भारतीय चर्चित गायक सोनु निगम पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। उनले आफ्नै स्वास्थ्य अवस्था सार्वजनिक गर्दै आफू गर्दनको नसासम्बन्धी जटिल समस्याबाट गुज्रिरहेको बताएका छन्।
मिडिया रिपोर्टहरूका अनुसार सोनु निगमको गर्दनतर्फको नसामा दबाब पर्ने समस्या देखिएको छ, जसका कारण उनलाई लगातार असहज पीडा भइरहेको बताइएको छ। यही समस्याका कारण उनी पछिल्लो केही दिनदेखि नियमित चिकित्सकीय निगरानीमा रहेका छन्।
सोनुले एक सातादेखि लगातार एमआरआई र सिटी स्क्यान गराइरहेको जानकारी दिएका छन्। साथै समस्या समाधानका लागि फिजियोथेरापीसमेत गरिरहेको र उपचार प्रक्रिया निकै पीडादायक रहेको उनले बताएका छन्।
रिपोर्टअनुसार उनलाई घाँटीमा समेत समस्या देखिएको छ, जसले उनको गायन यात्रामा केही असर पार्न सक्ने अनुमान गरिएको छ। यद्यपि स्वास्थ्य समस्याका बाबजुद पनि उनले तय भएका सांगीतिक कार्यक्रम भने स्थगित नगर्ने संकेत दिएका छन्।
भारतीय संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय सोनु निगमको स्वास्थ्य अवस्थाबारे जानकारी बाहिरिएपछि उनका शुभचिन्तक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
प्रकाशित: ३ असार २०८३ १४:४८ बुधबार




-600x400.jpg)
