coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
ब्लग

खाँदै नखाएको विषले मार्‍यो

"ड्याङ !"

सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडबाट गुडिरहेको एक मोटरसाइकललाई पछाडिबाट तीव्र गतिमा आएको माइक्रो बसले ठक्कर दियो। ठक्कर दिने बित्तिकै मोटरसाइकल चालक हुत्तिँदै उडेर भूँइमा बजारियो।

एक्सन फिल्महरुका 'स्टन्ट' मा पर्दामा मात्र त्यस्तो दृश्य देखेको थिएँ मैले। आफ्नै आँखा अगाडि यस्तो दृश्य देखेपछि एकछिन त म स्तब्ध भएँ। केही सोच्नै सकिनँ।

भूइँमा बजारिने बित्तिकै मोटरसाइकल चालक बेहोस भए। एकै छिनमा मान्छेहरु त्यहाँ भेला भए। उद्धार गर्नतिर मान्छेहरु बढी लागेकाले माइक्रो र चालकप्रति कसैको ध्यान गएन। नत्र स्वयम्भू यातायात जस्तै जल्न के बेर! यत्तिकैमा आएको ट्राफिक प्रहरीले माइक्रो र चालकलाई नियन्त्रणमा लियो।

घाइतेलाई अस्पताल लग्नुपर्ने थियो। तर कसरी लाने? एउटा ट्याक्सीलाई हामीले रोक्यौँ। ट्याक्सीले सुरुमा घाइतेलाई लान मानेको थिएन। तर हामीले मानवीयताको आधारमा पनि लानुपर्ने भनी दबाब दियौँ र त्यही ट्याक्सीमा राखी पठायौँ।

अफिसमा समाचार टिपाइदिउँ जस्तो लाग्यो। त्यसका लागि जानकारी खोजेँ। बा १ ज ७११० नम्बरको रहेछ माइक्रोबस। मोटरसाइकल चाहिँ बा १ ब ८०८४ नम्बरको सेतो नम्बर प्लेटको रहेछ। सेतो नम्बर प्लेट सरकारी वाहनको हुने गर्छ।

समाचार टिपाउँदासम्म पनि मेरो आँखामा त्यो दुर्घटनाको डरलाग्दो दृश्य झल्झली आइरहेको थियो। त्यसपछि कार्यालय फर्कँदासम्म पनि निकै डर लागिरह्यो। बिचरा त्यो मोटरसाइकलवालाको कुनै दोष थिएन। ऊ आफ्नो साइडमा बिस्तारै गुडिरहेको थियो। आफ्नो दोष नभएर मात्र नहुने रहेछ, आफू सही भएर मात्र नहुने रहेछ। काल त आफ्नै दायाँबायाँ कुनै पनि छेउमा हुने रहेछ।

आफू पनि मोटरसाइकल चढ्ने मान्छे नै परियो। त्यहाँबाट कार्यालय आउँदा मोटरसाइकल सँधैभन्दा सुस्त गतिमा चलाएँ। तैपनि दायाँबाट आएर कसैले हान्देला कि बायाँबाट आएर कसैले हान्देला कि जस्तो लागिरह्यो। नखाएको विष लाग्दैन भन्थे बुढापाकाले तर आफूले त खाँदै नखाएको विषले जिउँदै मार्‍यो भन्ने गीत सही ठहरिएको प्रत्यक्ष देखेको थिएँ। कति दिनसम्म यो घटनाले सताउने होला मलाई!

प्रकाशित: २६ फाल्गुन २०६६ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App