पछिल्लो समयमा सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै चलचित्र कलाकारहरू आफ्नो व्यक्तित्व अधिकारको विषयमा निकै सचेत भएका देखिएका छन्।
कलाकारहरूको तस्बिर, भिडियो, आवाज तथा अन्य व्यक्तिगत पहिचानको गलत प्रयोग हुन नदिन कलाकारहरूले अदालतको सहयोग लिइरहेका क्रम बढ्दो छ।
त्यहि क्रममा जान्हवी कपूरले आफ्नो व्यक्तित्व अधिकारको संरक्षणका लागि दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्।
उनले ५ हजारभन्दा बढी वेब पेज, सामाजिक सञ्जालका पोस्ट, एआईबाट बनाइएका अश्लील सामग्री, नक्कली खाताहरू, फर्जी बुकिङ एजेन्सी तथा च्याटबटहरू हटाउन माग गरेकी थिइन्।
मंगलबार अदालतले जान्हवी कपूरसँग सम्बन्धित स्पष्ट रूपमा अश्लील तथा आपत्तिजनक अनलाइन सामग्री हटाउन अन्तरिम आदेश दिएको छ।
न्यायाधीश अनूप जयराम भांभानीले उनको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्देशन दिएका हुन्।
अब अदालतले जान्हवीको वकिललाई उनको अश्लील सामग्री राखिएको वा व्यक्तित्वको प्रयोग गरेर वस्तु तथा सेवाको बिक्री भइरहेको वेबपेजहरु उपलब्ध गराउन माग राखेको छ।
अदालतले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई ध्यानमा राखेर यस्तो आदेश जनाएको हो। तर अदालतले फ्यान पेजहरूमा रोक लगाएका छैन।
यसअघि हालै मात्र अभिनेत्री तब्बुले पनि व्यक्तित्व अधिकारको संरक्षणका लागि दिल्ली उच्च अदालतमा निवेदन दिएकी थिइन्। अदालतले तब्बुलाई राहत दिँदै उनको नाम, तस्बिर, आवाज वा व्यक्तित्वसँग सम्बन्धित अन्य पहिचानको बिना अनुमति व्यावसायिक वा अनुचित प्रयोगमा रोक लगाएको थियो।
जान्हवीको मुद्दामा अर्को सुनुवाइ १७ अगस्टमा हुनेछ।
प्रकाशित: २७ श्रावण २०८३ ११:४७ बुधबार





