१) मुक्तक
अनन्तमा आँखा हेर्दै टोलाएकी किन
जवानीको मात लागेर लोलाएकी किन
नसामा छु भन्ने बिर्सी आफैं बरवाद हुन
एकान्तमा उसलाई व्यर्थै बोलाएकी किन?
२) मुक्तक
पहिले लट्ठ पार्यौ मनका दुखसुख बाँडेर
मेरो दुख सुन्दै बरबरती आँसु काढेर
आफैंलाई बिर्सेर विश्वास गर्न थालेँ
बिचल्ली बनायौ घाइते पारी छाडेर।
३) मुक्तक
खाने डुल्ने काम गर्नेमा मेरो पालो तोक्ने तिमी
एकान्तमा गाली गर्दै मेरै गालो ठोक्ने तिमी
बाहिर शीतल जुन जस्तै भित्र भुङ्ग्राे बनिदिन्छ्यौ
रातो स्यूँदो देखाएर मनमा कालो बोक्ने तिमी।
४) मुक्तक
प्रलोभन देखाई मनमुटु छाम्यौ
बगेका यी आँसु आफैंले थाम्यौ
साँढेलाई जस्तै बिटुलो पार्न
सिन्दूर पोतेले के कारण डाम्यौ?
५) मुक्तक
सँगै घुम्यौँ यज्ञ हामी पक्री लगनगाँठो
तान्दै ल्यायौ बनाएर यै पोतेको काँठो
अर्धाङ्गिनी भए पनि दासी मात्रै पारी
पुरुष बन्यौ पुष्पवृक्ष मलाई पारी माटो।
प्रकाशित: २१ असार २०८३ ०८:२२ आइतबार

