८ वैशाख २०८१ शनिबार
ब्लग

रास्वपा र रविलाई प्रश्न: भ्रष्टाचारका फाइल खोल्दा किन सरकारको साथ छाडेको?

केही दिन अघिमात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनलाइन टेलिभिजनसँग भनेका थिए, ‘हाम्रो प्रमुख मुद्दा भ्रष्टाचार निर्मूल पार्नु हो।’ यही मुद्दा रास्वपाले प्रमुख एजेण्डा बनाएर संघीय निर्वाचनमा सहभागी भयो। भ्रष्टाचारबाट थिलथिलो भएको समाज र पिरोलिएको मत पुराना दलको विकल्पमा रास्वपातिर खनियो। जसबाट रास्वपा अस्वभाविक शक्तिका रुपमा चौथो दल बन्यो।

अपेक्षाभन्दा बढी जनमत पाएपछि सरकारभन्दा बाहिर बस्दा जनताका काम गर्न नसकिने भन्दै रास्वपा सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी भयो। राजनीतिक असन्तुलन र सभापति लामिछानेका व्यक्तिगत समस्याका कारण रास्वपा सरकारबाट बाहिरियो तर, समर्थन कायमै राख्यो। पूर्व सञ्चारकर्मीसमेत रहेका रवि लामिछानेका व्यक्तिगत समस्या पनि केही समाधान भए। उनको निर्वाचन क्षेत्रसहित अन्य दुई स्थानमा उपनिर्वाचन पनि भयो। उपनिर्वाचनबाट लोकप्रिय मतसहित उनै रवि लामिछाने पुनः विजयी भए। उनी विजयी हुनुको प्रमुख कारण नै भ्रष्टाचारविरुद्धका अभिव्यक्ति थिए। भ्रष्टाचार निर्मूल गर्ने उनको र उनी नेतृत्वको पार्टीको मूल एजेण्डामाथि जनताको भरोसा थियो।

उनी उपनिर्वाचनबाट निर्वाचित भएर आएदेखि रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त सार्वजनिक रुपमै रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सकिने अभिव्यक्ति दिएका समाचार प्रकाशित भएका थिए। सायद केपी शर्मा ओलीको ‘ललिपप’ को स्वाद चाख्नलाई रास्वपाले सरकारको समर्थन फिर्ता लियो भन्ने जनमत पनि अहिले कम छैन। नेपालको अस्थिर राजनीतिको फाइदा उठाउने लोभ उनीमा अझै पनि कायमै होला, तर यतिबेला केपी शर्मा ओलीको ललिपपभन्दा फरक विषयमा राजनीति र सिंगो मुलुकको ध्यान केन्द्रित छ। संयोग पनि कस्तो, ‘उता रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने र यता सरकारले नक्कली शरणार्थीको फाइल खोल्नु।’ आखिर रवि लामिछानेको पार्टीले चाहेको यही होइन, ‘भ्रष्टाचार निर्मूल र सुशासन कायम ?’ रास्वपाले सरकार छाड्नुमा धेरै आशंका गर्ने ठाउँहरु छन्।

यहाँनीर एउटा प्रश्न छ, यदी रास्वपाको प्रमुख एजेण्डा भ्रष्टाचार निर्मूल र सुशासन हो भने सरकारले भ्रष्टाचारका फाइल खोल्दा किन समर्थन फिर्ता लिएको? यसको उत्तर रास्वपा र उसका सभापतिले जनतालाई दिनुपर्छ। यतिबेला जनजनको मनमा यही प्रश्न गडिएको छ। उ सरकारमा जाँदा किन गयो र समर्थन फिर्ता किन लियो, जनताले जान्न पाउनु पर्छ। रवि लामिछाने नेतृत्वको रास्वपा अरु पुराना दलभन्दा नयाँपन दिन राजनीतिमा आएको जनताको बुझाइ छ। रास्वपा संसद्मा प्रवेश गरेको लामो समय पनि भएको छैन। त्यसैले यसको मूल्यांकन गर्नेबेला अझै आएको त छैन तर, हुने बिरुवाको चिल्लो पात भनेझै उसले आफ्नो मूल राजनीतिक एजेण्डामाथि प्रश्न गर्ने ठाउँ छाडिदिएको छ। यति ठूलो भ्रष्टाचारका विषयमा अनुसन्धान भइरहँदा सरकारलाई कमजोर बनाउने गरेर रास्वपा बाहिर निस्किएको छ। यतिबेला रास्वपाले सरकारको यो कामलाई बलियो गरी सघाउनु पथ्र्याे। रास्वपा र रवि लामिछानेलाई अर्काे पनि पश्न छ, ‘यदी परम्परागत राजनीति गर्नुनै छ भने किन जनतालाई गलत कुराको भ्रममा पारेर झुक्याएको?’

एउटा मूलधारको अनलाइन पत्रिकामा एउटा समाचार पढेको थिएँ। उक्त समाचारमा भनिएको थियो, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेता र पहुँचवाला व्यक्ति पक्राउ पर्नु र निलम्बनमा पर्नु हाम्रो पनि भूमिका छ।’ यो रवि लामिछानेले सार्वजनिक कार्यक्रममा बोलेको वाक्य हो। तर, उनको भूमिका कसरी र कहाँनेर भयो? यो प्रश्न पनि रास्वपालाई छ। भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेको कामको जस सित्तैमा रवि लामिछाने र रास्वपाले लिन खोजेका छन्। ‘काम गर्ने कालु, मकै खाने भालु’ भनेझै गर्न खोजिएको छ। यो रास्वपाप्रतिको जनताको अपेक्षा होइन र उसले पाएको जनमत पनि होइन। काम गर्नेले नै मकै खाने हो। यसकै लागि जनताले रास्वपालाई आफ्नो अमूल्य मत दिएका हुन्।

प्रकाशित: ३१ वैशाख २०८० ०८:०६ आइतबार

रवि लामिछाने