१९ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

खलनायक

लघुकथा

"विदेश जान्छस् त पढन?"

अचानक बुवाको मुखबाट निक्लिएको आवाजले भर्खरै बार्‍ह पास गरेको छोरो चित पर्‍यो। नपरोस् पनि कसरी! उसकाे बुवा उसलाई यो संसारको सबभन्दा ठुलो खलनायक लाग्थ्यो। सानोभन्दा सानो जरुरत पूरा गर्न पनि नदिने। जति खेर पनि पैसा छैन मात्र भन्ने सुनेको छोराले विदेश पढ्न जाने कल्पना पनि गरेको थिएन सायद।

छोराले व्यङ्ग पस्कियो, "बिनापैसा विदेश पढन जान पाइने भएछ?"

"रहर छ भने जा न त! म पैसाको बन्दोबस्त गरौंला।" बुवाको अनुहारमा दृढता प्रष्ट देखिन्थ्यो।

छोराले निराशा व्यक्त गर्‍यो, "एउटा ढंगको मोबाइलसम्म नकिनिदिने हजुरसँग कहाँबाट आयो पैसा? एक जोर राम्रा लुगासम्म लाउन पाइया होइन कहिल्यै! भो नजिस्क्याउनु मलाई।"

बुवाले ढाडस दिलाउँदै भन्याे, "यस्ता कुरा तैंले बुझ्ने बेला भएको छैन छोरा। ३०/४० लाख भए पुग्छ हैन? चिन्ता नगर। म दिउला। राम्रो शिक्षा आजको आवश्यकता हो। जा पढ्न।" 

"म कहिलेदेखि बुझ्ने हुन्छु त?" छोराले जिज्ञासा राख्यो।

"जहिलेबाट तेरो काँधमा जिम्मेवारी आउँछ। जहिलेदेखि तँ बाउ हुन्छस्!" बुवाले कुराको बिट मारे।

प्रकाशित: १८ जेष्ठ २०८३ १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App