पानीको गन्तव्य कहाँ टुंगिन्छ र,
पुगेपछि
भनौंला भनेकै थिएँ
शुरू र अन्त्यको संघर्ष के थियो भनेर
कुन सपनाले पछ्यायो,
कुन अधुरो रह्यो भनेर
कुन पूरा भएको थियो
जब समय आउँछ
त्यतिखेर भनौंला
कसले साथ दिएको थियो,
कुन मुखले हाँसेर
भित्री घाउ खोपेको थियो।
हिँड्दा देखिएन
कसको के उद्देश्य थियो,
हात्तीको दाँत जस्तै,
चपाउने र देखाउने
पत्ता लगाउन सकिएन
शिकारीको पासोको पहिचान
अनि पासोमा अल्झिएर
देखाइदियो जब
वशमा परेपछि
जहाँ लक्ष्य लुकेको पनि थियो।
धोका र साथको
कुरा त समयले बताउँछ,
पानीमा दूध मिसाएपछि
मात्र रङ फेर्ने हो पानीले
साँचो मन
कसकाे हो,
तै सत्य मन नै पत्ता लगाएर
अन्त्यमा
जीवनको
सहारा बनाउनु थियो।
जीवनका अनगिन्ती पाइला
अनि ती पाइलाका डोबहरू पन्छाई
आफैंले सहनुपर्छ,
गन्तव्य पुगेपछि
सत्य या असत्य,
पाप या धर्म
मन सफा कि धमिलो हुँदै
अन्त्यमा
सत्यको दर्शन गर्नुपर्छ।
जीवन भनेकै हो
संघर्ष र विजय अँगालेर
त्यही कथालाई परिभाषित गर्दै
लेख्दै,
मनलाई शान्तशान्त
अनि शान्त पार्दै,
धैर्यको शक्ति अँगाल्दै
अनवरत पाइला
अगाडि बढाउनुपर्छ।
प्रकाशित: २७ मंसिर २०८२ १३:२८ शनिबार





