१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

मान्छे आज किन मान्छेबाट टाढा!

गीत

१) गीत

किन रुन्छ आँखा बल्ल मलाई थाहा भयो

किन टुट्छ मुटु बल्ल मलाई थाहा भयो

      -       -       -       -     -     -

तुईन जस्तो बाचा बन्धन चुँडिएर भेलमा खस्दा

कसरी मन थामिन्छ र शिशा झैँ बारबार फुट्दा

आफ्नै मान्छे छुरा रोप्ने बल्ल मलाई थाहा भयो

किन रुन्छ हाँस्ने बैश बल्ल  मलाई  थाहा भयो

छुट्यो बाटो के भयो  र  जीवन फेरि बाँचेकै छ

लालिगुराँस  एकलासमा  फेरि  पनि हाँसेकै छ

रुनु हुन्न सम्झीसम्झी  बल्ल मलाई थाहा भयो

यति मात्र होइन जीवन बल्ल मलाई थाहा भयो।

२) गीत

मान्छे आज  किन मान्छेबाट टाढा

आफू खुसी हुन्छसधैँ रुवाएर  सारा

    -   -     -     -     -    -

अरूलाई  मारेर आफू  बाँचूँ  भन्छ

अरूको खुसी खोसी आफू हाँसू भन्छ

मान्छे मान्छे बिच  किन  यस्तो पहिरो

अविश्वासको खाडल हुँदैछ झन् गहिरो

आफू अघि बढ्दा ताली बजाउ भन्छ

अरू अघि  बढदा उही खुट्टा तान्छ

मान्छे आज  फेरि मान्छेबाट टाढा

मान्छे  नै  भएन  मान्छेको सहारा।

३) गीत

मेरा दु:खका पहाडहरूमा

गुराँस  बनी फुलिदिन्छौ

मेरा  खुसीका  फाँटहरूमा

सुन्दर बयली  खेलीदिन्छौ

  -   -     -     -     -    -

यात्राहरू सहज हुन्छन् सधैं

मायालु तिम्रो साथहरूमा

तिमी झुल्छौ खुसिखुसी

मेरा यी मनका फाँटहरूमा

मेरा  यात्राको मोडहरूमा

साथ बनी सधैँ कुरिदिन्छौ

मेरो सपनाको क्षितिजमा

घाम बनी  सधैँ  डुलिदिन्छौ

तिम्रो मुस्कानको फोहोराहरूमा

एक जीवन यहाँ  बाँचिदिन्छ

पीडा  बिर्सेर  हर दुखाइसँग

हजारौ  रातहरु  काटिदिन्छ

मेरो सम्झनाको तरेलिहरुमा

लहरा बनी तिमी झाँगिदिन्छौ

मेरो एकान्तको सुस्केराहरुमा

मलाई  सुशेली  हानिदिन्छौ।

४) गीत

तिमिलाई बिर्से पनि तिम्रो याद आइहाल्छ

आँखाहरू छल्किएर सिरानी यो

भिजाइहाल्छ

बाध्यताको भङ्गालोमा  छुटिएको

हाम्रो बाटो

नसुक्ने भो बल्झिरहने एउटा त्यही

घाउको खाटो

तिम्रो याद मेटाए नि छाया  बनी आइहाल्छ

आँखाहरू छल्किएर सिरानी यो 

भिजाइहाल्छ

बरापिपलको  रुखमुनि  मन्दमन्द

हावा चल्दा

कस्तो होला सपनाको एउटा सुन्दर

महल जल्दा

तिम्रो याद मेटाए नि झन्झन नजिक आइहाल्छ

एकान्तमा कताकता आफ्नो बनी

बोलाइहाल्छ।

५) गीत

तिमी संँग जिउन नपाए पनि

यादभरि तिमी आएकै छौ

जीवनको घुम्ती मोडमा पनि

याद बनी सधैँ छाएकै छौ

  -   -     -     -     -    -

विवशताको हुरीले उडाए पनि

आँखा वरिपरि छाएकै छौ

परिवेशको भूमरीले घुमाए पनि

यो मनमा सधैँ अटाएकै छौ

  -   -     -     -     -    -

साथमा तिमी नभए पनि

मनभरि तिमी कसिएकै छौ

अङ्गालो हाम्रो छुट्टिए पनि

मन भरी तिमी फक्रिएकै छौ।

(प्रेम राई परीक्षितका गीतसङ्ग्रह 'मेरो गीत मेरो प्रतिविम्ब' मा सङ्गृहीत।)

प्रकाशित: १६ फाल्गुन २०८२ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App