तमिलनाडुका मुख्यमन्त्री तथा पूर्व अभिनेता थलपति विजय र उनकी पत्नी संगीता सोरनालिंगम बीच अप्रिल २० देखि चलिरहेको सम्बन्धविच्छेद मुद्दाको सुनुवाइ स्थगित भएको छ।
चेंगलपट्टु जिल्ला महिला अदालतमा सोमबार सुनुवाइ तोकिएको भए पनि अदालतको आदेश हुँदाहुँदै दुवै पक्ष व्यक्तिगत रूपमा उपस्थित भएनन्। त्यसपछि अदालतले मुद्दाको अर्को सुनुवाइ अगस्ट ७ मा गर्ने निर्णय गरेको छ।
यसअघि अप्रिल २० मा भएको पहिलो सुनुवाइमा पनि विजय र संगीता स्वयं उपस्थित भएका थिएनन्, केवल उनीहरूका वकिलहरू अदालतमा उपस्थित भएका थिए। वकिलहरूले सुरक्षा लगायतका कारण देखाउँदै अनलाइन सुनुवाइको अनुमति मागेका थिए, तर अदालतले उक्त माग अस्वीकार गरेको थियो र व्यक्तिगत उपस्थितिको आदेश दिएका थिए।
संगीता सन् २०२६ को सुरुआतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेकी थिइन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले निवेदनमा विजयमाथि वैवाहिक सम्बन्धबाहिरको सम्बन्ध ९एक्स्ट्रा मेरिटल अफेयर० रहेको आरोप लगाएकी छन्, यद्यपि कसैको नाम उल्लेख गरिएको छैन।
विजय र संगीताले सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्।
सम्बन्धविच्छेदको खबर सार्वजनिक भएपछि अभिनेत्री तृष्षा कृष्णनको नाम विजयसँग जोडेर चर्चा भइरहेको छ। तर विजय र तृषा दुवैले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
प्रकाशित: २ असार २०८३ १७:०४ मंगलबार





