१) गजल
बुनिन्छ सपना आँखाभरि, फेरि टुट्छ यहाँ,
हिँडेको गन्तव्य नियतिकै हातले छुट्छ यहाँ।
विश्वास हराएपछि प्रेम कहाँ अमर रहन्छ र,
आफ्नै मान्छेको हातबाट सम्बन्ध नै फुट्छ यहाँ।
एकपल्ट देखेकै भरमा कोही मनमा बस्छ,
नचाहँदा नचाहँदै मुटु उसैसँग जुट्छ यहाँ।
करोडौँ सपना बोकेर मान्छे जीवनभर दौडिन्छ,
अन्तिम श्वाससँगै सबै माटोमै लुट्छ यहाँ।
२) गजल
जिन्दगीको गोरेटोमा एक्लो पारी गयौ तिमी,
पवित्र त्यो प्रेमलाई जिउँदै मारी गयौ तिमी।
सँगै बाँच्ने, सँगै मर्ने कसम खाएकी थियौ,
झुक्याएर आज किन अर्कै डेरा सारी गयौ तिमी।
के गल्ती थियो र मेरो, केही तिमीले भनिनौ,
एकोहोरो रिसाएर फूल नै झारी गयौ तिमी।
‘विप्लवी’ को मुटुभित्र आज पनि तिमी नै छौ,
प्रेम दिएर पीडाको भारी भारी गयौ तिमी।
प्रकाशित: २८ भाद्र २०८३ १२:२९ आइतबार





-600x400.jpg)