समयको रथ चढेर कता दौडिरहेछ जिन्दगी?
जब कि सबैभन्दा ठूलो यात्रा त
एकै ठाउँमा स्थिर रहेर
आफ्नै अन्तरकुन्तर नियाल्नुमा छ।
घडीका सुइँहरू टिकटिक चल्छन् र भन्छन् - समय बित्यो
तर हृदयको गहिराइमा सोधूँ, के साँच्चै केही बित्यो?
प्रतीक्षा त्यो स्थिर विन्दु हो रहेछ
जहाँ पुगेपछि समय आफैँ थकित हुन्छ
र सुरु हुन्छ - चेतनाको अनन्त संवाद।
कोलाहलले भरिएको संसारमा
म एउटा खालि क्यानभास बनेर उभिएकी छु।
प्रतीक्षा रङहरूको तिर्सना मात्र होइन रहेछ
यो रङहरू आउनुपूर्वको त्यो पवित्र रित्तोपन हो
जसले सिर्जनाको विराट सम्भावनालाई गर्भमा राख्छ।
प्रतीक्षा नदी बग्नु जस्तै हो रहेछ
जस्ले सागर भेट्नुअघि उसले किनारसँग जे साट्छ- त्यो प्रतीक्षा हो।
हजारौँ हन्डर, ठक्कर र घुम्तीहरूमा
नदीले पानी मात्र बगाउँदैन
आफ्नो अहङ्कार पखालेर बालुवा बनाउँछ।
म कसैको आगमनको आशामा ढोका उघारेर बस्ने विवशता होइन
म त बिउभित्र लुकेको त्यो वृक्ष हुँ
जसले माटोको अँध्यारोभित्र धैर्यतापूर्वक
आफ्नै हरियो विष्फोट पर्खिरहेछ।
यो प्रतीक्षा कसैका लागि सजाय हुन सक्छ
तर बुझ्नेका लागि यो एउटा बुद्धत्व हो।
जहाँ तिमी रित्तिँदै जान्छौ,
र अन्त्यमा, पूर्णताले भरिन्छौ।
प्रकाशित: १८ जेष्ठ २०८३ ०७:२९ सोमबार

