२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

मुखमा पट्टी बाँधेर कलाकार माइती घरमा बस्नुपर्ने अवस्था किन आयो ?

काठमाडौंको माइतीघर मण्डला आन्दोलन गर्ने क्षेत्रका रुपमा परिचित नै छ । विगतमा राजनीतिक दलले गर्ने खबरदारी सभा माइतीघरबाट सुरु भए । नयाँ जनादेश प्राप्त सरकार गठनको पृष्ठभूमि अर्थात जेन-जी आन्दोलनको सुरुवात पनि माइतघरबाटै भयो ।

आज त्यही माइतीघरमा नेपाली कलाकार मुखमा पट्टी बाँधेर खबरदारी गरिरहेका थिए । बुधबार दिउँसो माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न भेला भए । कलाकारले कला, साहित्य र फिल्ममा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने मागसहित उनीहरू सडकमा उत्रिएको बताएका छन् ।

सडकमै उत्रिएका कलाकार सामाजजिक सञ्जालमा पनि उत्तिकै सक्रियताका साथ आवाज उठाइ रहेका छन् ।

सामाजिक सञ्जालबाट उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को भूमिकामाथि प्रश्न उठाएका छन् ।

सेन्सर बोर्डबाट पास भइसकेको चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा रोकिनुले बोर्डको औचित्यमाथि कै प्रश्न भन्दै बहस सुरु गरेका छन् ।

अदालतको आदेशको सम्मान गर्नुपर्ने बताउँदै निर्देशक निश्चल बस्नेतले बारम्बार यस्तो अवस्था आउँदा फिल्मकर्मीको मनोबल कमजोर हुने बताउँदै फिल्म निर्माणको अवस्थालाई बुझ्नुपर्ने बताएका छन् । अदालती कारणले फिल्म रोकिनुपर्ने अवस्था आउनुले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेजीको अवस्थामा पुगेको तर्क उनको छ।

के हो कलाकारलाई सडकमा ल्याउने कारण ?

चलचित्र ‘लालीबजार’ प्रदर्नशनको अन्तिम तयारीमा थियो । तर उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगित गर्न आदेश दियो ।

एक वादी अभियन्ताले समुदाय लक्षित केही दृश्य र संवादमा आपत्ति जनाउँदै अन्तरिम आदेशको मागसहित रिट दायर गरेपछि अदातलले तत्काल प्रदर्शनमा रोक लगाएको थियो । उच्च अदालतले करिब ७ वर्षअघिको सर्वोच्च अदालतको नजिरलाई आधार बनाउँदै फिल्म प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको थियो । यही आदेश विरुद्ध कलाकार एकबद्ध भएका छन् ।

यही विषयमा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

रिलिजको अन्तिम समयमा आएको आदेशपछि कलाकार तथा चलचित्र क्षेत्रका सर्जक चिन्तित बनेका छन् । यस्तो अभ्यासले अभिव्यक्ति स्वतन्त्रता र सिर्जनात्मक काममा असर पर्ने कलाकारको भनाइ छ । यस्ता प्रवृत्ति दोहोरिनु हुँदैन भन्दै उनीहरूले माइतीघर मण्डालामा विरोध गरेका हुन् । 

प्रकाशित: १६ वैशाख २०८३ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App