बलिउड अभिनेता आमिर खान ६१ वर्षको उमेरमा आफ्नी प्रेमिका गौरी स्प्रैटसँग तेस्रो विवाह गर्ने तयारीमा छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू ५ जुलाईमा साधारण र निजी समारोहबीच रजिस्टर्ड म्यारिज गर्ने भएका हुन्।
आमिरले दिएको जानकारीअनुसार विवाह समारोह उनको घरमै आयोजना हुनेछ, जहाँ दुवै परिवारका सदस्य, केही नजिकका आफन्त तथा सीमित घनिष्ठ साथीहरू मात्र सहभागी हुने छन्। उनले यो समारोहलाई सकेसम्म निजी र सादगीपूर्ण राख्न चाहेको बताएका छन्।
आमिरले विवाहको तयारीका लागि केही समय फिल्मी कामबाट विश्राम लिने भएका छन्। उनले गौरीसँगको सम्बन्धलाई गम्भीर र बलियो रहेको उल्लेख गर्दै विवाहलाई आफ्नो जीवनको स्वाभाविक अर्को कदमको रूपमा व्याख्या गरेका छन्।
आमिरले गत वर्ष आफ्नो ६०औँ जन्मदिनको अवसरमा गौरीलाई पहिलो पटक परिचय गराएका थिए। त्यसयता दुवैलाई विभिन्न कार्यक्रममा सँगै देखिँदै आएको थियो। पछिल्ला महिनाहरूदेखि उनीहरूको विवाहबारे चर्चा बढेको छ।
आमिरको पहिलो विवाह रीना दत्तसँग सन् १९८६ मा भएको थियो। प्रेम सम्बन्धपछि विवाह गरेका उनीहरूका दुई सन्तान छन्। विवाहको १६ वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।
फेरी आमिरले सन् २००५ मा दोस्रो विवाह गरेका थिए। उनीहरूका एक छोरा छन्। विवाहको १५ वर्षपछि दुवैले आपसी सहमतिमा सम्बन्ध अन्त्य गरे।
अब गौरीसँग विवाह गर्न लागेका आमिरको यो तेस्रो विवाह हुनेछ। विवाह समारोहलाई पूर्ण रूपमा निजी राख्ने तयारी भइरहेको बताइएको छ।
प्रकाशित: ६ असार २०८३ १३:४५ शनिबार





