र्यो रे। त्यसपछि हामी फेरि उकालो हिँड्यौ र बादलडाँडा पुग्यौँ। हामीलाई बादल डाँडा पुग्न आधा घण्टा जस्तो समय लागेको थियो।  

बादल डाँडा पनि एकदमै राम्रो थियो। त्यहाँबाट अर्को डाँडा र हिमालको एकदमै राम्रो दृश्य देखिने रहेछ। बादल डाडाँ पुगेर मलाई के लाग्यो भने जती माथि पुग्यो त्यती राम्रो दृश्य देखिने रहेछ। त्यहाँ धेरै पर्यटकहरु बसेर अर्को डाडाँको रमनिय दृश्य हेरिरहेका थिए। हामी पनि त्यहाँ निकै समय बसेर रमणिय दृश्य हेर्‍यौ। फोटो खिच्यौ, छेमाले भिडियोहरू लिनु भयो।  

बादल डाडाँपछि हामी हाई क्याम्पको लागि हिँड्यौ। बाटो सजिलो नै थियो। उकालो ओरालो धेरै थिएन्। बिचमा एक पटक पानि पर्‍यो। त्यती बेला एउटा चौतारामा बस्यौ। एकैछिन त्यहाँ बसेर हामी फेरी हिँड्यौँ। हामी सबै गफगर्दै हाँस्दै हिँडिराखेको थियौँ। अलि पर पुगेपछि एक जना दाईले हामीलाई क्याम्पमा कता बस्ने हो सोध्नुभयो। छेमाले होटल बुकिङ नगरेको भन्नुभयो। त्यसपछि उहाँले आफ्नो साथीको होटल छ जाने भए लगिदिन्छु भन्नु भयो र हामी उहाँसँगै गयाँ। बादल डाडाँको लास्ट पोइन्टदेखि हाई क्याम्पसम्मको बाटो एकदमै राम्रो थियो। सानो बाटो भएपनि सम्म परेको बाटो थियो। वरीपरीको दृश्य पनि एकदमै राम्रो थियो। हरियो चौरको सानो तर सुन्दर बाटो थियो। हामि २ बजेतिर नै हाइक्याम्प पुग्यौ।

हाईक्याप देखि माथि बस्ने ठाउँ रहेनछ। त्यो ठाउँ नै ट्रेकमा जाने मानिसहरू बस्ने अन्तिम ठाउँ रहेछ। हिमाली ठाउँमा नुहाउनका लागि तातो पानि किन्नु पर्ने रहेछ। हामिले तातोपानी किनेर नुहायौ। त्यसपछि छेमा आगो ताप्नुभयो  म र मामा घुम्न निस्कियौ हामिले अर्को होटलामा गएर चौरीको दुध खायौ। अनी मामासँग त्यहाँ वरिपरी घुम्यौ। एकछिन घुमेर हामि फेरी होटल फर्कियौ। होटलमा अरू पनि धेरै मानिसहरू थिए। हामीले होटलमा गित सुन्यौ, गफ गर्‍यौ, हास्यौ र धेरै रमाइलो गर्‍यो । ७ बजेतिर खाना खाएर हामि सुत्यौ।   

भोलिपल्ट विहान ३ बजे उठेर हामि भ्यू पोइन्ट गयौँ। भ्यू पोइन्ट जान हामिलाई २ घण्टा भन्दा अलि धेरै लाग्यो। र बाटो पनि एकदमै उकालो थियो। त्यहाँ हिँड्दा मलाई चिसोले टाउको पनि दुख्यो। मलाई टाउको दुखेको थाहा पाएर भ्यू पोइन्ट जादै गरेको एकजना जापानिज अंकलले औषधि दिनुभयो। औषधि खाएपछि भने मलाई सन्चो भयो।  

माथि भ्यू पोइन्टमा हामि ६ बजे तिर पुगेका थियौ होला। त्यहाँबाट धेरै हिमालहरू देखिएको थियो। माछापुछ्रे, हिमचुली, धौलागिरी, मार्दि, निलगिरी हिमालहरू आखाँ अगाडी नै देख्दा एकदमै रमाइलो लाग्यो। आखाँ अगाडी नै हिमाल हुदो रैछ। मैले कहिले त्यती नजिक हिमाल देखेको थिइन्। त्यहाँ विभिन्न देशका मानिसहरू हिमाल हेर्न आउने रहेछन्। हामिले बिहानको सुर्यदय पनि हेयौ। घामले पहेलो भएको हिमाल पनि देखे। त्यसपछि हिमालसँग फोटो खिच्यौ भिडीयो बनायौ र झर्‍यो।

हामिले लो क्याम्पमा खाजा खाएर त्यही दिन नै साझ पोखरा झ¥यौ। पोखराबाट माइक्रो चढेर राति नै काठमाडौ आइपुग्यौँ।  

मैले यस ट्रेकबाट धेरै कुरा सिके। कुनै पनि कुरा सुरूमै हार मान्नु हुदैन रहेछ। निरन्तर लागे गन्तव्यमा पुग्न सक्ने रहेछ। हिमालका मानिसहरू एकदमै दयालु हुने रहेछ। मलाई कति धेरै ठाउँमा दाई दिदिहरूले खानेकुरा दिनुभयो। यस्तै जति उचाँईमा पुग्यो त्यती राम्रो दृश्य देखीने रहेछ।  

म त्यत्ती धेरै जंगलको लामो बाटो कहिल्यै हिँडेको थिइन्। मलाई सुरूमा त्यस्तो धेरै हिड्छु जस्तो लागेको नै थिएन्। म हिँडेको देखेर आफै छक्क परे।  

अन्त्यमा,

मार्दी निकै रमाईलो थियो। हिमाल निकै राम्रा थिए। अग्ला थिए। तर तरभिन्दा पनि अग्ला मलाई छेमा र मामा लाग्यो। जसले मलाई यो सुन्दर ठाउँमा लगिदिए।  

प्रकाशित: २४ कार्तिक २०८० ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App