सौन्दर्य प्रतियोगिताको दुनियाँबाट एउटा चकित पार्ने खबर सार्वजनिक भएको छ। मिस युनिभर्स भियतनाम २०२६ को उपाधि जितेकी क्विन्ह आन गुयेनको ताज फिर्ता लिइएको छ। उनले यो उपाधि जितेको जम्मा ४८ दिनमै ताज गुमाउनुपरेको अवस्था आएको हो।
आयोजक कम्पनीले नोभेम्बर १८ मा आधिकारिक रूपमा क्विन्ह आन गुयेनको उपाधि खोस्ने निर्णय गरेको हो। निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल हुनु र निलम्बनसम्बन्धी नियम पालना नगर्नु उनको ताज खोसिनुको मुख्य कारण बताइएको छ।
क्विन्ह आन गुयेनले अक्टोबर २ मा हाई फोङमा आयोजित मिस युनिभर्स भियतनाम २०२६ को ताज जितेकी थिइन्। तर उनको जितको केही दिनपछि नै उनी विवादमा परिन्।
अक्टोबर महिनामा क्विन्ह र प्रतियोगिताकी प्रथम रनरअप ट्रिन्ह माई एनबीच भएको निजी कुराकानीका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएका थिए।
ती स्क्रिनसटमा अन्य प्रतियोगी तथा प्रतियोगितासँग सम्बन्धित केही व्यक्तिहरूबारे अपमानजनक टिप्पणी गरिएको दाबी गरिएको थियो। त्यसपछि आयोजक कम्पनी फाइभ इन्टरटेनमेन्टले यस विषयमा छानबिन गरिएको हो।
छानबिनपछि अक्टोबर २५ मा क्विन्हलाई ६ महिनाका लागि प्रतियोगितासँग सम्बन्धित गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।
यो विवाद सार्वजनिक भएपछि क्विन्हले आफ्नो व्यवहारप्रति माफीसमेत मागेकी थिइन्।
फाइभ६ इन्टरटेनमेन्टका अनुसार ६ महिनाका लागि निलम्बनमा परे पनि क्विन्हले कम्पनीको अनुमति नलिई विभिन्न कार्यक्रममा सहभागिता जनाएकी थिइन् र व्यावसायिक निमन्त्रणासमेत स्वीकार गरेकी थिइन्।
कम्पनीका अनुसार उनले अर्को विभिन्न व्यवस्थापन कम्पनीले आयोजना गरेको कार्यक्रममा पनि सहभागिता जनाएकी थिइन्। साथै आयोजकसँग पूर्वछलफल नगरी एउटा विशेष सम्झौताको घोषणा पनि गरेकी थिइन्।
कम्पनीले क्विन्हका यस्ता गतिविधिका कारण विभिन्न गलतफहमी उत्पन्न भएको र प्रतियोगिताको छविमा समेत नकारात्मक असर परेको जनाएको छ।
नोभेम्बर १८ देखि क्विन्ह आन गुयेनको मिस युनिभर्स भियतनाम २०२६ को उपाधि आधिकारिक रूपमा फिर्ता लिइएको छ।
तर आयोजकले अहिलेसम्म उनको उत्तराधिकारीका रूपमा कसलाई ताज प्रदान गर्ने भन्नेबारे कुनै घोषणा गरेको छैन।
क्विन्हले सन् २०१८ मा ुद फेस भियतनामु प्रतियोगितामा प्रथम रनरअप बनेर आफ्नो पहिचान बनाएकी थिइन्। त्यसपछि सन् २०२१ मा उनले एसियन सुपरमोडल प्रतियोगिताको उपाधिसमेत जितेकी थिइन्।
तर यसपटक भने विवादका कारण मिस युनिभर्स भियतनामको उनको यात्रा केवल ४८ दिनमै समाप्त भएको छ।
प्रकाशित: ५ मंसिर २०८३ ११:४१ शनिबार





