२७ श्रावण २०७७ मंगलबार
ब्लग

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर

काठमाडौं– काबुलमा आत्मघाती बिस्फोटमा परी नेपाली मारिएको खबर सुनेदेखि मन भारी भएको थियो । १२ वर्षअघि उत्तिकै संख्यामा नेपाली मारिएको इराक घटना फेरि ताजा भएर आयो । मुस्किलले विस्मृतिमा पुगेको इराक घटनाजस्तै यो अर्को हृदयविदारक क्षण थियो ।

घटनाको २ दिनपछि बुधबार नेपालमा शव ल्याइने तारतम्य सरकारले मिलायो । शव लिएर विमान आइपुग्नुअघि नै विमानस्थल आइपुगेका शोकाकुल आफन्तको फोटो खिच्न म अलि अगाडि नै त्यहाँ पुगेँ । मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।  
सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

मेरा आँखामा बुबा गुमाएका ती दुधे बालक र उनकी आमा कतिबेलै ओझेल परेनन् । ती बृद्ध बुबा र अचेत आमाहरु, सपना ढलेपछि मुर्छित भएर भुइँमा ढलेका ती जीवनसँगीहरुको दृश्यले मेरो मानसपटल बिछिप्त बन्यो । आर्यघाटको सिँढीमा थचक्कै बसेर मैले केहीबेर क्यामेरा अलगै राखेर मन हलुँग पार्ने प्रयास गरेँ । मैले मनमनमा प्रार्थना गरेँ– फेरि यस्तो दृश्य खिच्नु नपरोस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनपछि सबै आफन्तजनलाई पनि विमानस्थलको अति विशिष्ठ कक्षमा लगियो । कक्षमा पुग्न थालेपछि सबै फेरि भक्कानो फुटाएर रुन थाले । शव आइपुग्ने समय नजिकिँदै गर्दा आफन्तजन झनै अधिर देखिए । उता जहाजको आवाज विस्तारै चर्को सुनिदै थियो यता परिवारजन र आफन्तको रुवाबस झनै चर्को भयो । पानी झनै जोडले पर्न थाल्यो ।

शोकले विक्षिप्त नहुने त्यहाँ कोही थिएनन् । पेशागत जिम्मेवारीले किचिएको म कताबाट फोटो राम्रो आउला भनेर फोटोग्राफर र भिडियोग्राफरको भीडमा ठाउँ बनाउन व्यस्त भएँ । यसैबीच विमानबाट निकालिएका शव बोकेर ट्रकहरू नजिक आइपुगे । शव बाकस निकालेर श्रद्धाञ्जलीका लागि भुँइमा लहरै राख्दै गर्दा सुरक्षाकर्मीहरू पनि स्तब्ध बने । उनीहरुको अनुहार र बडिल्याङ्वेज एकाएक फेरियो।

मन भक्कानिदै भए पनि फोटो खिच्नुबाहेक मेरो अर्को बिकल्प थिएन । ममात्रै हैन मेरै लहरमा उभिएका सहकर्मीहरुको हाल उस्तै थियो । हामीले एकले अर्कोलाई पुलुक्क हेथ्र्यौं हालत समान लाग्थ्यो । हामीलाई एउटा बहाना भने थियो– रसाएका आँखा क्यामेराले छेक्ने ।

मन भक्कानिदै भए पनि फोटो खिच्नुबाहेक मेरो अर्को बिकल्प थिएन । ममात्रै हैन मेरै लहरमा उभिएका सहकर्मीहरुको हाल उस्तै थियो । हामीले एकले अर्कोलाई पुलुक्क हेथ्र्यौं हालत समान लाग्थ्यो । हामीलाई एउटा बहाना भने थियो– रसाएका आँखा क्यामेराले छेक्ने ।

उफ्, यस्तो कहिल्यै नहोस् ।

प्रधानमत्री र मन्त्रीहरूले श्रद्धाञ्जली दिइसकेपछि परिवारजनको पालो आयो । परिवारजनले श्रद्धाञ्जली दिन थालेको ह्ृदयविदारक दृश्यले मुस्किलले थामिएका केही मनहरु पनि पग्लेर फतक्कै गलेका थिए । आफन्त र पराइको भेद बाँकी रहेन । लाग्थ्यो शोकले सबैलाई एउटै कराईमा राखेर भुट्दैछ र हर मनले भनिरहेको छ–आतंकीहरु तिमीहरुलाई सराप लाग्नेछ ।

म फेरि पनि आफ्नो पेशाको खोट कोट्याउन चाहन्छु । फोटोपत्रकारिताको गाह्रो क्षण यही हो । जब कसैका प्रियजन गुम्छन् त्यही गाह्रो समयलाई क्यामेराको लेन्समा कैद गर्नुपर्ने हाम्रो निर्मम पेशा हो ।

विमानस्थलबाट पशुपति आर्यघाटतर्फ अगाडि बढ्दा मेरा आँखामा बुबा गुमाएका ती दुधे बालक र उनकी आमा कतिबेलै ओझेल परेनन् । ती बृद्ध बुबा र अचेत आमाहरु, सपना ढलेपछि मुर्छित भएर भुइँमा ढलेका ती जीवनसँगीहरुको दृश्यले मेरो मानसपटल बिछिप्त बन्यो । आर्यघाटको सिँढीमा थचक्कै बसेर मैले केहीबेर क्यामेरा अलगै राखेर मन हलुँग पार्ने प्रयास गरेँ । मैले मनमनमा प्रार्थना गरेँ– फेरि यस्तो दृश्य खिच्नु नपरोस् । म कतै विलिन भएँ जस्तो लाग्याे । 

म ब्युँझिएँ, अगाडि शव जल्दै थियो । फतक्कै गलेका हातले छेउको क्यामेरा उठाएँ ...

अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर
अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर
अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर
अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर
अभिभावक गुमाएका एक बालक । तस्बिरः विजय गजमेर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App