नेपालमा पहिलो पटक विश्वस्तरिय डान्स प्लेटफर्म ‘वर्ड अफ डान्स नेपाल २०२६’ हुने भएको छ। आइतबार ललितपुर ‘द प्लाजा’ मा आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो।
कार्यक्रममा चर्चित कलाकार दयाहाङ राई, कविता नेपाल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, सिसन बानियाँ, परीक्षा लिम्बु, र खुसी कार्की तथा अमेरिकी दूतावास जनसम्पर्क प्रमुख माइक हार्कर उपस्थिति थिए।
कार्यक्रममा निर्णायक मण्डल र सर्प्राइज अन्तर्राष्ट्रिय कलाकारको घोषणा समेत गरिएको छ । ‘वर्ड अफ डान्स नेपाल २०२६’ का जजका रूपमा तीन नेपाली तथा विदेशी कलाकार देखिने भएका छन्। प्रतियोगितामा किरण थापा, जे.डी तामु र भारतीय नृत्य निर्देशक टेरेन्स लुइसले जज गर्नेछन् ।
लस एन्जलसको एक सानो कार्यक्रमबाट सुरु भएको उक्त प्लेटफर्मले हाल ५० भन्दा बढी देशका सहभागीहरूसँग स्टेज साटेको छ। यस प्लेटफर्मले अमेरिका, युरोप, दक्षिण अमेरिका, एसिया जस्तामा आफ्नो डान्स कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
‘वर्ड अफ डान्स नेपाल’ले नेपालको भाषा, संस्कृतिलाई विश्वभर पहिचान गराउने आयोजकको अपेक्षा रहेको छ। प्रतियोगिताको ग्रान्ड फिनाले जुन ६ मा हुने तय भएको छ।
प्रतियोगितामा सात समूह रहने छ भने जुनसुकै उमेर समूह तथा नृत्य शैलीमा नृत्य गर्न पाउने छन्। यसको विजेताले एक लाख रुपैयाँ रकम, अवार्ड तथा ‘गिफ्ट हाम्पर’ प्राप्त गर्नेछन्।
डान्सर तथा मोडल कविता नेपालीले ‘वर्ड अफ डान्स नेपाल’ उत्कृष्ट प्लेटफर्म हुने बताइन् । उनले भनिन्,–‘ नृत्यमा रुचि वा भविष्य खोज्ने व्यक्तिका लागि यो प्लेटफर्म उत्कृष्ट हो’।
प्रकाशित: ६ वैशाख २०८३ १९:०२ आइतबार





