१) मुक्तक
याे दुनियाँदेखि एक्लै बसिरहने बानी परेकाे छ
विचलित नभई याे मन कसिरहने बानी परेकाे छ
दु:ख,पीडा,अभाव सबै भाेगेर हुर्किएकाे मान्छे हुँ
अचेल अचानाेजस्तै चाेट सहिरहने बानी परेकाे छ।
२) मुक्तक
याे दु:ख भन्ने विषय मैले, कटाउन सकिएन कहिले
अनुत्तीर्ण मात्र भइरहेँ, जति मिहिनेत गरे पनि जहिले
जिन्दगीदेखि नै अब त हार खाइसकेकाे मान्छे हुँ म,
फेरि कस्ताे परिक्षा लिनलाई आयाै भगवान अहिले?
३) मुक्तक
काँडाले झैँ बिझाउँदछ मन सहनै नसक्ने गरी
सानो गल्तीले पनि बनाउँछ मान्छेलाई मरेसरि
जतिसुकै भगवानको नाम जपिरहे पनि हरपल
मान्छेबाट गल्ती भइहाल्छ जिन्दगीमा घरिघरि।
४) मुक्तक
दशाले घेरेझैं लाग्दछ खराब समय आएपछि
दिमागले काम गर्दैन मनमा खिन्नता छाएपछि
संसारकै अभागी मान्छे ठान्न बाध्य भइन्छ यहाँ
जब भाग्यले हरेक काममा असफल बनाएपछि।
५) मुक्तक
सत्यनिष्ठ मान्छेले कसैकाे कुभलाे चिताउँदैन
निडर स्वभावकाे हुन्छ कदापि शिर झुकाउँदैन
जति नै विराेध गरून् यहाँ विराेधी मान्छेहरूले
एक कदम पछाडि सर्दैन एकरत्ति डग्मगाउँदैन।
६) मुक्तक
जिन्दगीमा भेटिन्छन यहाँ स्वार्थी मान्छेहरू कतिपय
थाहा पाएँ हुँदाे रहेछ मनभित्र दु:ख दिने मनासय
साेझासाझा मान्छेहरूकाे मनमा कुल्चदै नहिंड्नू
तिम्राे पनि आउनेछ एकदिन कहालीलाग्दो समय।
७) मुक्तक
चिनजानका मान्छे नभए काम नबन्ने रै'छ यहाँ
गरिब निमुखालाई झन् कसैले नगन्ने रै'छ यहाँ
आजभाेलि खै किन यस्ताे जमाना आयाे हाेला
मानवता हराएपछि आफ्नाे मान्छे नभन्ने रै'छ यहाँ।
८) मुक्तक
जिन्दगीकाे बस्तीमा आगाे लगाउन नजिकिएकाे छ
शत्रुकाे मन जित्न बाहना बनाउँदै साथ दिएकाे छ
"शत्रु मान्छे शत्रु नै हुन्छ"भन्ने ती मान्छेबाट थाहा पाएँ,
जसले प्रतिसाेधकाे लागि छेपाराेझैँ रङ बदलिएकाे छ।
९) मुक्तक
तिम्राे चरित्रबाट छर्लङ्ग झल्केकाे छ तिम्राे परिचय
लुकाउनु पर्दैन कुरा, संगतबाटै थाहा पाएँ कतिपय
याे दुनियाँकाे नजरमा छाराे हाल्न छेपाराेझैँ नबन्नू,
सधैँभरि सफल हुँदैन है,भ्रममा पार्ने यस्ताे अभिनय।
१०) मुक्तक
सहनै सकिँदैन दुःखको आगो दन्किँदा दनदनी
चाहन्छु भित्तेपात्रो फेरेझैँ जिन्दगी फेरियोस् भनी
गएको वर्ष त्यसै बित्यो,अनेक समस्याहरू भोगेरै
अब २०८३ साल सोचेझैँ होस्,भगवान! मेरो पनि।
प्रकाशित: १३ वैशाख २०८३ १०:१४ आइतबार





